Friday, September 4, 2015

छन्द-महिमा



मानौं सर्बतको स्वाद, छन्दमा, भाव-शिल्पमा
वाणीमा रसना मेरो रमाओस् कल्प-कल्पमा।।

जहाँ चन्दनझैं मीठो छन्दको परिबन्ध छ ।
अजारामर वाणीको त्यहाँ नित्य सुगन्ध छ।।


रस-बासनले युक्त, फूलझैं पदयोजना,
छन्दमा बग्दछिन् वाणी दिव्य-संगीत रञ्जना।।

चरीको छन्दमा गाऊँ,नदीको लयमा बगूँ,
वायुको गतिका साथै,आयुको यतिमा जिऊँ।।

छन्दको लोकमा साँचो उज्यालो लोकतन्त्र छ।
वर्ण-मात्रा सबै तुष्ट, गणको गणतन्त्र छ ।।

सर्गबन्धनमा हुन्न,जात-भात प्रदेशझैं।
न त आख्यानमा वैर, हिमाल र मधेशझैं ।।

नदीले पद-शय्याझैं शिला चिल्ला बगाउँछन् ।
खिपेरै छन्दको सीप, जून-तारा उदाउँछन्।।

श्वासको सुर हो छन्द,मुटुको ताल छन्द हो।
दुनियाँमा जहाँ जे छ,छन्दको परिबन्ध हो ।।

(अनुष्टुप छन्द)

No comments:

Post a Comment

Please leave your Comments here...▼