Friday, May 6, 2016

मुक्तक

वाईवाईको सट्टा मकैभटमासको खाजा फर्किए’नि ठीकै छ
डिजे र बैन्डबाजाको सट्टा पञ्चैबाजा फर्किए’नि ठीकै छ।
आफ्नो नामको संविधान लागू गर्न नसक्ने गणतन्त्रभन्दा
मुलुकको एकता जोगाउन खुट्टा टेक्ने राजा फर्किए’नि ठीकै छ।।
००००००००००००००००००००००००००००००००००००००००
नाकाबन्दी हट्यो भनिएपनि ग्याँसको अवस्था उस्तै छ
गणतान्त्रिक महङ्गीले थिचेको सासको अवस्था उस्तै छ।
देशमा राष्ट्रवादी सरकार छ भनेर मख्ख नपर्नु सान्नानी !
नेपाली बोलेर हिन्दीको सेवा गर्ने दासको अवस्था उस्तै छ।।
०००००००००००००००००००००००००
फूल रोपेपनि म, स्वयंचाहिं काँढैकाँढाले घेरिएको छु
कतै आँसु र कतै रहरका लहराले बेह्रिएकोछु।
जिन्दगीले थिचेर राखेका चिर्कटाहरू पल्टाएर हेर्दा
गीतहरूका स्थायी र अन्तरामा दश ठाउँ केरिएको छु।।
000000000000000000000000000000000000
बेसीमा गुयेँली र लेकमा पाक्ने काफलको बोटमा देखें,
घाम डुबेपछि बास माग्न जाँदा भेडी-चौंरीको गोठमा देखें।
जुनी-जुनीमा नछोएर केवल सम्झनामा साँचेकी उनलाई
घाम-पानीमा रुझेर हाँसेको इन्द्रधनुको ओठमा देखें।।
००००००००००००००००००००००००००००
कार्यकर्ताहरूलाई भकुन्डो बनाउन चर्को बोल्छु,
चुनाव जितेर राजधानी छिरेपछि झर्को बोल्छु।
देश र संसदलाई द्रौपदीको चीर बनाउने नेता म
सत्तामा हुँदा एउटा र विपक्षमा हुँदा अर्को बोल्छु।।





०००००००००००००००००००००००००००००००
आन्दोलनमा होमिने जाँगर, विदेशीको स्याबासले दिन्छ
सरकारी निर्णयको नमुना, भारतीय दूतावासले दिन्छ ।
कागजमा लेखेको सार्वभौम सत्ता हाम्रैले बेचे सान्नानी !
देश पोल्नेहरूलाई आगो चाहिए, शीतलनिवासले दिन्छ।।
0000000000000000000000000000000000
न कसैले मिचिएको सुस्ता र गुमेको टिस्टा मागेको छ
न कसैले सामाजिक एकता र देशको निष्ठा मागेको छ।
बरु संघीयताको आडमा बाईसी र चौबीसीका सामन्तले
पुराना राज्यको फिर्ती र सत्ता-शोषणको चेष्टा मागेको छ।।
०००००००००००००००००००००००००००००००
मालिककै इशारामा मधेसी शाहज्यादा बटारिएका हुन्,
योजना अनुसार नै दलभित्रका प्यादा चटारिएका हुन्।
श्रीपेचविनाकै हुकुमका त्रिशङ्कु तीन राजा पनि के कम
धामी र बोक्सीको भूमिकामा अलि ज्यादा हतारिएका हुन्।।
00000000000000000000000000000000000000000000
संविधानसभाबाट भारतीय रगतको नाता बाहिरियो,
त्यसैको पछि लागेर पुरानो तागतको नाता बाहिरियो।
एकदिन कृष्ण वस्तीले मुक्तकको अन्त्यमा लेख्नेछ,
लाज पचाएर बाँकी बचेको, सत्ता-संगतको नाता बाहिरियो।।
0000000000000000000000000000000000000000
रगत चुस्ने जुम्राहरू, मान्छे स्वयंका केशमा हुन्छन्
सीता-हरण गर्ने रावणहरू, सज्जनकै भेषमा हुन्छन्।
शत्रुको लागि सहोदर मार्ने विभीषण र सुग्रीवहरू
युग-युगमा जन्म लिएका देशभित्रकै प्रदेशमा हुन्छन्।।
००००००००००००००००००००००००००००००००००
दिल्लीले फुकाउँदा फुक्ने र कस्दा कसिने पटुकाहरू,
विदेशीहरुले सिकाएको गोपीकृष्ण गाउने सुगाहरू ।
विविधताले भरिएको हाम्रो भूभागमा मात्र पाइन्छन्
देशको नागरिकता बोकेर देशलाई नै चुस्ने जुकाहरू।।
०००००००००००००००००००००००००००००००००००००००
बेला-बेलाको नाकाबन्दीमा हामीले नुनतेल झेलेकै हो,
इतिहासका पाइला-पाइलामा दादागिरीले पेलेकै हो।
दाह्री सेता भएपनि मनभित्र कालो पालेका मोदीले !
यसपटक नेपालमा विखण्डनको राजनीति खेलेकै हो।।
००००००००००००००००००००००००००००००००००००००
म केवल विज्ञापनका लागि तिर्खाएको काकाकूलजस्तो छु,
खोलाको शोभाका लागि बाँधिएको कागजी पुलजस्तो छु।
भँवराको पाउजस्तै प्रशंसाको कोमलता पचाउने कवि म
चराको नङ्ग्राझैं, आलोचना नथेग्ने शिरीषको फूलजस्तो छु।।
०००००००००००००००००००००००००००
टन्किएर दुखेको पिलोमा खटिरा थप्ने काम हुँदैछ,
नयाँ राजाको लागि देशमा चिरा थप्ने काम हुँदैछ।
उसैपनि जात र धर्मको नशाले लठ्ठिएको मान्छेलाई
राजनैतिक सत्ता र स्वार्थको मदिरा थप्ने काम हुँदैछ।।
000000000000000000000000000000000
पिरतीको धूलोमैलो धुनुहुन्न भन्छे,
यौवनको गाजल बगाई रुनुहुन्न भन्छे।
जिन्दगीको जूनलाई जति हेरे हुन्छ
हाँसेपनि बोलेपनि छुनुहुन्न भन्छे।।
०००००००००००००००००००००००००००

देशमा मुख गाडेका जुका झार्ने टिम्मुर चाहिएको छ,
हिमाल-तराईको रक्षा गर्ने गतिलो कुकुर चाहिएको छ।
लोकतन्त्रको नाममा भद्रगोल बाँड्ने बेइमान नेताभन्दा,
देशलाई त एउटा इमान्दार जङ्गबहादुर चाहिएको छ।।

000000000000000000000000000000
मेरो कारणले फाटेको भए, आऊ मन सिलेर बाँचौं
आधा रोटी र भातको गाँस, आधा-आधा निलेर बाँचौं।
हिजोजस्तै भोलि पनि, एक्लै बाँच्न सकिन्न कान्छा!
माटो र बाटोमा मात्र होइन, मनभित्र पनि मिलेर बाँचौं।।
000000000000000000000000000000000000
तातेको तेलमा पानी परेजस्तो कविता फुर्लाजस्तो छ,
दाम खर्चिएरै भए’नि नाम खरिद्ने साइत जुर्लाजस्तो छ।
शब्दको रजाइँमा भावले निगुरमुन्टी हुने दिन आएपछि
अब त मभित्रकै कवि पनि कुम्भकर्णझैं घुर्लाजस्तो छ।।
०००००००००००००००००००००००००००००
खुलेको आधा आकाशबाट पिल्पिलाउँदो तारा झरेको देखें,
अनि बादल डुलेको आधा आकाशबाट जलधारा झरेको देखे।।
विदा हुने बेलामा समुस्कान रसाएको तिम्रा आँखाबाट
मैले त एकैसाथ जुनी-जुनीका निर्मल इशारा झरेको देखें।।
000000000000000000000000000000
जीवन-यात्राको निरन्तरतामा अलिकति नाम कमाए
गाँसबास र कपासका लागि ठिक्क पुग्ने दाम कमाएँ।
तैपनि मन नमिलेको गणितमा कहाँ गल्ती भएर हो
तिम्रो र मेरो साइनोमा जहिलेसुकै बदनाम कमाएँ।।
००००००००००००००००००००००००००००००
उनको गजल सुनेपछि मख्ख हुन्छ बादल
मनको मादल बजेपछि फिक्का हुन्छ गाजल।
वनैभरि काफल-जस्तो पाकेपछि रहर
लाग्छ मलाई जवानी यो, पक्का हुन्छ पागल।।
०००००००००००००००००००००००
देशको कार्यकारीबाटै कार्यतालिकाहरु असुरक्षित छन्
अगुवाबाटै गाँउ र नगरपालिकाहरु असुरक्षित छन्।
आजभोलि कुन सभ्यताको हावाले छोएर हो कुन्नि !
आफन्त र नातेदारबाटै, बालिकाहरु असुरक्षित छन्।।**(()
०००००००००००००००००००००००००००००
आकाशबाट टिल्पिलाउँदै र पिल्पिलाउँदै झरेका ताराहरु
पहुँचभन्दा टाढाको अक्करको आँतमा बग्ने जलधाराहरु।
मनभित्रका घाउहरु कोट्याउनकै लागि देखिएझैं लाग्छ,
केवल आँखाले हेर्नुको शोभामा सीमित, प्रियाका इशाराहरु।।
00000000000000000000000000000
निर्जीव चित्रसँग के डर ? मलाई चरित्रसँग बच्नुछ,
बाहिरको चिसोभन्दा गुम्सिएको भित्रसँग बच्नुछ।
शत्रुले त जे गर्नुपर्ने हो त्यही भन्दै हिंड्छ सान्नानी !!
मलाई त आफ्नै लगौंटिया यार र मित्रसँग बच्नुछ ।।


0000000000000000000000000
स्वयं हावाले बाटो बदलेपछि हल्लिएको पात जिल्लियो
टाउको प्रयोगशाला बनेपछि भस्मासुरको हात जिल्लियो।
मामाको तरुनी घोडीमा हीही गर्दै एकैछिन बुर्कुसी मारेर
काँग्रेसी बन्दूक प्रचण्डले फालिदिएपछि भारत जिल्लियो।।
000000000000000000000000000000000
घण्टा फुटेपनि उझिन्डोमै झुन्डिएको रालोजस्तै थियो,
दिदीलाई छोडेका भिनाजुबाटै चिनिने सालोजस्तै थियो।
पशुपतिको जात्रामा सिद्राको व्यापार गर्ने ओलीको टोली
पोकोमा हींङ थिएन,तैपनि हींङ बाँधेको टालोजस्तै थियो।।
०००००००००००००००००००००००००००००००००००००
इतिहासले आफ्नै हस्ताक्षरमा घटनाको पुस्तक लेख्नेछ
भावी पुस्ताको कविले पनि गीत-कविता र मुक्तक लेख्नेछ।
साहित्य र इतिहास दुवैको सीमा-शिलालेखको साझा अक्षरले
हाम्रो संविधानलाई हास्यमाला र नेतालाई विदूषक लेख्नेछ।।
०००००००००००००००००००००००००००००००००००

राजनैतिक सन्सारमा त्रिशङ्कु जन्माउन कुशल हुनेछ
नेपाली जनताका सपनाको लागि अक्करको फल हुनेछ।
राजनीतिको ज्योतिषले कुण्डलीमा देखेको तीतो सत्य
नेपालको संविधान साम्बले जन्माएको मुसल हुनेछ।।

विचार र चिन्तनको नाममा विपीको भोटो पनि बेचेर खाए
मनमोहनको नाम र मदन भण्डारीको फोटो पनि बेचेर खाए।
गणतन्त्रको टाउकोभित्र राजतन्त्रको गिदी बोकेका नेताले
देशको सीमा,नदीको पानी र सल्लाको खोटो पनि बेचेर खाए।।
00000000000000000000000000000000000000
वाईवाईको सट्टा मकैभटमासको खाजा फर्किए’नि के भो?
डिजे र बैन्डबाजाको सट्टा पञ्चैबाजा फर्किए’नि के भो ?
आफ्नो नामको संविधान लागू गर्न नसक्ने गणतन्त्रभन्दा
देश लुट्ने पातकीलाई पाता कस्ने राजा फर्किए’नि के भो ?
000000000000000000000000000
बर्खान्तपछि सरकारसँग उधारो सम्झौता भयो
भूकम्प पीडितको राहत त नदेखिने द्यौता भयो।
सत्ताका व्यापारीहरूको कुकर्मलाई विचार गर्दा
लोकतन्त्र नामको बुख्याँचा पनि देशकै सौता भयो।।
00000000000000000000000000000000
राज्यले ह्याप्पी बर्थडेको शैलीमा भूकम्प दिवस मनायो
मर्नेको सन्तानले आफन्तको नाममा पिण्डपानी चढायो।
भत्किएको घरलाई हेर्दै आँसु बगाउने नेपालीको नाकमा
आफ्नै काँधको लोकतन्त्र सतीदेवीको लासझैं गह्नायो।।
00000000000000000000000000000
बनोस् घामको ज्योतिको धाम बस्ती
सफा कर्मको होस् सधैं मोजमस्ती
त्यहाँ पुग्न पाओस् जहाँ पर्छ साँझ
दियालो बनी गाउँमा कृष्ण वस्ती
000000000000000000000000
नदीको रूपमा बग्ने आमाको चरण-जल पनि भनेनन्

किसानको खेतबारीमा पुग्नुपर्ने बीउ-मल पनि भनेनन्।

नालायक नेताको पछिल्लो अपराधको बुदाटिपोट यो

भूकम्प-पीडितका नामको चामल र कम्बल पनि भनेनन्।।


विचार र चिन्तनको नाममा विपीको भोटो पनि बेचेर खाए
मनमोहनको नाम र मदन भण्डारीको फोटो पनि बेचेर खाए।
गणतन्त्रको टाउकोभित्र राजतन्त्रको गिदी बोकेका नेताले
देशको सीमा,नदीको पानी र सल्लाको खोटो पनि बेचेर खाए।।
000000000000000000000000000000000
आजसम्म यौटा कुरा नबुझेको खास यो ?
यति प्यारो जिन्दगीको कहाँ जान्छ सास यो ?
खोलाजस्तै नाकै-नाका नेपाल छिरे पनि,
डिजेल-पेट्रोल-मट्टितेल र कहाँ जान्छ ग्याँस यो ?
0000000000000000000000000000000
किसान-मजदूर र भोका-नाङ्गा व्यथितलाई पनि बिर्सिए,
आन्दोलनमा ज्यान मुमाएका शहीदलाई पनि बिर्सिए
केका लागि संघीयता र गणतन्त्रको गीत गाउनु मैले ?
सत्तामा रमाएका गिद्धले भूकम्प-पीडितलाई पनि बिर्सिए।।
000000000000000000000000000000
सम्पन्न भैसकेका छन्,गोप्य मन्त्रणा र ढोगभेटहरू
चिल्लोचाप्लोले पनि भरिएका छन् परजीवी पेटहरू ।
दिल्लीका शासकले टाउको जोगाउन प्रयोग गरेपछि
नेपालकै सिंंगौरामा फिर्ता पठाउँदैछन् आफ्ना हेलमेटहरू।।
Ooooooooooooooooooooooooooooo

गाउँ-शहरमा फाट्टफुट्ट भेटिने सिल्लीबाट जोगिनुपर्छ,
सत्ताको झोलचोक्टा र चुरोटको खिल्लीबाट जोगिनुपर्छ।
चोरको दाउ र डाकाको आक्रमणलाई सामान्य ठानेपनि,
छिमेकमा ढुकेरै बसेको घिनलाग्दो दिल्लीबाट जोगिनुपर्छ।।
0000000000000000000000000000000
दिल्लीतिर उडेका बाजहरू, चारापानी लिएर फिर्नेछन्,
नेपालको छाती घुमाउन, हातो-कमानी लिएर फिर्नेछन् ।
स्वयम्भू र पशुपतिको निवासलाई परदेश ठान्नेले अब,
लालकिल्ला र ताजमहलको राजधानी लिएर फिर्नेछन्।।
00000000000000000000000000000000

काँढाको छियाछिया झेल्दै अघि बढ्ने पाइलो खोजेको हो
साँझका लागि पुर्खाले साँचिदिएको दियालो खोजेको हो ।
सिङ्गो अँध्यारोलाई पिउँने शक्ति र सामर्थ्य नभएपनि
मैले त जीवनको गोरेटो हेर्न ससानो उज्यालो खोजेको हो।।
00000000000000000000000000000000000000000000000000000

संघीयताको बैला थुनबाट उधारो पेडा पनि झर्नदेऊ,
पहिचानको नाममा देश चिर्ने बखेडा पनि गर्नदेऊ।
सत्ताको लागि देशलाई नै दिल्लीको खर्क बनाएपछि
मालिकले पठाएका एक करोड भेडा पनि चर्नदेऊ।।
00000000000000000000000000000000000000000000000000000000000000
हामी बुद्ध र सीताको छाया र आङमुन्तिरको देशमा छौं
पवित्र गुम्बा र मन्दिरैमन्दिरको चाङमुन्तिरको देशमा छौं।
यी सबै चियाको कपमा तूफान ल्याउने टेबुल गफमात्र हुन्
यथार्थमा हामी विदेशी दलालको टाङमुन्तिरको देशमा छौं।।
000000000000000000000000000
पाकेको लोहोरो खानका लागि हिजो हातमा थाल थमाए
जातीय राज्यको मुकुट-गद्दी र बन्दूकको नाल थमाए।
देश हारेर विखण्डन र कलहले जित्ने संघीय प्रदेशलाई
मुलुककै घरभेदी नेताले केवल रगतको आहाल थमाए।।
०००००००००००००००००००००००००००००००००
साइनबोर्डमा त लेखिएको छ"अधिकारको लडाइँ हो"
आ-आफ्नो नाकको नाम राख्ने"संस्कारको लडाइँ हो।।"
धुरी डढेर खरानी भएको भोलिपल्टै हामीले भन्नुपर्नेछ
यो अधिकार र संस्कारको नभई "धिक्कारको लडाइँ हो।।"
000000000000000000000000000

सीमानाको गीत लेख्ने कवि, वीरताको कहानी खोज्दैछ
पौरखी युवाको उम्दो ढुक्ढुकी, आशाको बिहानी खोज्दैछ।
हराउने र खोज्नेको भीडमा, बूढो सडकमा छामछुम गर्दै
यतिबेला देशको धर्ती, हराएको आफ्नो जबानी खोज्दैछ।।%%
0000000000000000000000000000000
लोकतान्त्रिक गणतन्त्रको काइते लोरी गाउन छोड
सङ्घीयताको लोहोरो ब्याउने झूठ गनगनाउन छोड।
पूरै देशले सत्तामा विदेशी दलाल छन् भन्ने बुझेपछि
अब नाइटो चिलाउँदाको लाजले टाउको कन्याउन छोड।।
0000000000000000000000000000000
देउरालीको पत्थर थें अक्षर भै बसी,
के भनेर जुटाऊँ म पिरतीको दसी।
निर्मोहीको रङ्गलाई यति भने पुग्छ,
छातीभित्र गजल लेख्दा नमेटिने मसी।। ***
००००००००००००००००००००००००००००००००
विगतमा आर्जिएका विभूषण हराएको शहरमा
प्रशंसा-पत्र पुरिएको शंका लागेको खण्डहरमा।
एउटा पागल-इतिहास, वर्तमानसँग राहत माग्दै
चिच्याउँदै भौंतारिन्छ, आजभोलि विराटनगरमा।।**


खाजामा साँधेको गुन्द्रुक र साथमा मोही-मकै थियो
पेट भरिएपनि नअघाएको मन, सायद भोकै थियो।
अजम्बरी याद लिएर फिर्नुअघि तिनको मुहारमा हेर्दा,
रुझेका परेलीमा मेरो र सिउँदोमा नाम अर्कै थियो ।।
०००००००००००००००००००००००००००००
अगेनोबाटै आगोका कोइलाहरु बहिष्कृत भएपछि
मान्छेको शरीरबाटै पाइलाहरु अस्वीकृत भएपछि।
मासिने रोगले बेस्सरी च्यापेको ठान्नुपर्छ सान्नानी!
देशका रक्षकहरु-बाटै महिलाहरु तिरष्कृत भएपछि।।
०००००००००००००००००००००००००००००००००००
कलेज भनेको पनि हिलो-आली गरेकै खेत रहेछ,
शिक्षक भनेको पनि बाउसे र रोपारकै चेत रहेछ।
पढाउनु पनि, मुरी फलाउन मानो रोप्नु नै हो सानू!
विद्यार्थी भनेको हातमा बोकिने बीउकै संकेत रहेछ।।
०००००००००००००००००००००००००००००००००
हातमा कपास र खरानी राखेर बत्ती कात्दैथिइन्,
साथमा बलेको दीयोलाई उछिन्दै रिसले तात्दैथिइन्।
नाइटो चिलाउँदा पनि सधैँ कपाल कन्याउने उनी,
आज त मधु-प्यालाकै साथमा,सम्साँझै मात्दैथिइन्।।
००००००००००००००००००००००००००००००००००
उनीसँग संयोगले, ख्याल-ख्यालमै परिचय भएपछि,
एक-अर्कालाई भेट्ने रहर, मनभित्र सञ्चय भएपछि।
(एउटै नाउबाट जीवन तर्नुको अर्को विकल्प देखिएन,)
एकअर्को-विना, धर्तीमा बाँच्नै नसक्ने निश्चय भएपछि।।
०००००००००००००००००००००००००००००००००००००
कुनै भूलचूक रहेको भए, लेनदेन गरेर पश्चाताप गरौं,
विना-करकापको सहमतिले, साइनोमा सहीछाप गरौं।
कुनै बिन्दुमा पुगेर आगो र पानीले मिल्नैपर्छ भने
आजै जीवनको चौतारीमा बसेर, रहरलाग्दो पाप गरौं।।
०००००००००००००००००००००००००००००
कुरो पुरानो भएपनि, मनको घाउ भने अझै आलो रह्यो,
जीवनको आँखा थियौ, तिमी गएपछि सन्सारै कालो भयो।
एकैछिन हल्लाएर सर्वनाशपछि धर्तीको भूकम्प फर्कियो,
तर मेरो जीवनमा भने कहिल्यै नथामिने भुईचालो गयो।।
०००००००००००००००००००००००००००००००००
छोरीले संस्कारको शान राख्न कपाल नै पाल्नुपर्ने,
छोराले मर्यादाको नाक थाम्न कपाल नै फाल्नुपर्ने।
कुन नियम हो भक्तले बिजुली बालेरै बाँच्ने युगमा
उसैको देउतालाई भने सलेदोको टिलपिल नै बाल्नुपर्ने ?
०००००००००००००००००००००००
नाता र साइनोको नाम त्यागेर अनामिका बनेपछि,
जीवनका पुस्तकको मूलपाठ छोडेर भूमिका बनेपछि।
समाजले ‘पुनर्मूषिको भवः’ त भन्ने नै भयो, प्यारी !
अचानक पत्नीको दर्जा त्यागेर, पूर्व-प्रेमिका बनेपछि।।
०००००००००००००००००००००००००००००००००००
छर-छिमेक मिलेर खेतबारी जोतिदेओस् भन्ने चाहन्छ,
नाता-गोता भेला भएर घर पोतिदेओस् भन्ने चाहन्छ।
स्वाभिमान बेचेर पुर्निर्माणको नारा दिने मेरो सरकार,
मामाले लगौंटी र ससुरालीले धोती देओस् भन्ने चाहन्छ।।
००००००००००००००००००००००००००००००००
चिन्ता र चिन्तनको भारी फालेर हल्का-हल्का कुरा गरौं,
पुरानो खाता बिर्सिएर नयाँ नाताको पहलका कुरा गरौं।
दिन ढलेपछिको साँझमा आशाको सानो दीप जगाएर,
कोलाहलको गोधूलीमा,आज थोरै अल्कोहलका कुरा गरौं।।
००००००००००००००००००००००००००००००
धर्ती जिउँदो-जाग्दो हुन्छ कात्रा गिराएर
जङ्गल हराभरा पार्नु लाथ्रा गिराएर।
छन्द भन्दा गन्ध आउँछ बहर भनेपछि
गजल लेख्ने रहर पुग्छ मात्रा गिराएर।।
०००००००००००००००००००००
असारे झरीको आवाज तिम्रै गीतको भाखाजस्तो लाग्यो
पानीमा रुझ्दै खुलेको घाम पनि तिम्रै आँखाजस्तो लाग्यो।
यो बिरानो सन्सारको माटोमा बसेर देखेको मीठो सपना
मलाई त आज तिमीसँगै डुलेको वन-पाखाजस्तो लाग्यो ।।
००००००००००००००००००००००००००००००००००००
मागेको धनले त्यसरी नै देशको पुनर्निर्माण गरिन्छ
जसरी पत्थरको मूर्तिमा वेदको मन्त्रले प्राण भरिन्छ।
भूकम्पले त हाम्रो एकपल्टमात्र सर्वस्व लुटेर गयो
देश लुट्नेबाट त बारम्बार घाउमाथि विष-बाण छरिन्छ।।
०००००००००००००००००००००००००००
माया मारेर सापटमा गएको रकम फर्किने खबरजस्तो
पुरानो मोबाइल सेटमा लगाएको नयाँ-नयाँ कभरजस्तो।
आफूले कोरेको नोट फर्किएर हातमा आउँदाको अनुभव
अर्कैसँगको घरजमपछि बाटोमा भेटिने पुरानो लभरजस्तो।।
०००००००००००००००००००००००००००
चरासँग सापट लिएर फेरिने मीठा र सुरिला भाखाहरु
वैंसालुसँग मुस्कान पैंचो लिएर फूल फुलाउने पाखाहरु
अब त केवल सम्झनाको सिरानमा राखिने परदेशमा
मात्र बाँकी रहेकाछन् नुनिला आँसुमा पौडिने आँखाहरु।।


0000000000000000000000
गजलभित्र पूर्णिमाझैं सग्लो बहर देऊ,
धर्मजस्तै पाप गर्ने अग्लो रहर देऊ।
छँटाएकी मेरी उनी यस्तै कुरा भन्छिन्
पिरतीको अजम्बरी सङ्लो जहर देऊ।।
*************************
जूनमा टाँसिएको मन,तिमीबाट चोरिएपछि जगमगाएँ,
म त पाकेको कटहरझैं रहर फोरिएपछि मगमगाएँ।
म आफ्नो जीवनका सातौं रङ्गसम्म ठीकै भएपनि
तिमीबाट आठौं रङ्गको रूपरेखा कोरिएपछि डगमगाएँ।।
000000000000000000000000000
मामा र आमा दुवैतिरका नाता बेचेर सत्तामा उक्लियो,
निष्ठा र सदाचारलाई लिलाम गरेर समाजबाट एक्लियो।
उम्लिएपछि पोखिने नियतिको खेलले नछोडेको उसलाई
सत्ता र शक्तिको शिखरबाट पहिलेकै जमिनमा चिप्लियो।।
००००००००००००००००००००००००००००००००००
जुन भाषामा तोते-बोली फुट्यो त्यही भाषालाई थुक्नेहरू,
एकता र भाइचाराको कुरा गर्दा ओठ-तालु दुवै सुक्नेहरु।
(लोकतन्त्रकै गुँडमा चल्ला काढेर बसेकाछन् भन्ने सुनिन्छ)
हातमा नेपाली नागरिकता बोकेर छातीमा विदेश दुख्नेहरू।।&&&
००००००००००००००००००००००००००००००००००
भग्नावशेष र घाउ लिलाम गरेर दाता पनि फकाउँदैछ,
धार्नी-बिसौलीको हिसाव मिलाउन खाता पनि फुकाउँदैछ।
देशलाई मानो र आफूलाई मुरी उब्जाउन व्यस्त सरकार,
पीडितको आँसु र झरीमा भिजेको छाता पनि सुकाउँदैछ।।&&&&
000000000000000000000000000000000000000000000000000000000
अचेल साइनो परेकी प्रेमिकालाई लभर भनेहुन्छ,
खर-खाँचोमा घुमाउने प्रेमीलाई ड्राइभर भनेहुन्छ।
नाच्न नजानेको कलालाई डान्स गरेको भन्नेले
मन्दिरकै पेटी र घरकै कोठालाई साइबर भनेहुन्छ।।





जीवन भनेको समय दाहिने भएर सुख पाउने आशा हो,
हिंड्दा-हिड्दै चिप्लिएर जोरी-पारी हँसाउने तमासा हो।
घाम-पानीमा एकैछिन देखिने इन्द्रधनुझैं जीवन भनेको
शयौं परिभाषामा पनि नअटाउने कविताको परिभाषा हो।।&&
00000000000000000000000000000
हिर्दयको धून मिठो सारङ्गीको तारलाई
फुर्सदको ख्याल-ठट्टा लाजवन्ती झारलाई।
जुन पाटोलाई छोएपनि उसैगरी खुल्ने,
जिन्दगीको तोरीबारी घर-मौरीकी घारलाई।।**
००००००००००००००००००००
चोरेरै भए'नि तिम्रो मुस्कानलाई टिपटाप गर्ने मन छ,
खोसेरै भए'नि जीवनको कागजमा सहीछाप गर्ने मन छ।
तिम्रो मनको कानुनको दफामा कुनै छेकथुन छैन भने,
जुनी दिएरै भए'नि मलाई रहरलाग्दो पाप गर्ने मन छ।।
०००००००००००००००००००००००
शान्तिको नाममा भाग-शान्ति लुट्ने बजेट बन्द छ,
अतिरिक्त लक्ष्मीले ओहोर-दोहोर गर्ने चेनगेट बन्द छ।
पुनर्निर्माणको साँचो र आफ्नो हात जगन्नाथ गर्नपाए,
देश र जनता निथ्रिए'नि आफ्नो र आफ्नाको पेट बन्दछ।।%%%
०००००००००००००००००००००००००००००
बाँच्नेलाई भोकै राखेर मर्नेलाई पिण्ड-सिधा चढाइन्छ,
धर्ममाझैं नेपाली राजनीतिमा सधैं व्दिविधा पढाइन्छ।
सरकारबाटै गरीब देशको भोको वर्तमानको गाँस खोसेर,
सेतो हात्तीजस्ता भूतपूर्व विशिष्टको सुविधा बढाइन्छ।।&&&
००००००००००००००००००००००००००००००००
उसले र मैले नाता प्रमाणित गर्नैपर्ने सन्देश गएपछि,
उम्किने बाटो सकिएर अन्तिम विकल्प शेष रहेपछि।
साविती बयानले एकअर्काको हत्कडी बनेकै हो श्रीमान् !
जनताले फैसला गर्ने जग्गेमा विहेको मुद्दा पेश भएपछि।।
०००००००००००००००००००००००००००००००
जमिनमा गाडिएको लासलाई उसकै चिहानले खान्छ,
माकुराको माउलाई आफैंले जन्माएको सन्तानले खान्छ।
नेता र दलले भीडको मादल भएर यस्तै बज्दै जाने हो भने
लेखेरै राखेहुन्छ"तिनलाई कार्यकर्ताकै तानातानले खान्छ ।।"%%
000000000000000000000000000
निश्चय नै जीवन भनेको समस्यै-समस्याको डङ्गूर हो,
कुनैपनि बेला पानीको बेलुनजस्तै फुट्ने क्षणभङ्गूर हो।
जोसुकैले जेसुकै परिभाषा दिएर स्वाँङ पार्न खोजेपनि
जीवन भनेको बोटमा पाकेर ओठमा बसेको अङ्गूर हो।।
०००००००००००००००००००
एकअर्काको अभावमा लागेका घाउमा मह्लम लगाऊँ
बेलगाम हाम्रा मन-सोच र विचारहरुमा गलम लगाऊँ।
पुरानो नाताको सुकेको हाँगालाई बितेको सपना सम्झेर
आऊ जीवनको अर्को हरियो हाँगोमा नयाँ कलम लगाऊँ।।
०००००००००००००००००००
तिम्रो शहरमा त पुरानै धून बज्ने नयाँ बाजा रहेछन्
र मेरो ठहरमा पुरानै घाउ दुख्ने नयाँ धाँजा रहेछन्।
झूठा ठहरिए कान काटेर फालिदए'नि हुन्छ सान्नानी !
लोकतन्त्रको प्रहरमा पुरानै मुहारका नयाँ राजा रहेछन् ।।
०००००००००००००००००००००००००
आफूले साँध लगाएको खुकुरीले आफैंलाई काट्ने रहेछ
स्वार्थपूर्तिका लागि बाउलाई छोराले पनि ढाँट्ने रहेछ।
भागबन्डाको बाघले तिमीलाई पनि खानेछ नेताज्यू !
काखमा राखेको कुकुरले मालिककै मुख पनि चाट्ने रहेछ।।
००००००००००००००००००००००००००००००००
मेरो आँखाले तिमीबाहेक अरु कसैलाई छान्न सकेन,
गरीवीको खल्तीले तैपनि मायाको रहर धान्न सकेन।
खोलो तरेपछि बिर्सिएको लौराले भोग्ने वियोगमा
मैले लेखेको गीतले सायद, तिमीलाई तान्न सकेन।।
००००००००००००००००००००००००००००००००००००००
तिमीले बिर्सिएपछि मैले पनि सम्झने इलम रहेन,
मनको घाउ चर्किएर दुख्दा लगाउने मलह्म रहेन।
मातिएको साँझसँग आत्तिएको याद साट्दा-साट्दै
मेरो स्वयंको भन्नु त जिन्दगी लेख्ने कलम रहेन ।।
00000000000000000000000000
राजतन्त्रले चुसेका जनतालाई गणतन्त्रबाट आस भयो,
ग्रहगतिले लोकतन्त्रको गुँडमा विदेशी गिद्धको बास भयो।
साँढे ब्याएर डोकैमा दूध अड्छ भन्ने ठानियो कि क्या हो ?
हेर्दाहेर्दै शिक्षा-स्वास्थ्य र न्यायको पनि सत्यानाश भयो।।
००००००००००००००००००००००००००००
देशको भाग्य र भविष्यकालागि त्यो असल पनि हुनसक्छ,
विरोधी र निमुखालाई दबाउने मात्र मसल पनि हुनसक्छ।
राजनीतिका धामी-वैद्य र ज्योतिषीले भनेकैजस्तो नभएर,
भोलि जन्मिने संविधान त साम्बको मुसल पनि हुनसक्छ।।%%
००००००००००००००००००००००००००००००००००
(साम्बः- वंशनाशी मुसल जन्माउने कृष्णका छोरा)^^^^^
००००००००००००००००००००००००००००००००००
सधैँ ढाँट-छलको कम्मरमा कस्ने राजनीतिका पटुकाहरु
शासनमा बस्नेले देशको रस पिउँन प्रयोग गर्ने बटुकाहरु।
सन्सारको जुनसुकै देश र कालखण्डमा'नि उस्तै हुन्छन्
अर्काको रगत चुसेरै बाँच्ने कीर्ना-जुम्रा-चुर्ना र जुकाहरु।।
००००००००००००००००००००००००००००००००
अकालमा पनि सोचाइमा आशाको फूल सिउरिएको हुन्छ,
शोकको बाढीमा हेलिंदापनि मनको मयल खौरिएको हुन्छ।
ईश्वर भनेको कस्तो हुन्छ ?भनेर सोध्नेलाई छोटो उत्तर
ईश्वरको गुणपनि माल्दाइकै शिर-जस्तो निहुरिएको हुन्छ।।
०००००००००००००००००००००००००००००००००००००००००

सडेको चामल विश्वखाद्य कार्यक्रमको अनुदान हुन्छ,
सबै देशी-विदेशी तस्करको एकै सोचको खानदान हुन्छ।
बाढी-पहिरो-हैजा र भूकम्प-पीडितको पीडा र छाती पनि,
राजनीति र सहयोगको नाममा लुट्नेको खेलमैदान हुन्छ ।।
००००००००००००००००००००००००००००००००
साधना र सिद्धिको लागि नदीझैं अविरल लेवर हुनुपर्छ,
विधागत पहिचानको लागि सिर्जनाको कलेवर हुनुपर्छ।
आफ्नो गजललाई अजम्बरी बनाउने हो भने सान्नानी !
रूपमा लालिमा र गुणमा गीतिकविताको फ्लेवर हुनुपर्छ।।&&&
००००००००००००००००००००००००००
धारो-चौतारो र बाटो, निजी बिर्ताको चौघेरोमात्र होइन
आफ्नो भन्नु हाडनाता र रगतको सेरोफेरोमात्र होइन।
"देश मेरो पनि हो" भन्ने कुराकाई जायज मान्दामान्दै
यो पनि बुझ्नैपर्छ कि देश भनेको तिम्रो वा मेरोमात्र होइन।।&&&&
000000000000000000000000000000
मनमा पाप र पुण्य नपाल्ने शिशुको आँङमा भोटो छैन,
विनासेल्फी सेवामा जुट्ने महात्माको सोच खोटो छैन।
राहत र उद्धारमा पनि प्रचारै खोज्नेलाई एउटा सूचना,
भूकम्प र पीडित दुवै पक्षसँग फेसबुकमा टाँस्ने फोटो छैन।।%%
०००००००००००००००००००००००००००००००००
आजभोलि चामलमाथि मल र बियाँ हावी भएको छ,
विश्वविद्यालयको शिक्षामाथि माफिया हावी भएको छ।
समाजकै ऐना मानिने साहित्यमा त्यसको प्रभाव पर्नाले
गजलको पनि काफियामाथि हकिममियाँ हावी भएको छ।।****
0000000000000000000000000000
शरीरभन्दा ठूलो लुगा र लुगाभन्दा धेरै खल्ती हुन्छ,
मान्छे र वनमान्छे नछुट्टिनेकै आजभोलि चल्ती हुन्छ।
बुझि-नसक्नुको उत्तर आधुनिक साहित्य र सभ्यतामा,
मान्छेले के बोल्दा ठीक हुन्छ र के बोल्दा गल्ती हुन्छ ?
00000000000000000000000000000
लोकतन्त्रमा सबैखाले विचार र रहरकै चान्स आउँछ,
गाउँको गीत र लोकनाचको सट्टा शहरकै डान्स आउँछ।
लोकभाका र छन्दको कुरा त मकै-कोदोझै अपाच्य भए,
अब त गजलको भोकमरी टार्न, बहरकै रेमिट्यान्स आउँछ ।।
००००००००००००००००००००००००००००००००००००००
मैले हिमाल चढ्ने र तैंले कलेज पढाउने ज्ञान फरक छ,
मेरो बुद्ध र तेरो शिवले आँखा चिम्लेर गर्ने ध्यान फरक छ।
शहरको कृष्ण वस्तीलाई सैलुङको सेर्पाले गरेको प्रश्न हो यो,
तैंले-मैले देख्ने विहान र मरेपछि पुरिने चिहानमा फरक छ ?
००००००००००००००००००००००००००००००००००००
जनताका बीचमा एक होइन अनेक-उदेक दुखेको छ,
तैपनि सत्तामा सुत्नेको न मन न विवेक दुखेको छ।
फेरि एकपटक भक्ति थापा र बलभद्रले जन्मनैपर्छ
किनकि योबेला देशको सीमानामा लिपुलेक दुखेको छ ।।
००००००००००००००००००००००००००००००
भविष्यले पुनर्निर्माण भए-नभएको धरहरा खोज्नेछ,
आज अतिक्रमणमा परेका पहरा र मनोहरा खोज्नेछ।
आफ्ना पुर्खाको रगतले कोरिएको देशको सीमा-नाकामा
सुस्ता र लिपुलेकको रक्षामा चुकेको पालो-पहरा खोज्नेछ।।
००००००००००००००००००००००००००००
कोक्रामा खेलको शिशुभन्दा अर्को इमान्दार,
नेपालको राजनीतिभन्दा अर्को ठगको सरदार।
कोसँग पो तुलना गरेर यस्तै हो भन्नु मैले ?
आमाको काख र जन्मभूमिको प्यारो सन्सार।।
००००००००००००००००००००००००००००००००
शहीदको रगतले नै लिपेर गणतन्त्रको आकार बनाइयो
जनताको मतलाई झुक्याएर सिल्लीको सरकार बनाइयो।
राज्यको शिक्षाले नागरिकलाई वेरोजगारको प्रमाणपत्र र
विदेशी बजारमा पुग्दा मोहोरमै बिक्ने कामदार बनाइयो ।।
००००००००००००००००००००००००००००००००
खुट्टामा शान खोज्नेहरु पालिसदार जुत्तामा ठाँटिएर
रवाफी-पोज चाहनेहरु मालिसदार कुत्तामा ठाँटिएर।
जनता-जनार्दन र देशको मान-मर्दन गर्ने नेताहरु
पाखण्डले बाँच्ने गर्छन् सेना-पुलिसदार सत्तामा ठाँटिएर।।
०००००००००००००००००००००००००००००००
आयु र समयसँग टाढिनको लागि मदिरा पिएको छु
उपहारमा ससम्मान पाएका घाउ-खटिरा जिएको छु ।
कतै सम्झौता र कतै सम्झौटोलाई नै जीवन बुझेर
देउथानमा चढाएका धजाझैं मुटुका चिरा-चिरा सिएको छु।।
००००००००००००००००००००००००००००००००००
हाम्रोमा राजनीतिका ठेकेदारको बोलकबोल सस्तो छ,
सोझा-सीधालाई छिर्के लाएर गरिने भद्रगोल सस्तो छ।
अरु जुनसुकै चिजको मूल्यले हिमालचुली चढेपनि
नेपालमा जनता भनिने सत्ता-शिकारको मोल सस्तो छ ।
००००००००००००००००००००००००००००००००
म यतिबेला दूध र चिनीविनाको टर्रो चियासँग छु,
फलाम खाइसकेर पनि दापमा बसेको खियासँग छु।
नाता टुटेपछिको साइनोमा बाँच्नुको पीडालाई सम्झदै,
म हातबाट छुटेर फुटेको भाग्यको छिया-छियासँग छु ।।
००००००००००००००००००००००००००००
बेफुर्सदी उसको कपालमा चिन्ता र मयलका लट्टा छन्
निष्कपट हाँसो र व्यवहार नै बाठाका लागि ठट्टा छन्।
लोकतन्त्रले उपहारमा दिएको बेरोजगारी र भोकसँगै,
मैंच्याङसँग हदम्याद नलाग्ने पीडाको पेन्सनपट्टा छन् ।। **
०००००००००००००००००००००००००००
कुनै मन्त्री काम देखाउन डिभीको पछि लागेको छ
उसको सहकर्मी नयाँनयाँ बीबीको पछि लागेको छ।
बुद्धिको पाठो खोलामा बगाएर बाँच्ने सबै बुद्धिजीवी
चाकडीको फाइल च्यापेर सिभीको पछि लागेको छ।।*
०००००००००००००००००००००००
मलाई लिन तूल र फूलले सजाएको डोली ल्याउने रे,
बाजा र जन्तीको साथमा साथीभाइको टोली ल्याउने रे।
शिक्षा-संस्कार र मलाई नै पाएर पनि नपुगेको उसले
दाइजोको माल बोक्ने ट्रक र पैसा बोक्ने झोली ल्याउने रे।।
००००००००००००००००००००००००००००
कुनै भाव फुर्दा यता कोरिएका
उता अन्यका नामले चोरिएका।
कठै !सिर्जना यी हुँदाछन् अनाथ,
किरा-मा-कुराबीचमा घोरिएका ।।&
00000000000000000000000000
बारीको मकै र जङ्गलको फल-काफल आहार छ
भाषा र परिभाषा नै बिगार्ने जाँगरको व्यवहार छ।
बेहोरामात्र मिलेको कारणले भनेको होइन मैले
भुत्ला र पुच्छर भैदिए मेरो'नि बाँदरकोजस्तै अनुहार छ।।*
००००००००००००००००००००००
सिङ्गै पहाड बोकेर हिंड्नसक्ने ऊ बलवान् हो,
ज्ञान-ध्यान र बुद्धिमा अग्रणी ऊ विव्दान् हो ।
रामभक्तकै नामबाट सन्सारमा पूजा भएपनि,
आखिर हनुमान् भनेको पनि बाँदरकै सन्तान हो ।। &
0000000000000000000000000000
खानकै लागि बाँच्नेले पनि बेलामा सघाउँदो रहेछ,
मूसाले पनि बिरालाको न्याउरोलाई भगाउँदो रहेछ।
यसपालि नेताले टेकेको खुट्टोलाई हेरेर जनताले भने
तिर्तिरे पानीको नपत्याउने खोलाले पनि बगाउँदो रहेछ।।&
००००००००००००००००००००००००००००००
पानीको थोपाले बन्ने बेलुनलाई झिंगाले पनि फोर्छ,
बिस्कुनजस्तै सुकाएको मनलाई जसले पनि चोर्छ।
लाटाको देशमा गाँडोले पनि तन्नेरी हुने अवसर पाए
कृष्ण वस्तीले पनि गिठ्ठो न रिठ्ठोझैं मुक्तक कोर्छ।।
०००००००००००००००००००००००००००००
वैंसमा सबैलाई आ-आफ्नै रूपको तलतल लाग्नसक्छ,
ढुकुरको जोडी देख्दा आफ्नै मनको खलबल लाग्नसक्छ।
डोको-राँगो र थैलोलाई पनि काफिया नै देख्ने उमेरमा
वर्णको चुल्ठो र शब्दको गुजुल्टो पनि गजल लाग्नसक्छ ।।
००००००००००००००००००००००००००००००००००

नेताको अभिनय-कालमा चिन्ता र तनावको स्वभावमा छु,
भूकम्पले फस्टाएको व्यापारको उच्च प्रभावको दवावमा छु।
जनताको काम लिएर भेट्न आउनेलाई ढोकैबाट फर्काइदिनू,
म यतिबेला व्यस्तताको नाममा सुरा-सुन्दरी र कबाबमा छु।।
०००००००००००००००००००००००००००००००००
भोलिको कुरा छोडेर आजको लागि फुलेको बाँस पलाएको छ,
देशले धान्ला-नधान्ला तैपनि सहमतिले आस पलाएको छ ।
पुनर्निर्माणको श्रोत र संविधानको ग्रह-गणितलाई जोडेर हेर्दा,
असारमा हुने दाता राष्ट्रको भेलामा हाल्ने घाँस पलाएको छ ।।^
००००००००००००००००००००००००००००००००००
वसन्तमा पाक्ने काफललाई स्वागत गर्ने हाँसो रहेन,
बाँच्नका लागि अन्नपात र मर्नका लागि पासो रहेन।
तिमी आएर भक्कानिंदै रोएर फर्किएको देखेर पनि
छेउको सुकुलमा बसाएर मनको बह पोख्ने चासो रहेन ।।
००००००००००००००००००००००००००
देश र जनताको अपार जन-धनको अवसान भयो,
क्षणभरमै हाँस्दो-खेल्दो घर-सन्सार पूरै मसान भयो।
खोलामा मन बगाएर राजनीतिमा लाग्नेको कुरै अर्को
राहत र पुनर्निर्माणको नाममा फोटो-सेसनको शान भयो।।

नेपाली र संस्कृतका भाषिक प्लेटहरु आपसमा ठोकिंदा यस्तो काव्यिक भूकम्प जाने रहेछः-
ब्रह्मा-मुरारी-त्रिपुरांतकारी
मैं हूँ भनी ठग्दछ धुन्धुकारी।
भानुः-शशि-भूमिसुतो: बुधश्च
स्वनामधारी तर छन् कुतत्व ।।
गुरुश्च. शुक्र: शनि-राहु-केतव:!
उपाय राम्रो हुनसक्छ के तब?
कुरुवन्तु सर्वे मम सुप्रभातम्।
खोज्छन् सबैले जल-दालभातम्।।
०००००००००००००००००००००
कसैका रहर भूकम्पपीडितको राहत-ठेलीमा हुनेछन्
र कसैका नजर गाउँ-घरका बढेका चेलीमा हुनेछन्।
राजनीतिले पनि यही मौकामा बेठी-रोपाईं गर्दैछ सानू!
थोरैमात्र मान्छेहरु तिम्रो घाउ र मर्मको परेलीमा हुनेछन् ।। @
०००००००००००००००००००००००००००
लोभी-पापी र छट्टूले भूकम्प-पीडितको नास्ता उडाए,
सभासदले त्रिपाल र मन्त्रीका पीएले जस्ता उडाए ।
बाढी-पहिरो र भुईंचालोका विपद त टरेर जानेछन्,
तर सत्ताका साँढेले नै देशको शान्ति-सुविस्ता उडाए ।।#
००००००००००००००००००००००००००००००००००
भुइँचालोले उठिबास हुनेलाई घरबारको चिन्ता छ,
खुला आकाशमुनि सासफेर्दो परिवारको चिन्ता छ।
सबै काम छोडी पुच्छरमा हात लाउने दललाई भने,
जनताको साथ छोडेर राष्ट्रिय सरकारको चिन्ता छ ।।&
हामी बलेको अगेनामाथिको तातो भारमा बसेकाछौं,
दुई छिमेकीहरुको सधैं तानातानको मारमा बसेकाछौं।
पाइला-पाइला जोगिएर बाँच्नु नै हाम्रो नियति हो
किनकि हामी त धर्तीमा भूकम्पको निधारमा बसेकाछौं।।
विध्वंशले मन्दिर र गुम्बाको नाम-निशान छुट्याएन,
मृत्युको वाणले आर्य-अनार्यको जीउ-जहान छुट्याएन।
जाति-भाषा र धर्मको राजनीतिमा फस्नुहुन्न सान्नानी !
किनकि विपत्तिले हामी दुवैको भिन्नै पहिचान छुट्याएन ।।&
चेलीबेटी बेच्नेले प्रेमप्रस्ताव लिएर आउनेछ
बालबालिका-तस्करले किताब लिएर आउनेछ।
मौकामा चौका हान्न खप्पिस राजनीतिले पनि
राहत-उद्धारको नाममा तनाव लिएर आउनेछ।।
धामीझैं धर्ती कामेको बेला चाउरे प्रणय सुहाएन
जनसेवाको नाममा नेताले गरेको अभिनय सुहाएन ।
तस्कर-माफिया र भ्रष्टाचारको त्रिवेणीमा रमाउँदो
सहयोग माग्दै सरकारले, गरेको अनुनय सुहाएन ।।*

भूकम्प-पीडितलाई रेडक्रसले पूरै कुहेको चामल दियो,
ग्रीनक्रसले चैं चुहेको त्रिपाल र फाटेको कम्मल दियो।
नेताले उधारो आश्वासन र व्यापारीले महंगी दिएपछि,
अन्त्यमा सरकारले पनि स्वयं उत्सर्ग गरेको मल दियो ।।*
राज्यको खर्चले देश-विदेशतिर डुलिहाल्ने बेला हो यो,
राहतको व्यापार गरेर बेलुनझैं फुलिहाल्ने बेला हो यो।
चोरले चौतारी पाउने राजमा यसर्थ तिमी ढुक्क छौ
लोकतन्त्रकै आडमा साधुलाई शूली हाल्ने बेला हो यो ।।
०००००००००००००००००००००००००
मैले तिम्रो पीडा-मर्म र आँसुको व्यापार गर्न सकिंन,
आत्मस्वार्थको लागि मान्छेको तिरस्कार गर्न सकिंन।
मेरो अनुपस्थितिलाई अनौठो मानेर बाँचेका जनता हो,
मैले लोकतन्त्रको नाममा देशको बलात्कार गर्न सकिंन ।।

लहरा उजाड्यो
छहरा उजाड्यो
घरटहरा उजाड्यो

एकथरी भूकम्पलाई शान्त गर्न वेद पढ्दैछन्
अर्काथरी टुप्पो देखाएर स्वयं फेद चढ्दैछन् ।
तैपनि बाँदरको घाउजस्तै मौलाएका समस्याले
मुलुकमा एकपछि अर्को विपद र खेद बढ्दैछन् ।।%
000000000000000000000000
कोक्रामा हल्लिने शिशुलाई पनि भूकम्पकै त्रास रहेछ,
त्यहाँ त पराकम्पन र रमिते पाहुनाहरुको बास रहेछ
तैपनि खण्डहरमा बाँच्नेलाई सरकारले उचित राहत र
कालले लगेका आफन्तको सास ल्याउने आस रहेछ ।।&

००००००००००००००००००००००००००००००००
राष्ट्रघातको पाप पखाल्न, गङ्गाजल समाउनुपर्छ अरे,
भ्रष्टाचारलाई पुण्य देख्न स्वार्थको गाजल लाउनुपर्छ अरे।
लोकतान्त्रिक शिशुले मीठो निद्रा पाओस् भन्नको लागि,
जनताले सँधै मेड-इन सत्ताकै गजल गाउनुपर्छ अरे ।।&
००००००००००००००००००
माकुनेलाई शीतलनिवास देखाएर कोक्रामा सुताए,
ओलीलाई डोलीमा सजाउँला भनेर छोक्रामा सुताए।
स्यालको पछिलागेर सिंह बन्न खोज्नेलाई ठीकै भो,
प्रचण्डले आखिरमा दुवैलाई केराकै बोक्रामा सुताए ।।
००००००००००००००००००००
लोकेन्द्रबहादूरको सत्ता जोगाउन उनी ढाल बने,
प्रचण्डको शासनकालमा उनी योग्य द्वारपाल बने।
नेपाली राजनीतिका नगरबधू श्री वामदेव गौतम,
हालसालको भूमिकामा सुशील-दाको त्रिपाल बने ।। %
0000000000000000000
भोका जनताको गाँस खोसेर पेट मुसार्दै डकार्नुहोस्,
बेला-बखत अग्रगामी छलाङको नारा'नि खकार्नुहोस्।
जुन थालमा खायो त्यसैमा सु-सु पनि गर्ने महाशय,
सदाचारको सिपाहीलाई सकेसम्म तथानाम हकार्नुहोस्।।
००००००००००००००००००००००००००
हामी अलिकति करेसो जोडिएको सँधियारबाट पीडित छौं,
जात-जाति र धर्मको राजनैतिक हतियारबाट पीडित छौं ।
अरुले नसुन्ने गरी तिम्रो कानमा सुटुक्क भन्छु सान्नानी !
हामी त आफ्नै घरभित्रका यार र अंशियारबाट पीडित छौं ।।**
०००००००००००००००००००००००००
तस्करीको धनलाई छोरी-बुहारीको पेवा भनेकाछन्,
घूसखोरीको कमाईलाई सापटीको ढेवा भनेकाछन्।
देश र जनतालाई अहोरात्र चुस्ने जुकाहरु सबैले,
लोकतन्त्रकै नाममा लूटतन्त्रलाई सेवा भनेकाछन्।।
००००००००००००००००००



सहयोग खाए
वियोग गाए
नियोग धाए
जीवनको निवासका लागि बाँस-काठका घर बनाउँ
ईंटा बनाउने र पोल्ने सट्टा जमिनमा नहर बनाऊँ
वातावरणमैत्री सुन्दर शहर बनाऊँ।।







सृष्टिले आमाको कोखलाई अजम्बरी र अखण्ड देखिन्
बाँकी व्यवहारका सबै कुरामा मान्छेको पाखण्ड देखिन्।
सन्सारकै आमा र शिशुको नाता यस्तै हुन्छ पण्डितजी!
यशोदाले कृष्णकै मुखमा वात्सल्यको ब्रह्माण्ड देखिन्।।
०००००००००००००००००००००००००
देउताको दुनियाँमा तँ ठूलो कि म ठूलोको अवस्था छ,
मान्छेको समाजमा पनि घातप्रतिघात र अनास्था छ।
यी दुवैको रोगले नदेखेर आपसी एकतामा बाँचेको,
मलाई त बरु दानव र पशुको स्वभावप्रति आस्था छ।।
०००००००००००००००००००००००००००
मान्छेहरु हातका चारऔंलाले आफ्ना लागि काम गर्छन्,
काम नपाउने सबैका कान्छीऔंलाहरु छक्क पर्छन्।
देशको लागि त त्यही फुर्सदको औंलाको योगदान पनि
कृष्णले जस्तै उठाउने साधन हुन्छ आआफ्नो गोबर्द्धन।।
००००००००००००००००००००००००००००००००
तल, हराभरा धर्ती र माथि नीलो आसमान थियो
बायाँ तिम्रो मुस्कान र दायाँ हिमाल समान थियो
निशा लागेर उत्तर र दक्षिण पनि नछट्टिएको बेला
हामी दुवैलाई साथमा उडाएर लैजाने विमान थियो ।।
०००००००००००००००००००००००००
निर्विकार नयनको बगरमा मेरो आँसु अल्झिएछ,
नागफणीझैं वचनको काँढामा मुटुको मासु अल्झिएछ ।
मैले त चाहेर पनि छोड्न नसकेको तिम्रो शहरका
प्रत्येक धारा-पधेँरामा यो मायाको पिपासु अल्झिएछ।।
०००००००००००००००००००००००००००
देशको ढुकुटी फुपूको सराद्धेमा उपहार देखिन्छ,
जुनसुकै कुरामा पनि विदेशीकै गुहार देखिन्छ।
पागलपनले छोएपछि यस्तै पो हुन्छ कि क्या हो ?
लोकतन्त्रका ठेकेदारमा पनि राजाकै मुहार देखिन्छ ।।



सडकमा बथानका बथान फोहोर टिप्ने काग छन्,
छेउतिरका बजारको डोकामा मुठ्ठा-मुठ्ठा साग छन्।
मानिसकै भलाइमा बाँच्ने साग र कागको छिमेकमा
संविधान लेख्ने भवनमा छ-सय एकजना दाग छन्।।
००००००००००००००००००००००००००
देख्ने आँखा र सोच्ने गिदी-विनाको चुप्पी चाहिएको छ,
सिकाएको मात्र बोल्ने शुद्धि-विनाको रुप्पी चाहिएको छ।
आफ्नै नाममा बन्ने प्रदेशको मुख्यमन्त्री बन्नको लागि,
पहिचानपत्रको कामगर्ने बुद्धि-विनाको टुप्पी चाहिएको छ ।।



आफूले लिएको जिम्बेवारीलाई नितान्त पर्बाह गरियो,
कमाएको दाल-भात-डुकुले आरामसँग निर्बाह गरियो।।
तैपनि देशको टुटे-फुटेका सपनाको छट्पटीमा दुख्दा,
यस्तो लाग्छ कि बाँच्नुको नाममा सधैँ वेपर्बाह मरियो ।।
००००००००००००००००००००००००००
सम्पत्तिको बदला सम्बन्ध लिएर उठेको कुवेरजस्तो
हत्केलामा उदाउँदो घाम बोकेर हाँसेको सबेरजस्तो।
तिमीलाई देखेपछि म स्वयंलाई यस्तो लाग्छु सानू !
काफिया र रदीफमा खुलेको गालिवको शेरजस्तो।।
०००००००००००००००००००००००००००
कहिले मुठी र कहिले सानो तुलाको तोलामा हालेर
हटियातिर लैजाँदैछु यो जिन्दगी झोलामा हालेर।
भाउ मिलाएरै किनेपनि त हुन्छ सान्नानी! मलाई
अगेनामाथि भारमा सजाए'नि हुन्छ सोलामा हालेर
०००००००००००००००००००००००००००००००००००००
मैले आन्दोलनको ज्योतिमा विष्णुको सुदर्शन देखें,
लोकतन्त्रको रूपलाई भित्तामा झुन्डिएको दर्पण देखें।।
त्यसैको आडमा बनेको सत्ताको स्वभावलाई नियाल्दा
विदेशीले काँधमा बोकेको नेपाल ओसार्ने खर्पन देखें।।
००००००००००००००००००००००००००००००००
शरद्ऋतुको नदीजस्तै मिलनका सुकुमार वर्ष थिए,
मनभित्र रुख-सिमलको भुवाजस्ता अपार हर्ष थिए।
खोइ !कहाँबाट हाम्रो मिलनको धर्ती फाट्यो कुन्नि,
हाम्रो त आकाशै खसेपनि नछुट्टिने पो परामर्श थिए।।
०००००००००००००००००००००
पहिलो भेटमा तिम्रो सिउँदो सेतो रूपा-ताल थियो,
अर्को-पटक मैले भेट्दा गुराँस-जस्तो लाल थियो ।।
तैपनि मभित्र निर्मल मायाकै कूलो बगाउने मनमा
निःसर्त उठेको उज्यालै मायाको अग्लो हिमाल थियो ।।
००००००००००००००००००००००००००
ऐन-मौकामा शत्रुका साथमा पनि मेल-मिलाप रहेछ
तिल-जत्रो खुसीको लागि लाख-लाखको विलाप रहेछ।
हरेक जोड-घटाउमा भिन्न उत्तर आउने गणित यो,
जिन्दगी भनेको धेरै नोक्सान र थोरै फलिफाप रहेछ।।



युद्धकालमा उनी बन्दूकले जीवनका चुरा फोर्दै हिंडे,
शान्तिकालमा लगातार धम्कीले ढिकुरा फोर्दै हिंडे।
स्वयंले बगाएको रगतसँग पानी माग्ने अश्वत्थामा
उत्तरार्ध्दको जीवनकालमा निराशाका आँकुरा चिथोर्दै हिंडे।।
००००००००००००००००००००००००००००००००००
अँजुली छोडेर पोखरी नै पिउँने अहङ्कारमा चुके
उम्लिएरै सन्सार जित्छु भन्नाले पोखिएरै सुके?
जीवनको सट्टा मृत्युका फूल बाँड्ने नायक उनी
एकैछिन खहरेजस्तै उर्लिए र बालुवाभित्र लुके ।।
०००००००००००००००००००००
नलाए'नि हुन्छ कसी अकबरी सुनलाई,
टाढैबाट हेरे पुग्छ अजम्बरी जूनलाई।
परागले परैबाट नाकलाई छोएजस्तो,
नपिएरै नशा लाग्छ, कादम्बरी उनलाई।।
०००००००००००००००००००००००००
बल र बुद्धिको खेलमा सुविख्यात पात्र भएपनि
हजारौं र लाखौंका बीचमा एकमात्र भएपनि।
देशप्रेमका सुन्दर अक्षरहरु भैंसीबराबर छन् भने,
ऊ सासफेर्दो लास हुन्छ, उत्साहकै नवरात्र भएपनि ।।
0000000000000000000000000
वासन्ती कुसुम-लोकबाट मीठो पराग लिएर आइन्
जीवनका हरेक मोडमा उनी अनुराग लिएर आइन्।
अँध्यारोमा एक्लै दौडिने आँखालाई बाटो देखाउँदै,
साथमा अजम्बरी र उज्यालो चिराग लिएर आइन्।।
००००००००००००००००००००००००००००००
चरा-कीरा र पत्थरका साथमा पनि खेल-तमासा छ,
घामजस्तो हाँसो र पानीजस्तो आँसुको विश्व-भाषा छ।
स्वर्गको आश र नर्कको त्रास नपालेको बाल-जगतमा,
वसुधैव कुटुम्बकंको नैसर्गिक भावको परिभाषा छ ।।
०००००००००००००००००००००००००००००००
मसँग एकपटक चन्चले नजर जुधाएर लजाई,
हात समाउन खोज्दा आँखाबाट गाजल बगाई।
अलि परैबाट आफन्तजस्तो बनेकी कसैकी शिशुले
गुलाफकै थुङ्गोजस्तो बनेर यो मनलाई सजाई।।
०००००००००००००००००००००००००००००००
सडेगलेको चामल खाने वाध्यतामा दैलेख दुखेको छ,
बेचिएकी चेलीको आँसु र मासुझैं लिपुलेक सुकेको छ।
तैपनि गुच्चाको आँखा लगाएजस्तो सत्ताले देश देख्दैन,
किनकि सीमानामा पनि उसको सौदाकै अभिलेख लुकेको छ ।।
००००००००००००००००००००००००००००
युवाको लर्को विदेसिंदो छ, देशमा इलम नपाएर,
आँसुमा दुख्दै मनको घाउ बग्छ, मलम नपाएर।
जुन तन्त्र आएपनि खाली कागज बनेको जनता
हात बाँधेरै बसेको छ, भाग्य लेख्ने कलम नपाएर ।।
०००००००००००००००००००००००००००००००००००००००
बाँझो पल्टिएको खेतबारीजस्तो रित्तो कलेज छ,
तुलफूल उजाडिएको बगैंचाजस्तो बन्जर नलेज छ।
व्याज कमाइएन तर साउँ पनि मासिएनछ सान्नानी !
गाऊँ फर्कनेबेला त्यतैबाट ल्याएको पुरानो लगेज छ ।।
००००००००००००००००००००००००००
लेकबाट आउँदा उसको हातमा काफलको सोली थियो
बेंसीबाट आउँदा गलामा कोइलीको जस्तो बोली थियो ।
बदलामा मैले पनि उपहार लिएर उसकोमा जाँदा
साथमा बाजाको टोली र सजाएको एउटा डोली थियो ।।
००००००००००००००००००००००००
ऊ जहाँबाट उम्रन्छ त्यहाँ पानीको जस्तो मुल्को हुन्छ,
आकाशमा उदाउँदै गर्दो घामको जस्तो झुल्को हुन्छ।
दर्सिन-ढुङ्गो र झुलोमा चकमकले ठोस्दाजस्तै
मुक्तकले पनि छोएकै ठाउँमा कविताको झिल्को हुन्छ ।।





सधैँ अनिकाल-भोकमरी र महामारीको भावर-चोट
यसपटक फेरि मृत्युको आतङ्क झेल्दैछ जाजरकोट।
जनताको घाउसँग दुख्ने फुर्सद नपाएको सिंहदरबारले
छातीमा झुन्ड्याएको छ सरकार नामको थोत्रो कोट ।।
0000000000000000000000000000000000
बुहार्तनका पहाडले थिचिंदा पनि गुनासा नदेखाउने आमा,
जीवनका सबै ढोका बन्द हुँदापनि निराशा नदेखाउने आमा
जन्मभूमि र देवकीजस्तै लगातार सपना गुमाउँदा पनि
धैर्यले ईश्वरलाई चुनौती दिन्छन् तमासा नदेखाउँने आमा
००००००००००००००००००००००००
समयको जाँतोमा कहिले कहीं घुन भएर पिसिनुपर्छ,
अविरल यात्रामा, कतै दौडिंदै र कतै घिस्सिनुपर्छ ।
नदीजस्तै अथक बग्ने जीवनको निरन्तर प्रवाहले
लछारिंदै पछारिंदै भएपनि सागरमा नै मिसिनुपर्छ ।।
0000000000000000000000
अरुका दोषको भारी बोकेर स्वयंसँग रिसाउँथिन्,
मान्छेको नाताले उनी एकान्तमा सायद सुसाउँथिन्।
पेटमा अन्न नपर्ने उनको दूध पनि कहाँबाट आउनु ?
तैपनि रोदन सुन्न नसक्ने आमा रित्तो लाम्टो चुसाउँथिन्
०००००००००००००००००००००००००००००
बाँडिएझैं नाता‍ गोता र सम्बन्धको काँक्रे चिरामा
कामको चापले थाकेर थुचुक्कै बस्थिन् पिरामा।
अरुको आराम-विरामको ख्याल गरे तापनि उनले
उनको आरामलाई सोध्ने कोही नभएकी मेरी आमा ।।
000000000000000000000000000000
हातका ठेला रोपेर अन्न फलाउने किसानहरु,
सन्सारलाई सिंगार्ने मजदूरका स्वाभिमानहरु
घोडाकै पीठ बनाइका छन् सामान्य जनताहरु
र शासकको रूपमा सवार छन् सत्ताका मसानहरु।।
००००००००००००००००००००००००००००
पाइला-पाइला, केही होलो र केही खुकुलो हो
धर्तीको काख हरियो बनाउने पानीको कूलो हो।
कुरो जतिसुकै घुमाएपनि चुरो एउटै हो सान्नानी !
जीवन भनेको आफूले आफैँलाई जोख्ने तुलो हो।।
००००००००००००००००००००००००००००००
अँध्यारो र उज्यालो पहिल्याउने चेतनाको जरो हो,
जीवनको नदीमा वार-पार गर्दा समाउने लहरो हो।
चन्द्रशमशेर र तिनका हालसाल संस्करणका लागि,
शिक्षा भनेको शासनका लागि घुँडामै लाग्ने बन्चरो हो ।।
००००००००००००००००००००००००
हिउँझै पग्लिएर एकैछिन आँखाको डिलमा बस्ने,
आत्महत्याको शैलीमा परेलाबाट भुईंमा खस्ने।
हेर्दा दुरुस्तै पानीको थोपाजस्तो कोमल आँसुले
ए! कहाँबाट तागत जुटाउँछ हँ यो मनलाई डस्ने ?
००००००००००००००००००
पुर्खाको रगत सापटीमा लिएर सन्देश लेख्न चाहन्छु,
माटोका सन्ततिले काख पाउने परिवेश लेख्न चाहन्छु।
म आफ्नै प्रेयसीका लागि साँचेको मायाको सफा काजगमा
उसैको सिउँदोको सिन्दूरको मसीले देश लेख्न चाहन्छु।।
00000000000000000000000000

कृष्ण वस्तीलाई समास पढाउँन छुट्टै परिधान चाहिन्न,
नरे कार्कीलाई पनि हलोको अनौ समात्न विधान चाहिन्न।
सदाचारीलाई जेल र निष्पापलाई मन्दिर नचाहिएजस्तै
इमानमा बाँच्नेलाई वेइमानले लेख्ने संविधान चाहिन्न।।
000000000000000000000000000000
देवधामको फाँटमा फुलेकी सुकुमार तोरी थियौ,
स्वयं सौन्दर्यले खिपेर यतै लुकाएकी छोरी थियौ।
ओ!आगोमा पग्लिएको सुनजस्ती निख्खर सुन्दरी !
तिमी त गेरुभित्र पनि पाकेको अम्बाझैं गोरी थियौ।।
000000000000000000000000000000
मैले आँगनमा बैंस र वसन्तको मिलिजुली देखें
फूलजस्ती उनलाई बोकेको धर्तीको अँजुली देखें।
अलिकति परबाट धितमर्ने गरी हेरेर फिर्दा
मुस्कुराउँदा पनि रसाएका आँखामा विजुली देखें ।।
०००००००००००००००००००००००००००००००

जङ्लका हाँगा-हाँगामा बसेर गीत गाउने चराहरू
वनकुसुमका कोमल कला र पहाडका कन्दराहरू।
कविताकै लागि त खुलेका ब्यूटीपार्लर हुन् सानू !
धर्तीको निधारमा छुटेका पसिना र पानीका धाराहरू ।।
00000000000000000000000000
अघिल्लो शिशुको अकालमृत्युमा विलाप गर्दै,
भर्खरै पैदा भएको नवजातलाई सेक-ताप गर्दै।
नयाँ र पुरानो वर्षको गोधूलिमा नेपाल आमा,
एकैसाथ मलामी र सुडेनीसँग वार्तालाप गर्दै।।
0000000000000000000000000000
मुलुक स्वयंलाई सुन्दर हुनुको पाप लागेजस्तो छ
टाठा-बाठालाई डलर थाप्नुको राप लागेजस्तो छ।
संविधान नलेख्ने देशमा मुक्तक पनि नलेख्नु वस्ती!
किनकि दुवैमा अक्षर हुनुको सराप लागेजस्तो छ ।।
00000000000000000000000000000
आँखामा तिमीले पठाएका सम्झनाका पात छन्,
समयले उपहारमा दिएका पुराना दिन-रात छन् ।
साथमा तिम्रो थोरै मायाको खाँचो बिझाउनु-बाहेक
आफैंलाई चित्त नबुझेका कविताका खात छन् ।।
०००००००००००००००००००००००००००
देशलाई दिएर नरित्तिने मसँग एकथान मन छ,
छातीमा त्यसलाई राख्न बनाएको नरम आसन छ।
म तिमीलाई आफूभित्रको त्यही नेपाल दिन तयार छु
जहाँ नैतिकताले सास फेर्ने संविधानको सुशासन छ।।

रगत बग्दा जीवन पाउने, त्यस्तो युद्ध देऊ,
धर्ती-माता ! मलाई एउटा, मान्छे शुद्ध देऊ।
जाति-पाति धर्मभन्दा, सधैँ माथि उठ्ने
यो देशलाई माया गर्ने, असल बुद्ध देऊ ।।
००००००००००००००००००००००००००००
आमा हुनुको नाताले, उनी ममताको मझेरी हुन्छिन्,
सन्ततिको दुर्नियति देखेर, आँसुको पँधेरी हुन्छिन्।
घोटिएपनि सुगन्ध नै दिने, चन्दनजस्ती मेरी आमा,
आशाको शिशुजस्तो घाम बोकेर, सधैँसधैँ सुत्केरी हुन्छिन्।।
०००००००००००००००००००००००००००००
तल-तल नदीको पानीका लहरमा नुहाउँदै थिइन्
माथि आकाशका ताराको शहरमा उदाउँदै थिइन्।
आफ्ना पापी नजरलाई स्वयंभित्र घुमाएर हेर्दा
उनी त मेरै मनको रहर-रहरमा सुहाउँदै थिइन्।।
000000000000000000000000000

चुनाव अघिको सोझो जनतालाई धन्वन्तरीझैं गर्छन्
काम सकिएपछिको जनतामाथि मनपरी नै गर्छन्।
खोलो तरेपछि चटक्कै लौरो बिर्सिने लोकतन्त्रमा
झर्ला र खाउँलामा बाच्ने जनता भोकमरीमै मर्छन् ।।
००००००००००००००००००००००००
तोरीले जन्म लिएकै सायद घुम्ने कोलमा पेलिनु हो,
झिंगाको जात भन्नु नै माकुराको जालमा जेलिनु हो।
नेपाली धर्तीमा जन्मिएका निमुखाको नियति भन्नु नै
राजनीतिले छातीमा दाल दल्नु र भित्तामा ठेलिनु हो।।
०००००००००००००००००००००००००००००००

यो वर्षको लगनका लागि सान्नानी फकाउनु छ,
ठर्राले धोएरै भएपनि सुकिलो रामनामी लाउनु छ ।
सगरमाथाको टेन्डर वा मन्त्रीको क्वाटरका लागि
यसपालि उसले'नि पाइलट बाबाकै शरणमा धाउनु छ
००००००००००००००००००००००००००
मलाई टन्टलापुर घामभन्दा बर्सिने बादल मनपर्छ
आवाजहीन ढुङ्गोभन्दा थर्किने मादल मनपर्छ ।
स्वयं बनेको धर्तीलाई मान्छेले अझै बनाउनुपर्छ
त्यसैले त सज्जनभन्दा उतर्सिने पागल मनपर्छ ।।
००००००००००००००००००००००००००
ठीकै हो अरुको नजरमा त म कलकल गर्दैछु
हिमालदेखि तराईका फाँटसम्म तल-तल झर्दैछु।
विशालतामा पुग्ने हतारोमा शिखरबाट झर्दाझर्दै
एकपछि अर्को घुम्ती र अक्करमा म पलपल मर्दैछु।।
0000000000000000000000

आफ्नै खर्चको अभिनन्दनमा किरमिर सजाएको छु,
नाम चलाउने प्रचारको लागि तस्बीर भजाएको छु।
विज्ञापनको दुनियाँमा म स्वयंलाई पनि बेचिनु छ
त्यसैले त ऐनामा हेरी-हेरी रातो अबीरमा लजाएको छु ।।
००००००००००००००००००००००
नदी-सङ्गमको निर्मल दोधार पानीमा चल्दैथिइन्,
उस्तै पुरानै प्यारो ठट्यौलो दोधार बानीमा चल्दैथिइन।
उनीभित्रको कुरा त पक्कै उनको मनलाई थाहा होला,
तर उनी त मेरै आँखाको दोधार नानीमा चल्दैथिइन्।।
००००००००००००००००००००
जुनसुकै अवसरमा कमिसनको डेरा हुन्छ
दलहरुको घरबारीमा माफियाको घेरा हुन्छ।
कुन विश्वासको पुच्छर देखाएर भन्नु सान्नानी !
जुनसुकै बादलमा सेताम्पुर चाँदीको घेरा हुन्छ ।।
000000000000000000000000000
पुरानो पात्रोको अन्तिम पातो फुस्फुसाउँदै छ,
रुख-रुखमा मुना र भीरमा शिलाजित टुसाउँदै छ।
नयाँ क्यालेन्डरमा छापिएको नयाँ मितिसँगै
आशाको किरणले नुहाएको सुकुमार नदी सुसाउँदै छ ।।
000000000000000000000000000
मीठो आश्वासनमा सीमित हुने छेपाराको रात भएर
देशका लागि दुनो वा हन्मेर्नु-सम्म नहुने पात भएर।
रित्तै फर्कियो पुरानो भन्दैमा, नयाँको उन्मत्त नाममा
तिमी नआउनु है नयाँवर्ष ! भस्मासुरका हात भएर।।
००००००००००००००००००००००००००
जुनी-जुनी तपस्याले पूरा भा'को मागझैं,
जिन्दगीमा आयौ तिमी मेरै नामको भागझैं ।
ढुक्ढुकीको तालसरि ,बाँसुरीको धूनझैं ,
हिर्दयमा गुन्जिरहू सातै सुरको रागझैं ।।
0000000000000000000000

नाफाको व्यापार सामन्ती छन्द
जुनसुकै कुरामा जातीय गन्ध ।
उल्फाको धनमा फुपूकै श्राद्ध
मच्छरले टोके'नि नेपालै बन्द।।
---------------------------------
शिरमा लोकतन्त्रका मुकुट र नवाबका रवाफ छन्
पिउनमा शराब र खानामा मसलादार कबाफ छन्।
चन्दन त फेरिएकै हो तर गन्ध पो फेरिएन सान्नानी !
हुकुमी स्वभाव उस्तै हुन्,मुखमा रेडिमेड जबाफ छन्।।
------------------
धेरैपटक डुबेको छु,म तिम्रा सजल नयनमा
यस्तो लाग्छ सुतेको छु, हिउँको चिसो शयनमा ।
बाटोसँगै साटिएको मनको नासो साँचेर भएपनि
हाँस्नैपर्ने भूल थियो सायद तिम्रो-मेरो चयनमा।।
--------------
नाता गुमे'सि
हम्मेसि
नामनामेसी
००००००००
जनताको सेवा-सुविधामा पनि पहाड र तराई,
योग्यताको छनौटमा पनि आफन्त र पराइ।
नेपाली अनुहारका विदेशी हनुमानको योजना,
जातीय वितण्डा र मृत्युमा पनि जेब-भराइ ।।
----------------------------------------
फूलहरु झरेर काँढाहरु तिखारिंदै गर्दा
कतैतिर एक्लै इन्द्रधनु सिंगारिंदै गर्दा ।
ढुङ्गाकै मन भएपनि पग्लेरै छोड्छ सानू !
स्वयं जन्मिएर हुर्किएको गाउँ निखारिंदै गर्दा ।।
00000000000000000000000000000

हिमालको ओठ र चौंरीको गोठमा बादल पुग्यो रे
जङ्लका बोट-बोटमा राताम्मे पाकेको काफल पुग्यो रे
भर्खरै सान्नानीको फोन आयो, घरमा 'हुन्छ भनेपछि'
मनको चोटलाई बूटी बाड्ने, देउरालीको भाकल पुग्यो रे।।
000000000000000
काँधमा नोल कसेर गाउँमा दमकल पनि पुगेछ
डोकामा बोकेर आँगनमा साइकल पनि पुगेछ।
प्याकेटमा चाउचाउ र बोतलमा कोकमात्र होइन
डिब्बाको धुले-दूध र शहरको नक्कल पनि पुगेछ।।
०००००००००००००००००००००००००००००
जुनीभरि मनको ढोका ह्वाङ पारिन् रे उनले
आफ्नो छाती पिटिपिटी भ्वाङ पारिन् रे उनले।
मनको कुरा खोलिन् तर मौका चुकेपछि
आँसुमाथि हाँसो टाँसी स्वाँंङ पारिन् रे उनले ।।

सडक-चौक गल्ली टोलमा देखाइने तमासा होइन
अङ्गूर नपाउने फ्याउराको अमिलो निराशा होइन।
जीवन भनेको त सातै रङ्गमा खुल्ने इन्द्रधनु हो,
कक्षा-कक्षामा रटाइने उपन्यासको परिभाषा होइन।।
०००००००००००००००००००००००००

दलानमा बसेर नाङ्लोमा चामल केलाउँदै थिइन् अरे
मनभित्र चाहिं मेरै बारेमा कुरा खेलाउँदै थिइन् अरे।
लहनाले चामलको सट्टा भूस खेलाउन थाल्दा
उनी त तावाझैं तात्दै र हावाझैं सेलाउँदै थिइन् अरे ।।
०००००००००००००००००००००००००००००००००००
तिम्लाई माग्न जाँदा टारे मलाई हजुर-बाले
आवत-जावत बन्द गर्न घरमा कुकुर पाले।
आशामाथि ज्वालामुखी फुट्ने खबर आयो
तिम्रो खाली सिउँदोमाथि 'घामले सिन्दूर हाले' ।।
००००००००००००००००००००००००००००००००
ढोकामा ताल्चा मारेको देखेपछि बास छुटेको थियो
धेरै बर्षमा भेट हुने रहरलाग्दो आश छुटेको थियो
खामबन्दी गरेर कुनै विश्वासिलो हातमा पठाइदिनू
तिम्रो दलानमा टाँगेको तस्बीरमा मेरो सास छुटेको थियो ।।
0000000000000000000000000000000
भैंसीले कुल्चेर छ्याल्ब्याल भएको गोबरको थासलाई
पहिरोले बगाएर माटोमा बिलाएको दुम्सीको बासलाई।
दशलाख क्षतिपूर्ति र शहीद घोषणा गरेकै हुनुपर्छ
बाबुले देख्दा छुटेको प्रेमी-प्रेमिकाको बाहुपाशलाई ।।
०००००००००००००००००००००००००००००००००
आज फेरि एकपटक तिम्रो मुस्कानमा बाँचेको छु,
त्यसैले त सफलताको सूचीमा अर्को औंलो भाँचेको छु।
अँजुली नै काफी हुन्छ, नदी नै पिउनुपर्दैन,तिर्खा मेट्न
म तिम्रो सिङ्गो तोरीबारीमा ससानो मौरीझैं नाचेको छु ।।
०००००००००००००००००००००००००००००
रेमिट्यान्सको झिल्कोसँगै परिवारको अन्त्य भएको छ,
गणतन्त्रसँगै लोकतान्त्रिक संस्कारको अन्त्य भएको छ ।
सिक्किमीकरणको आरम्भ र माफियाको विकासबाहेक
आजको मितिमा आइपुग्दा सरकारको अन्त्य भएको छ ।।
०००००००००००००००००००००००००००००००००००००००००
तराईमा आँपका बोट र पहाडको गुराँसमा फुल्दैछ
जङ्गलमा पाक्ने काफल बाँड्दै चरीको गीतमा डुल्दैछ
ओ देशको परिभाषा खोज्न किताबमा पस्ने हो !
देश त घरघरका नानीहरुको कोमल ओठमा खुल्दैछ ।।
०००००००००००००००००००००००००००००००००
आपसमा नङ-मासु छुट्याउने टक्कर समाएको छु
विमति र अविश्वासमा रमाउने चक्कर समाएको छु ।
देश डुब्दा आफूपनि डुब्ने कुरा त निश्चित छ
तैपनि ढेढुले जस्तै अहङ्कारको पुच्छर समाएको छु ।।
००००००००००००००००००००००००००००

हामीले भाकेका ती मन्दिर र देवी-देउता रहेनन्
भूलचूक लिनेदिने भनेका बाँकी बक्यौता रहेनन् ।
इमान नै बेचेर हिंडेपछि कसको पो के लाग्छ सानू !
तिम्रो र मेरो बीचमा भएका भर्पाई र सम्झौता रहेनन् ।।
०००००००००००००००००००००००००००००
म तिम्रो शालीन-सुन्दर र सुकुमार शहरमा
पारिजातको फूलजस्ता वासनादार रहरमा।
तिम्रै गलाबाट बग्दै र तिम्रै साथमा हराउँदै
हरेक साँझमा आउँने छु प्रिये! गजलको बहरमा ।।
०००००००००००००००००००००००००००
अभिजात राजनीतिको मासु र भातको विवादले
असहमतिका लागि हुने सहमतिको बोके सम्वादले
हीरालाई हीरालेजस्तै मुलुक नै काट्छन् कि क्या हो!
नेपालमा जन्मिएका अङ्ग्रेजकै नेपाली अनुवादले ।।
०००००००००००००००००००००००००००००
आमा-देवकीका एकपछि अर्को सन्तान खोसिनेछन्
जनताले आर्जन गरेका साँझ-बिहान खोसिनेछन्।
त्यो-बेला युगनिर्माताले जन्म लिनु अनिवार्य छ
जब पुर्खाको पौरख र देशको आत्मसम्मान खोसिनेछन्।।
००००००००००००००००००००००००००००००
भात खाने चामल बेचेर पनि चास्नी तोड्ने हामी
बरु धान-मकै छोडेर पनि खोर्सानी गोड्ने हामी ।
देश रेटेर हुन्छ कि टाउकाको केश बेचेर हुन्छ
कमाएको पैसाले दुईचार थान स्वास्नी जोड्ने हामी।।
००००००००००००००००००००००
रिस पिउँछ
विष पिउँछ

आशिष पिउँछ
०००००००००००००००००००००
ठुल्ठुलो खड्कुँलो उठाउने ओदान हुन्छ
सयथरी पाप पखाल्ने सानो गोदान हुन्छ।
कृष्णको औंलाले गोबर्धन उठेको अर्थ
सिन्कोझैं श्रमपनि देशका लागि योगदान हुन्छ ।।
०००००००००००००००००००००
गैंडाको जस्तो उचाइ छ
बाह्रसिंगाको जस्तो बुझाइ छ।
क्रान्तिको मसाने झट्टीको
झिंगाको जस्तो सोचाइ छ ।।

आमालाई बीचसडकमा लछार-पछार गर्नेले
दूधमुखे बालकसँग पाशविक दुर्व्यवहार गर्नेले।
के साँच्चै नयाँ र साझा नेपाल निर्माण गर्लान् त?
अधिकारको नाममा संवेदनाको खुला व्यापार गर्नेले ।।
०००००००००००००००००००००००००००००००००
म मान्छु, बन्द गर्न पाउनु त तिम्रो अधिकार हो
बन्द गर्दिंन भन्न पाउनु पनि त मेरो अधिकार हो ।
यति पनि नबुझ्ने लोकतन्त्रका ठेकेदारहरु हो !
यो त बर्बर जङ्ली अवस्थाको निर्मम व्यभिचार हो ।।
००००००००००००००००००००००००००००००००
भैंसीले कुल्चेर छ्याल्ब्याल भएको गोबरको थासलाई
पहिरोले बगाएर माटोमा बिलाएको दुम्सीको बासलाई।
दशलाख क्षतिपूर्ति र शहीद घोषणा गरेकै हुनुपर्छ
बाबुले देख्दा छुटेको प्रेमी-प्रेमिकाको बाहुपाशलाई ।।
00000000000000000000000000
पिउँदा-पिउँदै बाँकी रहेको मधुरो रात भए पुग्छ
जिउँदा-जिउँदै साथ छुटेको अधुरो हात भए पुग्छ ।
डुब्नलाग्दो घामलाई कति नै आकाश चाहिन्छ सानू ?
झर्दा-झर्दै बचेको सम्झनाको पुरानो पात भए पुग्छ ।।
00000000000000000000000000000000
देशमा माफिया र तस्करका लागि सुकिलो च्यादर छ,
सत्तामा दाह्री काटेका मान्छेहरुको स्वभावमा बाँदर छ ।
स्वयं सीतालाई लुट्ने र स्वयंले लङ्का जलाउने कथामा
बाँदरलेजस्तै दाह्री पालेको, मुखियामा पत्थरको जाँगर छ ।
0000000000000000000000000000
खेतबारीको काममा जाँदा भरपूर सघाएर गयो पसिनाको मोती फल्दा पनि बधाई थमाएर गयो। शिरमा बैंसले एकसरो छोएको मात्र के थ्यो मलाई
यसपालि त आएर सिउँदोमै सिन्दूर लगाएर गयो ।।
०००००००००००००००००००००००००००००
एकताका पुकार र देशका स्वाभिमान सड्छन्
सहमतिको नाममा सधैँ दन्तबजान लड्छन् ।
धर्म र राजनीतिको पाखण्डमा जे बोल्दा हुन्छ
किनकि रामायणको कथामा हनुमान् उड्छन् ।।
००००००००००००००००००००००००००००००
ढोकामा ताल्चा मारेको देखेपछि बास छुटेको थियो
धेरै बर्षमा भेट हुने रहरलाग्दो आश छुटेको थियो
खामबन्दी गरेर कुनै विश्वासिलो हातमा पठाइदिनू
तिम्रो दलानमा टाँगेको तस्बीरमा मेरो सास छुटेको थियो ।।
०००००००००००००००००००००००००००००
घामलाई पछ्याउँदै जाँदा म जूनको छायामा परें
अलिकति मन के दिंएँ उनको सफायामा परें ।।
कानुनले व्यवस्था र,धर्मले अवस्था नै छैन भन्यो
सुनमा सुगन्ध खोज्दै जाँदा म तिनको मायामा परें ।।

०००००००००००००००००००
सीताका लागि अनुशासनका थुप्रै फलामे घेरा थिए
शूर्पणखाको बैंसमा राम-लक्ष्मण दुवैका डेरा थिए।
तैपनि राम नै 'म्यान अफ द मर्यादा' घोषित गरिए किनकि एम्पायर वाल्मीकि स्वयंकै आँखामा कचेरा थिए।।
०००००००००००००००००००००००००००००००००
सयपत्रीको थुङ्गाझैं सुतेको तन्ना खुम्चिएको थियो, झुलभित्रै अघाएका मच्छरको आँखा चम्किएको थियो।
तपसीलका कुरालाई तपसीलमै छोडेर भन्नुपर्दा।
आजको रातसँगै निर्मोही सपना पनि उम्किएको थियो ।।
०००००००००००००००००००००००००००००००००००

टुप्पाको फूल होइन, फेदको मलजल भएर फिर्नेछु,
धर्तीकै कुना-कन्दरामा बग्ने,कलकल भएर फिर्नेछु ।
नदी पिएरै ठूलो बन्ने समुद्रजस्तो बन्दिंन आमा !
बरु ससाना ओठको आँतमा खुल्ने गजल भएर फिर्नेछु ।।
0000000000000000000000000000000000
खसमले मलाई फकाउनुपर्दा पुरान सुनायो स्वार्थको लागि फुल्याउनुपर्दा कुरान सुनायो। लोग्ने हुनुको जुँगाकै कारणले धम्क्याउनुपर्दा पाखुरा सुर्केर खुट्टा र जुत्ताको उखान सुनायो।।
000000000000000000000000000
उनको धैर्य देखेर मेरो मुखमा बत्तीस टुटेको छ
त्यागमै रमाएको देख्दा रोमरोममा विष फुटेको छ ।
कि धर्तीले सहेको छ ,कि उनले वेदना पचाएको छ
त्यागले हिमालै नाघेको देख्दा, आमासँगै रिस उठेको छ ।।
०००००००००००००००००००००
आफूलाई पूरै बिर्सिएको छ,केवल अरुको चासो छ
हमेसा दिनमात्रै जानेकी उनमा, न त कुनै गुनासो छ ।
धर्तीकै रुखा-सुख्खा माटोमा काँढामाथि दुबै फुलेकाछन्
तैपनि गुलाफको भन्दा मेरी आमाको उपल्लो हाँसो छ ।।
०००००००००००००००००००००००००००००००००
धर्तीका गाला र तिम्रो शरीर भिजाउने वादलमा,
तन्नेरीहरुले रौसिएर गाउँमा बजाउने मादलमा।
म तिम्रो मझेरी-पँधेरी मेला र हातका ठेला चुम्दै,
हमेसा साथमै हुन्छु प्रिये! वनले फिंजाउने काफलमा।।
000000000000000000000000

सडक-किनारामा बिजुलीका रित्ता खम्बा थिए
सडक-बहसमै लालायित नेताहरु जम्मा थिए ।
एकहूल भुस्याहा कुकुरले पालैपालो खुट्टा उचाले
तिनका नजरमा नेता र खम्बा दुबै निकम्मा थिए ।।
00000000000000000000000000000000
कान समातेर तानेपछि धुरीकै पाप पनि कराउँछन्
पानीमा चोपल्न थालेपछि आगोकै राप पनि हराउँछन्
कानुनभन्दा माथि बसेका तानाशाहले बुझ्नैपर्छ कि !
मान्छेको लाठी देखेपछि हात्तीकै पदचाप पनि डराउँछन् ।।
0000000000000000000000000000000000
राज्यका आहालमा बाक्लो छालाका रहर बसेकाछन्
प्रत्येक निगम-निकायमा सिंगौरीका कहर धसेकाछन्।
नाता-गोता र पहिचानको माया कसलाई हुँदैन र?
त्यसैले त गैंडाहरु आफन्त खोज्दै शहर पसेकाछन् ।।
0000000000000000000000000000
अचम्म मान्नुपर्दैन, खोलाको सिरानमा मूल हुन्छ,
खनिउँको फेदमा फल र गुराँसको टुप्पोमा फूल हुन्छ ।
राजनीतिले सदाबहार झूठ बोलेरै व्यापार गरेको देशमा,
कसैले पनि एकवचन साँचो बोल्नु पो अप्रिल फुल हुन्छ ।
00000000000000000000000000
गाण्डीवजस्ता परेलीमा तीरजस्ता नजर छन्
नयनभित्र शिखण्डीका अजम्बरी रहर छन् । प्रेमको यो रणधर्तीमा निरस्त्र र परास्त छु
तैपनि आँपजस्ता घाउ र दूधजस्ता जहर छन्
0000000000000000000000000000000000000
मानिसको जीवनमा साँझजस्तो विहान देखें,
गाउँमा पानीको होइन, आँसुको मुहान देखें।
सहाराको मरूभूमि नेपालमा डेरा सर्दै छ क्यारे !
जङ्लमा रूख होइन मान्छेको चिहानै चिहान देखे ।।
0000000000000000000000000000000000000
के मनमोहनको नाममा व्यापार गर्न पाइन्छ ?
लोकतन्त्रको नाममा जनता चिरफार गर्न पाइन्छ ?
नाङ्लोमा राखेर देशै बेच्न पाउने राजनीतिमा
माफियाका सहोदरले आमाकै बलात्कार गर्न पाइन्छ ।।

अगाडि पर्दा जसलाई ज्यानले सत्कार गर्छन्
पछाडिबाट तिनैलाई मनले तिरष्कार गर्छन् ।
नारीलाई आमाको दर्जा दिने पाखण्डको देशमा
मौकापरे बाउहरु नै छोरीलाई बलात्कार गर्छन् ।।
00000000000000000000000000

कि मान्छेले गला रेट्न पालिने खसीलाई माया गर्छन्
कि कविहरुले भावमा पोखिने मसीलाई माया गर्छन् ।
मन नमिलेको जोडीले ओठ सुकाएर माया गरेझैं
कि भोकमरीमा बाँच्नेले एकादशीलाई माया गर्छन् ।।
00000000000000000000000000000000000000
वसन्तको काउकुतीमा फुल्ने बोटजस्तो रहेछ,
सोचेपछि गरिछाड्ने मनको अठोटजस्तो रहेछ।
सधैँ नौजवानको शरीरमा मात्र डेरा गर्ने जवानी
एक हातबाट अर्कोमा सर्ने चञ्चल नोटजस्तो रहेछ ।।
00000000000000000000000000000000
जवानीको ज्वरो चढ्छ,भट्टी-चौक र पसल कुर्छ
नसोचेको कुरा हुन्छ, अनि गीत-गजल फुर्छ ।
सधैँ गीत नयाँ लेख्छ,नयाँ-नयाँ प्रीत खोज्छ,
अभागीको पुर्पुरो हो,गाजलुको चप्पल जुर्छ ।।
भीरबाट हतारमा पहाडजस्तो कुहिरो लड्दै थियो,
उकालोतिर बिस्तारै ग्रामबालाको धुइरो चढ्दै थियो ।
घामको किरणले आँखालाई त्यहाँ लगेर छाडिदियो
जहाँको बगानमा बेखबर चियाको सुइरो बढदै थियो ।।
000000000000000000000000000000000000
उसले त अँध्यारो वा उज्यालोमा राम पनि सम्झिएन,
टाढा वा नजिकका साना-ठूला धाम पनि सम्झिएन
फुर्सदमा माम सम्झियो र सधैँ काम सम्झियो श्रीमान्!
उसले त घाम पनि सम्झिएन र नाम पनि सम्झिएन ।।
००००००००००००००००००००००००००००००००००००००
बेला न कु-बेला हातले ताउ लाउने जुँगा बनायो,
इच्छाले लाउने र स्वेच्छाले फुकाल्ने लुगा बनायो ।
जनता हुनबाहेक सबै अधिकार दिएको सत्ताले
मान्छेलाई सिकाएजस्तै बोल्ने पिंजडाको सुगा बनायो ।।
00000000000000000000000000000000000
लाखौंलाख मानिसहरु सफल देखिए,
आआफ्ना क्षेत्रमा निकै कुशल देखिए ।
तैपनि जनता र तिनको लहरमा बाहेक
विरलै मात्र मानिसहरु असल देखिए ।।००००००००००००००००००००००००००००००००००
मनका शङ्का–आशङ्काको नाश गर्नू भनेको थिएँ ।
जीवन परीक्षा हो यसलाई पास गर्नु भनेको थिएँ ।
लोभले भुईको टिप्न खोज्दा पोल्टाको खसेछ सानू ! मैले त आफ्नो भरोसा नतोडी आश गर्नू भनेको थिएँ ।
००००००००००००००००००००००००००००००००००००
घामलाई बिस्तारै-बिस्तारै ढल्दै गरेको देखें,
तिमीलाई पानीमा खुट्टाले चल्दै गरेको देखें ।
एकझलक तिम्रो नजरमा नियालेर हेर्दा मैले
स्वयंलाई बिस्तारै-बिस्तारै गल्दै गरेको देखें ।।
०००००००००००००००००००००००००
फूल भए चिमटिदिन्थें
पात भए निमठिदिन्थें ।
बैमान तिम्रा नजरलाई
सकेको भए समेटिदिन्थें ।।
000000000000000000000000000
मायालुका गालाजस्तो देखें वारि-पारि,
त्यै बीचमा मुस्कुरायो सानो चियाबारी।
सीप यस्तो राम्रो दिने कहाँ होला शिल्पी ?
आज मैले आमाजस्ती धर्ती देखें प्यारी (! )०००००००००००००००००००००००० मुक्तकः चिठी आदान-प्रदान
-------------------------------
छोराले लेख्यो "बहिनीको लास पठाएको छु,
अनि मुस्किलले कान्छाको सास पठाएको छु ।"
बाबुले लेख्यो" देश पनि डाँडाकै जून भो,अन्तरे !
एकपटक मुख हेर्न आउने आश पठाएको छु ।।
०००००००००००००००००००००००००००००००००
शालिग्राम ठानेर पुजे'नि जाइफल हो,
काँधमै राखेर बोके'नि साइकल हो ।
नेपाली धर्तीमा जन्मेर के गर्नु ?
माइलो त विदेशकै माइकल हो ।।
000000000000000000000000000
दलानमा नीरस परालको सुकुल बिछ्यायौ,
र त्यसमाथि आफ्ना नयनको कोमल तुल बिछ्यायौ ।
मैले त घामको सट्टामा एकथुङ्गो टिपेको के थिएँ,
तिमीले त वसन्त नै सुम्पिएर बाटोमा फूल बिछ्यायौ ।।
०००००००००००००००००००००००००००००००
फूलहरुलाई रङ्ग बाँडेर गयो
पालुवालाई उमङ्ग बाँडेर गयो ।
लाहुरतिरै फर्किएको कोइलीले
आँसुमा बग्ने तरङ्ग बाँडेर गयो ।।
00000000000000000000000000
आफूले सिटामोल नखाई, आना-सुकी पठायो ,
साँझमा बाल्नु है! भनेर स-सानो टुकी पठायो ।
देश छोडेको कान्छालाई रिनले कहाँ छोड्यो र?
यसपाली त कोसेलीमा उसले, बिकेको टुप्पी पठायो ।।
00000000000000000000000000000000
जुन पानीमा चलेपनि चकचक तिम्रै नामको,
जुन झुलोमा सल्किए'नि चकमक तिम्रै नामको ।
यसै प्यारी !मख्ख तिमी उसै प्यारी ! दङ्ग,
जसलाई सम्झी लेखेपनि मुक्तक तिम्रै नामको ।।
०००००००००००००००००००००००००००००००००
कपास ठानी लुछिहाल्छन् सेतो मेरो कपाल,
बिर्ताजस्तो टेकिहाल्छन् अग्लो राम्रो हिमाल ।
सोच्दासोच्दै छातीभित्र पहिरो जान्छ गहिरो,
बेग्लिंनेलाई घाँडो भा'छ सग्लो प्यारो नेपाल ।।
०००००००००००००००००००००००००००००००
त्यो बेला तिमीलाई गालामा बग्ने नागबेलीझैं देखें,
वसन्तको लहरामाथि फक्रिने सुकुमार चमेलीझैं देखें ।
जुन रङ्गको भाषामा डोलिएर मुस्कुराउँदै आएपनि,
मैले त तिमीलाई आँगनमा खस्दै गरेको जुनेलीझैं देखें ।।
००००००००००००००००००००००००००००००
अरुको गीतमा हिमाल देख्दा रिसले पुर्पुरो रिंगाउँछ,
देशको नाम नेपाल सुन्दा जिउमा हन्हनी ज्वरो आउँछ ।
उनलाई त त्यो बेला नयाँ मुलुकको साहित्य फुर्ने गर्छ,
जब हातको औंलामा बसेर डलरको नीलचरो गाउँछ ।।
कुनैपनि बेला मनभित्रको बादल बग्नसक्छ
तिम्रा गाला छोएरै आँखाको गाजल बग्नसक्छ ।
ओ प्रिया !भो आँसु पिएर शिशुझैं मुस्कान नदेऊ,
कतै तिम्रो ओठबाटै, रसाएको गजल बग्नसक्छ ।।
पहिले तिम्लाई सुनकोशीको बगरमा देखें,
कहिले तिम्लाई वनकालीको मन्दिरमा भेटें ।
भित्र-बाहिर स्वयंलाई वल्टाएर, पल्टाएर हेर्दा,
मैले तिम्लाई जुनी-जिनीको तक्दीरमा भेटें ।
000000000000000000000000000000
विकासको नाममा घर-सडक-ढल टुटेका छन्
शहरका सडकमा धूलोका मुस्ला उठेका छन् ।
पसल-पसलमा त यो पनि हल्ला चलेको छ कि  
यसैबाट धरै हातहरुले लाखौं-करोडौं लुटेका छन् ।।
00000000000000000000000000000
तिमी त रामको भेषमा जन्मेको रावण पो रहेछौ ,  
देशको चीरण-हरण गर्न अचूक रामवाण पो रहेछौ ।  
नेपाली धर्तीका पँखेटाझैं नालापानी र टिस्टा काट्ने
पुरानै विदेशीले काधमा भिरेका धनुकाँड पो रहेछौ ।।
000000000000000000000000  
गाँजाको नशाले छोडे'छि पिंढीकी ज्यामैसँग लाज लाग्छ,
रक्सीको ठस्साले बिर्से'सि भुन्टेकी आमैसँग लाज लागछ।
हातमा तरबार हुँदा त देशलाई नै खसी देख्छौ कान्छा !
डलरको दशाले त्यागे'सि आफूलाई आँफैंसँग लाज लाग्छ ।।
तिमीलाई सम्झनाका सुकुमार सिरानीमा खोजें,
आधा आकाशका सिङ्गै आँखाको नानीमा खोजें ।
रङ्गीन साँझको अन्तिम सिमानामा होइन प्रिये!
मैले त तिमीलाई जीवनकै उदाउँदो बिहानीमा खोजें ।।
00000000000000000000000000000
प्यारी ! म त तिम्रो सामु धीमा बनेको छु,
भोगचलनले चर्चिएको सीमा बनेको छु ।
सग्लो-चोक्टो जिन्दगानी छियाछिया पारी
मःमःभित्र घुसारेको किमा बनेको छु ।।
000000000000000000000000000
श्रीमान्-को फर्मान लागू हुन्छ,सम्पर्क भाषा हिन्दी हुन्छ,
त्यसैमा संविधान लेखिन्छ,जनताको हातमा मेहन्दी हुन्छ ।
देश बदलिएपछि अवशेष पनि बदलिन्छ ख्वामित्,
हजुरकै छत्र-छायामा नेपाली भाषामा पावन्दी हुन्छ ।।
---------------------------------------------------
कहाँ उनलाई खोसिएको नालापानी र टिस्टा दुख्छ ?
उनलाई त डलरका देउताको निन्दा सुन्दा, निष्ठा दुख्छ ।
मानो पाइन्छ भने, देश सानो भए'नि हुन्छ भन्ने उनलाई
तराईमा जमिन्दारी दुख्छ र पहाडमा जातको प्रतिष्ठा दुख्छ ।
-------------------------------------------------
नदीले बेह्रेको,झरनाले जेलेको पहाड पनि तिम्रै हो
हिमाल-तराई र बीचको सुन्दर कछाड पनि तिम्रै हो ।
कबाब नै हातमा छ भने हड्डीमा लड्डी किन माइला ?
बुद्धको गुम्बा,देउताको मन्दिर र चाड पनि तिम्रै हुन् ।।
000000000000000000000000000
तिम्रो बिर्ता-प्रदेशमा, 'दिसा' गर्न पाइन्छ कि पाइन्न ?
छोरी-ज्वाइँलाई भेट्नेले, 'भिसा' भर्न पाइन्छ कि पाइन्न?
जात-जाति नखुलेको, तेस्रो लिङ्गीजस्तो निर्धो नेपालीले,
नाता टुटेको शोकमा, आँखा 'चिसा' पार्न पाइन्छ कि पाइन्न ?
000000000000000000000000000000000000
अरुको साँझमा तिमी आफ्नो स्वच्छ बिहान खोज्दैछौ,
नाकको सिंगानमा पानीको निर्मल मुहान खोज्दैछौ ।
मन मिलाएर विश्वास पो साटासाट गर्नुपर्छ त साइँला !
तिमी त अरुको चिहानमा आफ्नो पहिचान खोज्दैछौ ।।
----------------------------------------------------
म जन्मिएको देशमा एकपछि अर्को भवितव्य छन्,
नेतामा अधिकार र जनतामा असीमित कर्तव्य छन् ।
राजनीतिले सिकाउने लोकतन्त्रको यो गुरुकुल शिक्षामा
गुरु पनि द्रोणाचार्य र शिष्य पनि पुरानै एकलव्य छन् ।।
लोकतन्त्र भनेको पलाउने कि जलाउने व्यवस्था हो ?
र निर्धाहरुलाई सघाउने कि झन् गलाउने व्यवस्था हो ?
ए ! कसैले त बताइदेऊ,र कृष्ण वस्तीको मन बुझाइदेऊ
लोकतन्त्र भनेको फटाउने कि सिलाउने व्यवस्था हो ?
यमुनाको कणकणमा मर्यादाकै बन्धन चोर्यौ,
गोकुलको घरआँगनका दहीकै मख्खन चोर्यौ ।
मैले त तिम्रो बाँसुरीको एक धुनमात्र चोरें प्रिय !  
तिम्ले त मन-मनमा पसेर जीवनकै चन्दन चोर्यौ ।।
००००००००००००००००००००००००००००००००००
उपासनाको प्रहर-प्रहरमा भगवान रहेछौ तिमी,
कला-सिर्जनाको सुर-सन्सारमा महान् रहेछौ तिमी ।
ओs बाँसुरीको धुनले मन बराल्ने कुञ्ज-विहारी !
सबै यौवनाको नजर-नजरमा तानातान रहेछौ तिमी ।।
00000000000000000000000000000
कसैलाई हिमाल र कसैलाई मधेश चाहियो ।
बीचका हरेकलाई पहाडमा प्रदेश चाहियो ।
सिम्ले-पिप्ले र चिप्ले खेत बाँडेर बचेछ भने,
हाम्लाई'नि नेपालमा ससानो स्वदेश चाहियो ।।
--------------------------------------------
कक्षाभित्र पस्दा लाउन छुट्टै एप्रोन राख्नु रे,
मोबाइलमा उसका लागि भिन्नै रिङटोन राख्नु रे ।
रासो-बासो घरमै गर्छु तैपनि ऊ भन्छे,
इस्काइप र भाइबर चल्ने साथमै आइफोन राख्नु रे
००००००००००००००००००००००००००००००००
ढुङ्गोजस्ती मान्छे पुजें देउली बनाएर,
मनकै देउरालीमा राखें सेउली बनाएर।
मूढो ताक्दा बन्चरोले,घुँडो ताक्यो मेरै,
अर्कैले पो लग्यो उसलाई बेउली बनाएर ।।
00000000000000000000000000000
आज बीच सडकमा एउटा, अनाथ लघुकथा रोएको देखें
आमाको काख छोडेर, भीख माग्दाको व्यथा रोएको देखें ।
धुजैधुजाको पोसाक र मुजैमुजाको रङ्गहीन मुहारमा
भीख मागेरै चलेको सरकार र मुलुकको सभ्यता रोएको देखें ।।
-----------------------------------------------------------
शुरुमा मन डराएर मैले, हाँसेका धुकचुक पठाएँ,
बीचमा मनपराएर मैले, किनेका पुस्कक पठाएँ।
तिमीँभित्र सल्किएको मनडढेलो देखेपछि नै प्रिये !
अन्तमा मन रमाएर मैले, खिपेका मुक्तक पठाएँ ।।
---------------------------------------------------
पारि ताथै-ताथै सुन्दा, थैय्या भन्नुपर्छ,
दाजु-भाइ र जेठानलाई भैया भन्नुपर्छ ।
पाटन होइन पटना धाउने नयाँ पर्देश भित्र,
जन्माउँनेलाई आमा होइन मैंया भन्नुपर्छ ।।
-----------------------------------------------------
धनको लागि विदेशीको पाउ चाटेको ठीक लागेन मलाई,
जाति र धर्मको नाउँमा गाउँ फाटेको ठीक लागेन मलाई ।
यसकारण पनि हाम्रो पारपाचुके त हुने नै भयो श्रीमान् !
किनकि, देशसँग सत्ताको ठाउँ साटेको ठीक लागेन मलाई
----------------------------------------------------
उनी डलर-नशाका आदेश-उपदेशहरु बाँड्दैछन्,
शयमा दश-थरीलाई पेवा-प्रदेशहरु बाँड्दैछन् ।
आमाको गुनिउँ च्यातेर दौपदीको लाम्टामा
कसैलाई स्वदेश र कसैलाई परदेश बाँड्दैछन् ।।
----------------------------------------------------
कुनै काँटको घोषणामा कृष्ण वस्ती सक्रिय पनि छ,
कुनै फाँटको एषणामा कृष्ण वस्ती निष्क्रिय पनि छ
वारि, किनाराको घाटमा प्रिय लाग्ने जलधाराजस्तो ऊ
कुनै घाटको तिर्सनामा कृष्ण वस्ती अप्रिय पनि छ ।
-----------------------------------------------------
आफ्नै कद घटाएर भए'नि पद बढाउनेतिर लागिएन,
जाति र धर्मको नाममा मान्छे लडाउनेतिर लागिएन
जीवनमा कमाइयो कि गुमायो ? थाहा छैन मलाई
तर झुक्किएर पनि कहिल्यै देश डढाउनेतिर लागिएन ०००००००००००००००००००००००००००००००
कैले बार्दलीबाट आकाशमा सविताको हाल हेर्छु,
कैले सडकबाट बार्दलीमा रमिताको चाल हेर्छु ।
कब्जियतको रोगीझैं कनेरै हल्का हुने कवि म
सधैँ डायरीभित्र गोट्टा परेका कविताको बेहाल हेर्छु ।।
00000000000000000000000000
०००००००००००००००००००००००००००००००
न त गाउँ बनाउनु छ,न त जिल्ला बनाउनु छ,
देशलाई बरु भताभुङ्गेको किल्ला बनाउनु छ ।
श्रीपेच फालेर दाउपेचले बन्ने लिगलिग राजमा,
आफूलाई राजा र जनतालाई गुरिल्ला बनाउनु छ ।।
००००००००००००००००००००००००००००००००
बजारमा उहिलेको जस्तो डिब्बा-बन्द खैनी छैनन्,
प्लटिङ गरेका खेतबारीमा नहर-कुलो-पैनी छैनन् ।
शिक्षक पनि भोको र अम्मलीजस्तै हो सान्नानी!
कलेजको कक्षामा अचेल विद्ध्यार्थी भाइबैनी छैनन्।।
०००००००००००००००००००००००००००००००

म आफ्नो स्वार्थका खातिर दशऔंला भाँच्न जान्दिंन,
अरुको स्वार्थका ताल र सुरमा छम्छमी नाच्न जान्दिंन ।
बाङ्गो र सोझो दुबैतिरबाट हेर्दा उटुङ्गोजस्तो लाग्ने म,
आजभोलि त स्वयंका दृष्टिमा पनि ठीकसँग बाच्न जान्दिंन ।।
०००००००००००००००००००००००००००
000000000000000000000000000000000
मुस्कुराउँदै उनी आउँदा घाम हिंडेझैं लाग्यो,
पिरतीको चिठी बोक्ने खाम हिंडेझैं लाग्यो ।
मेरै आँखा मलाई छोडी पछि लाग्दा उनको।
शनै-शनै सीतासँगै राम हिंडेझैं लाग्यो ।।
०००००००००००००००००००००००००००००
जनताको रगत-पसिनालाई लूटपत्र लेख्ने मसी बनाए,
सामाजिक एकताको गर्धन काटेर अष्टमीको खसी बनाए।
देखेको बोल्ने जिब्रोलाई थुतेपनि सत्यलाई कसले थुत्ने ?
देशघातीले आमाकै अस्मितालाई मेनका र उर्वशी बनाए ।।
0000000000000000000000000000000000
भाषा नबुझ्नेलाई गीताको नाममा बाइबल घोक्न लगाए हुन्छ,
पालेका गुन्डा उकासेर सडकमै महिलाको साइकल रोक्न लगाए हुन्छ ।
बलियाले निर्धाको छातीमा दाल दल्न खोज्ने लोकतन्त्रमा,
अधिकारको नाममा देशकै विरुद्ध राइफल बोक्न लगाए हुन्छ ।।
००००००००००००००००००००००००००००००००००००००००
खेती धाउँदा हलो-कुलो हल्लुँडमा अल्झ्यो,
भक्ति गाउँदा गणेशजीको लामो सुँडमा अल्झ्यो ।
जति अल्झ्यो उति बल्झ्यो कठै ! कृष्ण वस्ती,
पिर्ती लाउँदा गौंथलीको सानो गुडमा अल्झ्यो ।।
000000000000000000000000000000000000000

आजभोलि युद्धको धम्कीले पनि दाङ-तेह्रथुम हल्लिन छोडेको छ,
गामबेसीको के कुरा र? परेडले घरकै बाथरुम हल्लिन छोडेको छ ।
समयले हात्तीको दाँतलाई पनि भुत्ते खुकुरीको बिंड बनाउने रहेछ,
अचेल चर्किएर बोल्दा पनि श्रीमान्-को आफ्नै कुम हल्लिन छोडेको छ ।।


हामी उभिएको ठाउँमा मन च्यातिएको मोड छ,
गणतन्त्रको मसी पोतिएको पाखण्डको साइनबोर्ड छ ।
लोकतन्त्रको नाममा जनताले ताली पिट्ने अधिकार छ,
देशको छातीमा कुल्चिने नेताको सत्ताको लिगलिगे होड छ ।।

000000000000000000000000000000000
कुटेजस्तो र रोएजस्तो चलनचल्ती गरेकाछौ,
संविधानको सिद्रा बेचेर धोक्रे खल्ती भरेकाछौ ।
चुनावपछि जनतालाई मलद्वार देखाउने नेता हो !
तिमीहरुले कामको नाममा 'मात्र' गल्ती गरेकाछौ ।।

०००००००००००००००००००००००००००००००००००००००  
जनतालाई काम-माम र एकताको सुख चाहिएको छ,
नयाँ नेपालमा नेपाली पहिचानको नाक-मुख चाहिएको छ ।
गाईमाथि बाघ र बहरका आआफ्नै नजर हुन्छन् मित्र हो !
नेतालाई संविधान होइन देश च्यात्ने तमसुक चाहिएको छ ।।
०००००००००००००००००००००००००००००००००००००००
कसैलाई सहमतिको नाममा एकलौटी चाहिएको छ,
कसैलाई प्रदेश-निर्माणको नाममा लगौंटी चाहिएको छ ।
उन्मत्त भैरवको बैंस चढेको नेपाली राजनीतिलाई,
देश नामकी आमा होइन, रात कटाउने रखौटी चाहिएको छ ।।
०००००००००००००००००००००००००००००००००००००
निर्मलीको टेलर्समा फाटेको सपना सिएर आएँ,
बदलामा उसलाई उधारो विपना दिएर आएँ ।
हिसाब मिल्यो कि बिग्रियो थाहा भएन मलाई,
त्यसैले त मैले बहको खजाना पिएर आएँ ।।
००००००००००००००००००००००००००००००००००००००
लोकतन्त्रको जात्रा छ तैपनि निकासले धिक्कारेको छ,
जेटजस्तो बजेट छ तैपनि,विकासले धिक्कारेको छ ।
मैले परिवर्तनका पानाहरुलाई पल्टाएर हेर्दा पाएँ,
हामीलाई पाइला-पाइलामा इतिहासले धिक्कारेको छ ।।
०००००००००००००००००००००००००००००००००००००
०००००००००००००००००००००००००००००००००००००००
देश लुटेको पापकटनी गर्न संविधान दिएर निग्रह गर,
देशको अखण्डतासँग होइन, गरीवीसँग विग्रह गर ।
ओ ! पवित्र जनताका अपवित्र कथित प्रतिनिधि हो ,
अब राज्यको पुनःसंरचनाका लागि जनमत संग्रह गर ।।
00000000000000000000000000000000000000
राजनीतिका मच्छरहरुले औलाको व्यापार गर्छन्,
स्वास्थ्यका माफियाले मिर्गौलाको व्यापार गर्छन् ।
नयाँ नेपाल त यिनीहरुकै अंशमा पर्यो सान्नानी !!! जनता त पुरानै नेपालमा फुरौलाको व्यापार गर्छन् ।।
०००००००००००००००००००००००००००००००
देखिने दाँतमा एउटा र आँतमा अर्को लेयर छैन,
सत्तासुन्दरी र सुरासँग लसपस वा अफेयर छैन ।
हाइटेक राजनीतिको बजारमा अफाबसिद्ध पात्र म,
ब्ल्याकमनीको उद्योगमा एक पैसा सेयर छैन ।।
00000000000000000000000000000000

चिसो भुइँमा दिनरात सुत्ने-बस्ने आसन पाइन्छ,
रेडियोमा सुनिने, टिभीमा देखिने शासन पाइन्छ ।
नेपालमा भोकानाङ्गाको दिन फिरेको लोकतन्त्र छ,
किनकि नगदमा होइन, उधारोमा आश्वासन पाइन्छ ।।
00000000000000000000000000000000000
भीरमौरीको महजस्तो तारेभीरमा बस्छिन्,
तम्मरको पानीजस्तो गड्तीरमा बस्छिन् ।
बिरानमा फक्रिएर सिरानमा डुल्ने,
मेरी उनी हिर्दयको तस्बीरमा बस्छिन् ।।
०००००००००००००००००००००००००००००

एउटालाई ठेस लाग्दा अर्कोलाई मर्म दुख्ने रीति हरायो,
पाइलाले बालुवा टेक्दा शिरमा जलन हुने प्रीति हरायो ।
पैसाको ब्याकहोलले मान्छेको विवेक नै निलेछ क्यारे !
रोबोटले मान्छेको ठाउँ लियो, तसर्थ जिउँदो नीति हरायो ।।
०००००००००००००००००००००००००००००००००
कहिले मलाई सेतोसेतो हिमाल देखाएर,
मौका छोपी उसकै कालो कपाल देखाएर ।
छातीभित्र गहिरो-गहिरो पहिरो बगाउनेले,
गाल पार्छे रातो-रातो रुमाल देखाएर ।।
०००००००००००००००००००००००००००००
मेरो सरकार मल्हम होइन घाउमा नुन लाउँछ,
आमा बेची बिबीज्यूको कानमा सुन लाउँछ ।
साँचो कुरा बोल्नै हुन्न, मुखमा तुना लाउनु,
जनघातको विरोध गर्दा साइबर कानुन लाउँछ ।।
०००००००००००००००००००००००००००००००००
बाटाको छेउमा काँक्रा फिंजाएर बसेको देखें,
चौतारीमा उखुका लाँक्रा फिंजाएर बसेको देखें ।
व्यापारको बाहनाले दोबाटोमा पर्खनेले आज,
निधारकै शिरमा झाँक्रा फिंजाएर बसेको देखें ।।
0000000000000000000000000000000000000 जुन शहरमा ढाड कन्याउने हात पनि किन्न पाइन्छ,
त्यो शहरमा एक रातको लागि साथ पनि किन्न पाइन्छ ।
पैसाले राज्यको जुनसुकै पदको खरिदबिक्री हुने देशमा,
सत्ताको कुर्सी र राजनीतिको आँत पनि किन्न पाइन्छ ।।
oooooooooooooooooooooooooooooo
सैलुङ्गेमा डुल्ने तिम्लाई चौंरीजस्तै देखें,
गोरो हिमाल मुस्कुराउँदा गौरीजस्तै देखें ।
खोजिरहें जुनीजुनी झझल्कोका बीचमा,
मनमा तिम्लाई फूलमाथि मौरीजस्तै देखें ।।
00000000000000000000000000000000000
अबदेखि घूसखोरलाई गाली गर्नुहुन्न,
नैतिकताको समर्थनमा ताली मर्नुहुन्न ।
एउटा आँखो बन्द गर्नु,खुट्टो छोटो पार्नु,
कानुनमाथि बस्ने खल्ती, खाली गर्नुहुन्न ।।

दिन-रात पिएर जिउँनेका लागि यो सिसी भरेको शहर हो,
अभावमा जिउँनेका लागि यो सधैँ एकादशी परेको शहर हो ।
सदन-सडक र सोचाइमा सधैँ ढुसी परेको राजधानी मेरो
छातीमा हात राखेर बोल्नेका लागि, यो हिसी मरेको शहर हो ।।
00000000000000000000000000000000
हुन त असारको रोपो सरक्कै सरेको छ
तैपनि संविधानको साइत नै टरेको छ ,
रोपो र संविधान त मालिकका धन हुन्,
हाम्रो त जुनीको स्वाभिमान नै मरेको छ ।।
000000000000000000000000000000000



जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ,
जुनसुकै पहाडको आँतमा पाखा-पखेरा हुन्छ ।
अमृत र विष त सिक्काका दुई पाटा हुन्,नानु !
जुनसुकै व्यवस्थामा तानाशाहको डेरा हुन्छ ।।
00000000000000000000000000000000000

आए हुन्छ गए हुन्छ दुबै खुल्ला ढोका छन्,
स्वार्थैपिच्छे गूटबन्दी र चट्टानजस्ता धोका छन् ।
आचार छैन विचार छैन,उस्तै परे बोलचाल छैन,
टाट्नाभरि भेडी-पाठी बलि चढ्ने बोका छन् ।।
००००००००००००००००००००००००००००००००००००
शहीदको रगत र तिनको नामका टुटुल्का बेचिंदैछन्
पानीका मुल्का र जन-सपनाका झुल्का बेचिंदैछन्।
सहमतिको नाममा सिन्डिकेट चलाउने व्यापारमा,
राजनीतिको नाममा इतिहासका मुचुल्का बेचिंदैछन्।।
ooooooooooooooooooooooooooooooooooooo
बोली सुन्दा यस्तो लाग्यो मेरै कान्छो भाइ हो,
आफ्नै गोठमा जन्मिएको सोझो मालीगाई हो ।
संगतमा परेपछि लाग्यो मलाई यस्तो,
मेडइन नेपाल लेखिएको विदेशीको टाई हो ।।
००००००००००००००००००००००००००००००
दूधरोटी खान्छ अचेल बिस्टा छोडी कागले,
जे गरे'नि कोक्याउँदैन जरिङ्गोको सागले ।
स्याल भए शाकाहारी कुखुरालाई मोज छ,
अमृतले पालेको छ, यो मुलुकलाई नागले ।।
०००००००००००००००००००००००००००००
जमाखोरी कतै छैन, घूसखोरी छैन,
ढोका खुलै छोडे हुन्छ,कतै चोरी छैन ।
मूसातन्त्र आएको छ बिरालाको राजमा,
नेताजीमा मिलाप छ, पौंठेजोरी छैन ।।
००००००००००००००००००००००००००००००० जुनी-जुनी तपस्याले पूरा भा'को मागझैं,
जिन्दगीमा आयौ तिमी मेरै नामको भागझैं ।
ढुक्ढुकीको तालसरि ,बाँसुरीको धूनझैं ,
हिर्दयमा गुन्जिरहू सातै सुरको रागझैं ।।
000000000000000000000000000000 नेताहरु अझैपनि देशमा हुकुमी शासन चलाउँदैछन्,
मान्छेलाई धर्मको पाखण्डमा गोडेपानी पिलाउँदैछन् ।
वामपन्थी गुँडमा कोरलिने सामन्तवादकै टिउराहरु,
हावाको बार्दलीमा बसेर पूँजीवादको हल्ला फिंजाउँदैछन् ।।
०००००००००००००००००००००००००००००००




म तिमीलाई नारा र सुन्दर कविता दिनेछु,
हात आफूलाई र तिमीजस्तालाई बित्ता दिनेछु ।
म त्यस्तो समाजवादको निर्माण गर्दैछु प्रिये !
भोकालाई आश्वासन र सपनाको सीता दिनेछु ।।
००००००००००००००००००००००००००००००००
जागिरमा कमाएको धनले घरमा कालो पाडो आयो,
नेता भएको भोलिपल्टै आँगनमा उपहारको प्राडो आयो ।
सायद, लक्ष्मीले व्यापार छोडेर राजनीतिमा डेरा सारिन्,
मन्त्री भएको भोलिपल्टै दाइजोमा घर-घरेडी र डाँडो आयो ।।

०००००००००००००००००००००००००००००००००००००००००
ढेडु होस् कि बाँदर, मकैलाई के अन्तर ?
दुःशासन नै जप्दो रैछ सुशासनको मन्तर ।
स्वयं माइकल धामी,स्वयं माइकल बोक्सी,
अख्तियार नै लगाइदिन्छ पापाचारलाई जन्तर ।।
०००००००००००००००००००००००००००००००००
जङ्गलमै नाच्न देऊ भाले मुजूरलाई,
मन्दिरमै खुल्न देऊ सुनको गजुरलाई ।
साइनो कुनै नलागेको साइनो बनोस् यौटा,
मानिस भै बाँच्न देऊ मेरी हजुरलाई ।।
000000000000000000000000000000000000


सत्ताको वनबासमा केवल साततले पर्णकुटी छ,
खानपिनको नाममा बोतलको झोल र सुकुटी छ ।
स्वस्थानी दाहिना हुनाले गुजारासम्म चलेकोछ,
जनादेशको नाममा चेक काट्न हुने देशको ढुकुटी छ ।।
०००००००००००००००००००००००००००००००००००००
नेताहरु अझैपनि देशमा हुकुमी शासन चलाउँदैछन्,
मान्छेलाई धर्मको पाखण्डमा गोडेपानी पिलाउँदैछन् ।
वामपन्थी गुँडमा कोरलिने सामन्तवादकै टिउराहरु,
हावाको बार्दलीमा बसेर पूँजीवादको हल्ला फिंजाउँदैछन् ।।
०००००००००००००००००००००००००००००००००००००००००
किसानलाई के पाऊँको चिन्ता छ,भ्यागुतालाई हर्षको गीत छ,
गणतन्त्र त आयो भन्छन् तैपनि देशमा राजतन्त्रकै रीत छ
लोकतन्त्रमा पनि कित्ता अनुसारका भोगाइ हुन्छन् कान्छा !
यतिबेला जनतालाई हार र तस्करलाई महाभारतको जित छ ।।
००००००००००००००००००००००००००००००००००००००
बजारमा हरेक माल नक्कली छ,तैपनि कुनै लफडा छैन,
सरकारमा घोर्ले मान्छे छन् तैपनि शासन तगडा छैन ।
अचेल मलाई एकपल्ट सगरमाथा छोएर हेर्न मन छ,
कतै हिमाल नै साटिएर प्लास्टिकको शिखर त खडा छैन ?
००००००००००००००००००००००००००००००००००००
लोग्नेस्वास्नी बाझेजस्तो दाँत किटाइ भा'छन्,
देब्रे हात र दाहिने हातले ताली पिटाइ खा'छन् ।
औंसी-पूर्ने मिलेकाछन्,फुटेको छ जोडी
गूटबन्दीका हुक्केढोके तास फिटाइ भा'छन् ।।
०००००००००००००००००००००००००००००००



पहिले-पहिले तर्किएर विकट बनाई मलाई,
थाहै नपाई कहिलेदेखि निकट बनाई मलाई?
मनका कुरा खिपीखिपी चिठी लेखेपछि
उसकै खाम र ठेगानाको टिकट बनाई मलाई ।।
००००००००००००००००००००००००००००००००
कठिन बोधियात्राले सिद्धार्थलाई बुद्ध बनाउँछ,
कठोर साधनाले योगीहरुलाई सिद्ध बनाउँछ ।
पेन्सिल पो तिखार्नुपर्छ, काँढो स्वयं तिखारिन्छ
देश लुछ्ने मान्छेलाई स्वभावैले गिद्ध बनाउँछ ।।
००००००००००००००००००००००००००००००००००००
गाऊँका युवाहरु विदेशको रापिलो खाडी पुगेकाछन्,
युवा बस्ने गाऊँमा विदेशी साडी र गाडी पुगेकाछन् ।
देशविदेश र गाउँशहरको मैत्रीमा यस्तै हुन्छ माइला !
जसरी मोमोको डल्लामा भैंसीका पाडी पुगेकाछन् ।।
000000000000000000000000000000000000

समयसँगै फेरिएको गाउँमा न चोलो न चौबन्दी छ,
मोबाइलको जमानामा ,अब न चिठ्ठी न खामबन्दी छ ।
चेतना र विकासको नाममा कटुताको शीतलहर छ,
आजभोलि गाउँमा केवल दलको किचलो र गूटबन्दी छ ।।
००००००००००००००००००००००००००००००००००००००
चोलोमा तुना छैन र बारीमा तुनेबोडी छैन,
उहिलेको जस्तो बालगीतमा मामाघोडी छैन ।
सुनसानले मसान जगाएको मेरो गाउँमा,
आजभोलि मादल र सारङ्गीको जोडी छैन ।।
०००००००००००००००००००००००००००००००


क्यान्टिनमा हैजा र टाइफाइडका कीटाणु भेटियो रे,
सभासद्हरुको नियतमा लेन्ड्रुपको जीवाणु भेटियो रे ।
खानाले नियत बिगार्यो कि नियतअनुसारको खाना हो?
संविधान नफल्ने खेतमा देश खाने परमाणु भेटियो रे ।।
00000000000000000000000000000000000000
न मैले सिंहदरवारको पटाङ्गिनी मागेको हो ,
न सत्ताको दाउनी र सेनाको छाउनी मागेको हो ।
मैले त केवल नेतामा नैतिकताको सुगन्ध,
देशमा शान्ति र चरित्रमा घामपानी मागेको हो ।।
0000000000000000000000000000000000
धुरीमा फहराउनुमा सीमित झण्डालाई हटाएकै राम्रो,
विधानमा खुम्चिने अनुशासनको डन्डालाई हटाएकै राम्रो ।
मासुभातको कबाफ व्यापारमा मार्क्सवादको काम छैन ?
नाम र सिद्धान्त झन्झट भो, त्यो टण्टालाई हटाएकै राम्रो ।।
00000000000000000000000000000000000
देशको जमिनलाई तस्करले पेवा-जन्तर बनाएको छ,
योजनाको नाममा सरकारले हावा-मन्तर बनाएको छ ।
बाबु हो !कति कुरा हेर्दा भिन्न र बुझ्दा उस्तै हुन्छन्
नियतिले ढेडु र बाँदरको मुहारमात्र अन्तर बनाएको छ ।।
0000000000000000000000000000000000000000

बारीमा दानाविनाको मकैको जुँगामुठे घोगो फलेको छ,
विद्यार्थीविना नै विश्वविद्यालय भन्ने थेगो चलेको छ ।
प्वाँखैविनाको पन्छी उडेझैं र पन्नाविनाको पुस्तक भएझैं,
हुकुमी शासनकै छातीमा, लोकतन्त्र भन्ने लोगो बलेको छ ।।
0000000000000000000000000000000000000




इर्ष्यालुको नजर भन्छ, काठेपिराजस्ती,
नपाउनेले उसै देख्छ, झुसिल्कीराजस्ती ।
हेर्नेपनि आफ्नाआफ्नै, हुनेरैछन् आँखा,
अरु सबै कीराजस्ता, उनी हीराजस्ती ।।
००००००००००००००००००००००००००००००००
जुन माटोमा मुलुक जोड्ने अमर-सूत्र जन्म्यो,
त्यही माटोमा अमरसिंह वीरपुत्र जन्म्यो ।
यो माटोमा आजभोलि ठट्टा गर्यो कोखले
नेताजस्तो टाउको भा'को मलमूत्र जन्म्यो ।।
००००००००००००००००००००००००००००
निष्ठा नामकी द्रौपदीलाई नाङ्गो बनाउँछ,  
स्वाभिमानको छानोलाई उदाङ्गो बनाउँछ ।
लोकतन्त्रको भेषमा काँचोवायु जागेको देशमा,
भेटी-चल्ला नपाए मुखलाई बाङ्गो बनाउँछ ।।
००००००००००००००००००००००००००००००००००००
न त यिनीहरुले देशलाई साँचो हिसाब देनेछन्,
न त जनतालाई सामाजिक निसाफ दिनेछन् ।
राजनीतिको ढाडे र सडकको साँढे सहोदर हुन्
ठोसमा दिसा र तरलमा पक्कै पिसाब दिनेछन् ।।
००००००००००००००००००००००००००००००००००००००
मृत्युसँग अर्को बोतल सापट लिएकोछु,
त्यही खुसीमा मैले आज चट्ट पिएकोछु ।
आफूलाई छामिहेर्दा कृष्ण वस्तीजस्तो,  
जिन्दगीको ज्याकेटभित्र पकेट खिएकोछु ।।
००००००००००००००००००००००००००


आकाशमा कहिलेकहीं जहाज हरण हुन्छन्
धर्तीमा कतैकतै चेलीका लाज हरण हुन्छन्।
राजनीतिको गुन्डाराज छ, के हुँदैन भन्नु ?
यो देशमा जताततै आवाज हरण हुन्छन् ।।
00000000000000000000000000000
हिमालबाट चौंरी झरुन् हल्लाउँदै चमर,
डाँफे-मुनाल-मयूरसँगै नाचून अरुण-तमर ।
मादलमा हराऊँ म, सारङ्गीमा रोऊँ,
धर्ती मलाई आँगन देऊ सधैँ अजरअमर।।
००००००००००००००००००००००००००००
पालुवा राम्रो देउरालीनिर झरीले चाखेको,
स्वर्गको पानी अमृतजस्तो परीले चाखेको ।
'घरकी मुर्गी दालको छोक्रा' भन्दछ उखान,
म पनि भन्छु बेलौती मीठो चरीले चाखेको ।।
००००००००००००००००००००००००००००००
खोलोभन्दा बाङ्गोटिङ्गो, इ'कारजस्तो यो मन,
जति खन्यो उति गहिरो इनारजस्तो यो मन ।
राम्रो-मीठो जता देख्यो,उसकै पछि लाग्ने,
गाँठो पारिराख्नु पर्ने ईँजारजस्तो यो मन ।।
००००००००००००००००००००००००००००००
नपाउँदासम्म मानिसले अभाव देखाउँदो रहेछ,
आफ्नो हात माथि परेपछि प्रभाव देखाउँदो रहेछ।
न देव न दानवको चमेरे मानवको के कुरा गर्नु?,
मौकामा चौका नै हान्ने स्वभाव देखाउँदो रहेछ ।।
००००००००००००००००००००००००००००००००००००
हार्ने र जित्नेको नाममा, दुबैपक्षले चर्को मोल लगाए,
मैदानमा पुगेपछि खेल जित्ने खेलाडीले गोल लगाए।
राजनैतिक मैदान वा सट्टाबजारको मोलतोल नै यस्तो,
साँझमा दुबैपक्ष मिलेर ओठमा बोतलको झोल लगाए ।।
०००००००००००००००००००००००००००००००००००००००



सोचाइमा फाँट होइन साँघुरो सोती पाल्दोरहेछ,
भाषणमा सिद्धान्तको उज्यालो ज्योति बाल्दोरहेछ ।
माछो देखाएर भ्यागुतो पनि नदिने पाखण्डले,
टोपीमात्र होइन,ताक परे धोती नै फाल्दोरहेछ ।।
००००००००००००००००००००००००००००००००००००
स्वाभिमानको लागि चकडस्टरको काम समाएँ,
दाम होइन,बरु चाहेजस्तो सानो नाम कमाए ।
गणतन्त्रको घामसँगै शिक्षामा ग्रहण उदायो,
असुरपतिको राजमा बृहस्पतिले नीलडाम कमाएँ ।।
०००००००००००००००००००००००००००००००००००
चुलोमा बल्दो आगो र कुलोमा बग्ने पानी हुनेछैन,
जनताको पहुँचमा उसैको देशको राजधानी हुनेछैन ।
घर पोलेर जाडो भगाउने कामको नतिजा के होला ?
निधारमा लाउनै पनि देश पोलेको खरानी हुनेछैन ।।
०००००००००००००००००००००००००००००
जुनसुकै कालो बादलमा चाँदीको डेरा हुन्छ,
अमृतको मीठो फलमा विषादीको डेरा हुन्छ।
जुनसुकै सिक्कामा विपरीत पाटा हुन्छन् नानु !!
लोकतन्त्रकै घरआँगनमा बर्वादीको डेरा हुन्छ ।।
००००००००००००००००००००००००००००



चालक पनि राम्रो चाहिन्छ
बालक पनि राम्रो चाहिन्छ
सञ्चालक पनि राम्रो चाहिन्छ ।। ००००००००००००००००००००००००००

सकेसम्म खोज्नैपर्ने मोतीपुरको खजानालाई,
भ्याएजति टिप्नैपर्ने वनचरीको दानालाई ।
अँध्यारोमा उज्यालोमा वाधा छल्दै जतनसँग,
जिन्दगी यो खिप्नैपर्ने, अजम्बरी नानालाई ।।
०००००००००००००००००००००००००००००
धन्न बानी बसाइएन,डबकाको छ्याङमा,
डेरा पनि जमाइएन जूवातासको ड्याङमा ।
जुन कुराले जोगिएँ म,जिन्दगी भो दाहिनो,
आफूलाई मिसाइएन माफियाको ग्याङमा ।।
०००००००००००००००००००००००००००
जिन्दगीको नाममा केवल जोवन पाल्या'रैछ,
मान्छेभित्र अर्को मान्छे दोमन पाल्यारैछ ।
भूल थियो विश्वास गर्नु बैगुनीको जातलाई,
एउटा मुखमा दुईटा जिब्रो गोमन पाल्या'रैछ ।।
000000000000000000000000000000
अपराजित मान्छेको साधना-भावना सुघेँ,
जहाँ-जहाँ समस्या थ्यो,समाधान भई पुगें ।
म मान्छेभित्रको शक्ति स्रोतको परिचायक,
म हुँ विज्ञानको चेत सम्भवामि युगेयुगे ।।
000000000000000000000000000000000
धून दिन्छ बाँसुरीले औंलो चुसेपछि,
मादलले ताल दिन्छ खरी घसेपछि ।
डाइनो पनि दाइनो बनी सेवा गर्न थाल्छ,
खल्तीभित्र कमिसनको दाना पसेपछि ।।
००००००००००००००००००००००००००००००



भागबन्डाको मालिक राख्नू घरमाथि टाँडमा,
भेटी-नैवेद सुम्पेपछि डुबाइदिनू जाँडमा ।
मालिकमात्र होइन तिम्रो देउतै हुन्छ दाइनो,
आफू बने पुगिहाल्छ,मुलुक जाओस् भाँडमा ।।
०००००००००००००००००००००००००००००००००
लुँडी जोत्न जाँदा देखें रातो खनिउँ जस्ती,
खोल्सीनिर निउरमुन्टी सेतो उनिउँ जस्ती ।
पानी पिउँने निउँ पारेर नातो लाउँन खोजें
मेरिबास्सै ! साँच्चै रैछे तातो पुनिउँ जस्ती ।।
००००००००००००००००००००००००००००००
चेतनाको दीयो बाल्ने इतिहासको नजर,
आजभोलि बाँचेको छ,छियाछिया शहर ।
महादेवले बोकेजस्तो सतीजीको लास,
मेरो चिहान,मेरो बिहान कठै ! विराटनगर ।।
००००००००००००००००००००००००००
एकथरी मान्छेका लागि माछा मार्ने नहरजस्तो भा'छ,
शिक्षा खाने माफियालाई पाकेको कटहरजस्तो भा'छ ।
चरीले चाखेको फल भए पो अमृतजस्तो मीठो हुन्थ्यो,
तस्करले चुसेको विश्विद्यालय त जहरजस्तो भा'छ ।।
००००००००००००००००००००००००००००००००
राधेराधे बोल्छ अचेल मोबाइलमा घण्टी,
कीर्तनमा लागेकीछन् पल्लाघरे अन्टी।
मन्दिर छ डिस्कोजस्तो घर लाग्छ पर
केही उनलाई भन्नुहुन्न घाँटीमा छ कण्ठी ।।
०००००००००००००००००००००००००००००


एउटा सर्प दुईटा जिब्रो दाँतैभरि विष छ,
बैरीसँग चोचोमोचो आपस्तमा रिस छ ।
फोहोर खाँदै तलतल बग्ने, खोलोजस्तै
विपरीत बुद्धि पर्यो,मान्छे भा'पो सिक्छ ।।
000000000000000000000000000
कहिले रङ्गीन कहिले सादा मुटुसमान बिबी,
चल्नभन्दा जल्न खोज्ने घरमा एकथान टिभी ।
मन्त्री बन्न चाहिनेजति दाइजो-पेवा छैन,
यति नै हो जम्माजम्मी मेरो 'श्रीमान् !' सिभी ।।
0000000000000000000000000000
हामी ताकपरे सीता जलाउन पनि तयार हुन्छौं,
दाइको जिउँदो चिता जलाउन पनि तयार हुन्छौं ।
मालिकको जुत्ताको तलुवा चाट्न पाइन्छ भने,
आफ्नै चरित्रको गीता पनि जलाउन तयार हुन्छौं ।।




No comments:

Post a Comment

Please leave your Comments here...▼