Tuesday, December 21, 2010

अमृत-दीप(गीतिकविता)

आँखाभरि अजम्बरी रुप खुल्यौ कस्तो ?
अमृतले जुनीजुनी दीप जल्यौजस्तो ।

लालुपाते हातभरि इन्द्रधनु सीप,
हिउँचुलीझैं माया मेरो अँजुलीमा टिप।
नखोलेरै मनको कुरा खोलिरहें कस्तो?
नबोलेरै तिमीसँग बोलिरहे जस्तो।।

हत्केलाले तालदिंदै बाँसुरीको धुनलाई।
जस्केलामा दीप बाली मन परेको उनलाई ।
ओठबाट सुसाउँने मीठो गीत कस्तो ?
पहरामा रसाउँने शिलाजित जस्तो ।।

वसन्तको मोहिनीले सजाएर रङ्ग,
मयूरको यौवनलाई दिएजस्तो ढङ्ग ।
हिर्दयमा पिरतीको फूल खुल्छ कस्तो?
हिउँचुलीमा बिहानको घाम डुल्छ जस्तो ।।

1 comment:

  1. अति सुमधुर! कल्कलाएर बगेको पहाडी खोलाको जस्तो प्रवाह! त्यहि खोलाको पानी पिएजस्तै मिठो!

    ReplyDelete

Please leave your Comments here...▼