Thursday, June 5, 2014

मुक्तक

मित्रताको नाममा अचेल चिया-गिलास पिउँछु,
काम गर्ने नाममा अचेल चिम्टी-पिलास जिउँछु
जुन दुलोमा माछो देख्यो त्यै दुलोमा हात छ,
लोकतन्त्रको नाममा अचेल बुद्धिबिलास सिउँछु ।।

००००००००००००००००००००००००००००००
दुःशासनले द्रौपदीको सल खोस्नुलाई ठीक ठान्छ
रामले लुकेर बालिको बल खोस्नुलाई ठीक ठान्छ ।
सत्ताले जे गर्यो त्यसैलाई उचित भनिन्छ सायद,
नेताले आन्दोलनको फल खोस्नुलाई ठीक ठान्छ ।।
०००००००००००००००००००००००००००००००
नेताभित्र कमाउने प्वाँख पलाए'छि,
साधुभित्र तरुनीको चाख पलाए'छि।
मानिसको के कुरा र ? दैव भएपनि
जोगिंदैन चरित्रमा दाग पलाए'छि।।
००००००००००००००००००००००००
आकाशमा मडारिंदैमा बादल हुन सक्दैन,
परेलीमा पोतिंदैमा गाजल हुन सक्दैन ।
ओSरदीफ-काफियाका जबर्जस्ती स्रष्टा !
पदावली सिंगारिंदैमा गजल हुन सक्दैन ।।
00000000000000000000000000000
जून्कीरीको पुच्छर टाँसी रातमा गुच्चा बाल्छ,
गर्मी भए औतिएर गन्जी-कच्छा फाल्छ ।
कसले भन्छ विराटनगर विकासप्रेमी होइन ?
फोहोर बग्ने नालाभित्र मुङ्ग्री माछा पाल्छ ।। 
00000000000000000000000000000
हिजोको सुन्दर शहर आजभोलि अस्तव्यस्त छ, 
पञ्चमीको पाइलाजस्तो विकास सुस्तसुस्त छ ।
स्वयं रोगी शहर होइन,बाटो आफैं फोहोर होइन,
कताकता यस्तो लाग्छ, सोच हाम्रो सिकिस्त छ ।
0000000000000000000000000000000000
नेपाललाई छिमेकीले ठान्छ सन्धिसर्पण,
भागबन्डाले बनाको छ शिकारको गर्दन ।
भिन्नखाले हतियारका यार-धार उस्तै,
मुलुक काट्न जन्मेकाछन् हजार दलमर्दन ।।
००००००००००००००००००००००००००००००००
परें अन्योलमा आज खुसीमा कि विषादमा ?
न त निल्नु न ओकल्नु पर्यो नाता फसादमा ।
म सोझोले दिएँ औंलो,पूरै हात निलिदियौ,
दिई नैवेदको पित्को  जुनी माग्यौ प्रसादमा ।। 
०००००००००००००००००००००००००
पहिलोपल्ट उन्लाई  भेटें  मैले बेंसीटारमा,
आँखाबाटै टेकें मैले चुलेंसीको धारमा ।
कति रेट्नु  आफैंलाई, बाटो हेर्दाहेर्दै ?
बालुवाकै माछी बनें परदेशीको प्यारमा ।। 
०००००००००००००००००००००००००
सत्तामा ओहोरदोहोर गर्नेले भर्याङको खुट्किला बनाए,
जोडतोडले व्यापार-व्यवहार चलाउनेले पेचकीला बनाए ।
यो देशका जनतालाई जनार्दको रामनामी त ओडाए,                              तर धर्म र राजनीति मिलेर गजबकै चुट्किला बनाए ।।
००००००००००००००००००००००००००००००००००
आन्दोलनअघि जनताका बीचमा बालुवाजस्तै थियौ,
आन्दोलनपछि सत्ताको काखमा पालुवाजस्तै भयौ ।
काँक्रालाई थाङ्ग्रो र तिमीलाई भोट उस्तै भो साथी !
चुनावपछि त माफियाको जुत्ताको तलुवाजस्तै बन्यौ ।।
00000000000000000000000000000000000000
म तिमीलाई नारा र सुन्दर कविता दिनेछु,
हात आफूलाई र तिमीजस्तालाई बित्ता दिनेछु ।
म त्यस्तो समाजवादको निर्माण गर्दैछु प्रिये !
भोकालाई आश्वासन र सपनाको सिता दिनेछु ।।
०००००००००००००००००००००००००००००
जागिरमा कमाएको धनले घरमा कालो पाडो आयो,
नेता भएको भोलिपल्टै आँगनमा उपहारको प्राडो आयो ।
सायद, लक्ष्मीले व्यापार छोडेर राजनीतिमा डेरा सारिन्,
मन्त्री भएको भोलिपल्टै दाइजोमा घर-घरेडी र डाँडो आयो ।।  
०००००००००००००००००००००००००००००००
ढेडु होस् कि बाँदर, मकैलाई के अन्तर ?
दुःशासन नै जप्दो रैछ सुशासनको मन्तर ।
स्वयं माइकल धामी,स्वयं माइकल बोक्सी,
अख्तियार नै लगाइदिन्छ पापाचारलाई जन्तर ।।
0000000000000000000000000000000000
सत्ताको वनबासमा केवल साततले पर्णकुटी छ,
खानपिनको नाममा बोतलको झोल र सुकुटी छ ।
स्वस्थानी दाहिना हुनाले गुजारासम्म चलेकोछ,
जनताको नाममा चेक काट्न हुने देशको ढुकुटी छ ।।
000000000000000000000000000000000
जङ्गलमै नाच्न देऊ भाले मुजूरलाई,
मन्दिरमै खुल्न देऊ सुनको गजुरलाई ।
साइनो कुनै नलागेको साइनो बनोस् यौटा,
मानिस भै बाँच्न देऊ मेरी हजुरलाई ।।
०००००००००००००००००००००००
नेताहरु अझैपनि देशमा हुकुमी शासन चलाउँदैछन्,
मान्छेलाई धर्मको पाखण्डमा गोडेपानी पिलाउँदैछन् ।
वामपन्थी गुँडमा कोरलिने सामन्तवादकै टिउराहरु,
हावाको बार्दलीमा बसेर पूँजीवादको हल्ला फिंजाउँदैछन् ।।
0000000000000000000000000000000000
किसानलाई के पाऊँको चिन्ता छ,भ्यागुतालाई हर्षको गीत छ,
गणतन्त्र त आयो भन्छन् तैपनि देशमा राजतन्त्रकै रीत छ
लोकतन्त्रमा पनि कित्ता अनुसारका भोगाइ हुन्छन् कान्छा !
यतिबेला जनतालाई हार र तस्करलाई महाभारतको जित छ ।।  
000000000000000000000000000000000000000
पहिले-पहिले तर्किएर विकट बनाई मलाई,
थाहै नपाई कहिलेदेखि निकट बनाई मलाई?
मनका कुरा खिपीखिपी चिठी लेखेपछि 
उसकै खाम र ठेगानाको टिकट बनाई मलाई ।।
000000000000000000000000000000
कठिन बोधियात्राले सिद्धार्थलाई बुद्ध बनाउँछ,
कठोर साधनाले योगीहरुलाई सिद्ध बनाउँछ ।
पेन्सिल पो तिखार्नुपर्छ, काँढो स्वयं तिखारिन्छ 
देश लुछ्ने मान्छेलाई स्वभावैले गिद्ध बनाउँछ ।। 
००००००००००००००००००००००००००००००००
गाऊँका युवाहरु विदेशको रापिलो खाडी पुगेकाछन्,
युवा बस्ने गाऊँमा विदेशी साडी र गाडी पुगेकाछन् ।
देशविदेश र गाउँशहरको मैत्रीमा यस्तै हुन्छ माइला !
जसरी मोमोको डल्लामा भैंसीका पाडी पुगेकाछन् ।।००००००००००००००००००००००००००००००००
चोलोमा तुना छैन र बारीमा तुनेबोडी छैन,
उहिलेको जस्तो बालगीतमा मामाघोडी छैन ।
सुनसानले मसान जगाएको मेरो गाउँमा,
आजभोलि मादल र सारङ्गीको जोडी छैन ।।
0000000000000000000000000000000
समयसँगै फेरिएको गाउँमा न चोलो न चौबन्दी छ,
मोबाइलको जमानामा ,अब न चिठ्ठी न खामबन्दी छ ।
चेतना र विकासको नाममा कटुताको शीतलहर छ,
आजभोलि गाउँमा केवल दलको किचलो र गूटबन्दी छ ।। 
00000000000000000000000000000000
देशको जमिनलाई तस्करले पेवा-जन्तर बनाएको छ,
योजनाको नाममा सरकारले हावा-मन्तर बनाएको छ ।
बाबु हो !कति कुरा हेर्दा भिन्न र बुझ्दा उस्तै हुन्छन्
नियतिले ढेडु र बाँदरको मुहारमात्र अन्तर बनाएको छ ।।
0000000000000000000000000000000000
इर्ष्यालुको नजर भन्छ, काठेपिराजस्ती,
नपाउनेले उसै देख्छ, झुसिल्कीराजस्ती ।
हेर्नेपनि थरीथरी, हुनेरैछन् आँखा,
अरु सबै कीराजस्ता, उनी हीराजस्ती ।।
0000000000000000000000000000
जुन माटोमा मुलुक जोड्ने अमर-सूत्र जन्म्यो,
त्यही माटोमा अमरसिंह वीरपुत्र जन्म्यो ।
यो माटोमा आजभोलि ठट्टा गर्यो कोखले 
नेताजस्तो टाउको भा'को मलमूत्र जन्म्यो ।।
0000000000000000000000000000000
निष्ठा नामकी द्रौपदीलाई नाङ्गो बनाउँछ,                                        स्वाभिमानको छानोलाई उदाङ्गो बनाउँछ ।
लोकतन्त्रको भेषमा काँचोवायु जागेको देशमा,
भेटी-चल्ला नपाए मुखलाई बाङ्गो बनाउँछ ।।
०००००००००००००००००००००००००००
न त यिनीहरुले देशलाई साँचो हिसाब देनेछन्,
न त जनतालाई सामाजिक निसाफ दिनेछन् ।
राजनीतिको ढाडे र सडकको साँढे सहोदर हुन् 
ठोसमा दिसा र तरलमा पक्कै पिसाब दिनेछन् ।।
००००००००००००००००००००००००००००००






No comments:

Post a Comment

Please leave your Comments here...▼