Wednesday, May 14, 2014

मुक्तक

भन्छे मेरी" पर्या छैन मलाई जाइफल टोक्न
जान्छु मता पोल्टाभरि मीठा काफल बोक्न ।
गाउँघरको सिस्नु-ढिडो मोही-मकै छोडी
शान्तिसँग नाता तोडी,जान्न राइफल ठोक्न ।।"

००००००००००००००००००००००००००

कलेज-कलेज नलेज बेच्दो मेरो बुद्धि-बिजी,
 स्वार्थ हेरी अर्थ गर्छ,   मेरो  बुद्धि-गुजी ।
विश्वविद्यालय बन्यो विष-विद्यालय,
राम होइन, हनुमान् भो मेरो बुद्धिजीवी ।।
००००००००००००००००००००००००
अचम्मकै हुदो''रैछ,मानिसको रहर,
फोहोरकै डङ्गुरमा रमाउँछ मच्छर ।
भ्यागुतोलाई कसोरी म हिलोमुक्त गर्नु ?
शिरमाथि सुहाउन असम्भव छ पुच्छर ।।
०००००००००००००००००००००००००
पुरानो भत्किए'छि नयाँ बन्छ भन्ने बखान उदाङ्ग भो,
पाहुना आएपछिको लच्छिनले घर ऋणमा चुर्लुम्म भो ।
कालो गए गोरो आउँछ भन्ने उखान बिल्कुल झूठो रहेछ,
व्यवस्था त नयाँ  आयो तर अवस्था भने झन लथालिङ्ग भो ।।
०००००००००००००००००००००००००००००
मान्छेलाई कतिपय कुरा चलन-चल्तीले सिकाउँछ,
अझ धेरैजसो कुरा त काम गर्दाको गल्तीले सिकाउँछ ।
एउटा अर्तीचाहिं मनमा गाँठो पारेर राख्नु सान्नानी !                    मान्छेलाई सबैजसो कुरा त भरिएको खल्तीले सिकाउँछ ।।
०००००००००००००००००००००००००००००००००००००
अजम्बरी जवान छन् रे ! कामदेवका कृपापात्र,
मृत्यञ्जयी हुँदैछन् रे रामदेवका कृपापात्र ।
म जे भन्छु त्यही भन्नु जिब्रोलाई चपाउनू,
दुराचारी कुनै छैनन्,वामदेवका कृपापात्र ।।
०००००००००००००००००००००००००००

लोकतन्त्रको मुड्की देख्दा,आफ्नै घुच्चुक छेक्छ,
भैंसीतिघ्रे नेतालाई भुत्ते चकमक देख्छ ।
शब्द टिपी गट्टी खेल्दो,दिन कटाउने मेलो ,
वस्ती केको मुक्तक लेख्थ्यो ? केवल कचकच लेख्छ ।।००००००००००००००००००००००००
ह्विस्की होइन, तोतो तुङ्वा कठ्याङ्ग्रोमै बिक्छ,
फिस्टो मार्ने गुलेलीलाई मट्याङ्ग्रो नै ठीक छ ।
अख्तियारको ह्याकुलो हो कहाँ ठूलो ताक्छ ?
जुरेलीले जहिले पनि फट्याङ्ग्रो नै टिप्छ ।।
००००००००००००००००००००००००००००
कुखुरे बैंसमा "ढाँटको रुखका टोटलाका बचरा झारिदिन्छु" भन्यो,
प्रेमको कवि बनेपछि "आकाशका जूनतारा झारिदिन्छु" भन्यो।
पुरानो हुँदैगएपछि पितृसत्तात्मक समाजको तरुलको टुसा पलायो,
मुड्की उठाएर क्रान्तिकारी भाषामा "तेरा बङ्गारा झारिदिन्छु" भन्यो ।।
00000000000000000000000000000000
आलुबारी फाँड्दै गर्छ,जङ्गलको दुम्सी,
राजमार्गमा बज्दैगर्छ,साइकलको घन्टी ।
पिरतीको खोलो तर्न नकमाउनू खुट्टा,
आउँदै गर्छ आमा-बाउ र अङ्कलको धम्की ।।
००००००००००००००००००००००००००००
पुतली भै नाचुँला म मूलाबारी  ड्याङ्मा,
जून्कीरीझैं पर्खुँला म ऐंंसेलुको  झ्याङ्मा ।
काफलगेडी पाकेकी छु बैंसभरि  रातै,
भन्छे मेरी मैच्याङ् मलाई चाडै आउनू च्याङ्वा ।। 
००००००००००००००००००००००००००००
देउरालीमा राता-सेता टाला उन्यौ तिम्ले,
मंसीरमा ल्वाङ्दूबोको माला उ्न्यौ तिम्ले ।
कुन आँधीले भाच्यो अहिले तिम्रो सोझो मन ?
पिरतीको प्राणै ताकी भाला उन्यौ तिम्ले ।।
००००००००००००००००००००००००००
आफ्नो नाउँ हरायो त्यसैले बाउबाजेको नाउँ खान थाले,
फल होइन बोटै लुट्न र ब्याज छोडी साउँ खान थाले ।
पुर्खाहरु त कथामा गाउँ खान्थे,तर आज अर्कै प्रथा आयो,
माथि बस्नेले देश र तल बस्नेले गाउँ खान थाले ।। 
००००००००००००००००००००००००००००००००००
मलेसियाको विमान हरायो,
राजनीतिबाट इमान हरायो ।
सबैतिर यस्तै हुन्छ कि क्याहो ?
बौद्धिकताबाट स्वाभिमान हरायो ।।
०००००००००००००००००००००००
चारैतिर उस्तैउस्ता बाँडिखाने भाले,
आफू एक्लो वृहस्पति क्यारुन् कान्छा बाले। 
घुँडो ताक्यो  बन्चरोले मूढो ताक्दा दैव !
स्वास्नी पाल्ने रहर छोडी दाह्री पाल्न थाले ।।
0000000000000000000000000000000
ऐंसेलुको घोच्ने काँढा,ठिकै ठान्नू चोटलाई
काफल टिप्दा लडेपनि काट्नुहुन्न बोटलाई ।
खट्टी-मिठी दुबै हुन्छन् पिरतीको स्वादमा,
खल्तीबाहिर राख्नुहुन्न हजारिया नोटलाई ।।
०००००००००००००००००००००००००००००
विहान उठ्यो आँखा मिच्दै लोसे मर्निङ-वाकमा,
साँझपख अफिसबाट सोझै नर्सिङट्वाकमा ।
सुगर-प्रेसर दुबै झर्छन् भोक-निद्रा भाग्छ,
घरमा पुग्दा श्रीमान जब पर्छन् डार्लिङझ्वाँकमा ।।
000000000000000000000000000
त्यै टुङ्गोमा बसी मैले,त्यै ढुङ्गामा हेरें,
आफ्नो मुटु-कलेजोलाई शयठाममा रेटें ।
वैगुनीलाई गुनले मार्नु भन्ने उखान सम्झी,
तिम्रो नाउँ राखी, मैले आफ्नो नाउँमा केरें ।।
०००००००००००००००००००००००००
गाउँघरमा झर्के थाल र करुवा छैनन् अब
खेतबारीमा फापर-कोदो नरुवा छैनन् अब ।
मोबाइलमा घन्टी बज्छ,मादल बज्न छोड्यो,
पहाड खनी मोटर कुदे, जरुवा छैनन् अब ।।
000000000000000000000000000
त्यै टुङ्गोमा बसी मैले,त्यै ढुङ्गामा हेरें,
आफ्नो मुटु-कलेजोलाई शयठाममा रेटें ।
वैगुनीलाई गुनले मार्नु भन्ने उखान सम्झी,
तिम्रो नाउँ राखी, मैले आफ्नो नाउँमा केरें ।।
०००००००००००००००००००००००००
गाउँघरमा झर्के थाल र करुवा छैनन् अब
खेतबारीमा फापर-कोदो नरुवा छैनन् अब ।
मोबाइलमा घन्टी बज्छ,मादल बज्न छोड्यो,
पहाड खनी मोटर कुदे, जरुवा छैनन् अब ।।
00000000000000000000000000000000
मादल पनि बज्न छोड्यो, गाजल लाग्न छोड्यो,
बैकिनीको जङ्गलमा काफल पाक्न छोड्यो ।
रोएजस्तो लाग्छ विहान,जागेजस्तो चिहान
नेपाल आमा ! के भो तिम्लाई? हिमाल हाँस्न छोड्यो ।।
00000000000000000000000000000000
कैले सोझो कैले बाङ्गो जँड्याहाको खुट्टा
दायाँबायाँ भन्नुमात्र एकै नम्बर जुत्ता
संसदको मखिबुट्टे सबाल-जबाब भन्नु
दम्पतीको मायापिर्ती काट्टोछिनो ठट्टा ।।
000000000000000000000000
जूनमा हेर्दा साह्रै राम्री रातो खनिउँजस्ती,
घाममा हेर्दा गोरीगोरी सेतो उनिउँजस्ती ।
लिङ्गे पिङको लठ्ठाजस्तो खुट्टा  बोकी फिर्दा,
मेरी माया लाग्छ मलाई तातो पुनिउँजस्ती ।।
000000000000000000000000000000
मैले आँगनमा सुकुमार हिमाल खुलेको देखें
मनभित्र लाखौं निरुत्तर सबाल डुलेको देखें
आँखा खराब हो कि लोकतन्त्रको भाका फेरियो ?
मैले त दलदलमा दलालीका कमल फुलेको देखें ।।






No comments:

Post a Comment

Please leave your Comments here...▼