Monday, May 9, 2016

मुक्तक


दिन ढलेपनि कालो रातले नछोपेको प्रहर थियो

साँझ बत्तीको सट्टा उनी मुस्कुराएको हेर्ने रहर थियो।


एकान्तमा बसेर मनको एल्बम पुछपाछ गरेर हेर्दा


पुरानो तस्बीरको छातीमा हामी दुवैको हस्ताक्षर थियो।।



०००००००००००००००००००००००००००००००००

धारो-पधेंरो र चौतारोमा जीवन खोज्ने दार्शनिक झैं लाग्छिन्

छातीमा मानवताको हिमाल रचना गर्ने वैज्ञानिक झै लाग्छिन्।


बाँकी सबै रासायनिक मलखाद-विषादीमा फलेका काउली र


एकमात्र उनी खोला-किनाराको कर्कलोझै अर्ग्यानिक झैं लाग्छिन्।।


०००००००००००००००००००००००००००००००००००००००००

घाम लागेको बेला धुलाम्मे बनेको सडक धमिलो भयो

पानी परेको बेला भत्किएको सडकमा हिलैहिलो भयो ।

घामपानीले पालैपालो पहरा दिएर कैद गरेको मन

भर्खरै खाडलबाट झिकेको सिन्कीजस्तै अमिलो भयो ।।

00000000000000000000000000000000

कहिले जाति-धर्म र कुल-घरानाको तमासले सतायो

र कहिले गोरु बेचिएको साइनोको धमासले सतायो।

समाजको महाभारतलाई छिचोलेर बिहे गर्नै लाग्दा

दाँतमा लाग्ने ढुङ्गैलाई बिर्साउँने मलमासले सतायो।।



No comments:

Post a Comment

Please leave your Comments here...▼