Tuesday, March 16, 2010

जिन्दगी गीति- कविता

निधारमा मुस्कुराउँने टिकुलीको दाम ।
के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ।।

साँझपख जगाइने आरतीको ज्योति ।
हातजोडी देउरालीमा चढाइने पाती ।।
तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम ।
छोटो-मीठो निदरी हो जिन्दगीको नाम ।।

घामपानीको इन्द्रधनु एकैछिनको बर्षा ।
दु:ख पनि छिचोलेर हातलाग्ने हर्ष ।।
तिर्खालुले छोडेपछि एक्लो हुने ठाम ।
बिरानको पँधेरी हो जिन्दगीको नाम ।।

एकैपल्ट पलाउने वैशाखको पात ।
दोबाटोमा पुगेपछि भिन्न हुने साथ ।।
नाम-थर ठेगानाले रङ्गिएको खाम।
सानोसानो सन्देश हो जिन्दगीको नाम ।।

बज्दाबज्दै टुङ्गिएको सारङ्गीको धुन ।
घामजून रहेसम्म बाँच्नखोज्ने मन ।।
बैंसालुले छोडेपछि रित्तिएको गाम ।
विहानको लालिमा हो जिन्दगीको नाम ।

निधारमा मुस्कुराउँने टिकुलीको दाम ।
के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ।।

(नोट:- यसअघि लेखिएको चार पाउको ' जिन्दगी 'नामको बगेडीलाई गीति कविताको आकार दिइएको । जीवन र जगतका अत्यन्त सुन्दर तर क्षणिक कुराको टिपोटलाई कलामा लघुबिम्ब भन्ने गरिन्छ ।यो गीतिकवितामा सुन्दर तर क्षणभङ्गुर जीवनलाई लघुबिम्बको उपमाबाट हेर्ने प्रयास गरिएको छ )

1 comment:

  1. साह्रै मन छुने कविता!

    ReplyDelete

Please leave your Comments here...▼