Monday, June 16, 2014

गजल

खोलोभन्दा बाङ्गोटिङ्गो, इ'कारजस्तो यो मन, 
जति खन्यो उति गहिरो इनारजस्तो यो मन ।।

राम्रो-मीठो जता देख्यो,उसकै पछि लाग्ने,  
गाँठो पारिराख्नु पर्ने  ईँजारजस्तो यो मन ।।

आँतमा छ सङ्लो नदी,तैपनि छ सुख्खा,
बालुवाको भारी बोक्ने किनारजस्तो यो मन ।।

जता जानुहुन्न भन्यो उतै भाग्न खोज्ने,
हावासँग घुम्ने-डुल्ने विमारजस्तो यो मन ।।

छातीमाथि हजार थापी नजरका तीरले,
आफूखुसी मर्न तयार शिकारजस्तो यो मन ।।

रातैभरि पिउँदापनि नमर्ने भो धित ,
सान्नानीको हातले दिने निगारजस्तो यो मन ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼