त्यसबेला म धरान चन्द्र संस्कृतमा पढ्थें र उमेर १४ वर्ष जतिको हुँदो हो।डेराको बसाइ छोडेर केही दिनअघिमात्र छात्राबासमा सरेको थिएँ।अघिल्लो दिनमात्र शिव सिनेमा हलमा ‘महल’ भन्ने सिनेमा शुरु भएको थियो।वासु दाइको सौजन्यबाट तीनवटा पास लिएर ‘नाइट शो’ हेर्न भागेर तीनजना गयौं।मबाहेक दुईजना धर्मानन्द र महेश्वरजस्तो लाग्छ।हिन्दी सिनेमा बुझ्नु थिएन,आखिर हेर्नुथियो हेरियो।सिनेमा छुटेपछि छात्राबासतिर लागियो।भोकले हामी लखतरान थियौं तर बजार बन्द थियो।खुलकै भएपनि के हुन्थ्यो र ?साथमा तीनैजनासँग पैसो नामको फुटेको कन्चो थिएन।उता तोकिएको समयमा उपस्थित नहुनेलाई मेसमा भात राख्ने चलन थिएन।
कहिल्यै भोको नसुतेको म निकै चिन्तित हुन पुगें।छात्राबासभन्दा केही दक्षिणको खहरे पुलमा पुग्दा अलि परतिर हिक्मत थापाको घरमा बिहेका बाजा बज्दैथिए।छतमा माइक घन्किंदो थियो र घर बत्तीले झिलिमिली थियो।हिक्मत थापाकी छोरी कृष्णा दिदीको बिहे थियो।उनीहरूलाई म चिन्थें तर उनीहरू मलाई चिन्दैनथे।बिहेको रामरमिता हेर्न तीनै भाइ भोकतिर्खा बिर्सिएर त्यसरी नै गयौं जसरी बत्तीमा पुतली होमिन्छ।
बिहेघरमा घरगाउँले र जन्तीको निकै ठूलो भीड थियो र सबै आआफ्ना काममा व्यस्त पनि।हामी निम्ता मान्न होइन आखिर रमाइलो हेर्नमात्र गएका थियौं। गेटबाट भित्र पस्नु के थियो भोजका लागि तयार गरिएका परिकारको वासना नाकमा पस्यो।निम्ता नगरिएका हामी त्यो भोज र भोजनका हकदार थिएनौं तर भोका अवश्य थियौं।भोज चलिरहेको थियो तर वरिपरि हेर्दा चिनेजानेको कोही थिएन।संस्कृतमा भनाइ छ” 'बुभुक्षितं किं न करोति पापम्'?” अर्थात् भोको मानिसले कुन पाप गर्दैन र?सम्पूर्ण ज्ञानविवेक र नैतिकताका प्रश्न बिर्सिएर हामी मासु-पुलाउसहितको परिकारमा होमिएर भरपेट खाना खायौं।डर अवश्य लागेको थियो तर भोक र भोजनको लोभको अघिल्तिर लाचार र विवश थियौं हामी।आजपनि यो घटना सम्झँदा मनमा कुरीकुरी त लाग्छ तर पश्चाताप भने लाग्दैन बरू सम्झँदा मुखमा मिठास फर्किएजस्तै लाग्छ।
No comments:
Post a Comment
Please leave your Comments here...▼