सोली भर्न हतार लाग्ने ऐंसेलुको याद आयो
डोली भर्न कसम खाने बैंसालुको याद आयो
धपाएको भालूलाई फर्कने मन खनिउँतिरै
बोली फेर्न सिपालु त्यो विषालुको याद आयो ।।
२
ठुम्का मारी पेरिस-डाँडा पुगिन् रेखा थापा
जुल्फी हल्लाई नाच्न लागे प्रकाशका आप्पा
उर्मिलाले सुनमाथि थपेपछि बास्ना
को-कोसँग खेलुन् बरा सीता दाहाल लाप्पा ।।
३
नखानुथ्यो खाइदिएँ मोही मकैभटमास
पेटभित्र पसेपछि दिने नै भो धमास
गन्धपुरी बतासको उरालेर प्वाँख
देशैभरि चलेजस्तो ,नेताजीको तमास ।।
४
इमान्दारहरुका दिन फर्कने आशामा पर्खी बसेको छु
हैजाले एकपछि अर्को लुटेका सपनाको बर्खी बसेको छु ।
मन रित्तिएको छ,मस्तिष्क सिद्धिएको छ,
पत्थरको रुपमा केवल राष्ट्रघातबाट तर्की बसेको छु ।।
५
बादलसँगै गर्दोरैछ काकाकूलले आश
गाजल पनि बस्दोरैछ परेलीमै बास ।
इन्द्रधनु आँखासँगै रङ्ग लिन्छ पैंचो
मादलमा ढुक्ढुकीकै ताल हुन्छ खास ।।
६
सुबी चरो गीतलाई स्वयं दिन्छ छन्द
बथानमा बचेरोले माउको चिन्छ गन्ध ।
फूलमाथि रङ्ग भर्छ धरतीको माटो
सिर्जनामा मिलेको छ सबै परिबन्द ।।
७
गर्व गरौं कि शर्मले मरौं ? मेरो छिमेकी भारत महान् छ
समुद्रको नुन दिएर, सिंगै नेपालको माटो खान चाहन्छ ।
जनता त हामी नै जन्माउँछौं, तर नेता उसैले जन्माइदिन्छ
उहिलेको एक बुद्ध लिएर,अहिलेका हजार गिद्ध पठाउन चाहन्छ ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼