Tuesday, June 24, 2014

हाइकू

अँधेरी रात
पर्खन्छ जूनकीरी
द्यौरालीनिर ।।


कागका चल्ला
संविधानसभामा
हल्लाको खेती ।।

कुमारी मन
पटके बलात्कार
मतपत्रमा ।।

हजार काँढा
एक टोप्रो ऐंसेलु
मीठो सन्तुष्टि ।।

इन्द्र-धनुष
घामपानीको गीत
जीवन भन्नु ।।

स्वर्गको मर्म
प्रिपेड मोबाइल
ब्यालेन्स् को मात्र ।।

देशको काख
भोकमरीमा आमा
मायाको गाँस ।।

परेली-पात
एकान्त किनारमा
मयल धुन्छ ।।

उदायो जून
आएन परदेशी
अलिनो रात ।।


नरोऊ बाबा !
उसिन्दैछु लोहोरो
सपना पर्ख ।।

कुर्सीमा घुम्छ
शहीदको सपना
बिर्सेको लौरो ।।

कहिले धर्म
कहिेले राजनीति
गोरख-धन्दा ।।

निचोरी आँखा
सुकाउँछे सपना
समय पन्छी ।।
००००००००००
खसीको घिच्रो
बीरबलको खिच्रो
काठको तिघ्रो ।।
०००००००००
बितेको आयु
उम्किएको मयूर
सधैँको ज्या है !
०००००००००००
बादलु खास्टो
सप्ताहको गणेश
देख्नाको डाल ।।

दुःखीका लागि
इन्द्रधनुको नाम्लो
चुनावी नारा ।।

उन्यूँको फूल
देउरालीको पूजा
नेताको भक्ति ।।

चियाको चुस्की
कलेजो साटासाट
गुलियो माया ।।


जिली न गाँठी
राजनीतिको घोडा
तातो न छारो ।।

कोकिल-कण्ठ
चुनावको काफल
मनको लड्डू ।।

ढोईको बिहे
भागबन्डा आदेश
"मूसो हो पोइ"


असारे वैंस

रोपाइँमा जानुछ

पिरती रोप्न ।।


०००००००००


बीउको मुठो


बाउसेको नक्कल


रुनु न हाँस्नु ।।


०००००००००००००००
स्वदेशी चरो
तराईमा गाउँछ
काफल पाक्यो।।
०००००००००
सुकेको घाँटी
संविधान आउँछ

धारा लिएर।

No comments:

Post a Comment

Please leave your Comments here...▼