Tuesday, September 15, 2020

मुक्तक


जता कल्पना मोहिनी-बाहुपाश
त्यता साधना-सिद्धिका छन् प्रयास।

जहाँ स्वप्नदर्शी कलाकार हुन्छ
त्यहाँ गर्दछे सिर्जना-श्री-निवास।।
---------------------------------
म भक्त हेर्दा सुकिलो पजारी
छ भित्र मैलो मलिनो भिखारी।
दोकान वा देवल'ईश' बेच्ने
व्यापारको अब्बल कर्मचारी।।
------------------------------

तारा चुल्बुल-बीचमा हिसिमुखे खै जून छन् रातमा?
धोएको नवशीतले हृदयको तस्बीर खै पातमा?
पाठा आँगनमा थुँगा विटपमा आकाशमा गौंथली
खुल्दो मौसम खै कहाँ छ पुरमा छन् रिक्तता साथमा?
-------------------------------
पीडा:-
गङ्गा सुन्दर चन्द्रमा छ शिरमा शोभा कि सौता भनूँ?
बुझ्दैनन् मनका कुरा अधसुरा भर्ता कि द्यौता भनूँ?
के देखें हरमा र शून्य घरमा ब्यौली बनी भित्रिएँ
केको आज विरक्तिले 'गिरिसुता'स्यौली बनी लत्रिएँ?

No comments:

Post a Comment

Please leave your Comments here...▼