Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Tuesday, December 1, 2020

कविता

टुक्राटुक्री

कल्पना-सिर्जना जस्तै शास्त्रले पारिने थला।

बैंसालु कविता हुन्छिन् बेलाबेला रजस्वला।।

-------------------------------------------

समाधान कहाँ हो म?समस्यामय कष्ट हुँ।

भेषले पाण्डुकै पुत्र मनले धृतराष्ट्र हुँ

----------------------------

बनूँ म आकर्षक रङ्गबाट

कि चित्तहारी म सुगन्धबाट

पराग-सम्प्रेषणका निमित्त

जिऊँ म मीठो रसबन्धबाट।

------------------------

लिन्छन् वन-पुष्प रङ्ग तिनका उड्छन् र झर्छन् तर।

वैलिन्नन् मन-पुष्पतुल्य कविता लेखेँ-दिएँ आखिर।।

हेरिन् पारख-भावले र रसको आस्वाद वा लाजले।
आधा चन्द्र बनी झुकाउन पुगिन् आँखा दुवै गाजले।।
-----------------------------------------

फूलका रस छन् व्यर्थ चुस्तैनन् जब माहुरी।

विनापाठकका मानौं कविता-काव्य-माधुरी।।

‍‍‍‍‍-----

आफ्नो चिन्तनधाराको सफा गर्न मुहानमा।

उल्टोबाट पसेकोछु तिम्रा ज्ञानपुराणमा।।

----

आफ्नै हिर्दयमा पाएँ मैले उत्तर प्रश्नको।

मृत्तिकामै हुनेरैछ विराट् दर्शन कृष्णको।।

माटो हो पृथिवी सिङ्गै अनेकौं उपयोगिता।

यसैमाथि चलेकाछन् मान्छेलका प्रतियोगिता।।

---

शरणागतको पीडा हर्छन् सन्त प्रयासले।

मेट्छ बेसारको दाग घाम आफ्नो प्रकाशले।।

---

दुष्टले जो कसैलाई बिगार्ने सूत्र लाउँछ।

तुलसीमठमा कुत्ता सधैँ मूत्र बगाउँछ।।

----

सुन्तला गुलियो हुन्छ, महङ्गो छ बजारमा।

निचोर्छन् तैपनि मान्छे कागती नै अचारमा।।

---

नेताको प्रभु-इच्छाले हुन्छ वर्धन-मर्दन।

हेर्दा अर्जुनको बाण कृष्णको हो सुदर्शन।।

-----

थाले आपसमा जुध्न क्रान्तिका लबटाहरू।

चर्किएपछि हाँडीका बजेझैं खबटाहरू।।

----

भरियो खेतसन्सार धान काट्ने किसानले।

आकाश ढाकिएजस्तै गौंथलीको बथानले।।

------------

जस्तोसुकै अवस्थामा गरें मैले भलाइ नै

बदलामा गरे नित्य बलात्कार मलाई नै।।




Friday, May 29, 2020

कविता



वसन्तका सुन्दर वा-टिकामा
सु-योषिता वा गिरि-का-कटीमा।
पाइन्न खोज्दा कविता विशुद्ध
पाइन्छ सानो शिशुका कुटीमा।।

Wednesday, May 20, 2020

शिक्षा र व्यवहार:






***************
ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ॥ (उपनिषद्)
अर्थ:-
सृष्टिका हुन् सवै वस्तु,स्रष्टाका श्रम-आर्जन।
नलेऊ नतिरी मूल्य,अरुको पसिना-धन।।

कविता-गजल


पहाडी कन्दरा फोरी, बगेकी निर्झरीसरि।
चिरी शब्दार्थको कोख,जन्मन्छ्यौ कविता-परी।
बिजुलीरूपमा मानौं मुस्कान घनश्यामको
आराध्या कविता तिम्रा, परिभाषा थरीथरी।।
तिर्खालु जलधाराले तिर्खा सानन्द मेट्दछ
त्यहीबेला कुहू गर्छ्यौ चित्तमा कविता-चरी।।
लय-छन्द तिमी हैन,भेटिन्छ्यौ लय-छन्दमा
जड-चेतनको नाता गाँसिए-छुट्टिएसरि
शिल्पीले जसरी दिन्छ ढुङ्गामा पनि जीवन
अनुभूत तिमी हुन्छ्यौ वाणीमा दिव्य-सुन्दरी


Wednesday, June 15, 2016

घुम्तीलाई फर्की हर्दा

नेटो मन्दिरझैं पवित्र पथमा सन्सार मेरो थियो
बग्दो कल्कल चित्तको लहरको तस्बीर प्यारो थियो।
पोल्टाभित्र वसन्तको विगतमा खेल्थें म खद्योत भै
लाग्थ्यो जीवन यो कुनै दिन कठै वैशाखको ओठझैं।१।

Friday, May 13, 2016

बुलाकीनिरको फुली

दिवा-निशामा अनि गोधुलीमा
कछाड-बेंसी गिरिका चुलीमा।
सर्वत्र यौटै नहुने हुँदो भो
अल्झें बुलाकीनिरको फुलीमा।।

Friday, September 4, 2015

छन्द-महिमा



मानौं सर्बतको स्वाद, छन्दमा, भाव-शिल्पमा
वाणीमा रसना मेरो रमाओस् कल्प-कल्पमा।।

जहाँ चन्दनझैं मीठो छन्दको परिबन्ध छ ।
अजारामर वाणीको त्यहाँ नित्य सुगन्ध छ।।

Friday, August 28, 2015

आशा-किरण

आशा-किरण
--------------
कपालको पूर्ण शिखा फुकाई
र हातमा शूर्पणखा जगाई।
उठ्तैछ यौटा अब शुद्ध-बुद्ध
यी राष्ट्रघातीजनका विरुद्ध।।
००००००००००००००००
धाई विदेशी घर वा नियोग
लाद्ने स्वदेशीजनमा वियोग।
कुकर्मका घातक तन्त्र-मन्त्र
यो दासता हुन्छ र लोकतन्त्र ?
००००००००००००००००००००
त्यागेर मूर्च्छा अब नेत्र खोली
स्वदेशका खातिर सत्य बोली।
संकल्पले सत्पथ सम्झिंदै छ
हिमाल बोक्ने युग ब्यूझिंदै छ।।
०००००००००००००००
धर्ती चिरी बग्छ सधैँ मुहान
निशाविना हुन्न कतै विहान।
अन्यौलबाटै अब दूरदर्शी
जन्मन्छ लाखौं सुख-स्वप्नदर्शी।।

Wednesday, June 19, 2013

कविता


सर्पले भ्यागुतोजस्तै साँझले जब निल्दछ ।
जगाई बासको आश एउटा दीप जल्दछ ।।

Friday, December 30, 2011

प्रतीक्षा

चराको गीतसँगै उठेका हिउँकुमारीहरु,
एकै लहर खडा हुन्छन् पँधेरामा,
घामको मुस्कान देखेर लजाउँछन्
त्यसैले
गालामा लाली चढाउँछन्,
र यौवनको शोभा बढाउँछन् ।

हो
त्यहाँबाट पारि हेर्दा,

Thursday, December 16, 2010

गीति-कविता

सम्झनामा अल्झिएको मनको चाल कस्तो ?
कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।।

नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो ।
वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।।

गीति-कविता

आकाशले धरतीलाई नछोएकै जाती ।
रोई-रोई पिरतीलाई नधोएकै जाती ।।

नराखे'नि हुन्छ मलाई मनमा सजाएर ।
गाइदिए पुग्छ मलाई गीत बनाएर ।।
कहिलेकहीं सम्झनामा नाता हुनु कस्तो ।

Friday, November 19, 2010

नयाँ नेपालमा- कविता

लोग्ने पर्यो लिम्बूवानको ,लाम्सालिङ्की स्वास्नी ।
सन्तानको जातै छैन,नहुने भो पास्नी ।।
वारि शब्द,पारी अर्थ,लोकतन्त्रको भेष ।
टुक्रिएको अनुच्छेद भो कठै ! मेरो देश ।।

Tuesday, November 9, 2010

तिमीलाई रोज्ने मन- गीतिकविता

छोऊँभने वैलाउने लाजवन्ती बाला ।
नछोऊँ त मग्मगाउने वैजयन्ती माला ।।
०००००००००००००००००००००००००००००००००
हिर्दयको पीपलका हल्लाउँदै पात ।
तिम्लाई छुने बतासले लायो मलाई मात ।
एकैछिन अल्झिएझैं परेलीमा शीत ।

Friday, April 16, 2010

सुनेको पोखरा(कविता)

फेवाको जलमा मानों, माछापुच्छ्रे नुहाउँछ ।
बिहानी घामको टोपी, शिरमाथि लगाउँछ ।।

महे्न्द्र-पुलको शोभा, बाटुले-चौरको मजा ।
बृद्धाका पनि फुक्छन्, रे गालाका चाउरी-मुजा ।।

स्वर्गको जून बोकेर, रात झर्छ मुटु छुन ।
सारङ्गीसँग बज्छन् रे, पिरतीका सबै धुन ।।

लेखिदिएँ तिम्रो नाम(गीति-कविता)

अर्कै कुरा खेलेको पो ,थ्यो कि तिम्रो मनमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

नबोल्दा'नि दुख्छ्यौ अरे, बोल्नखोजे लुक्छ्यौ ।
छोयो कि त लाजवन्ती, झारजस्तो सुक्छ्यौ ।।
बुन्दाबुन्दै तिमीलाई, कल्पनाको तानमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

Tuesday, April 6, 2010

हिर्दयको पँधेरीमा- कविता

हिर्दयको पँधेरीमा पानी भर्दाभर्दै ।
परेलीमा लुक्नखोज्ने नानी चोर्दाचोर्दै ।।
गीत मैले तिमीलाई छोएँ एकैपल्ट ।
सम्झनामा आफैंलाई धोएँ धेरैपल्ट ।।

फूलजस्तो रुप तिम्रो बास्ना मग्मगाउँदो ।
रात चिरी जून्कीरीको ज्योति जग्मगाउँदो ।।

फूलभए वसन्तलाई- कविता

फूल भए वसन्तलाई पर्खी-पर्खी फुल्थें।
मूल भए सुसाउँदै मुहानलाई भुल्थें ।।
बार-बार नपाइने जिन्दगानी कस्तो ?
झरेपछि बिलाउँने शीत-दाना जस्तो ।।

भोको पेट खोज्दोरैछ भोजनको गाँस ।
दोबाटोमा कुर्नेलाई फर्किनेको आश ।।

तीनधारा- लघुकविता


कुरो त यसो पो?
----------------
गाउँमा बाघ मारिएको हल्ला फिंजियो ,
नाचगान गर्दै मान्छेको भीड धुरियो ,
न बाघ देखियो न हल्लाबाज भेटियो ,
भोलिपल्ट त सबैका घर, फोरिएको पो सुनियो ।।

पाखण्ड
-------------

तीन-टुक्रा

कला सस्तो हुँदैजान्छ,
गला भित्तो बनेपछि ।
मान्छे गल्ती हुँदैजान्छ,
खल्ती रित्तो भएपछि ।।- १

तेल बनौंला आँसु झारी
जीवनमा तिमी दीप बन ।