Saturday, December 13, 2014

मुक्तक



न त गाउँ बनाउनु छ,न त जिल्ला बनाउनु छ,
देशलाई बरु भताभुङ्गेको किल्ला बनाउनु छ ।
श्रीपेच फालेर दाउपेचले बन्ने लिगलिग राजमा,
आफूलाई राजा र जनतालाई गुरिल्ला बनाउनु छ ।।
०००००००००००००००००००००००००००००००
नदी-सङ्गमको निर्मल दोधार पानीमा  चल्दैथिइन्,
उस्तै पुरानै प्यारो ठट्यौलो दोधार बानीमा चल्दैथिइन।
उनीभित्रको कुरा त पक्कै उनको मनलाई थाहा होला,
तर उनी त मेरै आँखाको दोधार नानीमा चल्दैथिइन्।।
००००००००००००००००००००
यो वर्षको लगनका लागि सान्नानी फकाउनु छ,
ठर्राले धोएरै भएपनि सुकिलो रामनामी लाउनु छ ।
सगरमाथाको टेन्डर वा मन्त्रीको क्वाटरका लागि
यसपालि उसले'नि पाइलट बाबाकै शरणमा धाउनु छ
0000000000000000000000000
मीठो आश्वासनमा सीमित हुने छेपाराको रात भएर
देशका लागि दुनो वा हन्मेर्नु-सम्म नहुने पात भएर।
रित्तै फर्कियो पुरानो भन्दैमा, नयाँको उन्मत्त नाममा
तिमी नआउनु है नयाँवर्ष ! भस्मासुरका हात भएर।।
00000000000000000000000000000000
चुनाव अघिको सोझो जनतालाई धन्वन्तरीझैं गर्छन्
काम सकिएपछिको जनतामाथि मनपरी नै गर्छन्।
खोलो तरेपछि चटक्कै लौरो बिर्सिने लोकतन्त्रमा
झर्ला र खाउँलामा बाच्ने जनता भोकमरीमै मर्छन् ।।
००००००००००००००००००००००००
तोरीले जन्म लिएकै सायद घुम्ने कोलमा पेलिनु हो,
झिंगाको जात भन्नु नै माकुराको जालमा जेलिनु हो।
नेपाली धर्तीमा जन्मिएका निमुखाको नियति भन्नु नै
राजनीतिले छातीमा दाल दल्नु र भित्तामा ठेलिनु हो।।
0000000000000000000000
आफ्नै खर्चको अभिनन्दनमा किरमिर सजाएको छु,
नाम चलाउने प्रचारको लागि तस्बीर भजाएको छु।
विज्ञापनको दुनियाँमा म स्वयंलाई पनि बेचिनु छ
त्यसैले त ऐनामा हेरी-हेरी रातो अबीरमा लजाएको छु ।। 
000000000000000000
जुनसुकै अवसरमा कमिसनको डेरा हुन्छ
देशका सबैजसो फूलबारीमा माफियाको घेरा हुन्छ।
कुन विश्वासको पुच्छर देखाएर भन्नु सान्नानी ?
जुनसुकै बादलमा सेताम्पुर चाँदीको घेरा हुन्छ ।।
०००००००००००००००००००००००००

पुरानो पात्रोको अन्तिम पातो फुस्फुसाउँदै छ,
रुख-रुखमा मुना र भीरमा शिलाजित टुसाउँदै छ।
नयाँ क्यालेन्डरमा छापिएको नयाँ मितिसँगै
आशाको किरणले नुहाएको सुकुमार नदी सुसाउँदै छ ।।
०००००००००००००००००००००००००००००००
भैंसीले कुल्चेर छ्याल्ब्याल भएको गोबरको थासलाई
पहिरोले बगाएर माटोमा बिलाएको दुम्सीको बासलाई।
दशलाख क्षतिपूर्ति र शहीद घोषणा गरेकै हुनुपर्छ
बाबुले देख्दा छुटेको प्रेमी-प्रेमिकाको बाहुपाशलाई ।।
००००००००००००००००००००००००००००००००
आमालाई बीचसडकमा लछार-पछार गर्नेले

दूधमुखे बालकसँग पाशविक दुर्व्यवहार गर्नेले।


के साँच्चै नयाँ र साझा नेपाल निर्माण गर्लान् त?


अधिकारको नाममा संवेदनाको खुला व्यापार गर्नेले ।।


०००००००००००००००००००००००००००००००००


म मान्छु, बन्द गर्न पाउनु त तिम्रो अधिकार हो


बन्द गर्दिंन भन्न पाउनु पनि त मेरो अधिकार हो ।


यति पनि नबुझ्ने लोकतन्त्रका ठेकेदारहरु हो ! 


यो त बर्बर जङ्ली अवस्थाको निर्मम व्यभिचार हो ।।


०००००००००००००००००००००००००००००००

म तिम्रो शालीन-सुन्दर र सुकुमार शहरमा
पारिजातको फूलजस्ता वासनादार रहरमा।
तिम्रै गलाबाट बग्दै र तिम्रै साथमा हराउँदै
हरेक साँझमा आउँने छु प्रिये! गजलको बहरमा ।।
०००००००००००००००००००००००००००००००
ढोकामा ताल्चा मारेको देखेपछि बास छुटेको थियो
धेरै बर्षमा भेट हुने रहरलाग्दो आश छुटेको थियो
खामबन्दी गरेर कुनै विश्वासिलो हातमा पठाइदिनू 
तिम्रो दलानमा टाँगेको तस्बीरमा मेरो सास छुटेको थियो ।।
०००००००००००००००००००००००००००००
देशमा माफिया र तस्करका लागि  सुकिलो च्यादर छ,
सत्तामा दाह्री काटेका मान्छेहरुको स्वभावमा बाँदर छ ।
स्वयं सीतालाई लुट्ने र स्वयंले लङ्का जलाउने कथामा
बाँदरलेजस्तै दाह्री पालेको, मुखियामा पत्थरको जाँगर छ ।।
०००००००००००००००००००
ढोकामा ताल्चा मारेको देखेपछि बास छुटेको थियो
धेरै बर्षमा भेट हुने रहरलाग्दो आश छुटेको थियो
खामबन्दी गरेर कुनै विश्वासिलो हातमा पठाइदिनू 
तिम्रो दलानमा टाँगेको तस्बीरमा मेरो सास छुटेको थियो ।।
००००००००००००००००००००००००००००००००००००००
उनको धैर्य देखेर मेरो मुखमा बत्तीस टुटेको छ
त्यागमै रमाएको देख्दा रोमरोममा विष फुटेको छ 
कि धर्तीले सहेको छ ,कि उनले वेदना पचाएको छ
त्यागले हिमालै नाघेको देख्दा, आमासँगै रिस उठेको छ ।।
०००००००००००००००००००००
आफूलाई पूरै बिर्सिएको छ,केवल अरुको चासो छ
हमेसा दिनमात्रै जानेकी उनमा, न त कुनै गुनासो छ ।
धर्तीकै रुखा-सुख्खा माटोमा काँढामाथि दुबै फुलेकाछन्
तैपनि गुलाफको भन्दा मेरी आमाको उपल्लो हाँसो छ ।।  
०००००००००००००००००००००००००००००००००
धर्तीका गाला र तिम्रो शरीर भिजाउने वादलमा,
तन्नेरीहरुले रौसिएर गाउँमा बजाउने मादलमा।
म तिम्रो मझेरी-पँधेरी मेला र हातका ठेला चुम्दै,
हमेसा साथमै हुन्छु प्रिये! वनले फिंजाउने काफलमा।।
00000000000000000000000000000000000000
जुनी-जुनी तपस्याले पूरा भा'को मागझैं,

जिन्दगीमा आयौ तिमी मेरै नामको भागझैं ।


ढुक्ढुकीको तालसरि ,बाँसुरीको धूनझैं ,


हिर्दयमा गुन्जिरहू सातै सुरको रागझैं ।।


०००००००००००००००००००००००

टुप्पाको फूल होइन, फेदको मलजल भएर फिर्नेछु,
धर्तीकै कुना-कन्दरामा बग्ने,कलकल भएर फिर्नेछु ।
नदी पिएरै ठूलो बन्ने समुद्रजस्तो बन्दिंन आमा !
बरु ससाना ओठको आँतमा खुल्ने गजल भएर फिर्नेछु ।।
०००००००००००००००००००००
खसमले उसलाई फकाउनुपर्दा पुरान सुनायो
स्वार्थको लागि फुल्याउनुपर्दा कुरान सुनायो।
लोग्ने हुनुको जुँगाकै कारणले धम्क्याउनुपर्दा                 पाखुरा सुर्केर खुट्टा र जुत्ताको उखान सुनायो।।

०००००००००००००००००००००००००००००००



कान समातेर तानेपछि धुरीकै पाप पनि कराउँछन्
पानीमा चोपल्न थालेपछि आगोकै राप पनि हराउँछन् 
कानुनभन्दा माथि बसेका तानाशाहले बुझ्नैपर्छ कि !
मान्छेको लाठी देखेपछि हात्तीकै पदचाप पनि  डराउँछन् ।।
0000000000000000000000000000000000
राज्यका आहालमा बाक्लो छालाका रहर बसेकाछन्
प्रत्येक निगम-निकायमा सिंगौरीका कहर धसेकाछन्।
नाता-गोता र पहिचानको माया कसलाई हुँदैन र?
त्यसैले त गैंडाहरु आफन्त खोज्दै शहर पसेकाछन् ।।
000000000000000000000000000000
पिउँदा-पिउँदै बाँकी रहेको मधुरो रात भए पुग्छ
जिउँदा-जिउँदै साथ छुटेको अधुरो हात भए पुग्छ ।
डुब्नलाग्दो घामलाई कति नै आकाश चाहिन्छ सानू ?
झर्दा-झर्दै बचेको सम्झनाको पुरानो पात भए पुग्छ ।।
00000000000000000000000000000000000000
गाण्डीवजस्ता परेलीमा तीरजस्ता नजर छन्
नयनभित्र शिखण्डीका अजम्बरी रहर छन् ।
प्रेमको यो रणधर्तीमा निरस्त्र र परास्त छु 
तैपनि फलजस्ता घाउ र दूधजस्ता जहर छन्   
००००००००००००००००००००००००००००००००००
अचम्म मान्नुपर्दैन, खोलाको सिरानमा मूल हुन्छ,
खनिउँको फेदमा फल र गुराँसको टुप्पोमा फूल हुन्छ ।
राजनीतिले सदाबहार झूठ बोलेरै व्यापार गरेको देशमा,
कसैले पनि  एकवचन साँचो बोल्नु पो अप्रिल फुल हुन्छ ।
००००००००००००००००००००००००००००००
 खेतबारीको काममा जाँदा भरपूर सघाएर गयो        
पसिनाको मोती फल्दा पनि बधाई थमाएर गयो।       
शिरमा बैंसले एकसरो छोएको मात्र के थ्यो मलाई
यसपालि त आएर सिउँदोमै सिन्दूर लगाएर गयो ।
०००००००००००००००००००००००००००००
एकताका पुकार र देशका स्वाभिमान सड्छन्        
सहमतिको नाममा सधैँ दन्तबजान लड्छन् ।
धर्म र राजनीतिको पाखण्डमा जे बोल्दा हुन्छ
किनकि रामायणको कथामा हनुमान् उड्छन् ।।
00000000000000000000000000

घामलाई पछ्याउँदै जाँदा म जूनको छायामा परें
अलिकति मन के दिंएँ उनको सफायामा परें ।।
कानुनले व्यवस्था र,धर्मले अवस्था नै छैन भन्यो
सुनमा सुगन्ध खोज्दै जाँदा म तिनको मायामा परें
0000000000000000000000000000 
सीताका लागि अनुशासनका थुप्रै फलामे घेरा थिए
शूर्पणखाको बैंसमा राम-लक्ष्मण दुवैका डेरा थिए।
तैपनि राम नै 'म्यान अफ द मर्यादा' घोषित गरिए    
किनकि एम्पायर वाल्मीकि स्वयंकै आँखामा कचेरा थिए।।
०००००००००००००००००००००००००००००००००
सयपत्रीको थुङ्गाझैं सुतेको तन्ना खुम्चिएको थियो,  
झुलभित्रै अघाएका मच्छरको आँखा चम्किएको थियो।
तपसीलका कुरालाई तपसीलमै छोडेर भन्नुपर्दा।
आजको रातसँगै निर्मोही सपना पनि उम्किएको थियो ।।

0000000000000000000000000000
सडक-किनारामा बिजुलीका रित्ता खम्बा थिए
सडक-बहसमै लालायित नेताहरु जम्मा थिए ।
एकहूल भुस्याहा कुकुरले पालैपालो खुट्टा उचाले
तिनका नजरमा नेता र खम्बा दुबै निकम्मा थिए 
०००००००००००००००००००००००००००
के मनमोहनको नाममा व्यापार गर्न पाइन्छ ?
लोकतन्त्रको नाममा जनता चिरफार गर्न पाइन्छ ?
नाङ्लोमा राखेर देशै बेच्न पाउने राजनीतिमा      
माफियाका सहोदरले आमाकै बलात्कार गर्न पाइन्छ 
००००००००००००००००००००००००००००००

कि मान्छेले गला रेट्न पालिने खसीलाई माया गर्छन्
कि कविहरुले भावमा पोखिने मसीलाई माया गर्छन् ।
मन नमिलेको जोडीले ओठ सुकाएर माया गरेझैं
कि भोकमरीमा बाँच्नेले एकादशीलाई माया गर्छन् ।।
००००००००००००००००००००००००००
अगाडि पर्दा जसलाई ज्यानले सत्कार गर्छन्

पछाडिबाट तिनैलाई मनले तिरष्कार गर्छन् ।

नारीलाई आमाको दर्जा दिने पाखण्डको देशमा

मौकापरे बाउहरु नै छोरीलाई बलात्कार गर्छन् ।।
००००००००००००००००००००००००००००००
वसन्तको काउकुतीमा फुल्ने बोटजस्तो रहेछ,
सोचेपछि गरिछाड्ने मनको अठोटजस्तो रहेछ।
सधैँ नौजवानको शरीरमा मात्र डेरा गर्ने जवानी
एक हातबाट अर्कोमा सर्ने चञ्चल नोटजस्तो रहेछ ।।  
००००००००००००००००००००००००००००
मनका शङ्का–आशङ्काको नाश गर्नू भनेको थिएँ ।
जीवन परीक्षा हो यसलाई पास गर्नु भनेको थिएँ ।
लोभले भुईको टिप्न खोज्दा पोल्टाको खसेछ सानू !       
मैले त आफ्नो भरोसा नतोडी आश गर्नू भनेको थिएँ ।
००००००००००००००००००००००००००००००००
भीरबाट हतारमा पहाडजस्तो कुहिरो लड्दै थियो,
उकालोतिर बिस्तारै ग्रामबालाको धुइरो चढ्दै थियो 
घामको किरणले आँखालाई त्यहाँ लगेर छाडिदियो
जहाँको बगानमा बेखबर चियाको सुइरो बढदै थियो

0000000000000000000000000

फूल भए चिमटिदिन्थें
पात भए निमठिदिन्थें ।
बैमान तिम्रा नजरलाई
सकेको भए समेटिदिन्थें ।।
०००००००००००००००००००
उसले त अँध्यारो वा उज्यालोमा राम पनि सम्झिएन,
टाढा वा नजिकका साना-ठूला धाम पनि सम्झिएन ।
फुर्सदमा माम सम्झियो र सधैँ काम सम्झियो श्रीमान्!
उसले त घाम पनि सम्झिएन र नाम पनि सम्झिएन ।।
००००००००००००००००००००००००००००
लाखौंलाख मानिसहरु सफल देखिए,
आआफ्ना क्षेत्रमा निकै कुशल देखिए ।
तैपनि जनता र तिनको लहरमा बाहेक
विरलै मात्र मानिसहरु असल देखिए ।।
००००००००००००००००००००००००
बेला न कु-बेला हातले ताउ लाउने जुँगा बनायो,
इच्छाले लाउने र स्वेच्छाले फुकाल्ने लुगा बनायो ।
जनता हुनबाहेक सबै अधिकार दिएको सत्ताले
मान्छेलाई सिकाएजस्तै बोल्ने पिंजडाको सुगा बनायो ।।
00000000000000000000

घामलाई बिस्तारै-बिस्तारै ढल्दै गरेको देखें,
तिमीलाई पानीमा खुट्टाले चल्दै गरेको देखें ।
एकझलक तिम्रो नजरमा नियालेर हेर्दा मैले
स्वयंलाई बिस्तारै-बिस्तारै गल्दै गरेको देखें ।।
0000000000000000000000000000000000000000000000000000000000
शालिग्राम ठानेर पुजे'नि जाइफल हो,                   
काँधमै राखेर बोके'नि साइकल हो ।
नेपाली धर्तीमा जन्मेर के गर्नु ?
माइलो त विदेशकै माइकल हो ।।
०००००००००००००००००००००
जवानीको ज्वरो चढ्छ,भट्टी-चौक र पसल कुर्छ
नसोचेको कुरा हुन्छ, अनि गीत-गजल फुर्छ ।
सधैँ गीत नयाँ लेख्छ,नयाँ-नयाँ प्रीत खोज्छ,
अभागीको पुर्पुरो हो,गाजलुको चप्पल जुर्छ ।।
०००००००००००००००००००००००००००००
मानिसको जीवनमा साँझजस्तो विहान देखें,
गाउँमा पानीको होइन, आँसुको मुहान देखें।
सहाराको मरूभूमि नेपालमा डेरा सर्दै छ क्यारे !
जङ्लमा रूख होइन मान्छेको चिहानै चिहान देखे ।।
०००००००००००००००००००००
मायालुका गालाजस्तो देखें वारि-पारि,
त्यै बीचमा मुस्कुरायो सानो चियाबारी।
सीप यस्तो राम्रो दिने कहाँ होला शिल्पी ?
आज मैले आमाजस्ती धर्ती देखें प्यारी (! )
०००००००००००००००००००००००
छोराले लेख्यो "बहिनीको लास पठाएको छु,
अनि मुस्किलले कान्छाको सास पठाएको छु ।"
बाबुले लेख्यो" देश पनि डाँडाकै जून भो,अन्तरे !
एकपटक मुख हेर्न आउने आश पठाएको छु ।।
००००००००००००००००००००००००
फूलहरुलाई रङ्ग बाँडेर गयो
पालुवालाई उमङ्ग बाँडेर गयो ।
लाहुरतिरै फर्किएको कोइलीले
आँसुमा बग्ने तरङ्ग बाँडेर गयो ।।
००००००००००००००००००००००००
आफूले सिटामोल नखाई, आना-सुकी पठायो ,
साँझमा बाल्नु है! भनेर स-सानो टुकी पठायो ।
देश छोडेको कान्छालाई रिनले कहाँ छोड्यो र?
यसपाली उसले त कोसेली बिकेको टुप्पी पठायो ।। 
००००००००००००००००००००००००००००००
तिमीलाई सम्झनाका सुकुमार सिरानीमा खोजें,
आधा आकाशका सिङ्गै आँखाको नानीमा खोजें ।
रङ्गीन साँझको अन्तिम सिमानामा होइन प्रिये!
मैले त तिमीलाई जीवनकै उदाउँदो बिहानीमा खोजें ।।
०००००००००००००००००००००००००००००००००
कुनैपनि बेला मनभित्रको बादल बग्नसक्छ
तिम्रा गाला छोएरै आँखाको गाजल बग्नसक्छ ।
ओ प्रिया !भो आँसु पिएर शिशुझैं मुस्कान नदेऊ,
कतै तिम्रो ओठबाटै, रसाएको गजल बग्नसक्छ ।। 
------------------------------------------------
विकासको नाममा घर-सडक-ढल टुटेका छन्
शहरका सडकमा धूलोका मुस्ला उठेका छन् ।
पसल-पसलमा त यो पनि हल्ला चलेको छ कि               
यसैबाट धरै हातहरुले लाखौं-करोडौं लुटेका छन् ।।
-------------------------------------------------------------

तिमी त रामको भेषमा जन्मेको रावण पो रहेछौ ,            

देशको चीरण-हरण गर्न अचूक रामवाण पो रहेछौ ।
नेपाली धर्तीका पँखेटाझैं नालापानी र टिस्टा काट्ने
उनै विदेशीले काधमा भिरेका धनुकाँड पो रहेछौ ।।

----------------------------------------

अरुको साँझमा तिमी आफ्नो स्वच्छ बिहान खोज्दैछौ,
नाकको सिंगानमा पानीको निर्मल मुहान खोज्दैछौ । 
मन मिलाएर विश्वास पो साटासाट गर्नुपर्छ त साइँला !
तिमी त अरुको चिहानमा आफ्नो पहिचान खोज्दैछौ ।।
---------------------------------------------
लोकतन्त्र भनेको पलाउने कि जलाउने व्यवस्था हो ?
र निर्धाहरुलाई सघाउने कि झन् गलाउने व्यवस्था हो ?
ए ! कसैले त बताइदेऊ,र कृष्ण वस्तीको मन बुझाइदेऊ
लोकतन्त्र भनेको फटाउने कि सिलाउने व्यवस्था हो ?
---------------------------------------------------
म जन्मिएको देशमा एकपछि अर्को भवितव्य छन्,
नेतामा अधिकार र जनतामा असीमित कर्तव्य छन् ।
राजनीतिले सिकाउने लोकतन्त्रको यो गुरुकुल शिक्षामा
गुरु पनि द्रोणाचार्य र शिष्य पनि पुरानै एकलव्य छन् ।। -------------------------------------------------
कक्षाभित्र पस्दा लाउन छुट्टै एप्रोन राख्नु रे,
मोबाइलमा उसका लागि भिन्नै रिङटोन  राख्नु रे ।
रासो-बासो घरमै गर्छु तैपनि ऊ भन्छे,
इस्काइप र भाइबर चल्ने साथमै आइफोन राख्नु रे ।।
००००००००००००००००००००००००००००००००
ढुङ्गोजस्ती मान्छे पुजें देउली बनाएर,
मनकै देउरालीमा राखें  सेउली बनाएर।
मूढो ताक्दा बन्चरोले,घुँडो ताक्यो मेरै,
अर्कैले पो लग्यो उसलाई बेउली बनाएर ।। 
०००००००००००००००००००००००००००
गाँजाको नशाले छोडे'छि पिंढीकी ज्यामैसँग लाज लाग्छ,
रक्सीको ठस्साले बिर्से'सि भुन्टेकी आमैसँग लाज लागछ।
हातमा तरबार हुँदा त देशलाई नै खसी देख्छौ कान्छा ! 

डलरको दशाले त्यागे'सि आफूलाई आँफैंसँग लाज लाग्छ ।।

--------------------------------------
तिमीले दलानमा नीरस परालको सुकुल बिछ्यायौ,
र त्यसमाथि आफ्ना नयनको कोमल तुल बिछ्यायौ ।
मैले त घामको सट्टामा एकथुङ्गो टिपेको के थिएँ,
तिमीले त वसन्त नै सुम्पिएर बाटोमा फूल बिछ्यायौ ।।
००००००००००००००००००००००००००००००००

शुरुमा मन डराएर मैले, हाँसेका धुकचुक पठाएँ,

बीचमा मनपराएर मैले, किनेका पुस्कक पठाएँ।
तिमीँभित्र लागेको मनडढेलो देखेपछि नै प्रिये ! 
अन्तमा मन रमाएर मैले खिपेका मुक्तक पठाएँ ।।
---------------------------------------------------
धनको लागि विदेशीको पाउ चाटेको ठीक लागेन मलाई,
जाति र धर्मको नाउँमा गाउँ फाटेको ठीक लागेन मलाई 
यसकारण पनि हाम्रो पारपाचुके त हुने नै भयो श्रीमान् !
किनकि, देशसँग सत्ताको ठाउँ साटेको ठीक लागेन मलाई
---------------------------------------------------------
प्यारी ! म त तिम्रो सामु धीमा बनेको छु,
भोगचलनले चर्चिएको सीमा बनेको छु ।
सग्लो चोक्टो जिन्दगानी छियाछिया पारी
मःमःभित्र घुसारेको किमा बनेको छु ।।
----------------------------------------------
आज बीच सडकमा एउटा, अनाथ लघुकथा रोएको देखें
आमाको काख छोडेर, भीख माग्दाको व्यथा रोएको देखें 
धुजैधुजाको पोसाक र मुजैमुजाको रङ्गहीन मुहारमा
भीख मागेरै चलेको सरकार र मुलुककै सभ्यता रोएको देखें ।।
-------------------------------------------
उनी डलर-नशाका आदेश-उपदेशहरु बाँड्दैछन्,
शयमा दश-थरीलाई पेवा-प्रदेशहरु बाँड्दैछन् ।
आमाको गुनिउँ च्यातेर दौपदीको लाम्टामा
कसैलाई स्वदेश र कसैलाई परदेश बाँड्दैछन् ।।
-------------------------------------------------
कुनै काँटको घोषणामा कृष्ण वस्ती सक्रिय पनि छ,
कुनै फाँटको एषणामा कृष्ण वस्ती निष्क्रिय पनि छ । 
वारि, किनाराको घाटमा प्रिय लाग्ने जलधाराजस्तो ऊ
कुनै घाटको तिर्सनामा कृष्ण वस्ती अप्रिय पनि छ । 
०००००००००००००००००००००००००००००००००
यमुनाको कणकणमा मर्यादाकै बन्धन चोर्यौ,
गोकुलको घरआँगनका दहीकै मख्खन चोर्यौ ।
मैले त तिम्रो बाँसुरीको एक धुनमात्र चोरें प्रिय !            
 तिम्ले त मन-मनमा पसेर जीवनकै चन्दन चोर्यौ ।।
००००००००००००००००००००००००००००००००००
उपासनाको प्रहर-प्रहरमा भगवान रहेछौ तिमी,
कला-सिर्जनाको सुर-सन्सारमा महान् रहेछौ तिमी ।
ओs बाँसुरीको धुनले मन बराल्ने कुञ्ज-विहारी !      
सबै यौवनाको नजर-नजरमा तानातान रहेछौ तिमी ।।
०००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००
कैले बार्दलीबाट आकाशमा सविताको हाल हेर्छु,
कैले सडकबाट बार्दलीमा रमिताको चाल हेर्छु ।
कब्जियतको रोगीझैं कनेरै हल्का हुने कवि म
सधैँ डायरीभित्र गोट्टा परेका कविताको बेहाल हेर्छु ।।
०००००००००००००००००००००००००००००००००००००
आफ्नै कद घटाएर भए'नि पद बढाउनेतिर लागिएन,
जाति र धर्मको नाममा मान्छे लडाउनेतिर लागिएन ।
जीवनमा कमाइयो कि गुमायो ? थाहा छैन मलाई
तर झुक्किएर पनि कहिल्यै देश डढाउनेतिर लागिएन ।।
०००००००००००००००००००००००००००००००
तिम्रो बिर्ता-प्रदेशमा, 'दिसा' गर्न पाइन्छ कि पाइन्न ?
छोरी-ज्वाइँलाई भेट्नेले, 'भिसा' भर्न पाइन्छ कि पाइन्न?
जात-जाति नखुलेको, तेस्रो लिङ्गीजस्तो निर्धो नेपालीले,
नाता टुटेको शोकमा, आँखा 'चिसा' पार्न पाइन्छ कि पाइन्न ?
-------------------------------------------------------------------------------------------

कसैलाई हिमाल र कसैलाई मधेश चाहियो ।
बीचका हरेकलाई पहाडमा प्रदेश चाहियो । 
सिम्ले-पिप्ले र चिप्ले खेत बाँडेर बचेछ भने,
हाम्लाई'नि नेपालमा ससानो स्वदेश चाहियो ।।
००००००००००००००००००००००००००००००
कहाँ उनलाई खोसिएको नालापानी र टिस्टा दुख्छ ?
उनलाई त डलरका देउताको निन्दा सुन्दा, निष्ठा दुख्छ ।
मानो पाइन्छ भने, देश सानो भए'नि हुन्छ भन्ने उनलाई
तराईमा जमिन्दारी दुख्छ र पहाडमा जातको प्रतिष्ठा दुख्छ ।
----------------------------------------------
नदीले बेह्रेको,झरनाले जेलेको पहाड पनि तिम्रै हो
हिमाल-तराई र बीचको सुन्दर कछाड पनि तिम्रै हो । 
कबाब नै हातमा छ भने हड्डीमा लड्डी किन माइला ?
बुद्धको गुम्बा,देउताको मन्दिर र चाड पनि तिम्रै हुन् ।।
०००००००००००००००००००००००००००००००००


जनताको रगत-पसिनालाई लूटपत्र लेख्ने मसी बनाए,

सामाजिक एकताको गर्धन काटेर अष्टमीको खसी बनाए।
देखेको बोल्ने जिब्रोलाई थुतेपनि सत्यलाई कसले थुत्ने ?
देशघातीले आमाकै अस्मितालाई मेनका र उर्वशी बनाए ।।
००००००००००००००००००००००००००००००००००००

आजभोलि युद्धको धम्कीले पनि दाङ-तेह्रथुम हल्लिन छोडेको छ,

गामबेसीको के कुरा र? परेडले घरकै बाथरुम हल्लिन छोडेको छ ।
समयले हात्तीको दाँतलाई पनि भुत्ते खुकुरीको बिंड बनाउने रहेछ,
अचेल चर्किएर बोल्दा पनि श्रीमान्-को आफ्नै कुम हल्लिन छोडेको छ ।।
००००००००००००००००००००००००००००००००००
खेती धाउँदा हलो-कुलो हल्लुँडमा अल्झ्यो,
भक्ति गाउँदा गणेशजीको लामो सुँडमा अल्झ्यो ।
जति अल्झ्यो उति बल्झ्यो कठै ! कृष्ण वस्ती,
पिर्ती लाउँदा गौंथलीको सानो गुडमा अल्झ्यो ।।
00000000000000000000000000000000000000
बजारमा उहिलेको जस्तो डिब्बा-बन्द खैनी छैनन्,
प्लटिङ गरेका खेतबारीमा नहर-कुलो-पैनी छैनन् ।
शिक्षक पनि त भोको र अम्मलीजस्तै हो सान्नानी!
कलेजको कक्षामा अचेल विद्ध्यार्थी भाइबैनी छैनन्।।
००००००००००००००००००००००००००००००००
म आफ्नो स्वार्थका खातिर  दशऔंला भाँच्न जान्दिंन,
अरुको स्वार्थका ताल र सुरमा छम्छमी नाच्न जान्दिंन ।
बाङ्गो र सोझो दुबैतिरबाट हेर्दा उटुङ्गोजस्तो लाग्ने म,
आजभोलि त स्वयंका दृष्टिमा पनि ठीकसँग बाच्न जान्दिंन ।।
००००००००००००००००००००००००००००००

 भाषा नबुझ्नेलाई गीताको नाममा बाइबल घोक्न लगाए हुन्छ,

पालेका गुन्डा उकासेर सडकमै महिलाको साइकल रोक्न लगाए हुन्छ ।
बलियाले निर्धाको छातीमा दाल दल्न खोज्ने लोकतन्त्रमा,
अधिकारको नाममा देशकै विरुद्ध राइफल बोक्न लगाए हुन्छ ।।

०००००००००००००००००००००००००००००००००००००००००



मुस्कुराउँदै उनी आउँदा घाम हिंडेझैं लाग्यो,

पिरतीको चिठी बोक्ने खाम हिंडेझैं लाग्यो ।
मेरै आँखा मलाई छोडी पछि लाग्दा उनको।
शनै-शनै सीतासँगै राम हिंडेझैं लाग्यो    ।।
०००००००००००००००००००००००००००००
न गाउँ बनाउनु छ,न त जिल्ला बनाउनुछ,
देशलाई बरु भताभुङ्गेको किल्ला बनाउनु छ ।
श्रीपेच फालेर दाउपेचले बन्ने लिगलिग राजमा,
आफूलाई राजा र रैतीलाई गुरिल्ला बनाउनु छ ।।
००००००००००००००००००००००००००० 
लोकतन्त्रको जात्रा छ तैपनि निकासले धिक्कारेको छ,
जेटजस्तो बजेट छ तैपनि,विकासले धिक्कारेको छ ।
मैले परिवर्तनका पानाहरुलाई पल्टाएर हेर्दा पाएँ,
हामीलाई पाइला-पाइलामा इतिहासले धिक्कारेको छ ।।
०००००००००००००००००००००००००००००००००००००
न गाउँ बनाउनु छ,न जिल्ला बनाउनु छ,
बरु देशलाई भताबुङ्गेको किल्ला बनाउनु छ।
श्रीपेच फालेर दाउपेचले जित्ने लिगलिग दौडमा,
आफूलाई राजा र जनतालाई गुरिल्ला बनाउनु छ ।।
00000000000000000000000000

कसैलाई सहमतिको नाममा एकलौटी चाहिएको छ,
कसैलाई प्रदेश-निर्माणको नाममा लगौंटी चाहिएको छ।
उन्मत्त भैरवको बैंस चढेको नेपाली राजनीतिलाई,
देश नामकी आमा होइन, रात कटाउने रखौटी चाहिएको छ ।। 
०००००००००००००००००००००००००००००००००००००
जनतालाई काम-माम र एकताको सुख चाहिएको छ,
नयाँ नेपालमा नेपाली पहिचानको नाक-मुख चाहिएको छ ।
गाईमाथि बाघ र बहरका आआफ्नै नजर हुन्छन् मित्र हो !
नेतालाई संविधान होइन देश च्यात्ने तमसुक चाहिएको छ ।।
००००००००००००००००००००००००००००००००००
कुटेजस्तो र रोएजस्तो चलनचल्ती गरेकाछौ,
संविधानको सिद्रा बेचेर धोक्रे खल्ती भरेकाछौ ।
चुनावपछि जनतालाई मलद्वार देखाउने नेता हो !
तिमीहरुले कामको नाममा 'मात्र' गल्ती गरेकाछौ ।। 

No comments:

Post a Comment

Please leave your Comments here...▼