आज गणतन्त्र-दिवस ।उसैपनि नेपाली जनतालाई कागलाई बेल पाकेको उपहार यो ।त्यसमाथि भूकम्पको शोकको घडी।तरपनि यो सान्दर्भिक हुनसक्छ।
म गैरराजनैतिक मान्छे र सामान्य नेपाली नागरिक जो राजनीतिको खेलाडी पक्कै होइन ।तथापि लोकतन्त्रमा राजनीति र राजनैतिक दलको भूमिका, महत्व र तिनीहरुको सकारात्मक-नकारात्मक भूमिका र त्यसको असरबारे नजिकबाट रूचि राख्ने प्राणी हुनाले अहिलेको समग्र परिवेशलाई नजिकबाट नियालिरहेको छु ।मेरो बुझाइमा हिजोसम्म हामी नै सर्वेसर्वा हुनाले नियम-कानुन-संविधान र लोकतान्त्रिक मूल्य र मान्यतालाई जसरी उपयोग गरेपनि हुन्छ ।किनकि जनताका अघिल्तिर हामी अन्तिम विकल्प हौं भन्ने नेपालका मुख्य दल र सरकारको ठंम्याइ भूकम्पपछिको परिवेशमा नराम्ररी हल्लिएको छ ।सर्वसम्मतिको संकल्प-प्रस्ताव,एकजूट-एकता र राहतमा दलीय सक्रियता आदिको अर्थ स्पष्ट छ । उनीहरुले खुलारूपले भन्न नसकेपनि जनता-जनार्दको नजरमा नराम्ररी गिरेको कुरा स्वयं उनीहरुलाई थाहा भएरै यसो गर्ने कि त्यसो गर्नेको अवस्थामा दलहरु पुगेकाछन् ।जो व्यक्ति वा संस्थाले घरभित्रको विश्वास गुमाउँछ त्यसले बाहिरी संसारको पनि विश्वास आर्जन गर्न सक्दैन ।यसैको परिणाम हो बाहिरी दुनियाले नेपाल सरकारप्रति यो बेला जुन विश्वास गरेर सहयोग गर्नुपर्नेथियो त्यो गरिरहेको छैन । आआफ्नो राजनैतिक स्पेस जोगाउने उपायको खोजी नै यो फूर्तिफार्तिको जड हो भन्ने कुराबाट कोही पनि अनभिज्ञ छैन ।सरकार न स्वीकार गर्न सकिरहेको छ, न त देश र परदेशको विश्वास नै जित्न सकिरहेको छ ।
आमाहररु बेलाबखत छोराछोरीलाई राम्रैसँग ठटाउँछन् तर तिनीहरुले सन्तानको विकल्प खोज्दैनन् ।मलाई लोकतन्त्रको धर्म-मर्म र गन्तव्यको महत्ता थाहा छ,तसर्थ जतिसुकै आलोचना गरेपनि मेरो विचारमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।अनि बेलाबखत राजनीतिप्रति मेरा रोषपूर्ण अभिव्यक्ति पनि देखा पर्छन् ।यसको अर्थ राजनीति सफा होस् भन्ने हो परित्याग होइन ।समाजका सबै नीतिलाई नेतृत्व गर्ने नीतिको नाम नै राजनीति हो र यो नीतिहरुको मियो हो ।यो बलियो स्थिर र सबैलाई समेट्ने हुनुपर्छ, र स्वयंबाट निर्मित नीति-नियम र संविधानभित्र आफूपनि बाँधिनुपर्छ । नत्र यो भाँडनीति हुनेछ ।र यतिबेला हामी भाँडनीतिको शिकार भएर बाँचेका छौं भने स्वयं राजनीति पनि त्यसको परिणाम भोग्दै छ।
भूकम्पले लाखौं जनता घरबारवहीन भए ।सर्वस्व लुटिएका जनता त फेरि टुसाउँलान् तर दोस्रो जनआन्दोलनको सफलतापछि राजनैतिक दलहरुले राजनैतिक मियोपनलाई बलियो बनाउने भन्दा निजी स्वार्थमा ज्यादा ध्यान दिए र विधिको शासनलाई पूरै लत्याए ।त्यसैको परिणाम स्वरूप दलहरु जनताको नजरमा गिर्न पुगे ।अझ विपदकोबेला साथ दिनुको सट्टा स्वयं विचलित भए । यतिबेला सहयोग र राहतको नाममा जानेलाई जनताले जिल्लाजिल्लाका कतिपय ठाउँमा जनताले 'काजकिरिया सकेका प्रेतात्मा'को संज्ञा दिएका छन् ।सदनमा सभासदहरुबाटै यो प्रतिवेदन गयो । बरु विपदको बेला रित्तो हात लिएरै पनि निस्वार्थ सेवामा जुट्ने सेना-प्रहरी-संचारकर्मी र स्वास्थ्यकर्मीप्रति जनताको अपार विश्वास पलाएको छ ।यो देखेर आफूहरु कहाँनिर चुक्यौं भनेर सरकार र दलले आत्मसमीक्षा गरेको पाइन्न बरु नजानिंदो ईर्ष्या भने पालेको अनुभूति हुन्छ । यो सन्दर्भमा महाभारतको कथा प्रासङ्गिक छ ।
द्रौपदी, कृष्णका फुपूचेला पाण्डवहरूकी साझा धर्मपत्नीमात्र नभएर वासुदेव कृष्णकी निकटतम घनिष्ठ साथी पनि थिइन् ।कृष्ण र दौपदीसँग सम्बन्धित महाभारतका दुईवटा प्रसङ्ग अहिलेको सन्दर्भमा पनि उत्तिकै विचारणीय-मननीय र अनुकरणीय छन् ।
प्रसङ्ग १) एकपटक सुदर्शन चक्रले काटेर कृष्णको चोरऔंलोबाट भल्भली रगत बग्न थाल्यो ।अरु सारा रमिते भए । तर कृष्णकी परममित्र द्रौपदीले पाप-पुण्य, मर्यादा-अमर्यादाको ख्यालै नगरी मात्र निस्वार्थ भावले लगाइरहेको साडीको फेर च्यातेर काटिएको औंलोमा बाधिदिएर रगत बन्द गर्न सहयोग गरिन् ।यो सानो तर निस्वार्थ सहयोगबाट खुसी भएका कृष्णले भनेका थिए "सखी! तिम्रो यो ऋण कुनै समयमा अवश्य चुक्ता गर्नेछु ।"भनिन्छ दुःशासनबाट चीरहरण हुँदा अविररल वस्त्र प्रदान गरेर वाससुदेव कृष्णले त्यही गुन र ऋण तिरेका हुन् र द्रौपदीको इज्जत बचाएका हुन्।
प्रसङ्ग २)महाभारत-युद्धको अन्त्यकालतिर युद्धमा पूरै असंलग्न दौपदीका पाँचभाइ छोरा पाञ्चाललाई शिविरमा सुतेको अवस्थामा पाण्डव ठानेर अश्वत्थामाले हत्या गर्यो ।युद्ध-पिपासुहरुले यस्ता कुरालाई कोटा पूरा गरेको,वीरगति पाएकोजस्ता उपमा भिराउँछन् तर आमाहरु जुनसुकै कारणले मरेपनि सहजरूपमा निस्वार्थ रुनेगर्छन् ।उनलाई शोकमा सान्त्वना दिन सबै आए र साथमा कृष्ण पनि आए ।कृष्णलाई देख्नासाथ दौपदीले विलापको भाषामा भनिन् - हे वासुदेव ! तिमी मेरा नातेदार र मित्रमात्र नभएर भगवान पनि हौ भनिन्छ ।दुर्वासाको महाश्राप र दुःशासनको चीरहरणजस्ता दुर्दिनमा मलाई रक्षा गर्यौ ।महाभारतको युद्धमा युगान्तकारी भूमिका निर्वाह गर्यौ।तिम्रा लागि असम्भव र अज्ञात भन्ने केही थिएन ।तिमीले चाहेको भए मेरो कोख उजाडिने थिएन ।आखिर किन यसो गर्यौ वासुदेव ?"
कृष्णले गम्भीर तर सहजभावले यस्तो उत्तर दिएः-" हे सखी ! प्रथमतः योबेला जो जसरी मरेका भएपनि कसै न कसैका सन्तान थिए र आमाका लागि बराबर थिए।दोस्रो कुरा निश्चय नै यो बेला मेरो शक्ति र सामर्थ्य प्रयोग गरेर तिम्रो मातृत्वलाई जोगाउन सक्थें ।यदि त्यसो गरेको भए पक्षपातको अभियोगमा अरु आमाबाट म धिक्कारिने थिएँ ।
त्यतिमात्र नभई यो त विधिको विधान हो । विधिको विधानलाई म अवश्य टार्नसक्छु ।तर आफूलाई पर्ने सजिलो र असजिलोलाई हेरेर विधान परिवर्तन गर्न मैले नै थाल्ने हो भने त्यसलाई अरुले कसरी मान्छन् ?मबाट निर्मित विधि-विधानमा स्वयं मैले बाँधिनुपर्छ।त्यसका दण्ड र पुरस्कारको भागी अरु मान्छेहरुजस्तै म पनि हुनुपर्छ। अनिमात्र विधि-विधानको अस्तित्वलाई सबैले स्वीकार गर्छन् ।विधिको विधानभित्र तिमी-म र अरु सबैले बाँधिनुपर्छ किनकि विधि-विधान भनेको हाम्रो पनि कानुन हो ।यसलाई बनाउनेले पनि पालन गर्नुपर्छ नत्र लोकले पनि मान्न अस्वीकार गर्ने छ ।"
यी दुईवटा पौराणिक प्रसङ्गलाई बिम्ब र प्रतीक बनाएर हेर्दा हाम्रो राजनैतिक शक्ति र सामर्थ्यले कहाँ र कसरी बाटो बिरायो ? भन्ने प्रश्नको उत्तर पाइन्छ ।
पहिलो प्रसङ्गलाई दोहोरो प्रतीक बनाएर हेर्दा राम्रो हुन्छ ।त्यो के भने
क) दल र सरकारलाई द्रौपदी र जनतालाई कृष्णको प्रतीक बनाएर हेरौं । जनतालाई जनार्दन भनिन्छ ।जनार्दन भगवान विष्णुको नाम हो भने कृष्ण विष्णुका अवतार ।द्रौपदीको सानो सहयोग वा गुनको बदलामा कृष्णले दौपदीलाई असाधारण सहयोग गरे ।जनता पनि जनार्दनजस्तै हुन् ।तिनीहरुलाई आपदविपद परेको बेला गरिने सानो सहयोगलाई जनताले हार्दिकरूपले स्वीकार गर्छन् र सहयोगीलाई परेको बेला ठूलो गुन तिर्छन् ।यसपटटकको भूपम्पमा सेना-प्रहरी स्वस्थ्यकर्मी र संचार जगतले जनताजनार्दनको औंलोमा जुन सहयोगको पट्टी बाँध्ने काम गरे त्यो भोलिका लागि दौपदीको लगानी हुनेछ ।जनताको मन कति फराकिलो हुन्छ र सानो सहयोगलाई पनि नबिर्सने गुन ठान्छ भन्ने कुरा टहरा-निर्माण र जस्तापाताको घटना साक्षी छ ।जाबो दुई बन्डलजस्ता पाताको सहयोग र अस्थायी टहराको निर्णामलाई जनताले दौपदीको पट्टीकोरूपमा लिएर खुसी भएको पाइयो ।जस्ता र टहराबाट सहयोगको पट्टी बाध्ने पात्रमा स्वार्थ र कुटिल नियत छैन भने भोलिका दिनमा तिनीहरुको लाजको रक्षा जनता-जनार्दनले अवश्य गर्नेछ ।
ख) अब जनतालाई द्रौपदी र दल एवं सरकारलाई कृष्णको प्रतीक बनाएर हेरौं । हिजोका दिनमा नेपालका राजनैतिक दलहरुलाई असजिलो परेको बेला वा चोटपटक लागेको बेला ।नेपाली जनताले दौपदीलेजस्तै निस्वार्थभावले सेवा र सहयोग गरेकै हुन् ।जनताका लागि दल र सरकार भनेका आडभरोसा र विश्वासका आधारजस्तै हुन् ।कृष्णलेजस्तै परेकोबेला लाज बचाउने दुःखबाट मुक्त गर्ने शक्तिकोरूपमा जनताले लिन्छन् ।दोस्रो ज नआन्दोलको सफलतापछि दलहरु जनतामुखी नभएर स्वर्थमुखी भए ।गुन गर्ने जनताले बैगुनमात्र पाए ।तिनीहरुलाई केवल मतदानको छापमा सीमित गरियो ।जनताको चीरहरण भइरह्यो तर दलले तमासा हेरिरहे ।योग्यलाई भन्दा आफ्नोलाई,पैसालाई गूटलाई नातेदारलाई पोस्ने र जनतालाई चुस्नेकाममात्र गरियो ।
विकास-निर्माणको बजेटलाई जनतासम्म पुर्याइएन बरु केन्द्रदेखि गाउँसम्म मिलिजुली भागबन्डा गरेर लुटियो ।भागन्डाको नाममा न्यापालिकाको हुर्मत लिइयो।संवैधानिक निकायको निष्पक्षता र विश्सनीयतालाई भागबन्डाले क्षतविक्षत बनाइयो ।विश्वविद्यालयजस्तो देशको प्रतिष्ठालाई समेत भागबन्डा गर्ने मनपरी गर्ने र प्राज्ञिक चीर हरण गर्ने काम गरियो ।उद्योग-कलकारखाना तहस-नहस पारियो ।लोकतन्त्रलाई मजाक बनाइयो र केवल जनतालाई सुनाउने गीत बनाइयो ।तस्कर-माफिया र भ्रष्टाचारका लागि देश स्वर्ग भयो जसलाई राजनीतिले संरक्षण गर्यो ।देशभित्र र बाहिर सरकार दलहरुले विश्वास गुमाए ।भूकम्पपछिको निरीहताको कारण यही हो ।फेरिपनि यसलाई स्वीकार गर्ने र सच्याउने प्रयास गरेको पाइन्न बरु ढाकछोप गरेरै अघि बढ्ने नीति लिएको पाइन्छ जो घातक पाइला हो ।कसैलाई पर्दा फलको आशा नराखी निस्वार्थ भावले सहयोग गर्नुपर्छ ।र आफूले गरेको वाचा र वचन पूरा गर्नुपर्छ भन्ने यसको आशय हो ।हाम्रा नेता दल र सरकारले के गरे ? प्रश्न यो हो ।
अब दोस्रो प्रसङ्गको बिम्ब र प्रतीकमा जाऊँ ।भगवान हुनुका नाताले कृष्णलाई विधि-विधानका निर्माता मानिन्छ ।हाम्रो सरकार सभासद वा दलका नेता-कार्यकर्ता विधि-विधानमा स्रोत हुन् ।नियम-कानुन-संविधान बनाउने र त्यसलाई लागू गरेर सुशासन दिने काम यिनकै हो ।तर भीडको घोडा बनेको हाम्रो रानजीति,नीति-निर्माता र सरकारले कानुनलाई लागू गर्ने-गराउने काममा योग्यता देखाएन ।राज्यका नियम कानुन देखाउने दाँत साबित भए ।विधि र कानुनलाई तस्कर माफिया र भ्रष्ट लगौंटी बनाए जसलाई राजनीतिले निरुत्साहित गरेन ।
कृष्णले भनेजस्तै विधिविधान भन्ने कुरा बनाउनेमाथि पनि लागू हुन्छ र त्यसको पालना गर्नु उसको पनि कर्तव्य हुन्छ ।कानुनद्वारा तोकिएका दण्ड र पुरस्कारको भागी आम जनता र विधिनिर्माता दुबैले हुनपर्छ ।आफूलाई अनुकूल हुने गरी कानुन र संविधान बनाउनु वा व्याख्या गर्नुहुन्न भन्ने कृष्णको कुरा कानुन वा विधिको शासनमा चल्ने लोकतान्त्रिक राज्यका लागि वरदान शिक्षा हो ।हामीकहाँ के भयो ?कहिले भीडले पेलेको भरमा र कहिले स्वार्थको सपनाले च्यापेको भरमा संविधान परिवर्तन गरियो ।स्वयं निर्मित संविधान अनुसार पहिलो संविधानसभाको गठन गरियो र संविधान नै परिवर्तन गरेर म्याद थपियो ।राजनैतिक मूढेबलको आधारमा आफूअनुकूल संविधान परिवर्तन गरेर चुनावी सरकार बनाइयो ।संविधान र कानुन अनुसार चल्ने-चलाउने भन्दा पनि कानुनमाथि बसेर निर्णय गर्ने दलीय परम्पराको विकास हुनु नै विधिको शासन समाप्त हुनु हो ।लोकतन्त्रको नाममा अनुहार फेरिएको हुकुमी तन्त्र यसैलाई भन्न सकिन्छ । यसकारण हाम्रा नेता राजनैतिक दल र सरकारले देश-विदेशको विश्वास गुमाए ।जसले सिर्जना गरेको जटिलता अहिले भोग्दैछन् तर सच्चिने छाँट देखाएका छैनन् । राज्य विधिको शासनमा चल्नुपर्छ र विधिनिर्माताले पनि त्यसमा बाँधिनुपर्छ ।आफूलाई पायक पर्ने गरी विधिलाई मिच्ने,परिवर्तन गर्ने वा त्यसलाई समातेर हुकुमी शान झार्नु हुन्न भन्ने यसको तात्पर्य हो ।
हाम्रा शासन-सत्ताको बागडोर समाल्नेहरु वचनमा पक्का भएनन् र विधिको पालना स्वयंले गरेनन् तसर्थ अहिलेको समस्या पैदा भएको हो ।यसलाई सरोकारवालाले सच्याउनु आवश्क छ ।र हामीले पनि यी दुई कुरालाई शिक्षाको रूपमा ग्रहण गरेर व्यवहार गर्नु राम्रो हुन्छ ।
२०७२ जेठ १५
No comments:
Post a Comment
Please leave your Comments here...▼