Monday, October 4, 2010

- दशैं एक चिन्तन

दशैंको शुरुवात हुन अब केही दिनमात्र बाँकी छ तर यसको चर्चापरिचर्चाले भने नेपाली जनजीवनलाई लपक्कै ढाकिसकेकोछ । देशविदेशमा रहेका आफन्त जन आउँने खबरले कसैको घरमा खुसी छाएको छ र घर फर्कन चाहनेहरू दिन गनेर रमाइरहेका छन् । आफन्त मिलनको आनन्द नै त दशैं हो ,मिलन नै नहुने हो भने त दशैं
भन्ने कुरा अलिनो भइहाल्छ ।
अर्कोतिर कुनै कारणवश यो बेलामा घर फर्कन नसक्नेको पीडा हृदयविदारक छ । दशैंमा घर जान नपाउँनेको मन यता अमिलो छ भने घरमा बस्नेको मन पनि धमिलो छ त्यसैले घाउ सुम्सुम्याउनुमा दशैं बित्ने निश्चित छ । पारिवारिक मिलनको केन्द्रको परिधिमा नै दशैंका यावत् रमाइला पक्षले शोभा पाएका हुन्छन् । दशैंको मितिको निकटतासँगै घर जाने उत्सुकता र जान नपाउनुको विवशतापूर्ण पीडाका भावले व्याप्त गीत,कविता
गजल र लेखहरुले यतिबेला फेसबुकको पाना भरिएका छन्,जो नितान्त स्वाभाविक पनि हो ।तर अर्कोतिर दशैंबारेका आग्रहपूर्ण टिप्पणी पनि देखिन्छन् । विशेषत: यो चाड यो वा त्यो जातिको हो भन्दै त्यसप्रति कटुता-घृणा र आपसी द्वेष भरिएका अभिव्यक्तिका विषबमन पनि कम पढ्न पाइन्नन् ।
वस्तुत: जुनसुकै जात-जाति र जनजातिले विकास गरेपनि नेपालका चाडपर्व सँस्कार र संस्कृति नेपाल र नेपालीकै सम्पदा हुन्। तिनीहरुलाई आफ्नै ठान्ने र तिनीहरुभित्र आफूलाई खोज्ने सोचाइले मात्र हामीलाई विनाशको मार्गबाट बचाउँछ भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ ।
जनताका बीचमा सिर्जना भएर जनताकै बीचमा हुर्किएका चाडपर्व र संस्कृतिमा आडम्बरको जलप लाग्नु एउटा कुरा हो । लामो समयसम्म लगाएको लुगा पनि त मैलिन्छ । लुगा धोएजस्तै तिनलाई विकृतिबाट मुक्त गर्नुपर्छ र राम्रा पक्षलाई प्रोत्साहित गर्नुपर्छ ।दशै बाहुनवादको संस्कृति हुनाले मान्नु हुँदैन,सामन्तवादले लादेको यो कुसंस्कृतिलाई बहिष्कार गर्नुपर्छ भन्ने स्वर तथ्यमा आधारित छैनन् । यो कसैको हो भने पनि अरुको संस्कृतिको सम्मान गरेरमात्र आफ्नो संस्कृतिले सम्मान पाउँछ । आफ्नो ठिक अरुको बेठिक भने अभिमानले समाजमा कलहबाहेक केही सिर्जना गर्दैन ।अँ त्यसभित्र कसैलाई अपमानित गर्ने छिद्र छन् भने चाहिं त्यसको उपचार मिलेरै विनापूर्वाग्रह गर्नुपर्छ ।
समाजको विकाससँगै हरेक जातजातिको जीवनशैली अनुरूप दशैं मान्ने तरिका र रुपमा अवश्य फरक परेको हो र यसमा धार्मिक आवरण थपिएको पनि सत्य हो तर यो पर्वलाई धर्मसँग जोडेरमात्र हेर्नु वा अन्धविरोध गर्नु भनेको
त्यसको मर्म रआफ्नो अतीतप्रति न्याय नगर्नु हो । विज्ञानसम्मत कुरा के हो भने दशैंको विकास कुनै दैवी घटनाबाट नभई हाम्रो कृषियुगबाट आरम्भ भएको हो । यसको सारमा हाम्रो कृषिपरम्पराको छाप र पदचिन्ह पाइन्छन् ।हामी कृषियुगकै उत्तराधिकारी हौं कि होइनौं ?पछि थपिएका केही तामझामलाई हेरेर त्यसमा प्रहार गर्दा हामीले आफ्नो साँस्कृतिक अतीतलाई पनि रेट्ने काम गर्छौं कि गर्दैनौं?हाम्रो साझा कृषियुगका पदचिन्ह दशैंमा रहेका केही उदाहरण हेरौं ।
१)बर्षायामको मुसलधारे पानीले घरगाउँका बाटाघाटा क्षतविक्षत बनाएका हुन्थे त्यसैले सफा मौसम शुरु भएपछि सामूहिकरूपले पुनर्निर्माण गर्नु आवश्यक हुन्छ । हाम्रा घरहरुको हालत पनि नाजुक भएको हुन्छ ।यसबेला तिपपोत,मर्मत नगरे खण्डहरूमा परिणत हुन्छन् अत: घर-आँगन र बाटाहरु सफा गर्ने सामूहिक अबसर हो यो ।
२) बर्षाको समयलाई उसैपनि मानो खाएर मुरी उब्जाउँने बेला भनिन्छ । बर्षाको कठोर कृषिश्रमको मर्म खेती गरेकालाई मात्र थाहा हुन्छ । रुखासुखा खाएर वा भोकभोकै खेतीमा जोतिएका मानिसका लागि यो आरामको समय हो ।यसबेला कामको ऊति चाप हुँदैन । मानिसलाई आरामको पनि जरुरी हुन्छ । आरामले मात्र शरीरलाई पुग्दैन अत: पोषणयुक्त खानाको पनि जरुरी हुन्छ ।बर्षामा पनि राम्ररी नखानु र अब पनि उस्तै हुने हो भने मानिसको जीवन नीरस हुन्छ र आँत पनि छिनेर अर्को श्रमका लागि तयार हुँन सक्दैन ,तसर्थ मीठोमसिनो खाने र आराम गरेर आफूलाई शारीरिक र मानसिक रुपले रिचार्ज गराउँने जीवन शैलीबाट दशैंको विकास भयो ।

३)दशैं नितान्त कृषियुगको सामाजिक छुट्टीको समय हो । विदा मनाउँने तरिका सबैका फरक हुन्छन् ।धार्मिक मान्छेले पूजाआजा गर्ला ,लेखकले सिर्जना गर्ला,अध्ययनमा रुचि हुनेले राम्रा पुस्तक पढ्ला,भ्रमणमा रुचि हुनेले घुम्ने योजना बनाउला ।उसबेला पनि पेसाव्यवसाय अनुसार मनाउँने तरिका फरक भए ।कालान्तरमा कुनै मिसिएर अर्को रुपमा देखा परे भने कति हराए स्वभावत: । शनिबार वा आइतबारको छुट्टी उही हो तर मनाउँने तरिका फरक छैनन् र? कसैले तास खेलेर छुट्टी मनायो भन्दैमा जुवाडेको दिनको रुपमा त लिइन्न नि ?दशैंको हकमा पनि यही कुरा लागू हुन्छ ।सिपाहीले हतियार पूजा गरेर,किसानले हलो-फाली पूजा गरेर,कलाकारले कूची-रंग,लेखकले कलमपूजा गरेर पेसा-व्यवसायको सम्मान गर्नुलाई नाजायज भन्न मिल्दैन ।यो पर्वलाई कुनै राजामहाराजाले आफ्नो तरिकाले मनायो भन्दैमा उसैको पेवा ठान्नु भनेको त शत्रुको रिसले आफ्नै गर्धन सेर्नुजस्तै भएन र?
४)मानिस सामाजिक प्राणी हो । आयो गयो माया मोहो ,आएन गएन कोहोकोहो भनेको साँचो हो । अरुबेला कामको चापले गर्दा आपसमा भेट नहुने भएकाले हाम्रा पुर्खाले यसलाई भेटघाटको पर्व बनाए । बूढाबूढीलाई हिंडडुल गर्न असजिलो नहोस् भनेर सानोले ठूलोको घरमा जाने,नातागोतासँग अरुबेला भेटहुन सम्भव छैन तर सामूहिक छुट्टीमा सबैको सबैसँग भेट हुने भएकाले नातासम्बन्धलाई रिचार्ज गर्ने अवसरको रुपमा दशैंको विकास गरियो ।

५)कृषिकाममा लाग्नेसँग लुगाको कति अभाव हुन्छ? भन्नु नपर्ला ।एउटै लुगा टालेर लामो समयसम्म लाउनु रहर नभएर विवशता हो । उसमाथि बर्खे झरीले भिजेर मक्किइका लुगा नफर्ने हो भने लाज कसरी छोप्ने ? धन कहिल्यै नहुने र छैनमात्रको रोदनले लाज नछोपिने हुनाले बर्षा सकिएपछि लुगा फेर्ने चलन बस्यो । हुनेले नफेर्दा भयो तर फाटेकाले फेर्नु परेन? यसबेला फेरेको लुगाले झरीको मार खप्नुपर्दैन जो बर्षासम्मका लागि हुन्छ । गरीबलाई रिन लागेको कुराले दशैंलाई दशा भन्न सजिलो छ तर यो पाटोको मर्ममा हामीले कहिल्यै सोच्यौं ?

६)जमराको पनि धर्मसँग सरोकार छैन । हाम्रा पुर्खाले लगाउँने हिउँदे बालीको पदचिन्ह हो जमरा । जमरा स्वास्थ्यका दृष्टिले पनि महत्वपू्र्ण छ । यसको रस पोषिलो र स्वास्थ्यबर्धक हुन्छ । घरमा आइने नातेदारलाई नयाँ बालीको प्रतीक जमरा,पुरानो बालीको बचतको प्रतीक टीका र कृषकका घरको अमृत दहीको टीका लगाइ दिएर आफ्नो खेती-पौरखको नमुना प्रस्तुत गर्ने बिम्ब र प्रतीक हुन् टीका र जमरा । शुभकामनाको अर्को रुप आशीर्वाद हो । घरमा बल्लतल्ल आएका नातेदारलाई मीठो-मसिनो सबैले ख्वाउने कुरा नै दशैको रमझम हो ।

आराम,मनोरञ्जन,नाताको नवीकरण,भोजन, जीवन र घर-समाजको पुनर्ताजगीकै लागि विकसित भएको सामाजिक छुट्टीले कालान्तरमा चाडपर्व र संस्कृतिको आकार लियो । कृषियुगबाट अहिलेको परिवेशसम्म आउँने कसैका लागि यी सबै कुरा आवश्यक नहोलान् तर यो नै हाम्रो अतीतको वास्तविकता हो र हामी त्यही कृषियुगीन पुर्खाका सन्तति हौं ।
हाम्रो कृषियुगीन सभ्यताका यी प्रवृत्तिमा धर्म-जाति र भूगोलको भेद नभई साझा मर्म छन्,तिनीहरुकै जीवनशैली र जिउँने कलाको छाप छन् दशैंका धेरैजसो शैलीमा ।
एकपटक अतीतलाई फर्किएर हेरौं त कहालीलाग्दो कृषियुगको कठिन जीवनमा यस्तै आकर्षण निर्माण गरेर मानिसलाई हाम्रा पुर्खाले बाँच्ने आधार निर्माण गरिदएका होइनन् ?
दशैं मान्ने नमान्ने वा कसरी मान्ने भन्ने कुरा आफ्नो विवेकको कुरा हो ।लुगा मैलियो भन्दैमा मानिसलाई नै नदीमा बगाउँनुपर्छ भन्नु र कुनै शासक,वर्ग वा जातिले उसका किसिमले मान्यो भन्दैमा आफ्नो अतीतको मर्मलाई नै नकार्नु उचित होइन । यो एउटा नमुनामात्र हो । जो कसैको संस्कार-सँस्कृतिलाई सम्मान गरौं र त्यसमा आफ्ना सम्पदा र प्राचीन जीवनगाथा-व्यथालाई नियाल्ने प्रयास गरौं ।
म आज जहाँ छु,त्यो बीजलाई दुखका काँढाका बीचमा पनि फुल्ने र रिचार्ज भएर पुन: श्रममा फर्कने चाँजोपाँजो मिलाएर पुर्खाले जीवनको मीठो स्वाद चखाएको नभए म आज यहाँ हुन्थें कि हुन्नथें थाहा छैन । मलाई धर्मसँग सरोकार छेन तर म कसरी यहाँसम्म आएँको इतिहासको पाना दशैंप्रति मेरो सम्मान छ ।म नातागोताको सामूहिक भेटघाट चाहन्छु र यसलाई अवसरको रुपमा प्रयोग गर्छु । भेट्न आउनेको प्रतीक्षामा हुन्छु र भेट्न जान चाहन्छु । मैले आफ्नो हैसियत अनुसार गर्ने हो मन फुकाएर सम्बन्धलाई नवीकरण गर्ने हो ।यसमा नातागोता इष्टमित्र सबै पर्छन् । त्यसैले दशैंको हार्दिक शुभकामना सहित तपाईंलाई निमन्त्रणा छ,सके मीठोमसिनो बाँडेर खाऊँला नसके मन साटासाट गरेर सम्बन्धको रिचार्ज गरौंला । मलाई फुर्सद भए तपाई अरुबेला व्यस्त हुनुहुनेछ,सभैको सबैसँग भेट हुने त साझा छुट्टीमा त हो ।

छन्द-बहर र लय
सन्सारमा भाषा अनेक छन् त्यसकारण शब्द पनि अ
नेक छन् । तर उच्चारणमा देखापर्ने लघु-गुरुको संयोजनबाट पैदा हुने लय चाहिं उस्तै हुन्छन्।वर्ण वा मात्राको छोटो उच्चारणलाई लघु-ह्रस्व वा १ मात्रा भनिन्छ भने लामो उच्चारणलाई गुरु-दीर्घ वा २ मात्रा भनिन्छ ।लघुलाई I र गुरुलाई S संकेतले चिन्ने गरिन्छ ।  जस्तैः-
असल  मामाका  कन्सिरी
ललल   गुगुगु     गुलगु (ल-लघु।गु-गुरु)
१११      २२२      २१२
III          SSS   SIS
यिनै लघु र गुरुको विविध संयोजनबाट अनेक लय पैदा हुन्छन्।त्यही लयको उच्चतम अनुशासनलाई फारसीमा बहर र संस्कृत-नेपालीमा छन्द भनिन्छ ।लघु-गुरु वर्णमात्राको समूहलाई बहरशास्त्रीले रुक्न र छन्दशास्त्रीले गण भनेको पाइन्छ।समान रुक्न र समान गण भयो भने समान लय निर्माण हुन्छ।यो नै बहर वा छन्द हो ।जस्तोः-

उषामा खुलेको धराको मुहार ।

लगुगु  लगुगु   लगुगु  लगुगु
ISS    ISS    ISS     ISS
१२२    १२२    १२२     १२२ 
यसरी बन्ने लयको रुप यस्तो हुन्छः-
ललाला ललाला ललाला ललाला
यो साँचोमा मिल्ने कुनैपनि पदले निर्मित हुने लय उस्तै हुन्छ ।
माथिको लयबाट बन्ने बहरलाई 'मुतकारिब मुसम्मन सालिम' र त्यसमा चारवटा फऊलुन् फऊलुन् फऊलुन् फऊलुन् रुक्न हुन्छन् ।यता त्यसको समधर्मी छन्दलाई भुजङ्गप्रयात भनिन्छ ।जसमा चारवटा यगण(यमाता) हुन्छन्।जस्तोः-
फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
१२२       १२२      १२२    १२२
लगुगु     लगुगु    लगुगु  लगुगु
ISS       ISS      ISS   ISS
यमाता   यमाता   यमाता यमाता (चार ISS यगण )
यति कुरा बुझेपछि जुनसुकै भाषामा यो बहर वा छन्दको सिर्जना हुन्छ।यसमा आफूसँग विशाल शब्दभण्डार हुनुजरुरी छ ।बहरमा यसो गरेहुन्छ वा छन्दमा यो गर्नुहुन्न भन्ने कुरा भन्दा पनि आआफ्नो भाषिक उच्चारणले बाँकी कुरा निर्धारण हुन्छ ।पहिलो-पैलो पहिरो-पैरो जस्ता व्यापक चलनमा आएका पदलाई उच्चारण अनुसार प्रयोग गर्दा ठीकै हुन्छ तर छन्द वा बहर मिलाउने नाममा अनावश्यक व्याकरणको हनन राम्रो लाग्दैन ।जस्तोः-
मसान् घाट् नजाने छ कोही धरामा ?
यो हरफ छन्दको गणको कोणबाट र बहरको रुक्नको कोणबाट अकाट्य छ।यसलाई बहरले दिएको छुट मान्ने पनि छन्।छन्दले नै पनि सिद्धान्तः होइन भन्दैन ।तर हाम्रो लेख्य भाषाको अनुशरण गर्दा राम्रो हुन्न र?त्यही हरफलाईः-
छ कोही धरामा नजाने मसान ?
यसो भने के बिग्रन्छ ?
दवैलाई एक ठााउँमा राखेर हेरौंः-
मसान् घाट् नजाने छ कोही धरामा ?
छ कोही धरामा नजाने मसान ?

कुन राम्रो भयो ?

No comments:

Post a Comment

Please leave your Comments here...▼