Wednesday, April 27, 2016

अन्तिम चवन्नी र उफ्रिएको समोसा

जहाँ छ दुर्भिक्ष त्यहाँ छ भोक
अभावले गर्छ अनेक थोक।।
कुनै कविको उपर्युक्त पद्यांश मेरो जीवनमा पनि चरितार्थ 
भएको छ एक पटक।गाउँको विद्यालयको पढाइ सकिएपछि
माथिल्लो कक्षामा पढन् मलाई बा-आमाले २०२६सालनमा 
धरान पढाउनुभयो र पढ्न थालियो।त्यो बेला अहिलेजस्तो
यातायात वा बैंकको सुविधा थिएन, जो पैसा चाहेको बेला 
घरबाट आओस्।अनि मेरो घरसँग पनि नियमित खर्च 
पठाउने अवस्था पनि थिएन।घरबाट फाट्टफुट्ट दुईचार
रूपयाँ आउनु अर्कै कुरा हो।नाग टाँस्नु,रक्षासूत्र बाँध्नु,
घरघरमा कुश बाँड्नु देखिका जजमाने आयबाट मुस्किलले
खर्च जुटाइन्थ्यो।तर कहिलेकहीं त सीमातीत समस्या हुन्थ्यो।
एकदिन बजारमा असाध्य भोक लाग्यो।खल्तीमा पैसाको नाममा
मात्र एउटा चवन्नी थियो।निकै दिनदेखि पैसाको अभावको 
तनावमा थिएँ।तैपनि भोकले रन्थनिएपछि दरानको सुनसरी
होटलमा पसेर एउटा समोसा मागें।त्योबेला चवन्नी अर्थात् 
पच्चीस पैसामा एउटा समोसा आउँथ्यो।सुनसरी होटलको
समोसा नामी मानिन्थ्यो।त्यस्तो मीठो समोसा अन्यत्र 
कहिल्यै खाएको छैन मैले।
अँ ! भन्दैथिएँ मागेअनुसार टेबुलमा एकथान समोसा आयो।
खानका लागि शानसँग चम्चाले समोसा फोर्न के लागेको थिएँ
,समोसा त उफ्रिएर होटलको कुनाको भुँईंमा बजारियो।
अर्को खाने पैसा थिएन र टिपेर खानेपनि कुरा भएन।बरू 
अमिलो मन लिएर चवन्नी तिरेर फर्किंएँ।पैसाको अभाव
भोक र समोसाको तमासाको अनुभव अद्यापि ताजा छ।
तर त्यसपछिका दिनमा समोसा खानुपर्यो भने नफुत्किने
गरी हातले अनिवार्य समाउने गर्छु।।

No comments:

Post a Comment

Please leave your Comments here...▼