Wednesday, April 27, 2016

अनमोल चाराना र तुलसी दिदीको सम्झना

बाबु-आमा, भाइ-बहिनी र गाउँ-घरलाई छोडेर पहिलोपटक परदेश लाग्ने कुरा किशोरावस्थाको मलाई सहज थिएन।घरपरिवारसँगको वियोग गराउने त्यो दिन कहिल्यै नआओस् जस्तो लागेपनि आयो।पढ्नका लागि परदेश जाने र भविष्य-निर्माण गर्ने उत्सुकताभन्दा पनि मनभरि घर छोड्नुको पीडा थियो।दुईचार दिनअघिदेखि नै कसैले घरमा आएर र कसैले आफ्नै घरमा बोलाएर धेरैले बाटोखर्च भनेर पैसा दिएर अपनत्व प्रदान गर्नुभयो।गते बिर्सिंएँ,बार सोमबार थियो।महिना मङ्सीर र साल २०२६।विहान सबेरै घर छोड्नुपूर्व बाले घरको ढोका र दायाँबायाँ गणेश-हनुमानको पूजापछि निधारमा टीका लगाइदिनुभयो भने आमाले आँसु झार्दै दही ख्वाएर विदा गर्नुभयो।म भने खै कुन बलले आँसु रोक्न सफल थिएँ।
आँगनमा फुत्त निस्किएको के थिएँ तुलसी दिदी टुप्लुक्क आइपुग्नुभयो।
तुलसी दिदी कार्कीकी छोरी हुनुहुन्थ्यो।पतिबाट अकारण परित्यक्ता भएपछि माइती आएर बस्नुभएकी उहाँसँग कुनै सम्पत्ति थिएन।माइती पनि स्वयं निकै गरीब थियो।गाउँका माइती थरका धनीहरू हिउँदमा र कहिले त बर्षदिनसम्म पनि तराई मौजातिर झर्ने हुँदा तिनीहरूको घर कुरिदिएवापत खानलाउन पाउनुहुन्थ्यो।यति भएर पनि उहाँ ज्यादै सज्जन,दयालु र मनले कुवेरजस्तै हुनुहुन्थ्यो।धनका तन्नम तर मनका कुवेर मैले दुईजना भेटें।पुरुषमा कर्णाली कालीकोट रुप्सामा खलपाटाका बाबै र नारीमा मेरै गाउँ फलाँटेमा तुलसी दिदी।अरूलाई केही न केही दिनुमा सन्तुष्ट हुने उहाँहरू लालचभन्दा टाढा हुनुहुन्थ्यो।उहाँहरू दुबैजना बाटोमा भेटिने जति र आफू गएको घरमा मकैको फूल भएपनि दिएर आनन्द लिएको मलाई थाहा छ।
अँ भन्दैथिएँ।आँगनमा निस्कनासाथ टुप्लुक्कै आइपुग्नुभएकी तुलसी दिदीले हार्दिकतापूर्वक बिदा गर्दै हातमा धुले अचार र एउटा चवन्नी राखेर भन्नुभयो:-
"बाबू किस्ने !म गरीबसँग केही छैन तैपनि यो धुले अचार भातसँग खाएस् र यो चारानाको बाटोमा चिया खाएस्।"
त्यो अचारको मात्रा र पैसाको संख्याभन्दा हार्दिकता मूल्यवान् हुन्छ।अचारको मिठास बिर्सिएको छैन।र त्यो अनमोल चाराना अहिलेसम्म मैले मासेको छैन।बरू उहाँको आशिषसहित प्राप्त चारानाको ब्याजले आजसम्म सानन्द जीवन धान्न पुगेको छ मलाई।एउटा गुनासो भने सँधै रह्यो।त्यो के भने पढेर कमाउन थालेपछिको पहिलो कमाइले तुलसी दिदीको गुनवापत पत्रंपुष्पम् गर्छु भन्ने लागेको थियो तर त्यसअघि नै दिदीले यो सन्सारबाट विदा लिनुभयो र गुन बाँकी रह्यो।।

No comments:

Post a Comment

Please leave your Comments here...▼