Sunday, April 11, 2010

वनबेलीको माला- गजल

जिन्दगीको बाटो छेक्न,बस्यौ घात लाई ।
नागबेली नजरले, डस्यौ घात लाई ।।

देखाएर हातैभरि, चमेलीको तेल ।
झेल गरी तातो विष,घस्यौ घात लाई ।।

वनबेलीको माला ठानी,गलैमाथि लाएँ।
थलै परें गर्दनमा,कस्यौ घात लाई।।

दूधजस्तो रूप तिम्रो,खीर भनी चाटें ।
हिर्दयमा तातो तीर,धस्यौ घात लाई।।

पानी भनी पछि लागें,कृष्णसारजस्तो ।
आँसु बनी आँखाबाट,खस्यौ घात लाई ।।

रातोदिन बल्झिएर,पस्यौ घात लाई ।
अन्त कतै अल्झिएर,फस्यौ घात लाई ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼