Tuesday, April 14, 2015

मुक्तक


रगत बग्दा जीवन पाउने, त्यस्तो युद्ध देऊ,
धर्ती-माता ! मलाई एउटा, मान्छे शुद्ध देऊ।

जाति-पाति धर्मभन्दा, सधैँ माथि उठ्ने
यो देशलाई माया गर्ने, असल बुद्ध देऊ ।।
००००००००००००००००००००००००००००
सृष्टिले आमाको कोखलाई अजम्बरी र अखण्ड देखिन्
बाँकी व्यवहारका सबै कुरामा मान्छेको पाखण्ड देखिन्।
सन्सारकै आमा र शिशुको नाता यस्तै हुन्छ पण्डितजी!
यशोदाले कृष्णकै मुखमा वात्सल्यको ब्रह्माण्ड देखिन्।।
०००००००००००००००००००००००००
देउताको दुनियाँमा तँ ठूलो कि म ठूलोको अवस्था छ,
मान्छेको समाजमा पनि घातप्रतिघात र अनास्था छ।
यी दुवैको रोगले नदेखेर आपसी एकतामा बाँचेको, 
मलाई त बरु दानव र पशुको स्वभावप्रति आस्था छ।।
०००००००००००००००००००००००००००
सडकमा बथानका बथान फोहोर टिप्ने काग छन्,
छेउतिरका बजारको डोकामा मुठ्ठा-मुठ्ठा साग छन्।
मानिसकै भलाइमा बाँच्ने साग र कागको छिमेकमा
संविधान लेख्ने भवनमा छ-सय एकजना दाग छन्।।
००००००००००००००००००००००००००
देख्ने आँखा र सोच्ने गिदी-विनाको चुप्पी चाहिएको छ,
सिकाएको मात्र बोल्ने शुद्धि-विनाको रुप्पी चाहिएको छ। 
आफ्नै नाममा बन्ने प्रदेशको मुख्यमन्त्री बन्नको लागि,
पहिचानपत्रको कामगर्ने बुद्धि-विनाको टुप्पी चाहिएको छ ।। 
000000000000000000000000000
सम्पत्तिको बदला सम्बन्ध लिएर उठेको कुवेरजस्तो
हत्केलामा उदाउँदो घाम बोकेर हाँसेको सबेरजस्तो।
तिमीलाई देखेपछि म स्वयंलाई यस्तो लाग्छु सानू !
काफिया र रदीफमा खुलेको गालिवको शेरजस्तो।।
00000000000000000000000000000
कहिले मुठी र कहिले सानो तुलाको तोलामा हालेर
हटियातिर लैजाँदैछु यो जिन्दगी झोलामा हालेर।
भाउ मिलाएरै किनेपनि त हुन्छ सान्नानी! मलाई
अगेनामाथि भारमा सजाए'नि हुन्छ सोलामा हालेर
०००००००००००००००००००००००००००००००००००००
मान्छेहरु हातका चारऔंलाले आफ्ना लागि काम गर्छन्,
काम नपाउने सबैका कान्छीऔंलाहरु छक्क पर्छन्।
देशको लागि त त्यही फुर्सदको औंलाको योगदान पनि
कृष्णले जस्तै उठाउने साधन हुन्छ आआफ्नो गोबर्द्धन।।
००००००००००००००००००००००००००००००००
तल, हराभरा धर्ती र माथि नीलो आसमान थियो
बायाँ तिम्रो मुस्कान र दायाँ हिमाल समान थियो
निशा लागेर उत्तर र दक्षिण पनि नछट्टिएको बेला
हामी दुवैलाई साथमा उडाएर लैजाने विमान थियो ।।
०००००००००००००००००००००००००
निर्विकार नयनको बगरमा मेरो आँसु अल्झिएछ,
नागफणीझैं वचनको काँढामा मुटुको मासु अल्झिएछ ।
मैले त चाहेर पनि छोड्न नसकेको तिम्रो शहरका 
प्रत्येक धारा-पधेँरामा यो मायाको पिपासु अल्झिएछ।।
०००००००००००००००००००००००००००
देशको ढुकुटी फुपूको सराद्धेमा उपहार देखिन्छ,
जुनसुकै कुरामा पनि विदेशीकै गुहार देखिन्छ।
पागलपनले छोएपछि यस्तै पो हुन्छ कि क्या हो ?
लोकतन्त्रका ठेकेदारमा पनि राजाकै मुहार देखिन्छ ।।

000000000000000000000000000000000000000000
मैले आन्दोलनको ज्योतिमा विष्णुको सुदर्शन देखें,
लोकतन्त्रको रूपलाई भित्तामा झुन्डिएको दर्पण देखें।।
त्यसैको आडमा बनेको सत्ताको स्वभावलाई नियाल्दा
विदेशीले काँधमा बोकेको नेपाल ओसार्ने खर्पन देखें।।
००००००००००००००००००००००००००००००००
शरद्ऋतुको नदीजस्तै मिलनका सुकुमार वर्ष थिए,
मनभित्र रुख-सिमलको भुवाजस्ता अपार हर्ष थिए।
खोइ !कहाँबाट हाम्रो मिलनको धर्ती फाट्यो कुन्नि,
हाम्रो त आकाशै खसेपनि नछुट्टिने पो परामर्श थिए।।
०००००००००००००००००००००
पहिलो भेटमा तिम्रो सिउँदो सेतो रूपा-ताल थियो,
अर्को-पटक मैले भेट्दा गुराँस-जस्तो लाल थियो ।।
तैपनि मभित्र निर्मल मायाकै कूलो बगाउने मनमा
निःसर्त उठेको उज्यालै मायाको अग्लो हिमाल थियो ।।
००००००००००००००००००००००००००
ऐन-मौकामा शत्रुका साथमा पनि मेल-मिलाप रहेछ
तिल-जत्रो खुसीको लागि लाख-लाखको विलाप रहेछ।
हरेक जोड-घटाउमा भिन्न उत्तर आउने गणित यो,
जिन्दगी भनेको धेरै नोक्सान र थोरै फलिफाप रहेछ।।

000000000000000000000000000000000000000000000000
आफूले लिएको जिम्बेवारीलाई नितान्त पर्बाह गरियो,
कमाएको दाल-भात-डुकुले आरामसँग निर्बाह गरियो।।
तैपनि देशको टुटे-फुटेका सपनाको छट्पटीमा दुख्दा,
यस्तो लाग्छ कि बाँच्नुको नाममा सधैँ वेपर्बाह मरियो ।।
००००००००००००००००००००००००००
युद्धकालमा उनी बन्दूकले जीवनका चुरा फोर्दै हिंडे,
शान्तिकालमा लगातार धम्कीले ढिकुरा फोर्दै हिंडे।
स्वयंले बगाएको रगतसँग पानी माग्ने अश्वत्थामा
उत्तरार्ध्दको जीवनकालमा निराशाका आँकुरा चिथोर्दै हिंडे।।
००००००००००००००००००००००००००००००००००
अँजुली छोडेर पोखरी नै पिउँने अहङ्कारमा चुके
उम्लिएरै सन्सार जित्छु भन्नाले पोखिएरै सुके?
जीवनको सट्टा मृत्युका फूल बाँड्ने नायक उनी
एकैछिन खहरेजस्तै उर्लिए र बालुवाभित्र लुके ।।
०००००००००००००००००००००
नलाए'नि हुन्छ कसी अकबरी सुनलाई,
टाढैबाट हेरे पुग्छ अजम्बरी जूनलाई।
परागले परैबाट नाकलाई छोएजस्तो,
नपिएरै नशा लाग्छ, कादम्बरी उनलाई।। 
०००००००००००००००००००००००००
बल र बुद्धिको खेलमा सुविख्यात पात्र भएपनि
हजारौं र लाखौंका बीचमा  एकमात्र भएपनि।
देशप्रेमका सुन्दर अक्षरहरु भैंसीबराबर छन् भने,
ऊ सासफेर्दो लास हुन्छ, उत्साहकै नवरात्र भएपनि ।।
0000000000000000000000000
वासन्ती कुसुम-लोकबाट मीठो पराग लिएर आइन्
जीवनका हरेक मोडमा उनी अनुराग लिएर आइन्।
अँध्यारोमा एक्लै दौडिने आँखालाई बाटो देखाउँदै,
साथमा अजम्बरी र उज्यालो चिराग लिएर आइन्।। 
००००००००००००००००००००००००००००००
चरा-कीरा र पत्थरका साथमा पनि खेल-तमासा छ,
घामजस्तो हाँसो र पानीजस्तो आँसुको विश्व-भाषा छ।
स्वर्गको आश र नर्कको त्रास नपालेको बाल-जगतमा,
वसुधैव कुटुम्बकंको नैसर्गिक भावको परिभाषा छ ।।
०००००००००००००००००००००००००००००००
मसँग एकपटक चन्चले नजर जुधाएर लजाई,
हात समाउन खोज्दा आँखाबाट गाजल बगाई।
अलि परैबाट आफन्तजस्तो बनेकी कसैकी शिशुले
गुलाफकै थुङ्गोजस्तो बनेर यो मनलाई सजाई।।
०००००००००००००००००००००००००००००००
सडेगलेको चामल खाने वाध्यतामा दैलेख दुखेको छ,
बेचिएकी चेलीको आँसु र मासुझैं लिपुलेक सुकेको छ।
तैपनि गुच्चाको आँखा लगाएजस्तो सत्ताले देश देख्दैन,
किनकि सीमानामा पनि उसको सौदाकै अभिलेख लुकेको छ ।।
००००००००००००००००००००००००००००
युवाको लर्को विदेसिंदो छ, देशमा इलम नपाएर,
आँसुमा दुख्दै मनको घाउ बग्छ, मलम नपाएर।
जुन तन्त्र आएपनि खाली कागज बनेको जनता
हात बाँधेरै बसेको छ, भाग्य लेख्ने कलम नपाएर ।।
०००००००००००००००००००००००००००००००००००००००
बाँझो पल्टिएको खेतबारीजस्तो रित्तो कलेज छ,
तुलफूल उजाडिएको बगैंचाजस्तो बन्जर नलेज छ।
व्याज कमाइएन तर साउँ पनि मासिएनछ सान्नानी !
गाऊँ फर्कनेबेला त्यतैबाट ल्याएको पुरानो लगेज छ ।।
००००००००००००००००००००००००००
लेकबाट आउँदा उसको हातमा काफलको सोली थियो
बेंसीबाट आउँदा गलामा कोइलीको जस्तो बोली थियो ।
बदलामा मैले पनि उपहार लिएर उसकोमा जाँदा
साथमा बाजाको टोली र सजाएको एउटा डोली थियो ।।
००००००००००००००००००००००००
ऊ जहाँबाट उम्रन्छ त्यहाँ पानीको जस्तो मुल्को हुन्छ,
आकाशमा उदाउँदै गर्दो घामको जस्तो झुल्को हुन्छ।
दर्सिन-ढुङ्गो र झुलोमा चकमकले ठोस्दाजस्तै 
मुक्तकले पनि छोएकै ठाउँमा कविताको झिल्को हुन्छ ।।
0000000000000000000000000000000000000000000000
बुहार्तनका पहाडले थिचिंदा पनि गुनासा नदेखाउने आमा,
जीवनका सबै ढोका बन्द हुँदापनि निराशा नदेखाउने आमा ।
जन्मभूमि र देवकीजस्तै लगातार सपना गुमाउँदा पनि
धैर्यले ईश्वरलाई चुनौती दिन्छन् तमासा नदेखाउँने आमा ।।
०००००००००००००००००००००००००००
समयको जाँतोमा कहिले कहीं घुन भएर पिसिनुपर्छ,
अविरल यात्रामा, कतै दौडिंदै र कतै घिस्सिनुपर्छ ।
नदीजस्तै अथक बग्ने जीवनको निरन्तर प्रवाहले
लछारिंदै पछारिंदै भएपनि सागरमा नै मिसिनुपर्छ ।।
००००००००००००००००००००००००००००००००००
बाँडिएझैं नाता‍ गोता र सम्बन्धको काँक्रे चिरामा
कामको चापले थाकेर थुचुक्कै बस्थिन् पिरामा।
अरुको आराम-विरामको ख्याल गरे तापनि उनले
स्वयंको आरामलाई सोध्ने कोही नभएकी मेरी आमा ।।
००००००००००००००००००००००००००
अरुका दोषको भारी बोकेर स्वयंसँग रिसाउँथिन्,
मान्छेको नाताले उनी एकान्तमा सायद सुसाउँथिन्।
पेटमा अन्न नपर्ने उनको दूध पनि कहाँबाट आउनु ?
तैपनि रोदन सुन्न नसक्ने आमा रित्तो लाम्टो चुसाउँथिन् ।।
०००००००००००००००००००००००००००००००००००००००००००००
सधैँ अनिकाल-भोकमरी र महामारीको भावर-चोट
यसपटक फेरि मृत्युको आतङ्क झेल्दैछ जाजरकोट।
जनताको घाउसँग दुख्ने फुर्सद नपाएको सिंहदरबारले 
छातीमा झुन्ड्याएको छ सरकार नामको थोत्रो कोट ।।
००००००००००००००००००००००००
पाइला-पाइला, केही होलो र केही खुकुलो हो
धर्तीको काख हरियो बनाउने पानीको कूलो हो।
कुरो जतिसुकै घुमाएपनि चुरो एउटै हो सान्नानी !
जीवन भनेको आफूले आफैँलाई जोख्ने तुलो हो।।
००००००००००००००००००००००००००००००
अँध्यारो र उज्यालो पहिल्याउने चेतनाको जरो हो,
जीवनको नदीमा वार-पार गर्दा समाउने लहरो हो।
चन्द्रशमशेर र तिनका हालसाल संस्करणका लागि,
शिक्षा भनेको शासनका लागि घुँडामै लाग्ने बन्चरो हो ।।
००००००००००००००००००००००००
हिउँझै पग्लिएर एकैछिन आँखाको डिलमा बस्ने,
आत्महत्याको शैलीमा परेलाबाट भुईंमा खस्ने।
हेर्दा दुरुस्तै पानीको थोपाजस्तो कोमल आँसुले
ए! कहाँबाट तागत जुटाउँछ हँ यो मनलाई डस्ने ?

000000000000000000000000
 कहिले कोसेली पाएकोमा खुसी र स्याबासी पठाई
बेला-मौकामा आँसुको साथमा रुवाबासी पठाई ।
यसपालि त उसले गाउँबाट ठूलै घुर्कीको साथमा
खामबन्दी गरेरै चिठ्ठीको भाषामा बदमासी पठाई ।।
०००००००००००००००००००००००००००००

पुर्खाको रगत सापटीमा लिएर सन्देश लेख्न चाहन्छु,
माटोका सन्ततिले काख पाउने परिवेश लेख्न चाहन्छु।
म आफ्नै प्रेयसीका लागि साँचेको मायाको सफा कागजमा
उसैको सिउँदोको सिन्दूरको मसीले देश लेख्न चाहन्छु।।
०००००००००००००००००००००००००
कृष्ण वस्तीलाई समास पढाउँन छुट्टै परिधान चाहिन्न,
नरे कार्कीलाई पनि हलोको अनौ समात्न विधान चाहिन्न।
सदाचारीलाई जेल र निष्पापलाई मन्दिर नचाहिएजस्तै
इमानमा बाँच्नेलाई वेइमानले लेख्ने संविधान चाहिन्न।।
000000000000000000000000000000
देवधामको फाँटमा फुलेकी सुकुमार तोरी थियौ,
स्वयं सौन्दर्यले खिपेर यतै लुकाएकी छोरी थियौ।
ओ!आगोमा पग्लिएको सुनजस्ती निख्खर सुन्दरी !
तिमी त गेरुभित्र पनि पाकेको अम्बाझैं गोरी थियौ।।
000000000000000000000000000000
मैले आँगनमा बैंस र वसन्तको मिलिजुली देखें
फूलजस्ती उनलाई बोकेको धर्तीको अँजुली देखें।
अलिकति परबाट धितमर्ने गरी हेरेर फिर्दा
मुस्कुराउँदा पनि रसाएका आँखामा विजुली देखें ।।
000000000000000000000000000000000000
अघिल्लो शिशुको अकालमृत्युमा विलाप गर्दै,
भर्खरै पैदा भएको नवजातलाई सेक-ताप गर्दै।
नयाँ र पुरानो वर्षको गोधूलिमा नेपाल आमा,
एकैसाथ मलामी र सुडेनीसँग  वार्तालाप गर्दै।।
०००००००००००००००००००००००
जङ्लका हाँगा-हाँगामा बसेर गीत गाउने चराहरू
वनकुसुमका कोमल कला र पहाडका कन्दराहरू।
कविताकै लागि त खुलेका ब्यूटीपार्लर हुन् सानू !
धर्तीको निधारमा छुटेका पसिना र पानीका धाराहरू ।। 
००००००००००००००००००००००००००००००
मुलुक स्वयंलाई सुन्दर हुनुको पाप लागेजस्तो छ
टाठा-बाठालाई डलर थाप्नुको राप लागेजस्तो छ।
संविधान नलेख्ने देशमा मुक्तक पनि नलेख्नु वस्ती!
किनकि दुवैमा अक्षर हुनुको सराप लागेजस्तो छ ।।
०००००००००००००००००००००००००००
आमा हुनुको नाताले, उनी ममताको मझेरी हुन्छिन्,
सन्ततिको दुर्नियति देखेर, आँसुको पँधेरी हुन्छिन्।
घोटिएपनि सुगन्ध नै दिने, चन्दनजस्ती मेरी आमा,
आशाको शिशुजस्तो घाम बोकेर, सधैँसधैँ सुत्केरी हुन्छिन्।। 
०००००००००००००००००००००००००००००
तल-तल नदीको पानीका लहरमा नुहाउँदै थिइन्
माथि आकाशका ताराको शहरमा उदाउँदै थिइन्।
आफ्ना पापी नजरलाई स्वयंभित्र घुमाएर हेर्दा
उनी त मेरै मनको रहर-रहरमा सुहाउँदै थिइन्।।
000000000000000000000000
हातका ठेला रोपेर अन्न फलाउने किसानहरु,
सन्सारलाई सिंगार्ने मजदूरका स्वाभिमानहरु
घोडाकै पीठ बनाइका छन् सामान्य जनताहरु
र शासकको रूपमा सवार छन् सत्ताका मसानहरु।।
००००००००००००००००००००००००००००
आँखामा तिमीले पठाएका सम्झनाका पात छन्,
समयले उपहारमा दिएका पुराना दिन-रात छन् ।
साथमा तिम्रो थोरै मायाको खाँचो बिझाउनु-बाहेक
आफैंलाई चित्त नबुझेका कविताका खात छन् ।।
०००००००००००००००००००००००००००
देशलाई दिएर नरित्तिने मसँग एकथान मन छ,
छातीमा त्यसलाई राख्न बनाएको नरम आसन छ।
म तिमीलाई आफूभित्रको त्यही नेपाल दिन तयार छु
जहाँ नैतिकताले सास फेर्ने संविधानको सुशासन छ।।
००००००००००००००००००००००००००००
अघिल्लो शिशुको अकालमृत्युमा विलाप गर्दै,
भर्खरै पैदा भएको नवजातलाई सेक-ताप गर्दै।
नयाँ र पुरानो वर्षको गोधूलिमा नेपाल आमा,
एकैसाथ मलामी र सुडेनीसँग  वार्तालाप गर्दै।।
000000000000000000000000000





No comments:

Post a Comment

Please leave your Comments here...▼