Saturday, July 11, 2015

फेसन र फाट्नु(लघुकथा)


शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट ओर्लिएर पनि दुई घन्टा हिंडेपछिमात्र घर पुगिन्छ ।गाउँमा यस्तै हुन्छ भन्ने लागेकी आमालाई गाउँबाट नगरपालिका हुँदा पनि उस्तै हुँदा 'गर' पालिका नभई 'नगर' पालिका भएकाले केही नगरेको होला भन्ने लाग्थ्यो ।बेलुका आइपुग्ने छोरीका लागि आमा भने बिहानैदेखि छट्पटी र झझल्कोको शिकार बनेकी छन्।
   उता छोरी पनि गाउँ प्रवेश गरी।नाम ईश्वरी थियो।शहरपसेपछि 'एसु'बन्न पुगेको थियो। गाउँ उसै प्यारो।त्यसमाथि घर पुग्ने हतारो।हुनेभए उडेर जानेथिई ऊ।तर बाटोमा भेटिने जति सबैले उसँग हाँसेरै बोलेपनि सबै उमेरकाको हेराइमा भने अलि अनौठोपन थियो।पहिलेजस्तो बाटोमा पर्ने हरेक घरका मान्छेले आइज, बस, खा भनेन।सामान्य बोलचाल गर्यो बस् ! सकियो।तर हरेकका नजर भने उसका शरीरको पैंतालिस डिग्रीकोणदेखि एकशय असी डिग्रीकोणसम्ममा केन्द्रित थिए।कारण केटी नभएर उसका लुगा थिए।जिन्सको पेन्ट र जिन्सकै सर्ट उसको प्रिय पोसाक हो।पहिले पनि लगाउँथी तर यसपालि भने सर्ट र पेन्ट दुवै ठाउँठाउँमा फाटेका,च्यातिएका थिए।गाउँका गरीब-दुखीसँग हुँदैन तसर्थ त्यस्ता लाउनु तिनीहरुको वाध्यता हो तर ईश्वरी वा एसु त खानलाउँन पुग्नेकै छोरी थिई।मान्छेले उसलाई हो वा फाटेको ठाउँहरुमा खूब हेरे।फाटेकै लुगाको नियतिमा बाँच्ने गाउँले अरुलाई यसरी कसैले हेरेन। तर एसुका फाटेका ठाउँ सबैले हेरिए तर नजर लुकाएर।कि पूरै छोपिएको कि पूरै खुलामा चासो हुँदैन तर देखिनु र छोपिनुको अवस्थामा आँखाको कौतूहल अलि ज्यादा चकचके हुन्छ सायद। 
  एसुले फाटेका लुगा लगाउनुको कारण सोध्ने साहस कसैले गरेन।धनीकी छोरी उसमाथि उच्चशिक्षाले सुसज्जित र जसलाई पनि ओठे जबाफले मुख बन्द गर्ने उसको स्वभाव थाहा छ भने किन चलाउने ?धेरैलाई यस्तो लागेपनि खुल्बुली त लाग्ने नै भयो ।एसु घर पुग्दा-नपुग्दा आ-आफ्नै किसिमले कारण निर्माण भएर उसको घरमा पनि पुगे।केही थान कारण यस्ता थिएः-

क)भिउसिनेको जङ्गलमा पाकेका ऐंसेलु टिप्न पस्दा काँढाले लुगा च्यात्यो। ख) बाँदरको बच्चालाई जिस्क्याउँदा माउहरुले चिथोरे र लुगा च्यातिए। ग)अर्कै गाउँका गुन्डाले हातपात गर्दा जोगिने र भिड्ने काम गर्दा लुगा च्यातिए। घ)गरीब नै गरीबले भरिएको गाऊँका मानिसका फाटेका लुगालाई होच्याउँन वा खिसी गर्न । ङ) आफूलाई पनि गाउँलेकै अवस्थामा ढालेर समभाव प्रदर्शन गर्न र विनम्रता देखाउँन।  च) उसमा बेलाबेला पागलपन चढ्छ।आजपनि बाटोमा एकछिन चढ्यो र स्वयंले लुगा च्याती।  आदि आदि।
  एसु घर पुग्दा निकै मानिस जम्मा भइसकेका थिए।छोरी आएको खुसीभन्दा च्यातिएका लुगाको यो रूप देख्नासाथ मनमा चिसो पसेकी आमाले कसरी लुगा ठाउँ-ठाउँमा च्यातिएर बिरूप भइस् ? भनी सोधिन्।एसुले सहज भावमा उत्तर दिई  "यो फाटेको नभएर फेसन हो।"
 आमाले भनिन् अनि गाउँका गरीब मानिस सबैले फाटेका लगाएका छन् ।के ती फेसन हुन् ?एसुले च्याठ्ठिएर भनी" तपाईहरु कालो अक्षर भैंसी बराबरलाई के थाहा शहर र त्यहाँको फेसन?" नजाने गाउँको बाटो नसोध्नु भनेको थाहा छैन ?"गाउँ यति सानो कुराले विभाजित भयो।एकथरीले भने" ठाउँ-कुठाउँमा प्वाल परेर नदेखिनुपर्ने दिखिएलाजस्तो लुगा फाटेकै हो।"अर्को थरीले भने "पढेलेखेकीले भनेपछि फेसन नै हो।" र तेस्रो थरीले भने"गरीब गाउँलेका लुगा एसुकाजस्ता भए फाटेका हुन् र शहरमा बस्नेले गरीबकैजस्ता फाटेका-टालेका लगाएर आए भने फेसन हो ।"
 अरु काम छोडेर भीड बढने र तर्कवितर्क गर्ने क्रमको निरन्तरता थियो।

No comments:

Post a Comment

Please leave your Comments here...▼