Wednesday, May 20, 2020

शिक्षा र व्यवहार:






***************
ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ॥ (उपनिषद्)
अर्थ:-
सृष्टिका हुन् सवै वस्तु,स्रष्टाका श्रम-आर्जन।
नलेऊ नतिरी मूल्य,अरुको पसिना-धन।।


चिन्तन:-
यस्तो अमृतझैं ज्ञान, बहुमूल्य मुगासरि
गुमाएर, सधैं घोकें शब्दलाई सुगासरि।।


शास्त्र भन्छ विनामूल्य लिनुहुन्न सियो पनि
शास्त्री-चेलो सियो हैन,सके छिन्छ फियो पनि।।


म गुरु ज्ञान-सम्पन्न,टेकें चन्द्र र मङ्गल
धर्तीको गुणको साटो ,मासें पर्वत-जङ्गल।।


जननी-प्रकृतिबाट लिएँ अमृतका घडा
तिनकै हातमा राखें विषकुम्भ बडाबडा।।

गुरुबाट लिई ज्ञान,दिइन्थ्यो गरुदक्षिणा
तिनैका सन्तति आज लिनेमात्र अलच्छिना।।

दुहिने पृथिवीलाई दिनुपर्दछ पोषण
तर यी अन्नपूर्णाले भोग्दछिन् नित्य शोषण।।

स्रष्टा-प्रकृतिले आफ्नो साँचो सुम्पिन् भँडारको
म मान्छे गुणको वैरी गरें चर्या हुँडारको।।

मेरो जीवनमा अर्को-पक्षमा पशु पर्दछ
अज्ञानी-मूर्ख हो यद्वा,मभित्र ज्ञान भर्दछ?

पशु-पञ्छी र मौरीले बुझ्दैनन् वेदका ऋचा
तैपनि अन्नपानीका हुँदैनन् वैगुनी-छुचा।।

पशुले घाँसको सट्टा मलिलो दिन्छ गोबर
पन्छीले फल खाएर बीजको बन्छ नोकर।।

विनामूल्य कहाँ लिन्छ,मौरीले फूलको रस?

पराग पदले बोकी तिर्दछन् ऋणको कस।।इति।। 

No comments:

Post a Comment

Please leave your Comments here...▼