Monday, May 30, 2016

सराद्धेको संकल्प

म श्री चन्द्र संस्कृत मा.वि. धरानमा समकृततर्फको प्रथमा( कक्षा ८)मा
पढ्दै गरेको साल २०२७ को माघ महिनातिरको कुरा हो यो।विद्यालयमा
पढाउने गुरुहरू मध्ये एकजना हुनुहुन्थ्यो ।लोकनाथ लुइँटेल ।व्याकरण
साहित्य,नेपाली, गणित नागरिकशास्त्र,इतिहास,तर्कशास्त्र जस्ता संस्कृत
शिक्षाको माध्यमिक तहमा पढाइ हुने सबै विषय कुशलतापूर्वक पढाउनु हुने
उहाँ अहिले सेवा निवृत्त हुनुहुन्छ।तथापि उहाँप्रतिको मेरो श्रद्धा र बहुमुखी
ज्ञानप्रति म सदैव ऋणी रहेको छु।नाताले उहाँ मेरा फुपाजु पर्नुहुन्छ तर नाता
भन्दा  बहुप्रतिभाशाली कुशल गुरु मेरा लागि पहिलो हुनुहुन्छ।

        एकदिन लोकनाथ गुरुले मलाई धरानको घोपामा गएर(क्याम्प होइन)
सिधा लिएर आउन अह्राउनुभयो।धरान छाताचौकस्थित निरौलाको पसल
आजसम्म छ सायद।तिनै निरौलाको घरमा गएर सिधा ल्याउनुपर्ने भयो।
घरकी बृद्ध आमा आफ्ना पतिको प्रत्येक तिथिमा श्राद्ध नगरी सिधामात्र दान
गर्नुहुँदो रहेछ।जाडोमा सिउसिउ गर्दै घरमा पुगें।रुखिएको अभाव झेल्दै पढ्ने
विद्यार्थी मलाई सिधा र दक्षिणा दुवैप्रतिको कौतूहलता त थियो नै।
             सिधा गर्दा वा अन्य कार्यमा संकल्प अनिवार्य पढिन्छ।एउटा अति
संक्षिप्त   कायेन वाचा आदि एक श्लोकको हुन्छ।विशेष अवस्थामा महासंकल्प
 पढिन्छ।
सामान्य कार्यमा मझौला खालको जुन संकल्प पढिन्छ,त्यही वाचन गरें मैले।मेरो
उमेर हेरेर सायद आमैले संकल्पमा चित्त बुझाउनु भएन।महासंकल्प नै पढनुपर्छ
भनेर अड्डी लिनुभयो।मैले जुन संकल्प पढ्नुपर्ने हो त्यो नै पढें।यसमा महासंकल्प
पढनु आवश्यक छैन भने।तर उहाँले मान्नुभएन।बरू लोकनाथ गरुले बालकलाई
पठाएर आफ्ना पितृमाथि अन्याय गरेको भन्न पनि भ्याउनु भयो।र मलाई पनि
आमैसँग अलि जङ चल्यो।जे आवश्यक हो मैले त्यही पढें तर मलाई महासंकल्प
आउँछ भनें।आउँदैनथ्यो र आवश्यक पनि थिएन तर जिद्दीका अगाडि मेरो के
लाग्थ्यो ?
   मलाई अम्बिकादत्त व्यासले संकृत भाषामा लेखेको ऐतिहासिक उपन्यास
'शिवराज विजय'को पहिलो निश्वास(भाग)कण्ठस्थै आउँथ्यो।आमैलाई पानी
समात्न लगाएर भट्याउँन थालें र बेलाबेलामा आमैलाई मम भन्न पनि लगाएँ।
झन्नै पौनेघन्टापछि सत्सन्नम: भनेर पानी छोड्न लगाएँ।
यसअघि सिधामा दश रूपयाँ थियो।आमै एकछिन बाबु भनेर भित्र जानुभयो र
कसैसँग भन्नुभयो।नपत्याएको खोलाले बगाउँछ भन्थे हो रहेछ।बालख बाहुन
पठाए भनेको त कस्तो शुद्ध महासंकल्प पढ्दा रहेछन् बाजे त।
 यता आफ्नो गल्ती कसैले सुनेको रहेछ भने करङ भाँचिने डरले सास भढ्दो
थियो।एकैछिनमा आमै आएर अरू पन्ध्र रूपैयाँ थपेर पच्चीस पारिदिनुभयो।
केही वर्षअघि त्यही परिवारका सद्स्यहरूसँग पनि यो कुरा भनें।मलाई सम्झँदा
अझै कुरीकरी लाग्छ तथापि आफ्नै पोल खोल्दा भने आनन्द लाग्छ।


No comments:

Post a Comment

Please leave your Comments here...▼