फेवाको जलमा मानों, माछापुच्छ्रे नुहाउँछ ।
बिहानी घामको टोपी, शिरमाथि लगाउँछ ।।
महे्न्द्र-पुलको शोभा, बाटुले-चौरको मजा ।
बृद्धाका पनि फुक्छन्, रे गालाका चाउरी-मुजा ।।
स्वर्गको जून बोकेर, रात झर्छ मुटु छुन ।
सारङ्गीसँग बज्छन् रे, पिरतीका सबै धुन ।।
लेकबाट झरोस् चाहे, बेंसीबाट चढोस् उँभो ।
सुस्ताई कुहिरो मार्छ, थकाइ पोखरा-उँदो ।
मान्छेमात्र कहाँ हो र !सेती गीत सुसाउँछ ।
ढुङ्गामा पनि बैंसालु, चोखो प्रीत टुसाउँछ ।।
तालका छेउमा ताल, दिई बज्दछ मादल ।
बिजुली-नृत्यकासाथ, गुन्गुनाउँछ बादल ।।
हिमाली कन्दरा डुल्दा, सुसाएका सुनी गला ।
दियो कि पोखरालाई, नियतिले सबै कला ।।
मानों सिर्जनको स्रष्टा, पोखरामा रमाउँदै ।
बिसाई सीपका भारी, गुफा पस्छ लजाउँदै ।।
नियतिले खिपेजस्तो, पोखरा यो उमङ्गले ।
दियो मानिसले बाँकी, सुनमाथि सुगन्ध रे ।।
जता हेर्यो उतै राम्रो, पोखरा यो मनोहर ।
गाउँदै शिशु जन्मन्छ, अरुको के कुरा छ र ?
सुनेकोमात्र हो मैले, पुगेको छैन पोखरा ।
डुल्छन् रे स्वर्ग छोडेर, पोखरातिर अप्सरा ।।
अत्यन्त सुन्दर कविता! आफू छन्दमा लेख्न नसक्ने भएपनि छन्दको रस लिन भने असाध्यै मन पर्छ। पोखरा साँच्चै सुन्दर छ र कविताले पोखराको त्यो अथाह सौन्दर्यलाई कुशलतापूर्वक, सुन्दरतापूर्वक शब्दमा उतारेको छ।
ReplyDeleteतर त्यहिँ गएर केहि समय बसेपछि भने पोखरालाई हेर्ने अर्को आँखा पनि थपिँदो रहेछ। मेरा भावहरुलाई मैले एउटा कवितामा पोखेको छु। समय हुँदा सरले पढ्नुहुनेछ भन्ने आशा छ।
त्यो यहाँ छ; http://www.basantagautam.com/2008/03/blog-post_23.html
र मलाई थाहा छ, दोष पोखराको होईन, मान्छेहरुको हो, मान्छेहरुको लोभ, लालच र संवेदनाहीनताको हो।