Friday, April 9, 2010

भाँडिएझैं लाग्छ- गजल

भाँडिएझैं लाग्छ मन,बाँडिएझै लाग्छ ।
आजभोलि आफैँसँग,टाढिएझैं लाग्छ ।।

एकैछिनको शोभा बन्यौ,इन्द्रधनुजस्ती ।
त्यै थलोमा सिङ्गो जुनी, छाडिएझैं लाग्छ ।।

छाती खन्यो विरहले, गहिरिंदै गएँ ।
निसासिंदो खाडलमा,गाडिएझैं लाग्छ ।।

साउनझैं रोई-रोई,रुझेको यो जुनी ।
सन्सारका सबै खुसी ढाडिएझैं लाग्छ ।।

हिर्दयमा लेखिएका,फूलजस्ता गीत ।
काँढामाथि अल्झिएर,फाडिएझैं लाग्छ ।।

सङ्लो थिएँ,बग्दाबग्दै,पहिरोमा परें।
भेलजस्तो आज मलाई,भाँडिएझैं लाग्छ ।।

तोरी फुलेजस्तो मेरो सपनाको बस्ती ।
कोही पसी एकैछिनमा, माडिएझैं लाग्छ ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼