Sunday, November 16, 2014

हस्तवीर काकाको न्याय

                                        


म आफ्ना पिता स्व० टेकनाथ वस्तीको नाम जुन गर्व र सम्मानका साथमा स्मरण गर्छु त्यही गर्व र सम्मानका साथमा मेरा गाउँले र पिताका दौंतरी स्व० हस्तवीर तामाङको नामलाई स्मरण गर्दछु ।


मेरो गाउँ धनकुटा फलाँटेमा २००४सालमा खुलेको अमर स्कूलको पहिलो शिक्षक मेरा पिता र पहिलो
 सहयोगी कर्मचारी(पियन) हस्तबहादुर काका हुनुहुन्थ्यो।मेरा पितालाई आदर्श गुरु,कुशल पण्डित,जान्ने ज्योतिषी र स्वास्थ्य सेवाको सहयोगीको रूपमा समाजले आदर गर्थ्यो भने हक्की स्वभाव,सहयोगी चरित्र,काममा समर्पित कर्मचारी र जान्ने धामी-झाँक्रीको रूपमा हस्तवीर काकालाई समाजले सम्मान गर्थ्यो ।उहाँहरु दुबैजना बितेको तीनदशक भइसक्दा पनि समाजले उहाँहरुलाई अहिले पनि सम्झन्छ र मेरो स्मृतिमा दुबैको छाप कुँदिएको छ ।पियनको जागिर भएपनि काकालाई कसैले होच्याएर बोल्दैथियो ।सबैजना उहाँसँग अदबका साथमा व्यवहार गर्थे भने उहाँले पनि शिक्षक-विद्यार्थीलाई अपार माया सम्मान गरेको पाइन्थ्यो ।ठीक समयमा स्कूल आएर ठीक समयमा घर जाने काकालाई झारफूकका लागि बोलाउनेको संख्या निकै हुन्थ्यो ।कसैलाई नाइ नभन्ने उहाँले समयलाई कसरी व्यवस्थापन गर्नुहुन्थ्यो ?त्यो कुरा उसबेलाको म बबुरोलाई के थाहा होस् ।
     म उहाँको जीवनी लेख्न नभई एउटा संस्मरणमा उहाँलाई खिप्न र टिप्न लागिरहेको छु ।एकदिन काकालाई के सुर चलेछ कुन्नि घरमा पालेको ससानो भाले काटेर पकाउनु भएछ ।त्यो बेलाको भान्सामा धानको चामल धनीमानीकोमा पाक्थ्यो भने उहाँजस्तो आर्थिक अवस्था कमजोर भएकाको घरमा कोदोको ढिंडो वा मकैको भात पाक्नुलाई भाग्य ठानिन्थ्यो ।काकाले कतैबाट धानका चामल पनि ल्याएर पकाउनुभएछ ।साँझमा श्रीमती र छोराछोरी आआफ्नो मेलापातबाट फर्कँदा त काकाले खाना तयार गरिसक्नु भएछ ।छ सातजना छोराछोरी र काकाकाकी गर्दा जहान सानो थिएन ।उसमाथि लामो समयसम्म माछामासु खान नजुर्ने गाउँको अवस्था,कसैले खसीतसी काटेपनि रित्तो खल्ती हुनाले मासुभात खानु भनेको ठूलै पर्वजस्तो हुनाले मानिस रुखिएको हुन्थ्यो ।त्यसैले एकैजनाले पनि पायो भने मासु निकै खानसक्थ्यो ।
 काकाले काटेको कुखुरो र परिवारको संख्या अनि लामोसमयदेखिको रुखाइको गणित मिल्ने कुरै थिएन ।आपूर्ति र आकाङ्क्षाको तालमेल पक्कै मिलेको थिएन तर काकाको नियतमा खोट थिएन बरु यसरी जहान-परिवार फर्किएर आउँदा जेजति छ त्यो बाँडचुड गरेर खुसीसाथ खानपाइन्छ र तिनीहरुबाट खुसी बटुल्न पाइन्छ भन्ने काकाको सोच थियो ।तर जहान छोराछोरीले उहाँलाई जस दिनुको सट्टा अपजसको भारी थोपरे ।एउटाले भन्यो यजि जाबो मासु कसले खाने कसले हेर्ने ?अर्कोले भन्यो यो मासु हो कि गलगाँडको ओखती हो ?तेस्रो भन्यो हामी के वनका देऊ हौं र मुन्सानु?चौथोले वान छोडेर भन्यो यो त दाँतमा हराउँछ ।काकीले थप्नुभएछ स्वस्नी-छोराछोरी बटुल्नसक्नेले पेट भर्ने गरी व्यवस्था नगरी यस्तो ठट्टा गर्न शरम लागेन ?
'गुन गर्दो हलो कपाल छेडीमाग्दो' भन्ने उखानलाई चरितार्थ गराउँदै क्याङक्याङ गर्दा काकाको मन कस्तो भयो होला ? अनुमान गर्न सकिन्छ ।काकाले सम्झाउने बुझाउने जति प्रयास गर्नुभयो उनीहरु त्यति नै आक्रोशित भएर काकालाई तथानाम गरेछन् । निकैबेरको बाक्महाभारतपछि काकालाई पनि झ्वाक चलेछ ।भएभरको सबै मासु र चाहिनेजति भात पस्किएर भन्नुभएछ कि "मैले त जे जति छ त्यो बाँडेर खाउँ भनेको हो तर तिमीहरुलाई केजातिलाई घिउजस्तै पचेन तस्थ मैले खाने र अब तिमीहरुले हेर्ने हो "यति भनेर सपासप मासुभात खाएपछि थालमा जे बचेको थियो त्यो लगेर कुकुरलाई दिनुभएछ ।मासुभातले खुसी भएको कुकुरलाई देखाएर काकाले भन्नुभएछ "मेरो मन इच्छालाई कुकुर बुझ्यो तर तिमीहरुले बुझेनौ तसर्थ मेरो आफ्नो भन्नु यही कुकुर रहेछ"
  काका स्वयंले सुनाएको यो किस्सा त्यो बेला सबैका लागि मजाकको विषय भन्यो तर यसको मर्म म अहिले बुझ्दैछु ।लोकतान्र्तिक गणतन्त्र नामको मासुभातलाई नेपाली जहान-परिवार मिलिजुली उपभोग गर्दा कसैको कुभलो हुँदैन तर मैलेमात्र चोक्टा खान पाउनुपर्छ अरुले झोलमा चित्त बुझाउनुपर्छ भन्ने यो किचलो बढ्दै जाने हो भने जनताले हस्तवीरको  न्यायलाई अनुचित नभन्न सक्छन् । 

लज्जाबोध (संस्मरण)

अरुसँग लागेको लाज समयको बोक्रा फेरिएसँगै पचेर जान्छ ।तर स्वयंसँग लागेको लाजचाहिं जीवनपर्यन्त नपच्ने रहेछ ।आजभन्दा चारदशक अघि धरानमा पढ्दाको लज्जादायी कुरो हो ।प्रवेशिका परीक्षा सकेपछि केहीदिन धरानमा फुकेको भोटे कुकुरजस्तै स्वन्त्रतापूर्वक घुमेपछि मात्रै पहाड घर जाने विचार गरियो ।
 अन्तिम पत्रको परीक्षा दिएर छात्राबासमा आएपछि मैले पढ् विद्यालयका कर्मचारी धिमाल-बा(धिमाल,कसैले धमाल र कशैले धमला लेख्छन्)की छोरी माइलीले कुरै-कुरामा बाबुले तान्ने गरेको गाँजा केही दिनअघि तान्दा नशाले शब्दले वर्णन गर्न नसकिने रमाइलो सन्सारको  अनुभव भएको सुनाई ।मीठो र राम्रो कुराले कसलाई तान्दैन ?मैले पनि त्यो सन्सारको रमाइलो पाउँन माइलीलाई गाँजाको व्यवस्था गर्न भनें।मबाट सँधै बहिनीको माया र साथीको अपनत्व पाएकी माइलीलाई उसको" किस्न दाजुले भनोस् र माइलीले नगरोस्" हुनै नसक्ने कुरा थियो ।
साँझ परेपछि बाबुको सुल्फा र माडेको गाँजा लिएर कोठामा माइली आई।र कोठातिर फर्किई।माइली बिदा भएपछि दुईचार जना मिल्दाजुल्दा साथी मिलेर गाँजा सल्काइयो ।गाँजा चढ्दै गएपछि माइलीले भनेजस्तै शब्दमा वर्णन हुनै नसक्ने कल्पनाको सन्सारमा विचरण गर्ने काम त भयो नै ।कहिल्यै गीत गाउँन नजान्ने मेरो गलाबाट सुरदासका सातै सुर खुल्न थाले ।त्यो बेला प्रचलित "तिरिरी मुरली बज्यो वनैमा.... भन्ने गीत रेडियोमा भन्दा राम्रो स्वरमा मेरो गलामा खुलेको अनुभव गरें ।छात्राबासमा रहेका हार्मोनियम,मादल र बाँसरी मबाट अरुबेला बज्नु सम्भव थिएन तर छुनासाथ चमत्कार शैलीमा सुर-ताल मिलेर जुन बजायो त्यही बज्न थालेको अनुभव गरें ।
आफ्नो प्रतिभा प्रस्फुटन भएकोमा मस्त हुँदाहुँदै निदाएको पत्तो पाइएन ।भोलिपल्ट बिहान बाजा बजाउँन खोज्दा पूर्ववत् बजेनन् र गलाबाट गाना पनि सुमधुर स्वरमा खुलेन ।हिजोको गँजडी क्षणको प्रतिभा-प्रस्फुटन र काल्पनिक संस्सारको सम्झना स्मृतिमा ताजै थियो ।तर अहिले त्यो प्रतिभा र कला नहुमा गाँजा नै कारक रहेको निष्कर्ष निकालें ।अब दैनिक गाँजा तान्ने र आफूमा निहित प्रतिभालाई गीत-सगीतको माध्यमले देशमा चिनाउँने सोचका साथ प्रवेशिकाको परीक्षाफल नआएसम्म घरै नजाने निर्णय गरें ।त्यो दिन छात्राबास र वरपर बस्नेले "हिजोको मेरो कला र गला दुबै सुनेका छन् ।चार आँखा हुँदा हाँस्ने खुसी छन् भने वास्ता नगर्ने डाहले जलेका छन्" जस्तो लाग्यो ।खूब मच्चिएर दिनभर फुर्ती छाँटें।
दिउँसो बजार गएर छाताचौकस्थित पलिखे रेडियो पसलबाट टेप-रेकर्डर भाडामा ल्याएँ ।किनकि अहिलेजस्तो रेडियो र टेपरेकर्डर सुलभ थिएनन् ।गाँजा-सेवनपछिको गायन-वादनको दिव्य कलालाई टेपरेकर्डरमा कैद गर्ने सोच बनाएँ नै ।साँझ परेपछि अघिल्लै दिनको पुनरावृत्ति गरियो ।आफ्नो गलाबाट निस्केका गीतको अमृत-धारा र छोएर जीवन पाएका सात सुरलाई गाँजाको मजासहित कैद गरियो ।म आत्मसफलता र आत्मसन्तुष्टिले लबालब हुँदै निदाएँ ।बिहान सबेरै उठेर टेपरेकर्डर खोलेर सुनेपछि पो मेरो होस खुल्यो ।गधाले पनि छिः भने बेसुरा गायन,सिङ न पुच्छरको वादन,उसमाथि नसाको सुरमा पोखिएको आत्मरतिको स्याल-गलाको हविगत जस्ताको तस्तै सुनियो ।गाँजाको नशा त रातीनै उत्रिएको थियो हो ।तर अहिले त मेरो सोच-दम्भ र नशादार आत्मरति पनि नराम्ररी उत्रियो ।म यो थाहा पाउने सबैको नजरमा त गिरेजस्तो लाग्यो नै ।बरु आफ्नो नजरमा पनि गिरेर लाजले पानीपानी भएँ ।यसबारे मलाई कसैले केही भनेन तर स्वयंले स्वयंलाई आजसम्म कुरीकुरी गर्दो छ ।

जबजब मलाई आफूले जे गरें त्यो राम्रो गरें र मेरो पुरुषार्थलाई दुनियाले मुक्त कण्ठले प्रशंसा गर्दैछन् भन्ने लाग्छ त्यो बेला मलाई कुनै न कुनै रूपको गाँजाले नशा लागेको हुनुपर्छ भन्ने लाग्छ ।त्यो बल-विद्या बुद्धि-धन ज्ञान-मान सत्ता-शक्ति, जाति-धर्म जुनसुकै कुराको नशा हुनसक्छ ।त्यस्तो नशा चढेको बेला त आफूलाई उत्कृष्ट र दुनियाँलाई निकृष्ट ठान्न सकिन्छ तर नशा उत्रिएपछि र इतिहासले अडियो-भिडियो खोलेपछि चाहिं अरु र आफू दुबैको नजरबाट गिरिन्छ ।हामीले यो र त्यो पुरुषार्थ गर्यौ गर्यौं भनेर भजाएर खान खोज्ने वा मेरै गीत सुरिलो छ भनेर आत्मरति गर्जिनेले जीवनभर लज्जाबोध गर्ने परिस्थिति आउँदैन भन्ने छ र?

   




No comments:

Post a Comment

Please leave your Comments here...▼