Friday, June 24, 2016

मुक्तक

चोक-सडक र गल्ली भत्काएको विराटनगर शहरजस्तो

यौवनले अर्कै प्रेमिका टिपेपछिको उमेरको प्रहरजस्तो।


साठीको नजिकमा पुगेको कृष्ण वस्तीको फूर्तिफार्ति


भूपीले कविताका लागि बिम्बमा उतारेको घन्टाघरजस्तो।।


नजिकमा बसेर बोल्नुको पनि आफ्नै अर्थ लगाउँछे

मुख टालेर टाढै बस्नुको पनि अर्थको अनर्थ लगाउँछै ।


सधैँ-सधैँ निशाना चुकेको तीरजस्तो कृष्ण वस्तीसँग


जिन्दगीको परिभाषाले पनि नयाँ-नयाँ सर्त लगाउँछे ।।


०००००००००००००००००००००००००००००००००००००
जे थियो सवै उसको नितान्त मौलिक नै रचना थियो

तैपनि नाम र दामले वञ्चित उसको विडम्वना थियो।


साहित्यिक आत्महत्याको सुसाइड नोटको कारणमा


स्वयंले बाकसमा थुनेका कवितासँग क्षमायाचना थियो।।


००००००००००००००००००००००००००००००००००००००००


कस्तूरीको वासनाले शतबीज छर्दै वनपाखा डुल्ने बेला भयो
साँझबत्ती जगाउनेको यादमा बिजुलीलाई भुल्ने बेला भयो।
ढाकरको हिमाललाई भित्तामा अड्याएर खुईमार्ने फलाँटेको

बेंसीमा आँप,लेकमा गुराँस र बीचमा आल्चा फुल्ने बेला भयो।।
00000000000000000000000000000000000000
सहयात्रामा घामपानी साट्ने मीठो वार्तालाप होस्
तिम्रो-मेरोबीचमा नङ-मासुजस्तै मेलमिलाप होस्।
हृदयको दैलोमाथि हामी स्वयंले बनाएको गुँड नै

यसपालि भ्यालेन्टाइनका लागि नवैलिने गुलाफ होस्।।
00000000000000000000000000000000
कसैलाई लावण्य देशको हात्ती बनेर राष्ट्रपति दियो
र कसैलाई सातपुस्तालाई पुग्ने अकूत सम्पति दियो।
लोकतन्त्रको स्वस्थानीलाई के मान नपुगेर हो कुन्नि ?

नेपाली जनतालाई भने भोकमरी र आपत्ति दियो।।
००००००००००००००००००००००००००००००००००

आफ्नै कलेजोलाई बिसाएर हलुका हुने मन छ

मैलिएको जिन्दगीलाई सफासँग धुने मन छ।

दु:खकै बेलामा त आफन्तलाई सम्झने हो


त्यसैले आज देशलाई अँगालो मारेर रुने मन छ।।


००००००००००००००००००००००००००००००००००००
न उसका हातले छोएको भातभान्सा र पानी चल्छ

न उसको चुलो-चौका मझेरी र ठेकी-मदानी चल्छ।


तैपनि लताकुञ्ज वा कुनै एकान्तमा भेटिई भने


कथित छूतको लागि अछूत सुन्दरीकै जवानी चल्छ।।


००००००००००००००००००००००००००००००


एकातिर बादलबाट सफा पानीका मूलको वर्षा हुँदैछ
र अर्कातिर गाजलभित्र सपनाका फूलको वर्षा हुँदैछ।
लजाउँदै सुस्तरी आउने पवनलाई इशाराले परै रोकेर
चारैतिर पागल प्रेमीहरूमा अनिवार्य भूलको वर्षा हुँदैछ।।

000000000000000000000000000000000000


हामीलाई अलिकति इतिहासले लखेटेको छ
छातीभित्र गर्जिने बाघको त्रासले लखेटेको छ।
मोही माग्नका लागि ढुङ्ग्रो नलुकाई भन्नुपर्दा
हामीलाई आफ्नै मनको लघुताभासले लखेटेको छ।।
०००००००००००००००००००००००००००००००००००००००
दुवै आँखामा टन्किएर दुखेको आनोजस्तो भएछ
हुरीले उडाएर लथालिङ्ग बनेको छानोजस्तो भएछ।
किमा काटिएपछि छियाछिया बनेको घाउलाई हेर्दा

कुनै कुनामा थन्किएको मन, अचानोजस्तो भएछ।।
००००००००००००००००००००००००००००

आवश्यक परे देशका लागि आफ्नै चिता लेखौं

केही नसके थोरै भएपनि माटोको चिन्ता लेखौं।


माया-पिर्तीको कुरा त भोलिपनि गरे हुन्छ प्रिये!


आजको दिनरातमा हामी देशको कविता लेखौं।।


०००००००००००००००००००००००००००००००००
उनले कुँदेका अक्षरहरूमा पुस्तक बनेर खडा भयो
कमलजस्ता नयनअघि मुक्तक बनेर खडा भयो।
नाता-वहीन सम्बन्धको पवित्र साइनोको मझेरीमा

सधैँसधैँ कृष्ण वस्ती नतमस्तक बनेर खडा भयो।।
00000000000000000000000000000000
खलामा मच्चिने रजाइँ-विरुद्ध मियोले उठ्ने बेला हो यो
अन्धकारलाई चिर्दै आशाको दीयोले उठने बेला हो यो ।
सधैँ-सधैँ काट्ने,तोड्ने र छुट्टयाउने कैंचीको विरुद्धमा
एकता र सद्भावको धागो लिएर सीयोले उठ्ने बेला हो यो।।
००००००००००००००००००००००००००००००००००००००००
चाकडी नै गर्नुपरेमा,बोकेर भँगालै तार्छ
हातमात्र समात्न दियो भने अँगालै मार्छ।
जन्म दिएर काखपनि दियौ नेपाल आमा!

तैपनि दिल्लीका प्यादाले अवगालै पार्छ।
०००००००००००००००००००००००००००००



रित्तो गाग्रो लिएर पँधेरोतिर धाउने तिर्खालुसँग भेट हुन्छ

ओठमा खुर्पे जून टाँसेर स्वागत गर्न सिपालुसँग भेट हुन्छ।

शहरमाजस्तो गगनचुम्बीको दर्शन नपाइने मेरो गाउँमा

अँगालोमा बाँधेर सधैँसधैं म्वाईं खानुजस्तो मकालु भेटिन्छ ।।

०००००००००००००००००००००००००००००००००००००००००००००

छोरी सिक्किम सरकारको जागिरमा नियुक्ता छन्

र ज्वाइँ नेपालमा प्रचण्ड सरकारको प्रवक्ता छन् ।


दिल्लीका वादशाहलाई योभन्दा हाइसन्चो के हुन्छ ?


पालेका सुगाले, सिंहदरबारमा स्वाधीनता भुक्ता छन् ।।


००००००००००००००००००००००००००००००००००००००००००००००००

आकाश हुनुपर्ने मनहरू भित्तामा टाँसिएका छन्

स्वतन्त्र हुनुपर्ने मान्छे कित्तामा टाँसिएका छन्।


सत्ताको घट्टमा पिसिने हाम्रा सपना र पाइलाहरू


हात छोडेर केवल स्वार्थको बित्तामा टाँसिएका छन्।।


००००००००००००००००००००००००००००००००००००००

विदेशको धर्तीमा हाम्रा छोरा-छोरी र बुहारी छन्

मुलुकको राजनीतिमा भने कुइगन्धे जुहारी छन् ।


सत्तामा नेपालकै पहाड र तराईका मान्छे छन्


शासनमा तैपनि पारिकै गुजराती र बिहारी छन् ।।


००००००००००००००००००००००००००००००००


जन्मभूमिको मर्यादालाई आमा होइन उर्वशी बनाए,

नदीको जलधारालाई भारत-भजन लेख्ने मसी बनाए।

देशलाई प्रदेश-प्रदेशमा बण्डा गर्न आतुर उन्मादीले


राष्ट्रिय एकताको शक्तिलाई पनि दशैंको खसी बनाए।।

०००००००००००००००००००००००००००००००००


आशाको सुइरोले मनमा छुट्टिएका पात जोडेर बसें

तिमीलाई पर्खिएको साँझमा दिन र रात जोडेर बसें।


ईश्वरको बाहनामा तिम्रो मोहिनी दर्शनको विश्वासमा


घामपानीको आधा शताब्दीमा, मात्र मैले हात जोडेर बसें।।



००००००००००००००००००००००००००००००००००००००००
बादलमा जस्तै मनमा बुट्टा कुँदेर जाने खुट्टालाई

कलेजोजस्तै लाछिंदै-पाछिंदै पलाउने बुटा्लाई ।


गाउँपारि देखिने अरुणको कुइँनेटो र तिम्रा आँखा 


कुन जुनीमा बिर्सनसक्छु र प्राणजस्तो धनकुटालाई ?


000000000000000000000000000000000000


उनले अक्षरमा टाँसेर एक छाती आकाश पठाएको रहेछ

खामबन्दी गरेर अँध्यारो छिचोल्ने प्रकाश पठाएको रहेछ।

हुलाकको गल्तीले मिलापको साइत बिच्किएको चिठ्टीमा


आँ गर्दा अलङ्कार बुझिने भाषामा निकास पठाएको रहेछ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼