कानमा रात हालेपछि सिरक ठानेर निदाउँछ ।
बिहानै एक कप सूर्य पिएर मनलाई काममा फिजाउँछ ।
बाटोमा मुक्तक-कविता र गीतका अनाथ नानी बटुल्दै,
थकित एउटा चेतनाको फूल आफूलाई पसिनामा भिजाउँछ ।।- १
तोरीबारीका मूलाजस्तै पोटिला रहरलाई ।
शिरमा सेताम्य फुलाएका सपनाका प्रहरलाई ।
मनको खाडलमा खाँद्दाखाद्दै सिन्की बनेछन्,नातो खुटेर कोसेली पठाउँदैछु तिम्रो शहरलाई ।।- २
कसैका लोभी नजर ।
कसैका पापी नजर ।
लैनो पाडाका खुट्टाजस्तै,
मेराचाहिं बटारिएका नजर ।।- ३
मैले पहाड चढ्दा शानदार हिमाल देखें ।
तराईतिर झर्दा इमानदार धिमाल भेटें ।
तैपनि धर्म र जातिवादले साइनो फाटेर,
आफ्नै गाउँ पनि चिरिएको बिरानो नेपाल भेटें ।।- ४
जीवनको मैदानमा अक्षरहरुले फुटबल बनाए ।
राजनीतिका पारखीले बेलाबखत मादल बनाए ।
सधैँ अरुको लागि देउरालीको पाती बनेको मलाई,
आखिर आफ्नै सपनाहरुले पनि केवल आँखाको गाजल बनाए ।।- ५
No comments:
Post a Comment
Please leave your Comments here...▼