Friday, May 13, 2016

बुलाकीनिरको फुली

दिवा-निशामा अनि गोधुलीमा
कछाड-बेंसी गिरिका चुलीमा।
सर्वत्र यौटै नहुने हुँदो भो
अल्झें बुलाकीनिरको फुलीमा।।


निकुञ्जमा शोभित बारुलीमा
रोपो बढेझैं वयकी ठुलीमा ।
नबल्झिएथें तर कुन्नि के भो?
अल्झें बुलाकीनिरको फुलीमा।।

सम्झें उसैको छवि बाडुलीमा
र सल्किएँ अन्तरको चुलीमा।
काली उ-काली कलिका-कलीमा
अल्झें बुलाकीनिरको फुलीमा।।

गौरी-कला कञ्चन बाटुलीमा
सुलोचना कोमल प्याउलीमा।
नअल्झिएको मन फर्किएर
अल्झें बुलाकीनिरको फुलीमा।।

गुम्सेर धेरै दिन खुल्दुलीमा
ब्यूँझें जसै नूतन काँचुलीमा।
मानों पुरानो रस बौरिएर
अल्झें बुलाकीनिरको फुलीमा।।

म बाँधिएँ प्रेमिल बाहुलीमा
र नाच्न लागें मृदु अङ्गुलीमा।
एकै रह्यो कारण यो हुनामा
अल्झें बुलाकीनिरको फुलीमा।।

टालाटुली खेलमिलीजुलीमा
पैले सुहायौं वर-बेहुलीमा।
त्यै बालक्रीडा पछि छिप्पिएर
अल्झें बुलाकीनिरको फुलीमा।।
(नोट:-तत्सम,गोधूलि)

No comments:

Post a Comment

Please leave your Comments here...▼