Sunday, June 15, 2014

मुक्तक

मृत्युसँग अर्को बोतल सापट लिएकोछु,
त्यही खुसीमा मैले आज चट्ट पिएकोछु ।

आफूलाई छामिहेर्दा  कृष्ण वस्तीजस्तो,  
जिन्दगीको ज्याकेटभित्र पकेट खिएकोछु ।। 
०००००००००००००००००००००००००००००००  
लक्ष्मी हेरी आजभोलि फाइल सदर हुन्छन्,
खाली हात, रित्ता मान्छे जिउँदै बदर हुन्छन् ।
न्याय खोज्न गोर्खा जाने गए बाबु दिन,
रामशाहको चौतारीमा ढेडु-बाँदर हुन्छन् ।।
००००००००००००००००००००००००
देश लुटेको पापकटनी गर्न संविधान दिएर निग्रह गर,
देशको अखण्डतासँग होइन, गरीवीसँग विग्रह गर ।
ओ ! पवित्र जनताका अपवित्र कथित प्रतिनिधि हो ,
अब राज्यको पुनःसंरचनाका लागि जनमत संग्रह गर ।।
०००००००००००००००००००००००००००००००००
तिम्रो रूपसामु वसन्तले पुष्पदार शिर निहुरायो होला ,
धर्तीमा मानिस भएर जून जन्मेको खबर पुर्यायो होला ।
आफ्नो रचना सुनेर आफैं रमाएको स्रष्टाजस्तै
तिमीलाई भेट्न आएको विधाता स्वयं मुस्कुरायो होला ।।
०००००००००००००००००००००००००००००००००००००
धर्तीमा उज्यालो खस्दा आकाशमा लाली चढेको बादल देखिन्छ,
बिहानको घाममा नुहाएर मुस्कुराउँदो नौजवान हिमाल देखिन्छ ।
बाँकी जीवन गाउँतिरै बिताउने सोच यसकारण पलायो सान्नानी !
त्यहाँबाट आँखाको नानीजस्तो सानो तर सुकुमार नेपाल देखिन्छ ।।
0000000000000000000000000000000
बेचिएका नदीनाला कूलोसँग रुन्छन्,
अनिकालका पेटहरु चुह्लोसँग रुन्छन् ।
नयाँ नेपाल भन्नुमात्रै पुरानै हो कपाल,
नारानगोपाल उही चोकमा धुलोसँग रुन्छन् ।।
000000000000000000000000000000000000000000000
चौतारीमा वरपीपलको पवनमा डुल्छे,
चन्दनले सजिएर मधुवनमा डुल्छे ।।
डालीभरि सुनाखरी फूल खुलेजस्ती
मेरी उनी सोह्रबर्षे यौवनमा डुल्छे ।।
०००००००००००००००००००००००००
नामअघि टाँसिने पुच्छरको स्वयं विज्ञापन गर्छन्,
आत्मगाथाको आरम्भदेखि स्वयं समापन गर्छन् ।
विश्वविद्यालको उर्वरालाई प्राज्ञले त्यस्तो बनाए,
धर्तीको सत्यानाश जसरी गगनचुम्बी भवन गर्छन् ।।
०००००००००००००००००००००००००००००००००००
भजन-कीर्तनको सुर र तालमा कम्मर हल्लाउनुपर्छ,
धूप-दीप नैवेद र भेटीसहितको चम्मर हल्लाउनुपर्छ ।
सामन्तवादको अन्त्य भएको वामपन्थी प्रयोगशालामा 
योग्यताले अवसरका लागि कुकुरझैं पुच्छर हल्लाउनुपर्छ ।। 
०००००००००००००००००००००००००००००००००
नाता हाम्रो समोसा र चिया मुछेजस्तो,
भोक लाग्दा ऊखू ठानी हँसिया चुसेजस्तो ।
बाहिर-बाहिर अभिवादन भित्र छुरी धसान,
माटो लगाई फलामको खिया पुछेजस्तो ।।
00000000000000000000000000000000000000000000
कथित नयाँ नेपालमा पनि सत्ताकै भजन हुनुपर्ने,
जनताका आशाहरु टाठाबाठाको मनोरञ्जन हुनुपर्ने ।
यो त पुरानै ढर्रा र ठर्राको पालिस पो भयो नेताजी !
कहिलेसम्म हामीले तिम्रा मलद्वारको मन्जन हुनुपर्ने ?
०००००००००००००००००००००००००००००
बालापनमा जसका साथमा खेलें मैले गट्टा,
शत्रुजस्तो मानें कहिले, कहिले चल्यो ठट्टा ।
त्यै खोलो र त्यै कुलोमा घट्ट घुमेजस्तो,                                                    उही मोरी पो घुमीफिरी बनी पेन्सन-पट्टा ।।
००००००००००००००००००००००००००००
भजन-कीर्तन गर्ने नाममा अखडामा डुल्छे,
गाउँ-घरमा घुम्ने नाममा बखडामा खुल्छे ।
आजभोलि के भो के भो सान्नानीलाई कुन्नि ?
जहिले पनि ख्यालठट्टाकै लफडामा हुन्छे  ।।
००००००००००००००००००००००००००
आजभोलि उनलाई देख्दा आँखा गिराउँछु रे,
वन-पाखामा गीत गाउँदा भाखा बिराउँछु रे ।
चाल निको छैन अचेल दौंतरीले भन्छन् ,
जबानीमा प्वाँख लागे शाखा पिराउँछु रे ।।
००००००००००००००००००००००००००००००००००००००००००
कमाइले पेटमा चाहेजस्तो चारा लगाउन पुग्छ,
भान्सासँगै राम्रो बाथरुम र धारा लगाउन पुग्छ ।
जनताको होइन कम्निस्टको अवस्था फेरिनुपर्छ,
यतिले नेपालमा साम्यवादको नारा लगाउन पुग्छ ।।
००००००००००००००००००००००००००००००००
भोका-नाङ्गा बेरोजगारलाई काख लिन छोडे,
नीति-निर्माण विकासमा चाख लिन छोडे ।
साँचै मुलुक पुँजीवादमै पसेछ कि क्या हो ?
करोड खान पल्केपछि लाख लिन छोडे ।।
०००००००००००००००००००००००००
हाम्रा समस्याहरु पुरानै बाइरोडमा चल्दैछन्,
जनताका नाङ्गा पाउ अझै रोडमा चल्दैछन्।
परिवर्तनको तराजु फेरिपनि कोल्टियो नानु !
सभासदको हिसाब भने करोडमा चल्दैछन् ।।
0000000000000000000000000000000
सभा-समारोहमा ठाँटिनुपर्दा त कानकै टप बनाउँछन्,
भोक लाग्न थालेपछि पो तातो आलुचप बनाउँछन् ।
भागबन्डाको टेबुलमा सत्ताको तास फिट्न थालेपछि,
राजनीतिका अमल्चीले देशलाई चियाको कप बनाउँछन् ।।
००००००००००००००००००००००००००००००००००००००००००००००००००००
अख्तियार र अदालतको अजम्बरी साथलाई,
ऐेय्या पनि नहोस् कहिल्यै नेताजीको गाथलाई ।
भाग्यमानी निधार मेरो विभूत दले पुग्छ 
मुलुक जिम्मा दिए हुन्छ पशुपतिनाथलाई ।।
०००००००००००००००००००००००००
नेताजीले भोटका लागि गाउँलाई सम्झेजस्तो,
शिकारीले छोपेपछि  माउलाई सम्झेजस्तो ।
बेलाबखत नैतिकताको फोटो हेर्छन् उनी 
बर्ष-दिनको सराद्धेमा बाउलाई सम्झेजस्तो ।।
०००००००००००००००००००००००००००
विचारको काम छोडेर साबुन बेच्ने गर्छन्,
मौका परे कार्यकर्ताको खून बेच्ने गर्छन् ।
हारेपनि जितेपनि सत्ताधारी उनी,
आजभोलि सिद्धान्तको सगुन बेच्ने गर्छन् ।।
००००००००००००००००००००००००००००००
देखिने दाँतमा एउटा र आँतमा अर्को लेयर छैन,
सत्तासुन्दरी र सुरासँग लसपस वा अफेयर छैन ।
हाइटेक राजनीतिको बजारमा अफाबसिद्ध पात्र म,
ब्ल्याकमनीको उद्योगमा एक पैसाको सेयर छैन ।।
०००००००००००००००००००००००००००००
चिसो भुइँमा दिनरात सुत्ने-बस्ने आसन पाइन्छ,
रेडियोमा सुनिने, टिभीमा देखिने शासन पाइन्छ ।
नेपालमा भोकानाङ्गाको दिन फिरेको लोकतन्त्र छ,
किनकि नगदमा होइन, उधारोमा आश्वासन पाइन्छ ।।
0000000000000000000000000000
भीरमौरीको महजस्तो तारेभीरमा बस्छिन्,
तम्मरको पानीजस्तो गड्तीरमा बस्छिन् ।
बिरानमा फक्रिएर सिरानमा डुल्ने,
मेरी उनी हिर्दयको तस्बीरमा बस्छिन् ।।
0000000000000000000000000000000000000000000

राजनीतिका मच्छरहरुले औलाको व्यापार गर्छन्,
स्वास्थ्यका माफियाले मिर्गौलाको व्यापार गर्छन् ।
नयाँ नेपाल त यिनीहरुकै अंशमा पर्यो सान्नानी !!!
जनता त पुरानै नेपालमा फुरौलाको व्यापार गर्छन् ।।
००००००००००००००००००००००००००००
एउटालाई ठेस लाग्दा अर्कोलाई मर्म दुख्ने रीति हरायो,
पाइलाले बालुवा टेक्दा शिरमा जलन हुने प्रीति हरायो ।
पैसाको ब्याकहोलले मान्छेको विवेक नै निलेछ क्यारे !
रोबोटले मान्छेको ठाउँ लियो, तसर्थ जिउँदो नीति हरायो ।।
००००००००००००००००००००००००००००००००००

बाटाको छेउमा काँक्रा फिंजाएर बसेको देखें,
चौतारीमा उखुका लाँक्रा फिंजाएर बसेको देखें ।
व्यापारको बाहनाले दोबाटोमा पर्खनेले आज, 
निधारकै शिरमा झाँक्रा फिंजाएर बसेको देखें  ।। 
०००००००००००००००००००००००००००००००
कहिले मलाई सेतोसेतो हिमाल देखाएर,
मौका छोपी उसकै कालो कपाल देखाएर ।
छातीभित्र गहिरो-गहिरो पहिरो बगाउनेले,
गाल पार्छे रातो-रातो रुमाल देखाएर ।।
0000000000000000000000000000000000000000

जुन शहरमा ढाड कन्याउने हात पनि किन्न पाइन्छ,
त्यो शहरमा एक रातको लागि साथ पनि किन्न पाइन्छ ।
पैसाले राज्यको जुनसुकै पदको खरिदबिक्री हुने देशमा,
सत्ताको कुर्सी र राजनीतिको आँत पनि किन्न पाइन्छ ।।
०००००००००००००००००००००००००००००
हामी ताकपरे सीता जलाउन पनि तयार हुन्छौं,
दाइको जिउँदो चिता जलाउन पनि तयार हुन्छौं ।
मालिकको जुत्ताको तलुवा चाट्न पाइन्छ भने,
आफ्नै चरित्रको गीता पनि जलाउन तयार हुन्छौं ।।
००००००००००००००००००००००००००
सैलुङ्गेमा डुल्ने तिम्लाई चौंरीजस्तै देखें,
गोरो हिमाल मुस्कुराउँदा गौरीजस्तै देखें ।
खोजिरहें जुनीजुनी झझल्कोका बीचमा,
मनमा फुल्ने फूलमाथि मौरीजस्तै देखें ।।
0000000000000000000000000000000000000000000
कहिले लाउँछु सिंगौराको कोट सजाएर
कहिले राख्छु सिंगौरामा चोट सजाएर ।
निर्मोहीलाई  राखेकोछु मुटुभित्र मैले,
सम्झनाको सिंगौरामा नोट सजाएर ?
००००००००००००००००००००००००

दिन-रात पिएर जिउँनेका लागि यो सिसी भरेको शहर हो,
अभावमा जिउँनेका लागि यो सधैँ एकादशी परेको शहर हो ।
सदन-सडक र सोचाइमा सधैँ ढुसी परेको राजधानी मेरो
छातीमा हात राखेर बोल्नेका लागि, यो हिसी मरेको शहर हो ।।
००००००००००००००००००००००००००००
हुन त असारको रोपो सरक्कै सरेको छ
तैपनि संविधानको साइत नै टरेको छ ,
रोपो र संविधान त मालिकका धन हुन्,
हाम्रो त  जुनीको स्वाभिमान नै मरेको छ ।।

००००००००००००००००००००००००००००  
जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ,
जुनसुकै पहाडको आँतमा पाखा-पखेरा हुन्छ ।
अमृत र विष त सिक्काका दुई पाटा हुन्,नानु !
जुनसुकै व्यवस्थामा तानाशाहको डेरा हुन्छ ।।
००००००००००००००००००००००००००००
जब खेत बाझो देख्छ,किसान कुट्टो उचाल्छ
लोडसेडिङको खम्बा देख्दा कुकुर खुट्टो उचाल्छ ।
साहसीले काम नै गर्छ,कायर कुरा गर्छ
देशमारा नेता देख्दा जनता जुत्तो उचाल्छ ।।
               २
क्याम्पस कैल्यै छुट्टी नहोस् अल्छी लाग्छ मलाई
भो-भो माछी बन्दिंन म, बल्छी लाग्छ मलाई
मेरै आँखा उस्तो हो कि राजनीति भो उस्तो
नेता जति आजभोलि पाल्सी लाग्छ मलाई ।।                                                                  ३
खेती गरुँ उहिलेजस्तो खेतमा मलजल छैन
खोलो रह्यो,पानीविना कुनै कलवल छैन
हिमाल चढ्न जाने भन्थ्यौं, दलदलमा फस्यौं
सबै दलमा निर्दल पस्यो,विचारको छलफल छैन ।।
0000000000000000000000000000000000000
आज म मधुशालामा निकै मातेको छु,
कारण, स्वार्थका लागि सिद्धान्त साटेकोछु
नेपाली जनता हो !मिलाएर बुझिदिनुहोला
वास्तवमा मैले थुकेको थुक चाटेकोछु ।।
                 २
पोखरीमा उखेलिन्छ किनारकै बोझो
कल्ले काट्छ जंगलमा बाङ्टिङ्गो घोचो ?
घाँटी छिन्छ परेवाकै कुरो यो छ खाटी
जहाँ पनि बलि चढ्छ, इमान्दार सोझो ।। 
ooooooooooooooooooooooooooooooooooooooo

दूधरोटी खान्छ अचेल बिस्टा छोडी कागले,
जे गरे'नि कोक्याउँदैन जरिङ्गोको सागले ।
स्याल भए शाकाहारी कुखुरालाई मोज छ,
अमृतले पालेको छ, यो मुलुकलाई  नागले ।।
०००००००००००००००००००००००००००००
जमाखोरी कतै छैन, घूसखोरी छैन,
ढोका खुलै छोडे हुन्छ,कतै चोरी छैन ।
मूसातन्त्र आएको छ बिरालाको राजमा,
नेताजीमा मिलाप छ, पौंठेजोरी छैन ।।
  
00000000000000000000000000000000
बोली सुन्दा यस्तो लाग्यो मेरै कान्छो भाइ हो,
आफ्नै गोठमा जन्मिएको सोझो मालीगाई हो ।
संगतमा परेपछि लाग्यो मलाई यस्तो,
मेडइन नेपाल लेखिएको विदेशीको टाई हो ।।
००००००००००००००००००००००००००००

आकाशमा कहिलेकहीं  जहाज हरण हुन्छन्
धर्तीमा कतैकतै चेलीका लाज हरण हुन्छन्।
राजनीतिको गुन्डाराज छ के हुँदैन भन्नु ?
यो देशमा जताततै  आवाज हरण हुन्छन् ।।
0000000000000000000000000000

हिमालबाट चौंरी झरुन् हल्लाउँदै चमर,
डाँफे-मुनाल-मयूरसँगै नाचून अरुण-तमर ।
मादलमा हराऊँ म, सारङ्गीमा रोऊँ,
धर्ती मलाई आँगन देऊ सधैँ अजरअमर।।
0000000000000000000000000000
खोलोभन्दा बाङ्गोटिङ्गो, इ'कारजस्तो यो मन, 
जति खन्यो उति गहिरो इनारजस्तो यो मन ।
राम्रो-मीठो जता देख्यो,उसकै पछि लाग्ने,  
गाँठो पारिराख्नु पर्ने  ईँजारजस्तो यो मन ।।
000000000000000000000000000
पालुवा राम्रो देउरालीनिर झरीले चाखेको,
स्वर्गको पानी अमृतजस्तो परीले चाखेको ।
'घरकी मुर्गी दालको छोक्रा' भन्दछ उखान,
म पनि भन्छु बेलौती मीठो चरीले चाखेको ।।
०००००००००००००००००००००००००००
नपाउँदासम्म मानिसले अभाव देखाउँदो रहेछ,
आफ्नो हात माथि परेपछि प्रभाव देखाउँदो रहेछ।
न देव न दानवको चमेरे मानवको के कुरा गर्नु?,
मौकामा चौका नै हान्ने स्वभाव देखाउँदो रहेछ ।।
0000000000000000000000000000000
हार्ने र जित्नेको नाममा, दुबैपक्षले चर्को मोल लगाए,
मैदानमा पुगेपछि खेल जित्ने खेलाडीले गोल लगाए।
राजनैतिक मैदान वा सट्टाबजारको मोलतोल नै यस्तो,
साँझमा दुबैपक्ष मिलेर ओठमा बोतलको झोल लगाए ।।
०००००००००००००००००००००००००००००००००
सोचाइमा फाँट होइन साँघुरो सोती पाल्दोरहेछ,
भाषणमा सिद्धान्तको उज्यालो ज्योति बाल्दोरहेछ ।
माछो देखाएर भ्यागुतो पनि नदिने पाखण्डले,
टोपीमात्र होइन,ताक परे धोती नै फाल्दोरहेछ ।।
०००००००००००००००००००००००००००
स्वाभिमानको लागि चकडस्टरको काम समाएँ,
दाम होइन,बरु चाहेजस्तो सानो नाम कमाए ।
गणतन्त्रको घामसँगै शिक्षामा ग्रहण उदायो,
असुरपतिको राजमा बृहस्पतिले नीलडाम कमाएँ ।।
००००००००००००००००००००००००००००
संविधान आएपछि बाँदरले हलो जोतिदिनेछन्,
दुम्सी र सालकको बथानले दैलो पोतिदिनेछन् ।
अनिकालमा पेट भर्नका लागि लोहोरो पाक्नेछ,
नेताले सुशासन र कागले उज्यालो मोती दिनेछन् ।।
००००००००००००००००००००००००००००००००
सकेसम्म खोज्नैपर्ने मोतीपुरको खजानालाई,
भ्याएजति टिप्नैपर्ने वनचरीको दानालाई ।
अँध्यारोमा उज्यालोमा वाधा छल्दै जतनसँग,
जिन्दगी यो खिप्नैपर्ने, मखिबुट्टे नानालाई ।।
००००००००००००००००००००००००००००
धन्न बानी बसााइएन,डबकाको छ्याङमा,
डेरा पनि जमाइएन जूवातासको ड्याङमा ।
जुन कुराले जोगिएँ म,जिन्दगी भो दाहिनो,
आफूलाई मिसाइएन माफियाको ग्याङमा ।।
००००००००००००००००००००००००००
अपराजित मान्छेको साधना-भावना सुघेँ, 
जहाँ-जहाँ समस्या थ्यो,समाधान भई पुगें ।
म मान्छेभित्रको शक्ति स्रोतको परिचायक,
म हुँ विज्ञानको चेत सम्भवामि युगेयुगे ।।
००००००००००००००००००००००००००००००
लुँडी जोत्न जाँदा देखें रातो खनिउँ जस्ती,
खोल्सीनिर निउरमुन्टी सेतो उनिउँ जस्ती ।
पानी पिउँने निउँ पारेर नातो लाउँन खोजें
मेरिबास्सै ! साँच्चै रैछे तातो पुनिउँ जस्ती ।।
००००००००००००००००००००००००००००
चेतनाको दीयो बाल्ने इतिहासको नजर,
आजभोलि बाँचेको छ,छियाछिया शहर ।
महादेवले बोकेजस्तो सतीजीको लास,
मेरो चिहान,मेरो बिहान कठै ! विराटनगर ।।
0000000000000000000000000000
एकथरी मान्छेका लागि माछा मार्ने नहरजस्तो भा'छ,
शिक्षा खाने माफियालाई पाकेको कटहरजस्तो भा'छ ।
चरीले चाखेको फल भए पो अमृतजस्तो मीठो हुन्थ्यो,
तस्करले चुसेको विश्विद्यालय त जहरजस्तो भा'छ ।।
०००००००००००००००००००००००००००००
राधेराधे बोल्छ अचेल मोबाइलमा घण्टी,
कीर्तनमा लागेकीछन् पल्लाघरे अन्टी।
मन्दिर छ डिस्कोजस्तो घर लाग्छ पर 
केही उनलाई भन्नुहुन्न घाँटीमा छ कण्ठी ।।
०००००००००००००००००००००००००
एउटा सर्प दुईटा जिब्रो दाँतैभरि विष छ,
बैरीसँग चोचोमोचो आपस्तमा रिस छ ।
खोलोजस्तै माथिबाट तलतल बग्ने,                                                   विपरीत बुद्धि पर्यो,मान्छे भा'पो सिक्छ ।।
००००००००००००००००००००००००००००
कहिले रङ्गीन कहिले सादा मुटुसमान बिबी,
चल्नभन्दा जल्न खोज्ने घरमा एकथान टिभी ।
मन्त्री बन्न चाहिनेजति दाइजो-पेवा छैन,
यति नै हो जम्माजम्मी मेरो 'श्रीमान् !' सिभी ।।
००००००००००००००००००००००००००००
जुनी-जुनी  तपस्याले पूरा भा'को मागझैं,
जिन्दगीमा आयौ तिमी मेरै नामको भागझैं ।
ढुक्ढुकीको तालसरि ,बाँसुरीको धूनझैं ,
हिर्दयमा गुन्जिरहू सातै सुरको रागझैं ।।





No comments:

Post a Comment

Please leave your Comments here...▼