Friday, April 16, 2010

लेखिदिएँ तिम्रो नाम(गीति-कविता)

अर्कै कुरा खेलेको पो ,थ्यो कि तिम्रो मनमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

नबोल्दा'नि दुख्छ्यौ अरे, बोल्नखोजे लुक्छ्यौ ।
छोयो कि त लाजवन्ती, झारजस्तो सुक्छ्यौ ।।
बुन्दाबुन्दै तिमीलाई, कल्पनाको तानमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

इन्द्रकमल फक्रिएर, मनै मेरो खिच्यौ ।
दोबाटोमा ढुङ्गो टिपी, आफैँलाई थिच्यौ ।।
जुनेलोको फूल फुट्यौ, सम्झनाको घानमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

गगरीमा पानी भर्यौ, गहभरि आँसु ।
हेर्दाहेर्दै रित्तिएछु, मैं कसरी हासूँ ।।
आफ्नै छाया पछिलाग्दा, डुल्यौ तिमी मनमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

शर्माउँदै केही थोपा, पोखिएर गयौ ।
मैले पिएँ उठाएर, हिर्दयकी भयौ ।।
गीतसँग सुसाउँदै, पस्यौ तिमी कानमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼