Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Saturday, May 30, 2015

हो पक्कै यी दिई गल्ती भए



आज गणतन्त्र-दिवस ।उसैपनि नेपाली जनतालाई कागलाई बेल पाकेको उपहार यो ।त्यसमाथि भूकम्पको शोकको घडी।तरपनि यो सान्दर्भिक हुनसक्छ।

म गैरराजनैतिक मान्छे र सामान्य नेपाली नागरिक जो राजनीतिको खेलाडी पक्कै होइन ।तथापि लोकतन्त्रमा राजनीति र राजनैतिक दलको भूमिका, महत्व  र तिनीहरुको सकारात्मक-नकारात्मक भूमिका र त्यसको असरबारे नजिकबाट रूचि राख्ने प्राणी हुनाले अहिलेको समग्र परिवेशलाई नजिकबाट नियालिरहेको छु ।मेरो बुझाइमा हिजोसम्म हामी नै सर्वेसर्वा हुनाले नियम-कानुन-संविधान र लोकतान्त्रिक मूल्य र मान्यतालाई जसरी उपयोग गरेपनि हुन्छ ।किनकि जनताका अघिल्तिर हामी अन्तिम विकल्प हौं भन्ने नेपालका मुख्य दल र सरकारको ठंम्याइ भूकम्पपछिको परिवेशमा नराम्ररी हल्लिएको छ ।सर्वसम्मतिको संकल्प-प्रस्ताव,एकजूट-एकता र राहतमा दलीय सक्रियता आदिको अर्थ स्पष्ट छ । उनीहरुले खुलारूपले भन्न नसकेपनि जनता-जनार्दको नजरमा नराम्ररी गिरेको कुरा स्वयं उनीहरुलाई थाहा भएरै यसो गर्ने कि त्यसो गर्नेको अवस्थामा दलहरु पुगेकाछन् ।जो व्यक्ति वा संस्थाले घरभित्रको विश्वास गुमाउँछ त्यसले बाहिरी संसारको पनि विश्वास आर्जन गर्न सक्दैन ।यसैको परिणाम हो बाहिरी दुनियाले नेपाल सरकारप्रति यो बेला जुन विश्वास गरेर सहयोग गर्नुपर्नेथियो त्यो गरिरहेको छैन । आआफ्नो राजनैतिक स्पेस जोगाउने उपायको खोजी नै यो फूर्तिफार्तिको जड हो भन्ने कुराबाट कोही पनि अनभिज्ञ छैन ।सरकार न स्वीकार गर्न सकिरहेको छ, न त देश र परदेशको विश्वास नै जित्न सकिरहेको छ ।

आमाहररु बेलाबखत छोराछोरीलाई राम्रैसँग ठटाउँछन् तर तिनीहरुले सन्तानको विकल्प खोज्दैनन् ।मलाई लोकतन्त्रको धर्म-मर्म र गन्तव्यको  महत्ता थाहा छ,तसर्थ जतिसुकै आलोचना गरेपनि मेरो विचारमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।अनि बेलाबखत राजनीतिप्रति मेरा रोषपूर्ण अभिव्यक्ति पनि देखा पर्छन् ।यसको अर्थ राजनीति सफा होस् भन्ने हो परित्याग होइन ।समाजका सबै नीतिलाई नेतृत्व गर्ने नीतिको नाम नै  राजनीति हो र यो नीतिहरुको मियो हो ।यो बलियो स्थिर र सबैलाई समेट्ने हुनुपर्छ, र स्वयंबाट निर्मित नीति-नियम र संविधानभित्र आफूपनि बाँधिनुपर्छ । नत्र यो भाँडनीति हुनेछ ।र यतिबेला हामी भाँडनीतिको शिकार भएर बाँचेका छौं भने स्वयं राजनीति पनि त्यसको परिणाम भोग्दै छ।

भूकम्पले लाखौं जनता घरबारवहीन भए ।सर्वस्व लुटिएका जनता त फेरि टुसाउँलान् तर दोस्रो जनआन्दोलनको सफलतापछि राजनैतिक दलहरुले राजनैतिक मियोपनलाई बलियो बनाउने भन्दा निजी स्वार्थमा ज्यादा ध्यान दिए र विधिको शासनलाई पूरै लत्याए ।त्यसैको परिणाम स्वरूप दलहरु जनताको नजरमा गिर्न पुगे ।अझ विपदकोबेला साथ दिनुको सट्टा स्वयं विचलित भए । यतिबेला सहयोग र राहतको नाममा जानेलाई जनताले जिल्लाजिल्लाका कतिपय ठाउँमा जनताले 'काजकिरिया सकेका प्रेतात्मा'को संज्ञा दिएका छन् ।सदनमा सभासदहरुबाटै यो प्रतिवेदन गयो । बरु विपदको बेला रित्तो हात लिएरै पनि निस्वार्थ सेवामा जुट्ने सेना-प्रहरी-संचारकर्मी र स्वास्थ्यकर्मीप्रति जनताको अपार विश्वास पलाएको छ ।यो देखेर आफूहरु कहाँनिर चुक्यौं भनेर सरकार र दलले आत्मसमीक्षा गरेको पाइन्न बरु नजानिंदो ईर्ष्या भने पालेको अनुभूति हुन्छ । यो सन्दर्भमा महाभारतको कथा प्रासङ्गिक छ ।  
द्रौपदी, कृष्णका फुपूचेला पाण्डवहरूकी साझा धर्मपत्नीमात्र नभएर वासुदेव कृष्णकी निकटतम घनिष्ठ साथी पनि थिइन् ।कृष्ण र दौपदीसँग सम्बन्धित महाभारतका दुईवटा प्रसङ्ग अहिलेको सन्दर्भमा पनि उत्तिकै विचारणीय-मननीय र अनुकरणीय छन् ।

प्रसङ्ग १) एकपटक सुदर्शन चक्रले काटेर कृष्णको चोरऔंलोबाट भल्भली रगत बग्न थाल्यो ।अरु सारा रमिते भए । तर कृष्णकी परममित्र द्रौपदीले पाप-पुण्य, मर्यादा-अमर्यादाको ख्यालै नगरी मात्र निस्वार्थ भावले लगाइरहेको साडीको फेर च्यातेर काटिएको औंलोमा बाधिदिएर रगत बन्द गर्न सहयोग गरिन् ।यो सानो तर निस्वार्थ सहयोगबाट खुसी भएका कृष्णले भनेका थिए "सखी! तिम्रो यो ऋण कुनै समयमा अवश्य चुक्ता गर्नेछु ।"भनिन्छ दुःशासनबाट चीरहरण हुँदा अविररल वस्त्र प्रदान गरेर वाससुदेव कृष्णले त्यही गुन र ऋण तिरेका हुन् र द्रौपदीको इज्जत बचाएका हुन्।

प्रसङ्ग २)महाभारत-युद्धको अन्त्यकालतिर युद्धमा पूरै असंलग्न दौपदीका पाँचभाइ छोरा पाञ्चाललाई शिविरमा सुतेको अवस्थामा पाण्डव ठानेर अश्वत्थामाले हत्या गर्यो ।युद्ध-पिपासुहरुले यस्ता कुरालाई कोटा पूरा गरेको,वीरगति पाएकोजस्ता उपमा भिराउँछन् तर आमाहरु जुनसुकै कारणले मरेपनि सहजरूपमा निस्वार्थ रुनेगर्छन् ।उनलाई शोकमा सान्त्वना दिन सबै आए र साथमा कृष्ण पनि आए ।कृष्णलाई देख्नासाथ दौपदीले विलापको भाषामा भनिन् - हे वासुदेव ! तिमी मेरा नातेदार र मित्रमात्र नभएर भगवान पनि हौ भनिन्छ ।दुर्वासाको महाश्राप र दुःशासनको चीरहरणजस्ता दुर्दिनमा मलाई रक्षा गर्यौ ।महाभारतको युद्धमा युगान्तकारी भूमिका निर्वाह गर्यौ।तिम्रा लागि असम्भव र अज्ञात भन्ने केही थिएन ।तिमीले चाहेको भए मेरो कोख उजाडिने थिएन ।आखिर किन यसो गर्यौ वासुदेव ?"
कृष्णले गम्भीर तर सहजभावले यस्तो उत्तर दिएः-" हे सखी ! प्रथमतः योबेला जो जसरी मरेका भएपनि कसै न कसैका सन्तान थिए र आमाका लागि बराबर थिए।दोस्रो कुरा निश्चय नै यो बेला मेरो शक्ति र सामर्थ्य प्रयोग गरेर तिम्रो मातृत्वलाई जोगाउन सक्थें ।यदि त्यसो गरेको भए पक्षपातको अभियोगमा अरु आमाबाट म धिक्कारिने थिएँ ।
त्यतिमात्र नभई यो त विधिको विधान हो । विधिको विधानलाई म अवश्य टार्नसक्छु ।तर आफूलाई पर्ने सजिलो र असजिलोलाई हेरेर विधान परिवर्तन गर्न मैले नै थाल्ने हो भने त्यसलाई अरुले कसरी मान्छन् ?मबाट निर्मित विधि-विधानमा स्वयं मैले बाँधिनुपर्छ।त्यसका दण्ड र पुरस्कारको भागी अरु मान्छेहरुजस्तै म पनि हुनुपर्छ। अनिमात्र विधि-विधानको अस्तित्वलाई सबैले स्वीकार गर्छन् ।विधिको विधानभित्र तिमी-म र अरु सबैले बाँधिनुपर्छ किनकि विधि-विधान भनेको हाम्रो पनि कानुन हो ।यसलाई बनाउनेले पनि पालन गर्नुपर्छ नत्र लोकले पनि मान्न अस्वीकार गर्ने छ ।"

यी दुईवटा पौराणिक प्रसङ्गलाई बिम्ब र प्रतीक बनाएर हेर्दा हाम्रो राजनैतिक शक्ति र सामर्थ्यले कहाँ र कसरी बाटो बिरायो ? भन्ने प्रश्नको उत्तर पाइन्छ ।
पहिलो प्रसङ्गलाई दोहोरो प्रतीक बनाएर हेर्दा राम्रो हुन्छ ।त्यो के भने

क) दल र सरकारलाई द्रौपदी र जनतालाई कृष्णको प्रतीक बनाएर हेरौं । जनतालाई जनार्दन भनिन्छ ।जनार्दन भगवान विष्णुको नाम हो भने कृष्ण विष्णुका अवतार ।द्रौपदीको सानो सहयोग वा गुनको बदलामा कृष्णले दौपदीलाई असाधारण सहयोग गरे ।जनता पनि जनार्दनजस्तै हुन् ।तिनीहरुलाई आपदविपद परेको बेला गरिने सानो सहयोगलाई जनताले हार्दिकरूपले स्वीकार गर्छन् र सहयोगीलाई परेको बेला ठूलो गुन तिर्छन् ।यसपटटकको भूपम्पमा सेना-प्रहरी स्वस्थ्यकर्मी र  संचार जगतले जनताजनार्दनको औंलोमा जुन सहयोगको पट्टी बाँध्ने काम गरे त्यो भोलिका लागि दौपदीको लगानी हुनेछ ।जनताको मन कति फराकिलो हुन्छ र सानो सहयोगलाई पनि नबिर्सने गुन ठान्छ भन्ने कुरा टहरा-निर्माण र जस्तापाताको घटना साक्षी छ ।जाबो दुई बन्डलजस्ता पाताको सहयोग र अस्थायी टहराको निर्णामलाई जनताले दौपदीको पट्टीकोरूपमा लिएर खुसी भएको पाइयो ।जस्ता र टहराबाट सहयोगको पट्टी बाध्ने पात्रमा स्वार्थ र कुटिल नियत छैन भने भोलिका दिनमा तिनीहरुको लाजको रक्षा जनता-जनार्दनले अवश्य गर्नेछ ।

ख) अब जनतालाई द्रौपदी र दल एवं सरकारलाई कृष्णको प्रतीक बनाएर हेरौं । हिजोका दिनमा नेपालका राजनैतिक दलहरुलाई असजिलो परेको बेला वा चोटपटक लागेको बेला ।नेपाली जनताले दौपदीलेजस्तै निस्वार्थभावले सेवा र सहयोग गरेकै हुन् ।जनताका लागि दल र सरकार भनेका आडभरोसा र विश्वासका आधारजस्तै हुन् ।कृष्णलेजस्तै परेकोबेला लाज बचाउने दुःखबाट मुक्त गर्ने शक्तिकोरूपमा जनताले लिन्छन् ।दोस्रो ज नआन्दोलको सफलतापछि दलहरु जनतामुखी नभएर स्वर्थमुखी भए ।गुन गर्ने जनताले बैगुनमात्र पाए ।तिनीहरुलाई केवल मतदानको छापमा सीमित गरियो ।जनताको चीरहरण भइरह्यो तर  दलले तमासा हेरिरहे ।योग्यलाई भन्दा आफ्नोलाई,पैसालाई गूटलाई नातेदारलाई पोस्ने र जनतालाई चुस्नेकाममात्र गरियो ।

विकास-निर्माणको बजेटलाई जनतासम्म पुर्याइएन बरु केन्द्रदेखि गाउँसम्म मिलिजुली भागबन्डा गरेर लुटियो ।भागन्डाको नाममा न्यापालिकाको हुर्मत लिइयो।संवैधानिक निकायको निष्पक्षता र विश्सनीयतालाई भागबन्डाले क्षतविक्षत बनाइयो ।विश्वविद्यालयजस्तो देशको प्रतिष्ठालाई समेत भागबन्डा गर्ने मनपरी गर्ने र प्राज्ञिक चीर हरण गर्ने काम गरियो ।उद्योग-कलकारखाना तहस-नहस पारियो ।लोकतन्त्रलाई मजाक बनाइयो र केवल जनतालाई सुनाउने गीत बनाइयो ।तस्कर-माफिया र भ्रष्टाचारका लागि देश स्वर्ग भयो जसलाई राजनीतिले संरक्षण गर्यो ।देशभित्र र बाहिर सरकार दलहरुले विश्वास गुमाए ।भूकम्पपछिको निरीहताको कारण यही हो ।फेरिपनि यसलाई स्वीकार गर्ने र सच्याउने प्रयास गरेको पाइन्न बरु ढाकछोप गरेरै अघि बढ्ने नीति लिएको पाइन्छ जो घातक पाइला हो ।कसैलाई पर्दा फलको आशा नराखी निस्वार्थ भावले सहयोग गर्नुपर्छ ।र आफूले गरेको वाचा र वचन पूरा गर्नुपर्छ भन्ने यसको आशय हो ।हाम्रा नेता दल र सरकारले के गरे ? प्रश्न यो हो ।

अब दोस्रो प्रसङ्गको बिम्ब र प्रतीकमा जाऊँ ।भगवान हुनुका नाताले कृष्णलाई विधि-विधानका निर्माता मानिन्छ ।हाम्रो सरकार सभासद वा दलका नेता-कार्यकर्ता विधि-विधानमा स्रोत हुन् ।नियम-कानुन-संविधान बनाउने र त्यसलाई लागू गरेर सुशासन दिने काम यिनकै हो ।तर भीडको घोडा बनेको हाम्रो रानजीति,नीति-निर्माता र सरकारले कानुनलाई लागू गर्ने-गराउने काममा योग्यता देखाएन ।राज्यका नियम कानुन देखाउने दाँत साबित भए ।विधि र कानुनलाई तस्कर माफिया र भ्रष्ट लगौंटी बनाए जसलाई राजनीतिले निरुत्साहित गरेन ।
कृष्णले भनेजस्तै विधिविधान भन्ने कुरा बनाउनेमाथि पनि लागू हुन्छ र त्यसको पालना गर्नु उसको पनि कर्तव्य हुन्छ ।कानुनद्वारा तोकिएका दण्ड र पुरस्कारको भागी आम जनता र विधिनिर्माता दुबैले हुनपर्छ ।आफूलाई अनुकूल हुने गरी कानुन र संविधान बनाउनु वा व्याख्या गर्नुहुन्न भन्ने कृष्णको कुरा कानुन वा विधिको शासनमा चल्ने लोकतान्त्रिक राज्यका लागि वरदान शिक्षा हो ।हामीकहाँ के भयो ?कहिले भीडले पेलेको भरमा र कहिले स्वार्थको सपनाले च्यापेको भरमा संविधान परिवर्तन गरियो ।स्वयं निर्मित संविधान अनुसार  पहिलो संविधानसभाको गठन गरियो र संविधान नै परिवर्तन गरेर म्याद थपियो ।राजनैतिक मूढेबलको आधारमा आफूअनुकूल संविधान परिवर्तन गरेर चुनावी सरकार बनाइयो ।संविधान र कानुन अनुसार चल्ने-चलाउने भन्दा पनि कानुनमाथि बसेर निर्णय गर्ने दलीय परम्पराको विकास हुनु नै विधिको शासन समाप्त हुनु हो ।लोकतन्त्रको नाममा अनुहार फेरिएको हुकुमी तन्त्र यसैलाई भन्न सकिन्छ । यसकारण हाम्रा नेता राजनैतिक दल र सरकारले देश-विदेशको विश्वास गुमाए ।जसले सिर्जना गरेको जटिलता अहिले भोग्दैछन् तर सच्चिने छाँट देखाएका छैनन् । राज्य विधिको शासनमा चल्नुपर्छ र विधिनिर्माताले पनि त्यसमा बाँधिनुपर्छ ।आफूलाई पायक पर्ने गरी विधिलाई मिच्ने,परिवर्तन गर्ने वा त्यसलाई समातेर हुकुमी शान झार्नु हुन्न भन्ने यसको तात्पर्य हो ।

हाम्रा शासन-सत्ताको बागडोर समाल्नेहरु वचनमा पक्का भएनन् र विधिको पालना स्वयंले गरेनन् तसर्थ अहिलेको समस्या पैदा भएको हो ।यसलाई सरोकारवालाले सच्याउनु आवश्क छ ।र हामीले पनि यी दुई कुरालाई शिक्षाको रूपमा ग्रहण गरेर व्यवहार गर्नु राम्रो हुन्छ ।
२०७२ जेठ १५  

Saturday, March 7, 2015

सिर्जनात्मक लेखन

   
 भाषिक‍प्रयोग र प्रयोजन


पाठ १) विषय-प्रवेश
                   स्फुरणशील मानवीय प्रतिभाको अन्तस्करणमा अभिव्यञ्जित विलक्षण क्षणको सौन्दर्यानुभूतिको कलापूर्ण अभिव्क्ति नै सिर्जना हो ।यो वाक्यका बारेमा कसैले सिङ्गो मानव-स्वभावसँग जोडेर व्याख्या गर्छ भने अन्यथा हुँदैन र "यो विशेष-प्रतिभाको विशेष कार्यको सन्दर्भमा प्रयोग गर्न सकिने कुरा हो " भन्यो भने पनि त्यो अन्यथा होइन । किनकि आजसम्म सन्सारमा ज्ञान-विज्ञान-कला र व्यवहारका क्षेत्रमा जेजति गुणात्मक विकास भएका छन् ती सबैको कारण भनेको मानवीय स्वभावमा रहेको सौन्दर्य-चेत नै हो ।भइरहेको वस्तु वा पदार्थलाई कलामय रूप र गुणमा रुपान्तरण गर्न चाहने स्वभाव प्रत्तेक मानिसमा हुन्छ ।केश कोर्ने,जुँगा मुसार्ने ,लाली-गाजलले सजिनेदेखि बस्ने घर,प्रयोगका साधन,चिटिक्क मिलेका लुगा ,खेतका आली र बारीका डिलसम्मका यावत कुरामा मानिसको कलाप्रेम देखिन्छ ।हामीले चाहेको वस्तुको गुणमात्र होइन त्यसको बनोट पनि राम्रो चाहने हाम्रो स्वभाव हुन्छ ।विज्ञानले आविष्कार गरेका हरेक वस्तु हेर्दा बान्की परेका हुन्छन् ।यी सबै मानवीय कलाका विषय हुन् ।हरेक मानिसमा कुनै न कुनै कुराको स्फरण(फुर्ने काम) भइरहेको हुन्छ ।प्रत्येक मानिसमा कुनै न कुनै गुण वा क्षमता हुन्छ ।तसर्थ ऊ प्रतिभा हो ।जीवन र जगतका घटना-परिघटनाबाट उसको अन्तरमनमा अनिर्वचनीय अनुभूति पैदा हुन्छ ।खास खास परिवेशमा मानिस सामान्य अवस्थाभन्दा भिन्न भएर सोच्ने वा व्यवहार  गर्ने गर्छ ।सामान्य वस्तु-घटना वा क्रिया-प्रतिक्रियामा विशेष सौन्दर्यको अनुभूत गर्छ र त्यसलाई कलापूर्ण तरिकाले अभिव्यक्त गर्छ ।अर्थात् सिर्जना गर्छ ।लगाउने लुगा ।घरको बनोट,बस्ने कुर्सी,पानीको गाग्रो,थालकचौराको आकार-प्रकारसम्ममा कलाका रङ्ग र रूप देखिन्छन् र त्यसैले हामीलाई आकर्षण दिन्छन् ।त्यस्ता सुन्दर वस्तुबाट हाम्रो मन प्रसन्न हुन्छ ।यसको अर्थ स्वभावजन्य कलाकार मानिसको सर्वव्यापी कलाको सम्बन्ध मन वा हृदयसँग हुन्छ ।
 तर हामीले चर्चा गर्न लागेको स्रष्टा(कलाकार) वा उसको सिर्जना (कला)विशेष प्रकारको हो ।हुनपनि एकथरी प्रतिभाहरु सामान्य मानिसभन्दा भिन्न र विशिष्ट खालका हुन्छन् । त्यस्ता स्रष्टा वा प्रतिभा हाम्रै समाजका सदस्य भएपनि जीवन र जगतलाई नितान्त नयाँ ढङ्गले अनुभूत गर्छन् र कलाको विलक्षणताबाट त्यसलाई अभिव्यक्त गर्छन् ।सङ्गीतकार,मूर्तिकार,चित्रकार साहित्यकार आदि यसैकोटिमा पर्छन् ।यसमध्ये साहित्यिक सिर्जना चाहिं भाषाको माध्यमले हुन्छ ।भाषा प्रकृतिलेले मानिसलाई दिएको स्वयंमा विलक्षण गुण हो ।सीमित शब्दबाट असीमित वाक्य निर्माण हुने र सामान्य विशिष्टता प्रदान गर्न सकिने भावविनिमयको साधन भाषामा विशेष प्रतिभाले कला भर्ने कामलाई साहित्यिक सिर्जना भनिन्छ । अब प्रश्न उठ्छ कि भाषा र साहित्यमा के भिन्नता छ ? यसको सहज उत्तर हो' माटो र माटाको गाग्रोमा जे फरक छ,धातु वा ढुङ्गा र मूर्तिमा जे फरक छ,कपडा र पेन्ट-सर्ट-सुरुवालमा जे फरक छ त्यही फरक हो भाषा र साहित्यमा । यसको अर्थ बजारबाट किनेर ल्याएको कपडालाई कटिङ फिटिङ गरेर निश्चित आकारमा ढालेपछि त्यो सर्ट-पेन्ट बन्छ ।माटो नै घैंटो होइन।काठ नै कुर्सी होइन,ढुङ्गो नै मूर्ति होइन, रङ्ग र कूची नै चित्र नभएजस्तै शब्द र वाक्यको उपस्थिति नै साहित्य होइन।त्यो सामान्य अवस्थाभन्दा उपल्लो रूप र कलापूर्ण हुनैपर्छ ।त्यस्तो अवस्था पदयोजना,वाक्य-विन्यास,आन्तरिक वा बाह्य लयविधान, भावभङ्गिमा र भावविन्यास,उक्ति-विन्यास शिल्प-संरचना ,विचलन,आदिबाट सिर्जना हुन्छ ।विधा-उपविधाको रूप र स्वभावबाट सिर्जन-शिल्प अलग-अलग हुन्छ ।व्यावहारिक औपचारिक भाषाभन्दा साहित्यको भाषा कलापूर्ण मनोरञ्जनधर्मी, हार्दिक कोमल र विशिष्ट खालको हुन्छ ।शब्द र अर्थको अभिधा(सोझो)पन भन्दा बिम्ब-प्रतीक र भावको आँतबाट अभिव्यक्त भएर मानिसको मनलाई कालान्तरसम्म  आह्लादित गराउने यसको स्वभाव हुन्छ ।शब्द सामान्य हुन् तर सिर्जनामा प्रयोग भएपछि तिनीहरुले विशिष्ट अर्थ वहन गर्छन् जस्तैः-छेपारो,पीपल-पात,नारद, गङ्गा,घाम अस्ताए जस्ता पद-पदावलीले सामान्य भाषामा दिने अर्थ भन्दा सिर्जनामा छुट्टै अर्थ दिन्छन् ।छेपारोले सिर्जनामा मौका अनुसार विचार र स्वभावको रङ्ग बदल्ने,दहीचिउरे कुरा गर्नेलाई पीपलपाते,जता पनि पुग्ने नारद,पवित्र गङ्गा,विशेष व्यक्तिको अवसान घाम अस्ताउनु जस्ता अर्थमा प्रयोग हुन्छन् ।पदहरुले सामान्यार्थ छोडेर विशेष व्यञ्जनार्थ वहन गर्नु साहित्यिक सिर्जनाको विलक्षण अवस्था हो । मिति २०७१ फागुन २३ गते शनिबार
------------------------------------
गजलबारे छुस्स 

समानकिसिमले मुख मिलाइएका, झट्ट हे्र्दा झन्डै उस्तै वा समानजस्ता लाग्ने धार र टुप्पा भएका भिन्नभिन्न बाणहरू तूणीरमा राखिएका हुन्छन् ।कुशल धनुर्धरले तूणीरबाट बाण झिकेर आफ्नो निशाना वा शिकारमाथि अचूक प्रहार गर्छ ।       
गजलका बारेमा गहन अध्ययन गर्नु वा गजल सिर्जना गर्नु अघि आधारभूत जानकारीका लागि माथिको अनुच्छेद सहयोगी हुन्छ सायद ।समान पद वा पदावलीमा मुख मिल्ने रदीफ,समान जस्तो लाग्ने तर भिन्न धार र टुप्पा जस्ता काफिया र भिन्न बाणजस्ता मुक्त शेरहरु गजल नामको तूणीरमा राखिएका हुन्छन् ।अब कुशल धनुर्धारी गजलकारले आफ्नो शिकार वा निशानाको प्रतिनिधि श्रोतामाथि एकपछि अर्को कुशल प्रहार गरेर कलाप्रदर्शन गर्छ ।अचूक प्रहारले लक्षभेदित शिकार वा निशानाबाट एकाएक प्रतिक्रियाको ध्वनि नै वाह! वाह ! हो  ।     
बाण छोड्नु नै तीरकला होइन र रदीफ काफियासहितको सतही वर्णन नै गजल होइन ।धनुबाट एक घन्टामा कतिवटा बाण छोडियो वा दिन सप्ताह वा महिनामा कति गजल लेखेर पोस्ट गरियो भन्दा पनि लक्षभेदनको गुण मुख्य पाटो हो ।  यो कलापूर्ण हुनुपर्छ।अर्जुन एकलव्य वा कर्णको एकाग्रता साधना र समर्पणले प्राप्त हुने गुण हो यो । यो मेरो सामान्य बुझाइ हो, जो मैले तपाईहरुकै लेख वा सिर्जनाबाट पाएको ज्ञान हो । 

लयः-

हिजोको स्टाटसमा मैले गजलबारे चुस्स बोलेको थिएँ र शब्दमा कुद्ने भन्दा शब्दलाई साधन बनाएर भावको गहिराइतिर लाग्न आग्रह गरेको थिएँ ।अब यति भएमा गुगलबाट गजलसम्बन्धी सामग्री खोजेर थुप्रै साथीले लाभ लिन सक्नुहुनेछ ।  फेसबुकमा लयको बारेमा धेरै छलफल र चर्चा-परिचर्चा भएको पाइन्छ ।आज त्यसबारे पनि सानो कुरा गरे के फरक पर्छ र? हामीले भाषा प्रयोग गर्दा अर्थात् बोल्दा आवाजमा जुन उतार-चढाव(आरोह-अवरोह) हुन्छ त्यो नै लय हो ।जतिसुकै सानो वाक्य वा वर्ण नै किन नहोस् विनालय उच्चारण हुनैसक्दैन ।बोल्दा पैदा हुने लय,प्रयोग भएका शब्दको गति वा चाल र यति वा विराम जुनसुकै अभिव्यक्तिमा हुन्छन् ।लयको शून्यता गद्य होइन न्यूनता अवश्य हो ।जति लय तीव्र र विशिष्ट बन्दै लान्छ त्यति नै त्यो पद्य वा  गेय हुन्छ भने लय जति खुकुलो हुँदैजान्छ त्यतिनै पद्य पनि गद्यतिर प्रवेश गर्ने हुनाले गद्य र पद्यको सीमारेखामा निबन्ध र हामीले भन्ने गरेको गद्य कविता रहन्छन् ।       
   कतिपय अवस्थामा छन्द र लयलाई पर्यायको रूपमा प्रयोग गरिन्छ । यो चर्चा पछि कुनैबेला ।यहाँपनि त्यरी नै अहिले प्रयोग गर्दा सहज होला ।छोटकरीमा भन्नुपर्दा  छन्द भनेको वर्ण-मात्राको विशेष संरचना हो भने लय भनेको त्यसलाई गाउँदा सुनिने आरोह-अवरोह हो ।जस्तोः- "जान्छिन् आज शकुन्तला घर भनी उठ्तो छ चिन्ता अति "  यो शार्दूलविक्रीडित छन्द हो ।यसलाई अनेक तरिकाले जुन गाइन्छ ती सबै लय हुन् ।छन्द वर्णमात्राको व्यवस्थापन हो भने लय प्रयोगमा पैदा हुने साङ्गीतिक आरोह-अवरोह हो ।यस अर्थमा छन्द र लय भिन्न कुरा हुन् भने एकै सिक्काका दुई पाटा पनि हुन् ।यहाँ  कतै छुट्टै र कतै पर्यायको रूपमा प्रयोग गर्नुको कारण पनि चलनलाई पछ्याएको हो ।   पद्य वा गेयविधा(गीत-गजल-कविता)का लागि छन्द वा विशिष्ट लयविधान अनिवार्य सर्त हुन् तर छन्द वा लयमात्र चाहिं कविता गीत वा गजल होइनन् ।संरचना, पदयोजना, वाक्यविन्यास उक्तिवैशिष्ठ्य लयविधान जस्ता कुराको समग्रताबाट  गीत गजल वा कविताको दर्शन हुन्छ ।  शब्दहरुको प्रयोग,लयात्मक वर्णन नै गीत कविता वा गजल होइनन् ।मैले एउटा पुरानो केही साता अघिको स्टाटसमा एउटा आफ्नै सिर्जनालाई गजल होइन भनेको थिएँ किनकि त्यहाँ छन्द र संरचना भएपनि गजलको मर्म थिएन ।


   गीत  गजल वा कविता, पद्यविधा हुनाले यिनीहरुमा लयको विशिष्ट अवस्था हुन्छ ।पद्यको पहिचान भनेकै लयको विशिष्टता हो ।सामान्य गद्यको न्यूनतम लयले विशेष उचाइ लिने क्रम बढेसँगै पद्यमा प्रवेश हुन्छ र अडान-अडान पाउ-पाउ वा चरण-चरण हुँदै लयको विशिष्टता देखापर्छ ।यो वर्ण-मात्रा पद-पदावली र वाक्यको स्थितिमा देखिन्छ त्यसैले लयनिर्मितिका लागि आवश्यकतानुसार व्याकरण लिङ्गमा विचलन आएर अरु श्रवणीय हुन्छ ।लयको अधिकतम अनुशासन नै वर्णमात्रिक( वार्णिक) वा शास्त्रीय छन्द हो । यसमा वर्ण र मात्रा दुबैको फलामे  अनुशासन हुन्छ  र वर्ण र मात्राको रूप र रखाइबाट यगण मगण गणहरु आदि  पैदा हुन्छन् ।यो अनुशासित खुकलो भएर कतै वर्ण र कतै मात्रालाई गणना गरिने छन्दविधान हुन्छन् ।त्यसैलाई लयविधान पनि भनिएको हो ।   मैले थुप्रै साथीले गीतकार गजलकारले लय मिलाउनु वा जान्नु जरुरी छैन त्यो संगीतकारको काम हो भनेको पाएको छु ।

के शब्दको स्रष्टाले लय मिलाउन वा जान्न जरूरी छैन ?


मैले थुप्रै साथीले गीतकार गजलकारले लय मिलाउनु वा जान्नु जरुरी छैन त्यो संगीतकारको काम हो भनेको पाएको छु ।गीतकार वा गजलकारको काम भनेको शब्दमा पोखिनु हो ।त्यसलाई कस्तो संगीत र लय दिने ? भन्ने कुरा संगीतकारले जान्ने काम हो ।अनि मिलाएर गाउने काम गायक-गायिका को हो ।फेसबुकतिर यस्ता कुराको सबाल-जबाबमा लामा-लामा बहस भएको पाइन्छ ।आफूले गरेको टिप्पणीको जिम्बेवारी टिप्पणीकर्ताले पनि लिनुपर्छ र दायित्व भन्ने कुराबाट कोही कसैले पन्सिनु हुँदैन ।ध्वनि-विज्ञानका नियमदेखि जीव-विज्ञानका नियमसम्मका शास्त्रीय कुतर्कले कलालाई समाउन सकिन्न ।
कलाको आफ्नै धर्म-मर्म, चालढाल लय र ताल हुन्छ ।यसको अर्थ यसले भाषा-व्याकरणका नियम मान्दैन भन्ने होइन ।अझ लय-निर्मिति त पदयोजनाबाटै हुने भएकाले विचलनका सम्भावना अधिक हुन्छन् ।तर सिर्जनात्मक विचलन ।  एकछिनका लागि मानौं गीतकार वा गजलकारले भन्यो "लेख्ने मेरो काम हो लेखें ।लय मेरो काम होइन ।"संगीतकारले पनि भन्यो कि "शब्दको भाव र मर्म बुझ्नु मेरो काम होइन त्यसैले मेरै  हिसाबले लय भरिदिंएँ ।"त्यसमाथि गायकले भन्यो "शब्द र संगीत मेरो चासो र चिन्ताको विषय होइन तसर्थ ताल पर्यो गाइदिएँ ।"र श्रोता वा पाठकले भन्यो "आ ! साथीको थियो एक कानले सुनेर अर्कोले उडाइदिएँ तर वाह वाह चाहिं भनिदिएँ ।" के होला अब ?   

हरेक स्रष्टाले मेरो इशारा बुझिसक्नुभयो होला ।शब्द-संगीत र स्वर एकअर्काका परिपूरक हुन् ।शब्द सुन हो भने संगीत सुगन्ध हो अनि स्वर स्वाद हो भन्ने ठानौं ।सबैको लक्ष भनेको श्रोता वा पाठक हो ।कसैले कसैलाई दायित्व पन्साउने वा मुन्साउने कुरा नभएर सहकार्यद्वारा श्रोता वा पाठकसम्म रसमय भएर सम्प्रेषित हुने संयुक्त दायित्व हो ।यो अरु कसैको काम गरिदिएको नभई हार्दिक दायित्व हो ।मेरो काम पढाउने हो । कसरी बुझ्ने ? यो विद्यार्थीको दायित्व हो भन्ने हो भने म कस्तो गुरु हुँला ? मात्रात्मक हिसाबले प्रतिभाहरु गीतकार गजलकार संगीतकार र  गायक हुन् । परन्तु गायकलाई शब्द र संगीतको मर्म थाहा हुनुपर्छ ।संगीतकारलाई गायनको धर्म र मर्म जानकारी हुनुपर्छ ।अनि शब्दको स्रष्टालाई लयको सैद्धान्तिक ज्ञान भए-नभए पनि त्यसबारे सामान्य जानकार हुनैपर्छ ।गजल-गीत- कविता लेख्न रुचि राख्ने तर लयमा उदासीन हुने कुरा राम्रो हो र?पदयोजना,भावविधान उक्तिसौन्दर्य विधागत संरचनासँग परिचित हुनै परे जस्तै छन्द वा लयविधानसँग पनि नाता हुनैपर्छ ।अर्थात् गीतिचेत र लयप्रति अनुराग पद्यनिर्मितिका सर्त नै नुन् भने हुन्छ ।हाम्रा पाखाभित्तामा गाइने लोकगीत गीतिचेत र लयविधानका  भरपर्दा सहयोगी हुन् ।लोकगीत सुन्ने र गुनगुनाउने गर्नाले लयको अभ्यास हुनसक्छ ।र सिर्जना पनि कलात्मक हुन्छ ।कतिपय गीत-गजल-कविताका सर्जकहरु अलमलिको ठाउँ यतैकतै हुनुपर्छ ।लोकगीत र लोकलयले राम्रो सहयोग गर्न सक्छ भन्ने मेरो बुझाइ छ ।   

  मेरो आशय के हो भने मानिलिउँ  'भुजङ्प्रयात' छन्दमा चारवटा यगण हुन्छन् भन्ने कुरा मलाई थाहा नभएपनि त्यसलाई वाचन गर्ने सामान्य लय-गति र यतिका बारेमा जानकारी राखिन्न  र टाकनटुकन पारेर लेखेपछि मिलाउने काम संगीतकारको काम हो भन्ने हो भने हामी कहिल्यै उठ्न सक्दैनौं ।छन्दका गण,गति यति मिलाउने र गीति-लयमा सहज लय मिलाउने काम स्रष्टाको हो ।त्यसलाई विशेष लय दिने वा सुमधुर बनाउने काम संगीतकार गर्छ ।एउटा छन्द वा सिर्जनाको संरचनालाई अनेक लयमा गाउन सकिन्छ ।तीमध्ये एउटालाई शब्दको स्रष्टाले टिप्नुपर्छ । हजारौ छन्द र लाखौं लयको बारेमा म जान्दिंन ।केवल मेरो नेपाली कान अभ्यस्त भएका र जिब्रोमा बानी परेका छन्दमात्र म मिले-नमिलेको परैबाट थाहा पाउँछु ।परिचितको आवाजजस्तै ।सारेगम नै जानेको हुनुपर्दैन तर लयमा रुचि छैन तसर्थ  दायित्व पनि  होइन भन्ने हो भने कुशल स्रष्टा बन्न गाह्रो छ ।    
 सिर्जना प्राविधिक भएरमात्र हुँदैन स्रष्टा रसिक पनि हुनुपर्छ ।बजाउन आउँदैन, यसको अर्थ वादनप्रति विकर्षण हुने ?गायन कला नहोला यसको अर्थ नसुन्ने ?होइन भने 'शब्द मैले दिएँ लय मेरो काम होइन भन्ने हो भने त्यो गीत-गजल केवल वर्णन होला कला हुँदैन ।स्रष्टाको लयमा अभिरुचि हुँनैपर्छ र ऊ रसिक वा रौसे हुनैपर्छ ।ऊ शब्दसँगमात्र होइन भावसँग पनि खेल्न जान्ने हुनुपर्छ ।यो रसिकताको कुरा हो दायित्व बोक्ने वा नबोक्ने कुरा होइन ।तर स्रष्टाको सामाजिक र भावकीय दायित्व अवश्य हो ।
  सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
  सार्वभौम भई फैलिएका मेची-महाकाली ।।
 यो गीतलाई राम्रोसँग हेर्नुहोस् ।करीव तेह्र सय सिर्जनाका बीचबाट छानिएको र राष्ट्रगानको स्थान पाइसकेको यसलाई कथित चश्मा लाएर नहेर्दा खोट लाउनुहुन्न ।तर व्याकुल माइलाले शब्द दिनुभयो ,अम्बर गुङले संगीत दिनु भयो ।सायद लयको क्षेत्र मेरो होइन भन्ने व्याकुललाई लाग्यो होला र अम्बरलाई शब्द जे छ त्यसमा नै संगीत दिउँ भन्ने लाग्यो हो ।यति राम्रा शब्दको संगीत र स्वरमा दाँतमा ढुङ्गो लागेको अनुभव त्यतिबेर हुन्छ जब सार्वभौम्\भै\फैलिएका\मेची-महाकाली उच्चारण हुन्छ ।बरु व्याकुलले   सार्वभौम  फैलिएका मेची-महाकाली ।।लेखिदिएर लयमा न्याय गर्नुभएको भए  गानमाथि नै न्याय हुनेथियो ।लयलाई ध्यान दिएको एउटा हरफः- 
नौलाख तारा उदाए धर्ती र आकाश हाँसेछ ।
यसलाई पनि संगीत अम्बरले नै दिनुभएको हो ।अब तुलना गर्नुहोस अम्बरलाई कुनमा सहज भयो संगीत भर्न ?लय पक्कै संगीतकारले भर्ने हो तर सामान्य लय शब्दको सर्जकले मिलाएकै हुनुपर्छ । 

काफियाको बारेमा थोरैः

व्यवहार र साहित्यमा पनि सकेसम्म आफ्नै मौलिक पद र पदावलीको प्रयोग गर्ने हो ।तर कतिपय अवस्थामा भावलाई यथावत् टिप्नका लागि अन्य भाषाका शब्दको पनि प्रयोग गर्नुलाई अन्यथा मान्नुहुन्न ।गजलको सन्दर्भमा पनि नेपाली भाषामा प्रयोग हुने पद र पदावलीको प्रयोग गर्दा बुझ्नलाई सजिलो हुन्छ ।
     गजलको विषयवस्तु अव हिजोको सीमित परिभाषामा रहेन र स्वयं गजल गीतको उपविधा नभएर पद्यको छुट्टै विधाको रूपमा स्थापित भइसकेको हुँदा अन्य विधामा जस्तै अनेक विषयमा गजल लेख्न सकिन्छ ।यो सार्वभौम सत्य हो ।तर सबै कुरा फेरिएपनि जुन कुराले एउटा विधालाई अर्को विधाबाट छुट्याउँछ वा जुन कुरालाई हेरेर फलानो विधा हो भनिन्छ त्यो आधारभूत कुरामा भने परिवर्तन हुँदैन ।

   गजललाई अन्यविधाबाट छुट्याउने प्रमुख तत्व काफिया र रदिफ हुन् ।कुनै गीतिविधा गजल हो वा होइन भन्ने कुरा हामी रदिफ र काफियाबाट छुट्याउने गर्छौं ।अझ रदिफ नभएपनि मान्न सकिएला तर काफिया भएन भने त्यो गजल हुनै सक्दैन ।चुच्चोविनाको चरो ,सुँडविनाको हात्ती नभएजस्तै काफियाविनाको गजल हुँदैन ।
  यतिबेला सबैभन्दा ज्यादा लेखिएको र सबैभन्दा बढी गिजोलिएको विधा नै गजल बनेको छ ।रदिफ- शेर-मिसरा आदिका बारेमा आवश्यकतानुसार चर्चा गर्दै जाउँला ।तर अहिले काफियालाई नै चर्चाको विषय बनाउनु सान्दर्भिक होला ।काफिया यो सापटीको शब्द गजल शब्दसँगै आएको हुनाले हुनाले कसैलाई यही ठीक लाग्नु स्वाभाविक हो ।तर कसैलाई यो शब्द नै टाउको दुखाइको विषय बनेको छ । कोनै पनि कुरालाई बुझ्नका लागि सजिलो बाटो अपनाउनु राम्रो हुन्छ र प्रचलनमा भए आफ्नो भाषाका शब्दे बुझ्दा राम्रो हुन्छ ।आजको कुराको सार यही हो । काफिया गजलको प्राणतत्व हो ।माथि नै भनियो ।नेपाली साहित्यमा प्रयोग हुने अनुप्रास वा चलनचल्तीको भाषामा तुकवन्दी नै काफिया हो ।ध्वनिगत रूपले सुन्दा उस्तै लग्ने तर भिन्न अर्थ भएका पदको आवृत्ति वा खप्टिएर आएको अवस्था नै अनुप्रास हो ।जस्तैः-
    चरी बस्यो बाँसैको टुनामा 
    छिन्छ पोते नसमाऊ तुनामा ।।
    माथि टुना र तुना को ध्वनि उस्तै लाग्छन् तर अर्थ फरक छन् ।यसलाई अनुप्रास भनिन्छ ।यो नै काफिया हो ।अनुप्रासका अनेक रूप र अवस्था भएपनि हरफको अन्त्यमा प्रयोग हुने तुकबन्दी वा अनुप्रास नेपाली पद्यविधा र विशेषतः लोकगीतको प्रिय कुरा हुन् ।अझ लोकगीतमा त अनिवार्य भएर आउँछन् ।तसर्थ यसको प्रयोग र मिठासका लागि हाम्रा लोगगीत नै भरपर्दा सहयोगी हुन् । 'बाटो' स्वयंमा यो काफिया वा अनुप्रास नभएर पदमात्र हो ।'बाटो 'पाटो' यसरी प्रयोग भएपछि तिनलाई काफिया वा अनुप्रास भनिन्छ ।प्रायः नेपाली गीत, प्रायः छन्दोबद्ध कविता र अनिवार्यतः लोकगीतका प्रत्येक हरफको अन्त्यमा यिनीहरुको प्रयोग हुन्छ ।जोर-बिजोर हरफको अन्यमा प्रयोग हुने त्यस्ता अनुप्रास अन्य गीतिविधामा एकएक जोडीमा सीमित हुन्छन् जस्तैः-
  _________________खान्छ
___________________जान्छ।।


____________________गयो
____________________भयो  ।। 
यहाँ खान्छ जान्छ अनि गयो भयोको जोडी छन् । यी अनुप्रास हुन् ।।


यसको विपरीत गजलको शुरुका दुई हरफ(मतला)मा अनुप्रास वा काफियाको जोडी हुन्छ भने प्रत्येक शेरको विजोर हरफ वा शेरको अन्यमा शुरुकै तुकबन्दी वा अनुप्रासको प्रयोग हुन्छ ।जस्तैः-गजलको बनोट 
विजोर हरफ_______________________बाटो रैछ। 
जोर हरफ_________________________माटो रैछ



विजोर____________________________
जोर_______________________पाटो रैछ  ।।


____________________________
__________________________खाटो रैछ ।।


________________________
___________________________टाटो रैछ ।।
 यहाँ बाटो माटो पाटो खाटो टाटो जस्ता उस्तै लाग्ने पद काफिया वा अनुप्रास वा तुकबन्दी हुन् भने रैछ रैछ जस्ता उनै पदको पुनरावृत्ति रदिफ हुन् । गजलको सुर ताल र स्वर पहाडी खोला र झरनाजस्तो नभएर  कलकल आवाज सुनिने तर शान्त नदीजस्तै हुनाले सोही प्रकृतिका पद हुनुपर्छ  ।काफियासँगै शेरको अन्त्यको विशेष बज्ने र रदिफमा विश्राम हुने भएकाले श्रोतालाई वाह वाह गराउने अचूक पद भनेकै त्यो अनुप्रास हो भन्ने मेरो बुझाइ छ । 
 कतिपय साथीले काफियाका नाममा अनेकौं प्रयोग गरेको पाइन्छ ।ठीक हो कि होइन ?यसको उत्तर के हो भने श्रोताले पहिलेकोजस्तै वा त्योभन्दा तीव्र आवेगमा स्वीकार गर्छ भने र विधाको संचरचना अन्योलग्रस्त हुँदैन भने ठीक छ ।अन्यथा त्यो प्रयोगमै सीमित भएर आत्मरतिको विषय हुनसक्छ । 
एकजना साथीलाई उहाँको पटकौंको अनुरोधपछि  स्वीकारें ।ट्याग गरेर वा इनबक्समा दैनिक दशवटा सम्म गजल पठाएर सबैपक्षमा कमेन्ट गरिदिन आग्रह गर्नुहुन्थ्यो ।तर उहाँका काफिया यस्ता थिएः-
  अग्लो,हाँगो दैलो पाडो ,खुट्टो डोको आदि ।
   मैले यी अनुप्रास वा काफिया होइनन् के भनेको थिएँ उहाँले यी एकाक्षरी काफियालाई नमान्ने तिमीहरुजस्ता यथास्थितिवादीले परिवर्तनलाई स्वाीकार गरेनौं जस्ता भाषण इनबक्समा लेखेपछि उहाँका बारेमा टिप्पणी गर्नु बेकार ठानें ।सिक्दा यस्तो हुनसक्छ ।तर अनुप्रासका भण्डार लोकगीत नसुन्ने ,अरुका नपढ्ने विधागत स्वरूप धर्म र मर्मलाई वेवास्ता गरियो भने गजलप्रति न्याय हुँदैन भन्ने मेरो बुझाइ छ । 
गजलमा गीतिचेतबारे केही दिनपछि क्रमशः..........




     

Monday, October 4, 2010

- दशैं एक चिन्तन

दशैंको शुरुवात हुन अब केही दिनमात्र बाँकी छ तर यसको चर्चापरिचर्चाले भने नेपाली जनजीवनलाई लपक्कै ढाकिसकेकोछ । देशविदेशमा रहेका आफन्त जन आउँने खबरले कसैको घरमा खुसी छाएको छ र घर फर्कन चाहनेहरू दिन गनेर रमाइरहेका छन् । आफन्त मिलनको आनन्द नै त दशैं हो ,मिलन नै नहुने हो भने त दशैं