Wednesday, April 27, 2016

छोराको सामान्य रहर र मेरो विवशता

मैले त्रिवि सेवामा प्रवेश गरेको एक बर्ष नपुग्दै
 दुर्घटनामा परेर २०३९ सालमा पिताजीको
निधन भएपछि हाम्रो व्यवहार अस्तव्यस्त
 हुनपुग्यो र परिवारका सबै सपना चकनाचूर भए।

आठ आनाको आमदानी र रूपयाँको खर्च चरितार्थ हुने
 त्यो समय मेरा लागि कहालीलाग्दो थियो।एउटा सानो
 तौलियाले शिरदेखि तीरसम्मको नाङ्गो ढाक्नु र
 मेरो आयले घर र डेराको गर्जो टार्नु उस्तै थिए।
गुणराज दाइका सौजन्यले साइकल मसँग प्राप्त
 थियो।
 कुरो २०४४-४५ सालतिरको हो।छोरो चारबर्ष जतिको थियो।
उसका दौंतरीको देखेर साइकल किनिदिन आग्रह गर्यो।
बाल-साइकलको दाम ३००।- जति थियो सायद।तर मैले
उसको त्यतिपनि रहर पूरा गर्न सकिंन ।बाहिर जे भनेर
 टारेपनि मनमनै मलाई आत्मग्लानि हुन्थ्यो।महिनौंसम्मको
उसको लडाइँपछि खै कसरी-कसरी माग पूरा गर्न सकें
तर पहिले नै नसकेकोमा अहिले पनि मेरो मनमा
घाउ छ ।म यतिबेला सजिलै साइकल किन्न सक्छु तर
 छोरो हुर्किइसक्यो।सायद नातिनीलाई किनिदिएर मन बुझाउनुपर्ला।

No comments:

Post a Comment

Please leave your Comments here...▼