Saturday, September 26, 2020

मुक्तक

 अन्धविश्वास:-

आफ्ना नाता-कुटुम्बजस्ता छिमेकीलाई पनि अछूत बनायो
वृन्दाको बैँसमा च्युत भएका विष्णुलाई पनि अच्युत बनायो।
मान्छेको ज्ञानलाई कुहिराको काग बनाउने अन्धविश्वासले
विज्ञानको अनुपम सौन्दर्यलाई पनि डरलाग्दो राँकेभूत बनायो।।
माड:-
पेटको खाडललाई पुरेर अग्लो पहाडजस्तो बनाउँछ
चङ्गाको धागोलाई सग्लो नलीहाडजस्तो बनाउँछ।
सन्सारको इन्जिन चलाउने भनेकै माडले हो कान्छा!
यसले त सुतीको लुङ्गीलाई पनि सुरक्षागार्डजस्तो बनाउँछ।।
----------

न पूर्णिमाको मधु-रातजस्तो

न षोडशीको प्रिय-वातजस्तो।

दौरा उठाई पसिना पुछेको

होस् जिन्दगी गुन्द्रुक-भातजस्तो।।

---------

मल शासकले ल्यायो,ल्यायो बादलले भल

मारुनी नाच्न लागेझैं थामिएपछि मादल।

कुहुन्छ अन्नको दाना औषधी चुक्चुकाउँछ

भोकले लास बन्नेको छाती बोक्दछ चामल।।

-------

मूसालाई बिरालो बनाएर दूघ-भात खान दिनु

बिरालोलाई कुकुर र सिंह बनाएर सम्मान दिनु

इतिहासका पाइलैपिच्छे गल्ती भयो श्रीमान्!

भस्मासुरजस्तालाई पनि हामीले वरदान दिनु।।

---------

सवैले सहनेलाई सकेसम्म कजाउँछन्

गाली-गर्जनका साथ जुठाभाँडा मजाउँछन्।

कसैले बाघको छोरो,न जोत्छ,न सधाउँछ

तर मन्दिरको घण्टा जोकसैले बजाउँछन्।।

-----------

छ गुम्सिएको शिरमा अपान
गर्छौं सफा बाहिर पाउदान।
पानी कहाँ निर्मल बग्नसक्छ
मुहान वा स्वच्छ नभै सिरान।।
--------------------
गौरी-वाहन सिंहबाट विचरो नन्दी छ आतङ्कित
भोग्दो त्रास मयूरबाट सुतको,नागेन्द्र उत्पीडित।
अर्को पुत्र गणेशको सव कुरा काट्दो छुचो मूषिक
क्यारून् ती घरमा सदाशिव बरा कैलासमा चिन्तित।।
------
अलिकति चारापानी राखेर चराभरा आँगन बनाऊँ
सकिन्छ रोपेर,नसके जोगाएर हराभरा वन बनाऊँ।
अरुलाई माया गर्नु त आफ्नै लागि लगानी हो भने
आऊ आजैको विहानीदेखि हामी निख्खरा मन बनाऊँ।।
------
वृन्दावन:-
गाई होइन कृष्ण-दोहन गरी बेच्ने कथा-पावन
व्यापारीजनको शिकार हुनगो माला-गला-चन्दन।
भोकै छन् बिचरा कठै! मनचिरा गोपाल गोनन्दन
त्यो प्यारो उनको अतीत युगको भेटिन्न वृन्दावन।।
-------
जरा-बुटा-डाक्टर वैद्य-धामी
मानों भएझैं वशमा बिमारी।
बाँडेर हिंड्छौं उपदेश सस्ता
स्वयं नगर्ने परहेज हामी।।
-------
लगानी:-
अलिकति चारापानी राखेर चराभरा आँगन बनाऊँ
सकिन्छ रोपेर,नसके जोगाएर हराभरा वन बनाऊँ।
अरुलाई माया गर्नु त आफ्नै लागि लगानी हो भने
आऊ आजैको विहानीदेखि हामी निख्खरा मन बनाऊँ।।
----
हनुमानुवाच:-
सानो दिव्य-बुटी नचिन्नु गिरि नै बोकी विवेकी हुनू
आफ्नै ज्ञान र सीप-बुद्धि-बलको गाँठी-जिली बिर्सनू।
चोला वा-नरको शरीरभरमा सिन्दूर-तेते घसी
प्यारो भक्त बनेस् दुरुस्त मतिको ठ्याक्कै मजस्तो बली।।
----
उडी पूर्ण आकाश ढाक्छन् बचेरा
उषा पोत्न थाल्छिन् चराका बसेरा।
त्यही मृत्तिकामा सधैँ डुल्छ चित्त
जहाँ बग्दछन् गीतका स्वच्छ धारा।।
--------
साचै कोमल रङ्ग-रूप र कला लावण्य-सन्सार छ
बास्नादार पराग-पूर्ण-रसमा माधुर्य-भण्डार छ ।
सानन्दी लय गाउँछन् कि भवँरा उद्यान-एकान्तमा
मानों केवल पुष्पभित्र कविता सम्पूर्ण सञ्चार छ ।।
-----
आँधीले पनि सूर्य-पूजन गरी सल्काउला आरती
बोकाले रथ हाँकिने र पथमै सुस्ताउला सारथि।
ओथ्रा बस्तछ कोयली र बचरा कोरल्न चम्केसरि
वस्तीले जब लेख्नखोज्छ कविता सर्माउँछिन् भारती।।
----
जैविक एकता:-
पूर्व-पश्चिमका यात्री युवा जोडी कुनै दिन
बसेथे बीचमा वास,हतारो अव छुट्टिन।
अर्को अर्थ नलागेमा मात्र जैविक एकता
रातको आपसी पिर्ती विहानै थाल्छ हुत्तिन।।
------
जहाँ लेखनीसाथ एकान्त तोड्छु
पुराना त्यहाँ साथ-सम्बन्ध जोड्छु।
यताका उताका टिपी शब्द-भाव
कुनै गीत जस्तो जरासन्ध जोड्छु।।
---
सवै पात छन् निम्छरा,मूलभन्दा
न छन् कर्म राम्रा कतै फूलभन्दा।
खपी ठेस-बाधा उठेको मनुष्य
कहाँ हुन्छ सानो गरें भूलभन्दा।।
------
एक्लोपनाले अवहेलनाले
ज्यूँदो छँदा दुख्तछ वेदनाले।
मरेर जो लास नजल्नपाई
चिता पखाल्छन् समवेदनाले।
----
फर्केसँगै आत्मिक दाजुभाइ
तिहारको भव्य गरी बिदाइ।
श्रृङ्गार-सज्जा फलफूलबाट
जुट्यो तराई छठपर्वलाई।।
----
हुन् घामपानी फलअन्नदायी
विनम्रताले तिनमै चढाई।
जुट्यो तराई छठ-पूजनामा
कृतज्ञता ज्ञापन गर्नलाई।।
-----
आधा खुलेका नव कोपिलाले
क्यै बोल्नखोज्ने मुखको कलाले।
हानी सधैँ प्रेमिल बाहुपाश
म बाँधिएँ लोचन शर्मिलाले।।
------
आवेग कस्तो? गुणसाथ दोष
अपार चिन्ता र अदम्य जोस।
सानै कुराले पनि रुष्टतुष्ट
हुन् बाल जस्तै कवि आशुतोष।।
------
सहस्र छन् पत्थरका उपाय
अनेक छन् गोबरका उपाय।
परन्तु वैरी मनुवा जुनीका
छैनन् कुनै थेत्तरका उपाय।।
-------
मीठा टिपिन्छन् फल बोटबाट
बिक्छन् खुला चञ्चल नोटबाट।
परन्तु बग्छन् रसिला अमूल्य
बोल्ने कला कोमल ओठबाट।।
----
छुँदै-नछोई मन रङ्ग चुन्छ
सुदूरको लोचन चन्द्र चुम्छ।
वाणीविना सुन्छ हियो पुकार
टाढै बसी नाक सुगन्ध लिन्छ।।
-----
वैलाउँदा ओठ दुवै कमाई
रुँदारुँदै तैपनि मुस्कुराई।
हियो झिकी पत्थरले थिचेर
बिदा गरिन् रे तिनले मलाई।।
----००-
हियो बगेका बहका नदी हुन्
दियो निभेझैं तम-जिन्दगी हुन्।
जस्तोसुकै सङ्कटको निदान
तिम्रा दुवै लोचन औषधी हुन्।।





No comments:

Post a Comment

Please leave your Comments here...▼