Tuesday, June 4, 2013

गजल

भयौ कि डरकी बन्दी घरमा पो प्रिये तिमी ?
गयौ कि अब अर्कैको थरमा पो प्रिये तिमी ?


बलेर बिरही आगो,जिन्दगीको चितासँग ।
जल्यौ कि मनको आफ्नै खरमा पो प्रिये तिमी ?

भनिन्छ छेउको बोट, लहराले समाउँछ
झुक्यौ कि आशमा अर्कै बरमा पो प्रिये तिमी ?

जाल हाली शिकारीले समाएर लगेपछि
बन्यौ कि पिंजडाभित्र करमा पो प्रिये तिमी ?

वनपुष्प फुलेजस्तै टन्टलापुर घाममा 
हाँस्छ्यौ कि प्रतिमूर्झैं डरमा पो प्रिये तिमी ? 

कृष्णपक्ष थियो रात,कालो-गोरो बराबर
पुग्यौ कि झुक्किई अर्कै नरमा पो प्रिये तिमी ?

No comments:

Post a Comment

Please leave your Comments here...▼